तिम्रो मन्द मुस्कानको नजिकै
बलिरहेको त्यो हरियो बत्तिले
मलाई यो सूचित गरिरहन्छ किः
तिमी सकुशल छौं
र,
मैले झै, मेरो याद गरिरहेकै छौ सायद ।
तिमी शान्त छौ, यै तस्बिर जस्तै
सालिन छौ, गहिरो महासागर जस्तै,
मायालु यति छौ, कि म निशब्द छु बताउँन,
वर्षौदेखि मनमा अथाह प्रेम भरेर,
कतै नडगमगाइकन,
कतै पोखिन नदिइकन,
कतै छचल्किन नदिएर,
कतै कुडिन र टुक्रिन नदिइकन,
कति यत्न पुर्वक राख्यौ होला त्यो मनलाई चोखो गरी ।
र, म
कुन साहसले अघि बढुँ त्यो
शान्त तलाउमा ढुङ्गा हान्न,
कसरी हिम्मत गरु त्यो
चोखो मनमा ढसमस्स भरिएर बस्न,
वर्षौदेखि ढलपल नगरीकन भरिएर बसेको
त्यो प्रेमिल, त्यो मायालुपन किन पाेखिन दिउँ
किन डगमगाइ दिउँ,
किन छचल्किन दिउँ ?
नकुडाइकन, नटुक्राइकन
नासो सम्झेर या उपहार संझेर
उसैगरी, उस्तै जतन पुर्वक
उही मन्दिरमा त्याे चाेखाे मन सुरक्षित राख ।
हेटौंडा–५ सिंचाइटोल, रचनाकाल २०७८ जेठ ।

