मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।
मंगलबार राति १२ बजेपछि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको आयल निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो ।
निगमले खाना पकाउने ग्यासको मूल्य भारतबाट बढेर आए पनि यथावत राखिएको जनाएको छ ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सोमबारबाट व्यवसाय दर्ता शिविर सुरु गरेकाे छ । उपमहानगरपालिकाले आन्तरिक आय वृद्धि गर्न करको दायरा बाहिर रहेर व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई लक्षित गरी शिविर सुरु गरेकेा हाे ।
हेटाैडा उपमहानगरपालिकाकाे १९ नम्बर वडा कार्यालयबाट व्यवसाय दर्ता शिविरको सुरुवात गरिएको छ । उपमहानगरका ३, ४, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ वडाहरूमा शिविर संचालन हुने राजश्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले बताए । १९ नम्बर वडामा व्यवसाय दर्ता शिविर ३ दिनसम्म चल्ने छ । पुस मसन्तसम्म सञ्चालन हुने व्यवसाय दर्ता शिविरमा व्यवसायी, उद्यमी, संस्थागत विद्यालय, निजी कम्पनी, व्यापार–व्यवसायलगायतका व्यवसाय दर्ता गर्न समेत उपमानगरपालिकाले आग्रह गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपालेले राजस्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुका दर्ता बिना नै व्यवसाय संचालन गरी राजस्वको दायरा बाहिर रहेको पाएपछि शिविर संचालन गरेको बताए । शिविर संचालन भएसँगै व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा दर्ता गरी संचालनमा व्यवसायलाई दर्ताको समय जति रहेकाे भएपनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँनेछन् ।
सोमबार १९ नम्बर वडामा नगरप्रमुख मीना कुमारी लामाले व्यवसाय दर्ता गर्ने व्यवसायीलाई प्रमाणपत्र वितरण गरेर शिविरकाे शुभारम्भ गरेकी छिन् । शिविरको पहिलो दिन आज ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको छ भने १५ वटा व्यवसाय दर्ताको प्रकृयामा रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
उपनगरपालिकामा हालसम्म १३ हजार ३ सय ९२ वटा व्यवसाय दर्ता भएका छन् । उपमहानगरपालिकाकाे गत वर्षकाे तथ्याङ्क अनुसार ३ हजार ६ सय ८५ वटा व्यवसाय पालिकामा दर्ता नगरी संचालनमा आएको पाइएको थियाे । राजश्व शाखा प्रमुख श्रेष्ठले शिविरमा ५० देखि ७५ प्रतिशत व्यवसायीलाई दर्ताकाे दायरामा ल्याइने बताए ।
व्यवसाय दर्ता शिविर शुभारम्भमा वडा अध्यक्ष सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, राजश्व शाखाका प्रमुख श्यामकुमार श्रेष्ठ, वडा सचिव राजेन्द्रनाथ पाेखरेललगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आव २०७९/८० को वार्षिक प्रतिवेदन र आव २०८०/८१ को नीति तथा कार्यक्रम, सचिव नारायणप्रसाद खतिवडाले आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मप्रसाद मिश्रले आव २०७९/८० को आन्तरिक लेखापरीक्षण प्रतिवेदन, ऋण उपसमितिका संयोजक रामचन्द्र अर्यालले आव २०७९/८० को ऋणको प्रतिवेदन र व्यवस्थापक महेश अधिकारीले आव २०८०/८१ को लागि प्रस्तावित आयव्यय विवरण साथै संस्थाको आन्तरिक नीति तथा सदस्य भेटघाट कार्यविधी र संरक्षित पुँजी फिर्ता कोष कार्यविधी प्रस्तुत गरेकोमा साधारणसभाले पारित गरेको छ ।
२०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार, जगेडा कोष दुई करोड १८ लाख ७८ हजार र कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया रहेको छ । भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया छ । एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।
साधारणसभामा प्रमुख अतिथि ललित घलानले सहकारीहरु बचत र ऋणमा सिमित नभई उद्योगहरु खोल्न ध्यान दिनुपर्ने बताए । ‘नेपालको संविधानमै समाजवाद उन्मुख रहने उल्लेख छ,’ उनले भने, ‘त्यसैले देश विकासको लागि सहकारीहरुको भूमिका र महत्व धेरै रहेको छ ।’ आमनागरिकलाई धेरै सुपथ पसलको आवश्यक्ता देखिएको भन्दै प्रमुख घलानले त्यस्ता पसल खोल्दै कृषकहरुको उत्पादनलाई विक्री वितरण गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको साधारण सभामा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिका ९ का वडा सदस्य विष्णु राना, निवर्तमान वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक बद्री लम्साल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष डा. गणेश लामा, शिवम् सिमेन्टका बिक्रम खतिवडा, कुष्माण्ड त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी न्यौपाने, नारायणी सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । युवा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम १८ करोड ८ लाख ११ हजार ५ सय ७१ रुपैयाँ पुगेको छ । गत वर्षको शेयर सदस्य संख्या २ हजार २ सय ३६ बाट वृद्धि गरी २ हजार ५ सय ९२ पुऱ्याईएको संस्थाले जनाएको छ ।
शनिबार भएको साधारण सभामा यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले सहकारीहरू महिलाको जिवनस्तर उकास्न सहयोगी हुनुपर्ने बताएकी छिन् । युवा बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा प्रदेश सभा सदस्य श्रेष्ठले यस्तो बताएकी हुन् ।
साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलले सहकारी घर आँगनको बैंक भएको बताए । रोजगार सिर्जना गर्न देखि व्यवसायिक प्रगति पनि गरेको उनले बताए । हेटौंडा उपमहानगरपालिकाको नीति विधि र सिद्धान्तसंग मेल नखाएमा नगरपालिकाले कुनै पनि हालतमा नछाड्ने पौडेलले बताए । “सहकारीले ऋण, बचत व्याज मात्रै हैन, आम्दानीमा जोड्ने नीति ल्याउनु पर्छ, मन्दीमा सहकारीको भूमिका के हो ?” पौडेलले भने । सहकारीले काम गर्ने बानीको विकास गर्न पर्ने उनले बताए ।
कार्यक्रममा सहकारी अध्यक्ष राजुप्रसाद गौतमले आर्थिक वर्ष २०८०/२०५१ को वार्षिक लक्षित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस आवमा सहकारीले शेयर सदस्य २ हजार ५ सय ९२ बाट वृद्धि गरी ३ हजार १ सय पुन्याउने, संस्था अभिकर्ता भई सदस्य तथा कर्जा बिमा कार्य गरिने, सहकारीका कर्मचारीहरुलाई १ लाख, २ लाख र ७ लाखको विमा संस्थाले गरिदिने, काउन्टर तथा रुट विमा गरि सुरक्षाको व्यवस्था गरिने, बैंक, वित्तिय संघ संस्था संगको सहकार्य र कारोबारलाई निरन्तरता दिईने, सुविधाकर्जा वापत सदस्यको जम्मा बचतको ८० प्रतिशत जुनसुकै बेलामा पनि उपलब्ध गराईने र सो कर्जामा सेवा शुल्क नलाग्ने, कर्जा लगानीको सिमा संस्थाको प्राथमिक पुजिकोषको आधारमा नियमानुसार गरिने योजना रहेको अध्यक्ष गौतमले बताए । यसैगरी संचालक समिती, उप समिती तथा शेयर सदस्यलाई उत्कृष्ट सहकारी अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिने गौतमले बताए । १५ हजार शेयर रकम नपुगेका सदस्यलाई पुर्याउनका लागि पहल गर्दै शेयरको माथिल्लो सिमा एक लाखसम्म प्रति सदस्य शेयर दिइनेछ । कर्जाको समय सिमालाई कर्जाको प्रकृति हेरि १ वर्ष देखि १० वर्षसम्मको समय सिमा कायम गरिएकोछ । सहकारीले विभिन्न बिधाम उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान समेत गरेको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम निगमले मूल्यवृद्धि फिर्ता लिएको जनाएको छ ।
निगममले मूल्यवृद्धि गर्ने निर्णय आइतबार राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको छ । निगमले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर ६ रुपैया, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैया तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
