मकवानपुर । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्ता गठबन्धनमा आबद्ध ५ दल सहमत भएका छन् ।
निर्वाचन आयोगले भने गत २२ असारमा नै मंसिर २ मा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध ५ दलको बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । निर्वाचन आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको छ ।
यसअघि संसद्को चालू अधिवेशन समापन गरेर मात्रै निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र अलमल देखिँदै आएको थियो । यस्तै, सरकारमा रिक्त रहेका अर्थ मन्त्रीका कारण पनि निर्वाचनको मिति घोषणामा अलमल भएको थियो ।
आयोगले देशभर एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गर्दै आएको छ । आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ ।
२०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।
आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ । निर्वाचनको मिति घोषणा भएपछि भने नामावली दर्ता रोकिने कानुन छ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।
In: अर्थतन्त्र, राजनीति, राष्ट्रिय
Tags: No Comments

