मकवानपुर । विश्व वातावरण दिवसकाे अवसर पारेर हेटाैडामा ‘फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम भएकाे छ । हेटौंँडा ४ मा रहेको नवोदय शिशु सदन विद्यालयमा ‘नवोदय फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम शनिबार सम्पन्न भएको हाे ।
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएकाे भर्चुअल फोटोग्राफी कन्टेस्टमा ५२ जना प्रतियाेगीले सहभागिता जनाएकोमा रोनश उप्रेती प्रथम भएका छन् भने सुम्निमा राई द्वितीय भएकी छिन् ।
‘सिए (क्रियटिभ आर्ट)’ शिक्षकको समन्वयमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले हावा र पानी स्वच्छ सफा भएमा मात्र मानिस स्वस्थ्य रहनेमा जोड दिए । ‘विद्यार्थीको प्रतिभाको प्रस्फोटन यसरी वातावारणसँग जोडिएर गराएकोमा तारिफ योग्य छ ।’ उनले भने –‘वातावरण स्वच्छ राख्नलाई कुरा मात्र होइन काम पनि गर्नुपर्दछ । जुन काम आज नवोदयले गरेको छ । ’
३० प्रतिशत फेसबुक लाइक, ३० प्रतिशत भोटिङ र ४० प्रतिशत निर्णायकको आधारमा नतिजा तयार पारिएको विद्यालयका शिक्षक इशाक राईले जानकारी दिए ।
वातावरण प्रदूषण हुदाँ प्रकृतिसँगै मानिसलाई कस्तो असर पु¥याउँछ भन्ने विषयलाई विद्यार्थीहरुले नाटकमार्फत प्रस्तुत गरेका थिए । वातावरण दिवसको अवसरमा फोटो प्रदर्शनी, वातावरणसम्बन्धी गीत प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा सिएका शिक्षक प्रलय चौलागाईले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

