मकवानपुर । मकवानपुरमा गत बैशाख २० गतेबाट लागु भएकाे निषेधाज्ञा आजबाट जेठ ३१ सम्म थप भएको छ । काेराेना भाइरसकाे दाेस्राे लहर सुरू भए पछी राेकथामकाे लागि मकवानपुर प्रशासनले जारी गरेकाे निषेधाज्ञा जेठ ३१ सम्म थप गर्ने गत बुधबार बसेकाे कोभिड संकट व्यवस्थापनको बैठकले निर्णय गरेकाे थियाे ।
आजबाट अत्यावश्यक उपभोग्य वस्तु (खाद्यन्न,पानी,दूध,माछा,मासु,अण्डा,फलफूल तथा तरकारी) बिक्री वितरण गर्न बिहान ४ बजेबाट बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । बैशाख १९ गते बुधबार बसेको कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधालाई केही खुकुलाे पार्दै खाद्यन्नको पसलहरु बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।
बैठकले औषधी र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक घर बाहिर निस्कन,मर्निङ तथा इभनिङ वाकमा जान र हिडडुुल गर्न नदिने निर्णय यथावत राखेको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रकाे सिफारिसमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले बैशाख २० गतेबाट ३१ गते राति १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्र दायाँबायाँ ५००।५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
बैशाख ३० गते बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्दै ३१ गते राति १२ बजेबाट जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यसैगरि जेठ ११ गतेको केन्द्रको बैठकले जारी निषेधाज्ञालाई २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
मकवानपुर जिल्लाभित्र कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यस जिल्लामा मिति २०७८ साल जेठ २० गते राती १२:०० बजेसम्म निषेधाज्ञा कायम गरिएकोमा जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको मिति २०७८-०२-१९ को सिफारिस र जिल्ला सुरक्षा समितिको मिति २०७८-०२-१९ को निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई मिति २०७८ साल जेठ २० गते बिहीबार राती १२:०० बजेदेखि मिति २०७८ साल जेठ ३१ गते सोमबार राती १२:०० बजेसम्म यस मकवानपुर जिल्लाभर निम्नबमोजिम हुने गरी यो आदेश जारी गरिएको छ । यो आदेशको बर्खिलाप भए, गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
देहाय:
१. औषधी उपचार र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन, मर्निङ तथा इभनिङ्ग वाकमा जान र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ४:०० बजेदेखि विहान ९:०० बजेसम्म मात्र खोल्न पाइने । औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने । यसरी पसल खोल्दा अनिवार्यरूपमा भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने । तर, – हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने, फलफूल तथा तरकारीको थोक बजारबाट खुद्रा विक्री वितरण गर्न नपाइने, होलसेल खाद्यान्न विक्रेताहरूले खुद्रा विक्री वितरण गर्न नपाउने, डिपार्टमेन्टल स्टोर तथा मार्टहरू पूर्णरूपमा बन्द रहने । डिपार्टमेन्टर स्टोर तथा मार्टबाट खाद्यान्न विक्रीको हकमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट अनुमति प्राप्त सवारी साधन प्रयोग गरी होम डेलिभरी सेवा मात्र प्रदान गर्न सकिने, दूध तथा तरकारी विक्रेताहरूले सम्बन्धित सहकारी संस्थाहरूमार्फत वा आफै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट अनुमति प्राप्त मोबाईल भ्यानको प्रयोग गरी नियमितरूपमा टोल-टोलमा गई विक्री वितरण गर्नसक्ने ।
३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक (मयुरी, अटो, ट्यामेपो समेत) वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र
अन्य ढुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने । ।
४. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।
५. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने । औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १०:०० बजेदेखि दिनको ३:०० बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने र सोही समयमा मात्र सवारी साधन मर्मत गर्ने वर्कसपहरू खोल्न पाइने ।
६. अत्यावश्यक सरकारी सेवाहरू एक चौथाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
७. बैंकबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक चौथाई । कर्मचारीहरूबाट मात्र हप्तामा आइतबार, मंगलबार र बिहीबार ३ (तीन) दिन विहान १०:०० बजेदेखि दिनको २:०० बजेसम्म मात्र सञ्चालन गर्ने । अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्णरूपमा बन्द रहने ।
८. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।
९. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ (सात) जनासम्म मात्र जान सकिने ।
१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई सम्बन्धित उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने ।
११. विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।
१२. प्रकरण नं. १ देखि ११ सम्म उल्लिखित आदेश उल्लङ्घन गरेमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ र २२ बमोजिम समेत देहायअनुसार कारबाही गरिने छ ।
क. कुनै व्यक्तिले यो आदेशको उल्लङ्घन गरेमा एक लाख रूपैयाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँच लाख रूपैयाँसम्म जरिबाना,
ख. मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रूपैयाँ,
ग. मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रूपैयाँ,
घ. अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधन भए दुई हजार रूपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रूपैयाँ जरिबाना लगाई निश्चित समयसम्म सवारी साधन नियन्त्रणमा लिइने, ङ. यस आदेशको विपरीत काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेखित कारबाहीको अतिरिक्त ६ महिनासम्मको लागि बन्द गर्न सकिनेछ ।



