मकवानपुर । घरेलु तथा साना उद्योगलाई सहयोगका कार्यक्रम ल्याउन माग गरिएकाे छ । मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लक डाउन तथा निषेधाज्ञाका कारण उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसंग माग गरेको हाे ।
संघका महासचिव कुमार पौडेलले बुधबार आज प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करीब डेढ बर्षको कोभिड १९ का कारण भएको लकडाउनका कारण घरेलु तथा साना उद्योगी आफ्ना व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले सरकारले आफूहरु लक्षित ठोस कार्यक्रमहरु ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा नेपाल सरकारले तोकेको भन्सार तिरी कच्चा पदार्थ बाहिरी देशबाट समेत आयात गरी तिनै देशहरुमा उत्पादित बस्तुको मूल्यसंग प्रतिस्पर्धा गर्दै उद्योग सन्चालन गर्नु परेको चुनौतीपूर्ण अवस्थामा घरेलु तथा साना उद्योगीहरु कोरोनाको माहामारीबाट थप प्रताडित बन्न पुगेको उल्लेख छ । यस्तै सरकारले आफूहरुको समस्या सुनुवाई नगरेको भन्दै विज्ञप्तिमा आफ्नो पेशालाई निरन्तरता दिन आफ्नो जायजेथा बैंकमा राखी ऋण लिई उद्योगहरु सन्चालन गरिरहेका धेरै घरेलु तथा साना उद्योगहरु ऋणको ब्याज मात्र होइन सावाँ पनि तिर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ ।
सरकारले लकडाउन भरी ऋणको ताकेता नगर्नु भनी बैंकहरुलाई परिपत्र गरेको भएतापनी त्यसको खासै असर आफूहरुले नदेखेको विज्ञप्तिमा लेखिएको छ । ‘लकडाउन खुकुलो हुनासाथ बैंकको किस्ता, ब्याज, बत्ती, पानी, भाडा र श्रमिकको पारिश्रमिक कसरी बुझाउने भन्ने सोच र चिन्तामा व्याकुल साना उद्योगीहरुलाई आफ्नो उद्योग टोक्नु न बोक्नु अवस्थामा पुगेको छ ।’ विज्ञप्तिमा उल्लेख गर्दै घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई बैंकको व्याज, बत्ती, पानी, घरभाडामा विशेष सरकारी प्याकेजको खाँचो परेको अवस्थामा पनि आमनागरिकको जीवन जोगाउन व्यक्तिगत वा समूहगत रुपमा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेकोबारे गराउन गराइएको छ ।
कोभिडका कारण लागू गरिएको निषेधाज्ञाका कारण हाल प्राय सम्पूर्ण उद्योग बन्द रहेकाले सरकारले ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु सधैंका लागि बन्द हुने हुँदा सम्बन्धि निकायलाई ध्यान दिन माग पनि प्रेस विज्ञप्तिमार्फत गरिएको छ । ‘माहामारीमा ज्यानको सुरक्षाले प्राथमिकता पाउने भएता पनि त्यसपछिका दिनहरुमा नेपाल सरकारले कुनै ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु बन्द हुने अवस्थामा रहेको हुँदा समयमा नै सम्बन्धीत निकायको ध्यान जाओस् भनी यो प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहान्छौं ।’ विज्ञप्तिमा लेखिएको छ ।
अहिले कोरोनाको कहरमा उपचारको निम्ती अस्पतालमा बेड नहुँनु, आइसीयु, अक्सीजन अभाव हुनु तथा खोपको पर्याप्त उपलब्धता गराउनुपर्नेमा सरकार तथा राजनीतिक दलहरुको प्रभावकारी भूमिका नखेलेको बताउँदै सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य उपचारमा लगाउन ध्यानाकर्षण गराउँदै घरेलु उद्योगी व्यवसायीहरुलाई खोपको व्यवस्था मिलाउन पनि महासचिव पौडेलले विज्ञप्तिमार्फत माग गरेका छन् ।

मकवानपुर । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्याएकाे छ ।
टेलिकमले सार्वजनिक गरेका ‘लकडाउन स्टे कनेक्टेड’ अफर शुक्रबारदेखि १ महिनाका लागि लागू हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए । जाेशीका अनुसार अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ भने डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ । लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । यो डाटा दैनिक एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।
यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँने व्यवस्था गरेको छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा बोनस स्वरूप पाँच सय एमबी डाटा उपलब्ध हुनेछ । डाटा दुई दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै पाँचसय रुपैयाँ अथवा त्यसभन्दा धेरै रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । यो डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले क्रेडिट कार्डबाट किस्ताबन्दीमा म्याट्रेस किन्ने सुविधा ल्याएकाे छ । बैंकले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको हाे ।
मेगा बैंकले आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको छ । ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ । ग्राहकहरुलाई ६ महिना तथा १ बर्ष गरी २ किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंग कृषिमा संलग्नमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो ।
यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबर्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार, मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ ।
यसका साथै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको ब्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यस सम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।
केही दिन अघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।
नेपालको आधारभूत तहमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीब्रता पाउने मेगा बैंकको विश्वास छ ।
मकवानपुर । मेगा बैंक नेपाल लिमटेड र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता भएकाे छ । मेगा बैंकले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुकाे ब्यवसाय प्रबर्धन गर्ने उद्धेश्यले भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको हाे ।
मेगा बैंकले संघ आबद्ध उद्यमीहरुलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ बैंकले जनाएकाे छ । जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास रहेको छ ।
सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् । मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल वजारका उद्यमीहरुलाई बैंकको नजिकैको शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिनाधितो सहुलियपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।