मकवानपुर । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७९–८० को लागि ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँ बजेट पेश गरेको छ ।
समन्वय समिति उपप्रमुख सानुकाजी लुईंटेलल जिल्ला सभामा उक्त बजेट पेश गरेका हुन् । बजेट कार्यान्वयन गर्ने स्रोतकोरुपमा संघीय अनुदानबाट १ करोड ४० लाख १७ हजार, बागमती प्रदेश सरकार अनुदानबाट ७५ लाख, प्राकृतिक स्रोतको रोयल्टी बााबाँडपाँडबाट १३ लाख बजेट पेश गरीएको हो ।
यसैगरी विविध कोष खातामा रहेको २२ लाख ४४ हजार, जिल्ला विकास समितिको मौज्दात कोषबाट ८ करोड ८८ लाख, कोरोना आपतकालीन कोषको १२ लाख गरी ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँको बजेट पेश गरेका थिए ।
समन्वय समितिले सन्तुलित, दिगो र गुणस्तरीय विकास, रोजगारी सृजना र गरिबी निवारण, खेलकुद र पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिक स्रोतको सदुपयोग प्रवद्र्धन, सामाजिक न्याय तथा लैङ्गिक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको समन्वय समिति प्रमुख ललितबहादुर घलानले बताए ।
जिल्ला सभामा मकवानपुर जिल्लाको १० पालिका मध्ये कार्यसम्पादनमा उत्कृष्ट भएका पालिकाहरुलाई सम्मान पनि गरिएको थियो ।
स्थानीय तहहरुले वार्षिक रुपमा गरेको कार्य प्रगति मूल्यांकनलगायतका आधारमा मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम घोषित भएको छ ।
स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि २०७८ को अंकभारमा ६३ दशमलव २ प्रतिशत अंक प्राप्त गर्दै यो पालिका प्रथम भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
जिल्ला समन्वय समिती आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मानपत्र प्रदान गर्दै आएको छ । जिल्ला समन्वय समितिको मूल्यांकनअनुसार ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् ।
मकवानपुर । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैँडाले जनाएको छ ।
भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धान खेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको गुनासो पाइएको छ ।
बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धान खेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर जमिनमध्ये २० हजार ७०० हेक्टर जमिनमा धान खेती, नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार तीन सय हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार ५०० खेती जमिनमध्ये आठ हजार २०० हेक्टरमा, रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा दुई हजार नौ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर तथा काठमाडौँको पाँच हजार नौ सय २५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयले जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ ।
मकवानपुर । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्ता गठबन्धनमा आबद्ध ५ दल सहमत भएका छन् ।
निर्वाचन आयोगले भने गत २२ असारमा नै मंसिर २ मा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध ५ दलको बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । निर्वाचन आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको छ ।
यसअघि संसद्को चालू अधिवेशन समापन गरेर मात्रै निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र अलमल देखिँदै आएको थियो । यस्तै, सरकारमा रिक्त रहेका अर्थ मन्त्रीका कारण पनि निर्वाचनको मिति घोषणामा अलमल भएको थियो ।
आयोगले देशभर एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गर्दै आएको छ । आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ ।
२०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।
आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ । निर्वाचनको मिति घोषणा भएपछि भने नामावली दर्ता रोकिने कानुन छ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।
मकवानपुर । मकवानपुर जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिका ९ कि सुन्तली चेपाङ्ग भोकोपेट ८ घण्टाको बाटो धाएर धादिङ जिल्लाको सिमाना आईपुगिन । एउटै खहरे दर्जनौ पटक तरेर, झांगाबाट ढुङ्गा खसेर लाग्ने त्रासै त्रासमा दौडिएकी सुन्तलीको मुहार भने प्रसन्न थियो कारण थियो ५ वटा बाख्रा ।
बाह्र महिना अन्नले पुर्याउन धौ धौ हुने उनले उन्नत प्रजातिको ५ वटा बाख्रा अनुदान पाइन् । जंगलमा बाख्रा छाडेरै भएपनि उत्पादन लिन सकिनेमा आशावादी छिन उनी । सुन्तली जस्तै खुसी देखिइन इन्द्रकुमारी नगरकोटी ।
काखे बच्चा च्यापेर बाख्रा लिन आएकी उनीलाई भीर र पहरामा कसरी बचेर फर्कने भन्ने चिन्ता थियो । “एउटा बच्चा च्यापेर आए, अब ५ बाख्रा पनि च्यापेर फर्कनु छ, घरसम्म पुर्याउन चिन्ता भए पनि बाख्रा पाएकोमा औधी खुसी छु” उनले भनिन् “बाख्राबाट अब हाम्रो जिविका चल्न सहयोग हुने छ ।”
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङको तारलिङका विपन्न परिवारलाई उन्नत जातको बाख्राको पाठा वितरण गरिएको थियो ।
सयुक्त राष्ट संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा महिला सशक्तीकरण तथा गरिबि निवारण समूह नेपालले यहाँको २० परिवारलाई ५/५ वटाको दरले बाख्रा वितरण गरेको हो । बाख्राबाट आर्थिक उपार्जनमा स्थानीय विपन्न महिलालाई सहयोग पुग्ने समूह अध्यक्ष इन्दिरा न्यौपानेले बताइन् ।

विकट बस्तिमा कष्टकर दैनिकी गुजार्दै आएका स्थानीय चेपाङ, नेवारी तथा तमाङ समूदायमा बाख्रा पालनले जीविकोपार्जन सहज हुने सेवाग्राही सुन्तली चेपाङले बताइन् । “यि बाख्राबाट उत्पादन हुने पाठापाठीमार्फत आर्थिक स्तर बढाउन सकिन्छ भन्ने लागेको छ” उनले भनिन् “हाम्रो लागि एउटा बाख्रा किन्नै धौ धौ छ,संस्थाले ५ वटा दियो,अब आर्थिक रूपमा फड्को मार्न सकिन्छ कि ।”
बाख्रा वितरण कार्यक्रममा कृषि प्राविधिक भिमप्रसाद दाहालले बाख्राको स्वास्थ्यमा
हेरचाह गर्दा ध्यान दिनुपर्ने जानकारी बारे स्पष्ट पारेका थिए । “बाख्रा बिरामी भयो भने तपाईंको गाउँमै रहेका स्थानीय प्राविधिकलाई पनि भेट्न सक्नुहुने छ” दाहालले भने “यि बाख्राको स्याहार गर्दै अरू बाख्रा बढाउनु पर्छ,अनि व्यवसायीक बनिन्छ ।”
प्राकृतिक रूपमा उत्पादन हुने फलफुल तथा पाखो बारिमा उत्पादन हुने अन्नलाई निर्वाहमुखि गुजारा चलाउदै आएका यहाँका बिपन्न स्थानीयलाई केहि समय पालेपछि बाख्राबाट राम्रो आयआर्जन हुने गाउंपालिका अध्यक्ष राजकुमार मल्लाले बताए । समूहले बितरण गरेको बाख्रालाई खोर गाउँपालिकाले निर्माण गरिदिने उनले बताए ।
बाख्रा वितरण गरिएकाहरूलाई स्थानीय गाउँपालिकाले खोर बनाउन सहयोग गर्नेछ भने पहिलो पटक उत्पादन भएको पाठाहरू उनीहरूले आफ्नो छिमेकीलाई सहयोग गर्नेछन्।
गरिबी उन्मुलन गर्दै महिलाको अवस्थामा सुधार ल्याउन आफूहरूले काम गर्दै आएको अध्यक्ष न्यौपानेले बताइन् । आर्थिक सशक्तीकरणको समूहले विपन्न परिवारलाई फलफूल खेती, कुखुरा पालन तथा बाख्रा पालनमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक सचित रिजालले बताए । बाख्रा वितरण कार्यक्रममा समूहका पशु प्राविधिक पवित्रा संजेल, लेखाशाखाका सुजन पौडेलसमेतको उपस्थिति रहेको थियो ।

मकवानपुर । कपडाको व्यवसायमा मंहङगो मानिने ढाकाको उत्पादनमा हेटौंडाका महिलाहरु जोडिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिम मार्फत पोख्त बन्न लागिपरेका छन् ।
उपमहनगरको सहकार्यमा गरिवी निवारणका लागि लधु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट दुई महिने ढाकाको कपडा बुनाई सम्बन्धी आधारभूत तालिम लिएकालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा एड्भान्स तालिम दिएसँगै हेटौंडाका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका हुन् ।
उपमहानगरपालिकाले हेटौंडाको १५, १७ र १८ नम्बरका ११ जना महिलाहरुलाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनीहरुले तालिममा ढाकाको धागो मार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्रीहरु उत्पादन थालेका छन् ।
करिब ३ लाख रुपियाँको लगानीमा उपमहानगरले ३ वटा वडाका ११ जना महिलाहरुलाई एड्भान्स तालिम दिदै आएको छ । महिलालाई आत्मनिर्भर बनाउन यस्तो तालिम प्रभावकारी हुने हेटौंडा उपमहानगरपाकिला आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले बताइन् । अहिले तालिमको क्रममै सहभागिले निकै महंगो मुल्यका सामानहरु उत्पादन गर्ने थालेको उनले बताइन् ।
सहभागिलाई १२ वटा तान मार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि सिन्धुलीका बेलिमाया जिनेल मगर उनको सहयोगिले प्रशिक्षण दिइरहेका छन् ।
तालिममा सहभागीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले तालिमपछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लाग्न आग्रह गरीन् । उनले सधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्न प्रत्सान गर्दै तालिम लिएका महिलाले बर्ष भरीमा धेरै उत्पादन र बिक्री गर्नेलाई सम्मान गरीने बताइन् ।
उनले भनिन् ‘व्यवसायमा जोडिनका लागि आर्थिक रुपमा असहज भए उपमहानगरपालिका तयार छ, तर काम गरौं आर्थिक समस्या पर्दैन ।’ नगरप्रमुख लामाले उत्पादन भएको सामग्री बिक्रीका लागि उपमहानगरपालिकाले वातावरण निर्माण गर्ने बताइन् ।