मकवानपुर । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारको नीति तथा कार्यक्रम ५६ पेजको छ भने १५५ बुँदामा समेटिएको छ ।।
हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ:
नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all
प्रदेश युवा परिषद बागमतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ । २०८० देखि लगातार प्रदेश युवा सम्मेलन आयोजना गर्दै आएको परिषदले यो तेस्रो श्रृङ्खलाका रुपमा युवा सम्मेलनको तयारी गरिरहेको हो । प्रदेशभरबाट गुुगल फर्म भरेर छानिएका ३५० जना युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुनेछन् । परिषदले आफ्नो वेभसाईट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट लाखौं युवाहरुलाई कार्यक्रममा सहभागी गराउने तयारी गरिरहेको छ । यसै सन्दर्भमा प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईसँग गरिएको संक्षिप्त कुराकानी ।
बाग्मती प्रदेश युवा परिषदले युवा सम्मेलन गर्नुको औचित्य के हो ?
युवाहरु अध्ययन, रोजगारी र सीपका लागि संसारभर अवसरको खोजीमा लाग्न थालेका छन् । यसरी देशविदेशमा अवसरको खोजी गर्दै हिडीरहेका युवाहरुलाई सरकारसंग अन्तरसंवादमा जोड्नुपर्छ भन्ने मुख्य ध्येयका साथ बाग्मती प्रदेश युवा परिषदले युुवा सम्मेलनको आयोजना गर्ने अवधारणा अघि सारेको हो । युवाहरुलाई सीप सिकाई दक्ष जनशक्तीका रुपमा स्थापित गर्दा उनीहरुलाई स्वदेश वा विदेशमा अवसरको खोजीमा सहज हुने कुरा पहिला बागमती प्रदेश सरकारलाई बुुझाउन सकिन्छ की भन्ने लागेर हामीले सरकार र युवालाई एउटै थलोमा अन्तर संवाद गराउने अबधारणा अघि बढाएका हौँ ।
प्रदेश युवा सम्मेलन तेस्रो श्रृङ्खलासम्म आइपुग्दा युवा र प्रदेश सरकारमा यसको प्रभाव कस्तो परेको छ ?
राजनितीप्रति वितृष्णा राख्ने युवाहरु पनि सरकारले बनाउने निती नियमले आफ्ना अवसरहरु सृजना हुन सक्दछ भन्ने कुरामा कन्भीन्स भएका छन् । सरकार युवाका क्षेत्रमा के कस्ता योजना बनाउने अलमलमा देखिन्थ्यो । युवाहरु पनि सरकारलाई आफ्ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए । हामीले यी दुुबै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौँ । युवा सम्मेलनले बागमती प्रदेश सरकारलाई युवा निती र बजेटमै युवा सीप बर्ष घोषणा गराउने वातावरण सृजना गरेको छ । सरकारप्रति युवाको सरकारात्मक धारणा बन्दै गएको छ ।
तेस्रो श्रृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनले बागमती प्रदेशका १०,५०० भन्दा बढी युवाहरूलाई दक्ष जनशक्तीका रुपमा स्थापित गरेको तथ्यांक हामीसंग छ । विशेष गरी ग्रामीण क्षेत्रका युवाले पहिलोपटक सरकारी निकायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका छन्, जसले उनीहरूमा सशक्तिकरणको अनुभूति गराएको छ ।
बागमती प्रदेश सरकार र स्थानीय सरकारसँग युवालाई यो कार्यक्रमले कसरी जोड्छ ?
प्रदेश युवा सम्मेलन नीति संवाद प्लेटफर्मको रूपमा स्थापित भएको छ । यो सम्मेलनले युवा र सरकारबीचको दूरी घटाई एकअर्कालाई सामिप्यमा ल्याउने काम गरेको छ । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकूद मन्त्री, स्थानीय सरकार प्रमुखहरू र अन्य उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ । युवाले नीतिगत विषयमा सुुझाब दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नितीमा युवाहरुको सुुझाबका आधारमा युवा परिषद्का सिफारिसमा जिल्ला युवा नीति तथा कार्यक्रमहरू परिमार्जन भएका छन् ।
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई कत्तिको प्राथमिकतामा राखेको छ ?
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजनमार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८१/८२ मा सम्मेलनको आयोजनाका लागि बजेट छुट्याइएको छ । साथै, युवा खेलकूद मन्त्रालय अन्तर्गतको युवा कार्यक्रमको मूल हिस्साको रूपमा यो सम्मेलनलाई औपचारिक रूपमा स्थान दिइएको छ । हाम्रो पहलकदमीमा प्रदेश सरकारले “युवा सीप बर्ष २०८१” घोषण गरेर युवालाई सिप बिकास कार्यक्रम संचालन गरिरहेको छ । यही सम्मेलनको घोषणापत्रलाई आधार मानेर युवा लक्षित कार्यक्रम अघि बढाएको छ ।
बाग्मती प्रदेश युवा सम्मेलन आयोजना गर्न सरकारलाई कसरी सहमत गराउनुुभयो ?
प्रदेश युवा परिषदले युवा सम्मेलनको आवश्यकता पुष्टि गर्न २०७८ सालमा युवा आवश्यकता मूल्याङ्कन सर्वेक्षण सञ्चालन ग-यो, जसमा ७२% युवाले नीति संवादका प्लेटफर्मको अभाव भएको उल्लेख गरेका थिए । यो डेटा र नागरिक समाजसँगको छलफलका आधारमा सम्मेलन प्रस्ताव तयार पारियो र सामाजिक विकास मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्तुति गरियो । युवाको सशक्तिकरणमा प्रत्यक्ष प्रभाव पर्ने नीति कार्यक्रम भएकाले सरकार सहमत भयो ।
सीप सिक्न र उद्यमशील बन्न चाहने युवालाई यो सम्मेलनले के के कुरा दिन सक्छ ?
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायतका विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको हुन्छ । सहभागी युवा यसबाट आफ्ना व्यवसायिक सोचलाई परिष्कृत गर्न सक्ने र सरकारी उद्यम सहयोग कार्यक्रम (जस्तै युवा स्वरोजगार कार्यक्रम) मा पहुँच बनाउने उपायहरूबारे जानकारी पाउँछन् ।
तेस्रो श्रृङ्खलामा मात्र ४०% सहभागीले कार्यक्रममा भाग लिएपछि उद्यम सुरु गर्ने प्रेरणा पाएको तथ्य परिषद्को मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । युवालाई सरकारसँग जोड्ने, उनीहरूको आवाज नीति निर्माणमा पुर्याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा कार्यक्रम बन्न थालेको छ ।
बाग्मती प्रदेश युवापरिषद मार्फत सीप सिकेका युवाहरु उद्यमशीलतामा जोडिएका छन् ?
बागमती प्रदेश युवा परिषदले युवाहरुलाई पहिलो चरणमा आधारभुत तालम प्रदान गर्ने, दोस्रो चरणमा विशिष्टकृत तालिम दिने, र सीप सिकेका युवाहरुको सीप परिक्षण गरी उनीहरुलाई सिटीभिटीको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई उद्यमशील बनाउन आवश्यक सामाग्री दिएर उत्प्रेरणा दिने काम भईरहेको छ । सीप सिकेका धेरै युवाहरु आफैंले व्ययसाय सञ्चालन गरिरहेका छन् । धेरै युवा साथीहरु प्रशिक्षकका रुपमा स्थापित बनेका छन् । युवाहरुमा सीप सिक्नुपर्दछ भन्ने भावना जागृत भएको छ ।
बाग्मती प्रदेश युवा परिषदका आगामी योजना कस्ता छन ?
प्रदेशका प्रत्येक युवा सीपयुक्त हुनुपर्दछ । युवाको सशक्तीकरण सीप र क्षमता विकासबाट मात्रै हुनेछ । युवाहरुले चाहेमा मात्रै देश विकास सम्भव हुने भएकाले उनीहरु उद्यमशीलतामा जोड्नुु पर्दछ । सीप सिकेका युवा विदेशमै गएपनि उनीहरुले सहज र सुरक्षित रोजगारी प्राप्त गर्दछन् । उनीहरुको आम्दानी पनि बढी हुन्छ । अहीले प्राप्त भईरहेको रेमिटेन्समा पनि बृद्धी हुन्छ । सीप सिकेका युवा उद्यमी बन्दा अन्य युवाहरुले रोजगारीको अवसर प्राप्त गर्दछन् । बाग्मती प्रदेशलाई समृद्ध प्रदेश बनाउन युवाको सहभागीता बढाउनुु पर्छ । बागमती प्रदेश युुवा परिषद कृषि, पर्यटन, सेवामुखी ब्यवसाय र प्राविधिक विषयहरुमा युवाहरुलाई जोड्दै प्रदेशको विकासमा युवालाई सहयात्री बनाउने योजनाका साथ अघि बढीरहेको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट मुल्य घटेर आएसँगै समायोजन गरिएकाे निगमले जनाएकाे छ । एलपी ग्याँसकाे मूल्य घटेर आए पनि खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ । । एलपी ग्याँस प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२,दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।
त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।

मकवानपुर । मकवानपुरकाे हेटौंडामा नेपाल मोबाइल व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा हुने भएकाे छ । हेटौंडामा २६ र २७ बैशाखमा हेटौंडामा मोबाइल व्यवसायी महासंघको साधारणसभा हुने भएकाे हाे ।
उक्त साधारण सभामा सहभागी हुन् देशभरका ६० जिल्लाबाट एक हजार भन्दा बढी व्यवसायी साधारणसभामा सहभागी हुनेछन् । मंगलबार हेटौंडामा भेटघाट गरी आयोजक समितिका संयोजक तथा नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष छतेन्द्र आचार्यले साधारणसभाकाे जानकारी गराएका हुन् ।
साधारणसभाको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेकाे छ । साधारणसभाको उद्घाटनको दिन प्रभातफेरीको समेत आयोजना गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिए । साधारणसभा आयोजनाका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
काठमाडौं । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित सहाकारीहरुले आमजनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्नुपर्ने बताउनु भएको छ ।
नेपालको संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको बताउनु हुँदै उहाँले सहकारीलाई जिम्मेवार बन्न समेत आग्रह गर्नुभयो ।
नवजीवन सहकारी संस्थालिमिटेडद्वारा आयोजित बिचार गोष्ठी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार यस्तो बताउनु भएको हो । ‘सहकारी सहकार्य हो, यो समूह र त्यसभित्रका व्यक्तिहरुको उत्थानमा क्रियाशिल संस्था हो, सहकारी एकताको अनुपम उदाहरण हो’ उहाँले भन्नुभयो । समूहले व्यक्तिलाई उत्थान गर्नुपर्दछ र गर्न सकिन्छ भन्ने उदाहरण नवजीवन सहकारीले दिएको उहाँले बताउनुभयो ।
सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बालकलाई देवकोटा सहितको समूहले उपचारमा गरेर नयाँ जीवन दिएपछि यो सहकारीको परिकल्पना गरिएको थियो । वि। स २०४८ सालको उक्त घटनाबाट पाठ सिक्दै २०५० मा सहकारी दर्ता गरिएको उहाँले स्मरण गर्नुभयो । ‘मानिसले सफलता देख्छन् र सफलतामा हातेमालो गर्छन् तर संघर्ष धेरैलाई थाहा हुदौन’ उहाँले भन्नुभयो । नवजीवन सहकारी संस्थाले सुदूर पश्चिम र लुम्बिनीका जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरि जीवनस्तर उकास्न सफल भएको उहाँले बताउनु भयो ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित नपारेको उहाँले बताउनु भयो । व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीहरूको कारण अहिले सहकारी अभियानमा हिलो छ्याप्न खोजेकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
‘नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन, त्यसैले केही छिटपूट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुने उहाँले बताउनु भयाे । सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैङ्क सहकारीले सहकार्यमा परिचालन गरेको बताउँदै उहाँले भन्नुभयाे ‘त्यत्तिकै निस्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा जस्तै भएको छ, यो खुशीको कुरा हो’ सहकारीले बित्तिय साक्षरतामा अझै जोड दिएर आमसमुदायलाई सहकारीमा जोड्नु पर्ने उहाँले बताउनु भयाे ।
सहकारीले आमसर्वसाधारणहरुकाे भलाईको लागि सधै लागि परेकाे सहकारीका अध्यक्ष देवबहादुर बमले बताए । बमका अनुसार वि.सं. २०४८ साल माघमा एकले सबैलाई सबैले एकलाई भन्ने उद्धेश्यका साथ १४ जनाले स्थापना गरेको बचत कोषलाई विस्तार गर्दै जाने क्रममा ६४ जना सदस्यहरुबाट १ लाख ३० हजार पूँजी संकलन भएपछि दर्ता भई सुदूरपश्चिमको धनगढीमा वि.सं. २०५० मंसिर ३० गतेबाट यो सहकारी कारोबार सुरु गरेको थियो ।
यस संस्थामा हाल करिब ३३ हजार शेयर सदस्य रहेका छन् भने १० वटा शाखा/सेवाकेन्द्रहरु मार्फत सेवा प्रदान गरिरहेको छ । देशभरीका करिब ३० हजार सहकारी संस्था मध्ये ठूला १० भित्रैको उत्कृष्ट तथा संस्थाका सदस्यहरुको मन मस्तीस्कमा बस्न सफल रहेको अध्यक्ष बमले बताउनुभयो ।
धनगढी, टीकापुर, अत्तरिया र बाँसगढीमा आफ्नै भवन रहेको यस संस्थाले सुखड र जोशीपुरमा समेत जमिन खरिद गरी संस्थाको आफ्नै भवन निर्माण गर्ने लक्ष रहेको छ । लघुवित्त कार्यक्रम समेत सञ्चालन गरिरहेको यस संस्थाले सुपथ मूल्य पसल खोल्ने योजना समेत बनाएको छ । ४३७ करोड निक्षेप संकलन गरि ४०४ करोड कर्जा लगानी गरेको यस संस्थाले आ.ब. २०७९।०८० मा १३ करोड ४९ लाख मुनाफा हाँसिल गरको छ । त्यस्तै संस्थाको चुक्ता शेयर पुँजी २८.५ कारेड रहेको छ भने जगेडा तथा विभिन्न कोषहरुमा ४४ करोड रकम जम्मा रहेको बमले बताउनुभयो ।