साउन महिनाको पहिलो प्रहर । सदा झै मर्निङ्ग वाकबाट फर्किए, नित्य कर्म सकें । ८ बज्यो । केजी कक्षामा अध्ययनरत छोरोको अनलाइन कक्षा सुरु भयो । उसलाई सहजिकरण गर्दै खाना बनाउँदै थिए । सँगसँगै मोबाइलमा राष्ट्रिय तथा स्थानीय समाचारहरु हेरें । त्यसपछी सामाजिक सञ्जालमा आँखा लगाउँदै थिएँ । केही महिला साथीहरुको टाइम लाइनमा मेहेन्दी, हरिया पंहेला चुरा तथा पोशाक लगाएको तस्बिर र टिकटकहरु छ्यापछ्याप्ती देखिरहेको थिए । खास्सै वास्ता लागेन । अक्सर यस्ता लुगा गहना, मेकअप जस्ता बाहिरी आवरण सजिने कुराले मेरो ध्यान कहिल्यै खिच्दैन।
आज पनि यि तस्बिर र टिकटकले मेरो आँखालाई अलमल्याएन । मन खिचेन । स्कृन सार्दै गएँ । एक जना दाइको स्टाटसमा टक्क आँखा रोकिए । आँखा मात्रै हैन, मन पनि खिच्यो ।
स्टाटस यस्तो थियोः ‘हाम्रो कामः ‘११ महिना कुरा लाउने, १ महिना चुरा लाउने ।’ एउटी बहिनीको स्ट्याटस खासमा दमदार थियो ।

स्टाटसले पढें । खिन्नता आभाष भयो । वास्तममा जो बहिनीले लेखेको र उहाँ दाइले साभार गर्नु भएको भएपनि कुरा घत लाग्दो थियो । स्टाटस को बहिनीले लेखिन् वा उहाँ दाइले बहिनीको हवाला दिंदै आफैं लेख्नुभयो यसले कुनै अर्थ राखेन, बरु अर्थ खोज्यो, महिनाको पहिचानको । के यही हो त महिलाको पहिचान ? महिलाहरुको कामै छैन ? कुरै काटेर ११ महिना बिताउँछन् र मेहेन्दी चुरा लगाएर सजिएरै मात्रै १ (साउन) महिना बिताउँछन् ?
महिलाको हैसियत नङ्ग्याउने यो सवाल । महिला मेकअप गरेर राम्री बनेर मात्रै बस्छन् भन्ने अर्थ लाग्ने यो कुराले महिलालाई कत्ति हेलित गरेको छ ? मेरो मनमा गडिरह्यो । हामी महिला सशक्तिकरणको सवाल उठाइरहेको छौ । महिलाको सशक्तिकरण महिलामात्रै लागेर संभव छैन । महिलाको हैसियतको प्रश्न उठ्दा महिलामात्रै नाङ्गिने भन्ने पनि हैन । महिलासँगै पुरुषको पनि हैसियत जोडिएर आउँछ । सबै महिलाहरु जो चुरा मेहेन्दी र मेकअपमा चासो राख्छन् रुचि राख्छन् उनीहरु बेकम्म छन् भन्नेमा पनि कहाँ तुक छ र ? आफैं आर्थिक उपार्जन गरेर सिङ्गाे घर एक्लै धानिरहेका महिलाहरुको पनि यस्ता सवालमा रुचि हुनसक्छ । त्यो आ–आफ्नो रुचिको कुरो हो । मलाई मन पर्दैन भन्दैमा मैले अरुको रुचिलाई कदापि घृणा गर्दिन, र मलाई मन पर्दैन भन्दैमा मलाई अलग सोच्नु पनि म माथिको न्याय हैन ।
आफ्नो सजावटको लागि श्रीमान् को पसिना खेर फालेको भन्ने आरोप बढी आउँछ महिलाहरुलाई । तर, मैले सामाजिक सञ्जालमा भर्खरै जस्को टिकटक र साउने सजावटको तस्बिरहरु देखिरहेका थिए सबै कामकाजी महिला नै थिए । एक दर्जन चुरा, एक प्याकेज मेहेन्दी र एकसेट कपडाको लागि श्रीमानकाे पर्स खोज्नु पर्ने महिला अब कमै छन् । जसलाई यस्ता खर्चको लागि श्रीमानको भर पर्नुपर्छ उनीहरु त्यस्तो सवालमा धेरै सौखिन रहेको पनि मैले पाएकी छैन ।
हामीले सशक्त समाज कल्पना गरेका हौं, जहाँ महिला र पुरुषलाई लिङ्गको आधारमा छुट्टाछुट्टै नजरले हैन समावेशी सोच र कल्पनाले हेरियोस् । पुरुष भएकै कारण उ जतिबेला पनि काम नै गर्छ, भन्ने सोच र महिला भएकै कारण उ जतिबेला पनि बेकमी बस्छे, आफ्नौ सौन्दर्यको मात्रै ख्याल गर्छे भन्ने निच सोच कहिलेसम्म हाबि होला हामीमा ?
अघिल्लो वर्ष असार मसान्त लाग्दै गर्दाको कुरा याद आयोः
एक जना पुरुष साथीले श्रीमतीको लागि चुरा रोज्न जान मलाइ अफर गरे, मैले आफूमा त्यो सिप नभएको बताएँ । उनले भने “तिमी त महिला जस्तो पनि छैनौ, जहिले मेकअप विहीन।” मलाई बाहिरी सजावटको सवालमा धेरैले यसै भन्नुहुन्छ । यसमा चित्त दुखाइ हुन्न मलाई । तर, आम महिलाको सवालमा समाजमा जुन सोच, चिन्तन र विश्लेषण गरिन्छ यसमा अझै धेरै साँघुराेपना देख्छु म । धेरै सुधारको खाँचो छ।
पुरुषहरुसँगै काँधमा काँध मिलाएर जिम्मेवारीको भारी बोक्न तयार हुँदा पनि महिला कै कुरा काटिन्छन् । यसको उदाहरण अहिले राजनीतिक नेतृत्वमा आएका महिलाको चर्चाको सवाललाई नै हेरौं । राष्ट्रपति विद्यादेवी भण्डारी, सांसद कोमल ओलीलाई कमजोर बनाउने अश्रको रुपमा किन लिङ्ग नै विषय वस्तु बन्यो ?
महिलालाई उसको प्रगतिबाट स्वाट्टै तल झार्नको लागि बलियो अश्रकाे रुपमा लिने गरिन्छ उसको लिङ्ग । लिङ्ग / इज्जतकै सवालमा प्रश्न उठाइदिएपछी महिला आफैं ब्याक हुन्छन् भन्ने सोचले गलत प्रचार र गलत आक्षेप लागाउने परिपाटीको अन्त्य नभएसम्म महिला जगतको प्रगति संभव छैन ।
चुरा र कुराको सवाल यहाँ पनि जोडिन्छ । भए नभएको कुरा लगाएर आफू पदमा पुग्ने र चुरा लगाएर (पुरुषलाई आकर्षित गरेर) फाइदा लिने भन्ने सवालमा यो कुरा उठेको हो । आफ्नो दक्षता र योग्यताको आडमा उभिएका महिलालाई पनि कुनै न कुनै रुपमा कुनै निकट पुरुषसँगको नाता सम्बन्ध जोडेर ब्याक हुन जबरजस्ती गरिने परिपाटीको अन्त्य हामीले नगरे कस्ले गर्छ । फरक लिङ्ग हुँदैमा सहकार्यमा साथसाथै हुन नहुने विकृत सोचको कारण महिलाको मात्रै हैन पुरुषको प्रगतिको बाटोमा पनि अवरोध सिर्जना भएका छन् ।
सजावटकै कुरा अलिकति जोडौं । महिला मात्रै हैन, आफू राम्रो देखिउँ, आकर्षित देखिउँ भन्ने सोच पुरुषमा पनि हुन्छ । यो कुनै गलत वा नराम्रो कुरा हैन । आत्म सन्तुष्टिपूर्ण आकर्षणले व्यत्तिको क्षमतामा निखारता ल्याउँछ । आत्मसन्तुष्टिले व्यत्तिको आन्तरीक क्षमतामा निखारता ल्याउँछ, यसले स्वातः कार्यदक्षतामा वृद्धि र सफलताको कडी जोड्दछ । आपसी सम्बन्धमा मिठास ल्याउँछ । चाहे पारीवारिक होस् वा साथी भाई बिच मिठासपूर्ण सम्बन्धले नै हो व्यक्तिलाई प्रगतिको शिखरमा डाे-याउँने।
अहिलेको महामारीको समयमा सबैजसो व्यक्तिमा एक प्रकारको मानसिक ‘प्रेसर’ चिच्याहट, हतास, तनाव व्याप्त छ । मानसिक रुपमा आफूलाई ‘फ्रेस’ राख्न स्वास्थ्य राख्न सक्नु नै सबैभन्दा महत्वपूर्ण विषय बनेको छ । जसरी जुन काम गरेर व्यक्ति खुसी हुनसक्न त्यही गरेर स्वस्थ्य रहनु पर्ने अवस्थामा छ । यो बेला पहिरनको सवाल जोडेर एउटा वर्ग समूदाय र लिङ्गको पहिचानमा अनावश्यक विषय जोडेर गिज्याउनुभन्दा आफ्नै सिर्जनशिलतामा समय लगाउनु धेरै गुणा बेश हुनेछ।
महिलाको सिर्जनशिलताको चर्चा गरौं, उनीहरुलाई प्रेरित गरौं अझै सिर्जनशिलताको लागि साथ दिऔं । परिवारको कुसल व्यवस्थापन गरेर पुरुषकै हाराहारीमा जिम्मेवारी निर्वाह गरेको कुराहरुलाई सकारात्मक रुपमा लिने प्रयास गरौं । चाडपर्व विशेषमा सजिएका, आकर्षित बनेका सवालभन्दा महिलाले परिवार, समाज र राष्ट्रको लागि गरेको योगदानको सवाल पक्कै बढी छ ।

