मकवानपुर । आमा बुबाबाट समान माया र संरक्षण पाउने बालबालिकाहरूको अधिकार भए पनि यो व्यवहारीक नभएको बाल अधिकारकर्मीहरूले बताएका छन् ।
विभिन्न समस्याको कारण अभिभावक विहिन भएका बालबालिकाहरुलाई यस्तो प्रकारको वातवरण सिर्जना गर्न समस्या भएको अधिकारकर्मीहरुले बताएका हुन् । एक्प्याक्ट लगजेम्बर्गको सहयोगमा रास्ट्रीय बाल अधिकार परिषदसँगको समन्वयमा तथा सेलर्ड र शक्ती समुहले काम गरिरहेको सुरक्षाको लागि साथ साथ परियोजना अन्तर्गत विहीबार मानव बेचबिखन बिरुद्ध तथा बाल संरक्षणको सम्बन्धमा सेवा प्रदायकहरुलाई एक दिवशीय तालिम आयोजना गरिएको थियो।

पीडितलाई न्याय दिलाउने क्रममा अधिकारकर्मीहरू नै समस्यामा पर्ने गरेको सवाल पनि कार्यक्रममा उठाइएको थियो । पीडित आफैंले मोबाइल नम्बर परिवर्तन गर्ने तर सम्बन्धित निकायमा जानकारी नगराउने जस्ता कारण पीडितलाई नै सम्पर्क गर्न समस्या हुने गरेको सिविन बाल हेल्थलाईनका प्रमुख झविन्द्र ज्ञावलीले बताए ।

यसैगरी पीडितको पक्षमा साक्षी बस्नेहरू सहजै पाउन समस्या हुने गरेको अधिकारकर्मीहरूले बताएका थिए । न्यायको लडाइ झन्झटिलो हुंदा साक्षी बस्ने व्यक्ति नपाउने गरेको उनीहरूको भनाई थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटाले स्थानीय तह र सामाजिक संस्थाले आपसमा सहकार्य गर्नुपर्ने बताए ।
महिला र बालबालिकाको सवालमा लामो समयदेखि चल्दै आएको परम्परागत व्यवहारलाई सच्याउदै जानको लागि सहकार्य जरुरी रहेको सापकोटाले बताए । महिला तथा बालबालिका महाशाखा बसेर आफूले काम गर्ने क्रममा दिनानुदिन आवश्यक हुने धेरै सवालबारे सिकाइ भएको सापकोटाले बताए ।
तालिममा मानव बेचविखन तथा ओसारपसारः बदलिदों स्वरुप, बाल संरक्षण सम्बन्धि मुलभुत अवधारण, स्वयमसेवा पर्यटन र पीडितको अधिकार संरक्षण, क्षतिपुर्ति र पुर्नस्थापनाको बारेमा स्रोत व्यक्तिको रुपमा सिविन बाल हेल्प लाइनका झविन्द्र ज्ञावली र सम्झना अधिकारीले प्रशिक्षण गराएका थिए । यसै गरी सेलर्डका फिल्ड अफिसर जगन्नाथ सुवेदीले पनि तालिममा सहजिकरण गरेका थिए ।

बालबालिकाहरुमाथि हुन सक्ने संभावित दुर्घटना रोक्नको लागि कानुनी रुपमा समेत बन्देज लगाइएको सेलर्डका फिल्ड अफिसर सुवेदीले बताए । ‘पर्यटन भिसामा आएका पर्यटकहरुलाइ कानुनले कुनै पनि विषयमा काम गर्ने अधिकार दिएको छैन’ सुवेदीले भने ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सबैले मौजुदा ऐन कानुनबारे जानकारी हासिल गरिराख्नु आवश्यकता मनन गरेको र यो तालिमबाट त्यस्तो सिकाइ भएको सहभागीहरुले बताएका थिए ।
तालिममा मानव अधिकार तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जालमा सक्रिय संस्थाहरु माइती नेपाल, मकवानपुर महिला समूह, अस्मिता नेपाल, हिमराइट्स मकवानपुर, सिविन बाल हेल्प लाइन, हाम्रो घरलगायतका संस्थाका प्रतिनिधिहरू तथा पत्रकारहरु गरी २४ जनाकाे उपस्थिति रहेको सुवेदीले बताए ।


