मकवानपुर । बागमती प्रदेश सरकारले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि कुल ५७ अरब ७२ करोड ९ लाख २७ हजार बजेट बिनियोजन गरेको छ ।
सरकारले प्रस्तावित गरेका केही मुख्य मुख्य कार्यक्रमहरू यस्ता छन्ः
- प्रदेशको १३ जिल्लाका जनतालाई सक्दो चाँडो कारोना बिरुद्धको खोप लगाईने र यसको लागि आवश्यक व्यवस्थापन गर्न २ अर्ब रुपैँया बजेट बिनियोजन गरिएको छ ।
- दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ ।
- एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम बिनियोजन गरिएको छ ।
- प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडकलगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन गरिएको छ ।
- प्रदेश सभा हल एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । शहरी सडक पूर्वाधार सुधार, समुन्नत जीवनको आधार कार्यक्रमको लागि प्रदेश स्थित शहरी क्षेत्रका सडकहरुलाई स्तरयुक्त बनाउन दिगो शहरी सडक सुधार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
- खेलकुदको विकास र विस्तारका लागि खेलकुद पूर्वाधारहरुको निर्माण संरक्षण र सञ्चालनका साथै खेलाडी, रेफ्री र प्रशिक्षकको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालनमा जोड दिइनेछ ।
- प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्न गर्न २९ करोड बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएका रङ्गशाला र कभर्ड हलहरूको संरक्षण, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहवीचको सहकार्य र साझेदारीमा गर्ने व्यवस्था मिलाएको बताइएको छ ।
- प्रदेश भित्र उत्पादित फलफूल, तरकारी लगायतका कृषि उपज भण्डारणका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारीमा निर्माणाधीन १७ हजार ७ सय मेट्रिक टन क्षमता भएका शीत भण्डारहरु आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन २० करोड बजेट विनियोजन गरेको छ ।
- मकवानपुर जिल्लामा निर्माणाधीन दूध पाउडर प्लान्ट, प्रादेशिक कृषि थोक वजार र चितवन जिल्लामा चक्लेट सहितको दूध प्रशोधन केन्द्र आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको बताइएको छ ।

