मकवानपुर । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमय दर ताेक्ने गर्छ । विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण नेपाल राष्ट्र बैङ्कले गर्ने गर्छ ।
विदेशी मुद्राकाे विनिमयदर खरिद दर तथा बिक्री दर राष्ट्र बैंकले दैनिक ताेक्ने गरेकाे छ भने बिहीबारकाे लागि पनि उस्ले विनिमय दर ताेकेकाे छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.३८ रुपैयाँ रहेको छ ।
यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२० रुपैयाँ रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४६ रुपैयाँ रहेको छ ।

मकवानपुर । बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले राजस्वमा एक्कसी वृद्धि गरेपछि आन्दोलनरत व्यवसायीसँगको भेटमा मन्त्री तामाङले यस्तो बताएकी हुन् । मंगलवार उद्योग वाणिज्य संघ मकवानपुरकाे ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले प्रदेश सरकार व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् ।
मन्त्री तामाङले ब्यवसायीलाई मर्कामा पर्ने कुनै पनि काम नगर्ने समेत प्रतिवद्धता जनाईन् । “व्यवसायीहरुको हकहितका लागि मेरो सँधै समर्थन रहन्छ, व्यवसायीहरुको समस्यालाई समाधान गर्न संघसँग समन्वय गरेर सहजीकरण गर्नेछु” मन्त्री तामाङले भनिन् ।
‘व्यवसायीहरुले व्योहोर्नु परेका झण्झटीलो प्रणालीलाई पनि एकद्वार प्रणालीबाट लैजान प्रयास रहने उनले बताइन् । मन्त्री तामाङले व्यवसायीहरुलाई ढाँड सेक्नेगरी करबृद्धि नगर्न समेत स्थानीय तहलाई समेत आग्रह गरिन् ।
व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीहरू आन्दोलित छन् । संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा समेत गरेका छन् । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाँबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।
असार ७ मा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो । व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।
उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा ज्ञापन पत्र बुझाएको कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेल , होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी र उद्योग वाणिज्य महासंघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिकाे विरोध गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम सार्वजिनक गरेको छ।
मउवासंघले बुधबार व्यवसायिक भेला एवं पत्रकार सम्मेलन गर्दै ५ दिने चरणवद्व आन्दोलनकाे कार्यक्रम सार्वजनिक गरेकाे हाे । संघ अध्यक्ष कृष्ण कुमार गुप्ताले लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरुका कारोवार शिथिलता आएकाे अवस्थामा करको दर बढाएकाेले आन्दाेलनकाे कार्यक्रम सार्वजनिक गरिएकाे बताए ।
व्यावसायमा आएकाे मन्दीका कारण व्यवसायीहरु निरास छन्,कोही व्यवसाय छाडेर पलायन भइसकेका छन् र कोही ऋणमा रहेकाे अवस्थामा करवृद्धि गरिएकाेले संघ आन्दाेलनमा उत्रिन बाध्य भएकाे उनले जानकारी दिए ।
बजारका कवल, सटरहरु खाली देखिन थालेको अवस्था र समग्रमा उद्योग/व्यवसाय धरासायी भएको अवस्थामा उपमहानगरपालिकाले करकाे दर बढाएकाे अवस्थामा भविष्यमा झन ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने त हैन भन्ने पूर्व संकेतको संशय पैदा भएको उनले बताए ।
‘उपमहानगरपालिकाकाे राजश्व परामर्श समितिमा समेत विद्यमान आर्थिक प्रभावलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाको राजश्व दर बृद्धि नगर्ने निर्णय गरेकाे थियाे’ उनले भने ‘समितिको निर्णयलाई बेवास्ता गर्दै नगरसभाबाट राजश्व दरमा अनाधिकृत रुपमा व्यापक बृद्धि गरि सर्वसाधारण, आम उपभोक्ता, घरधनी, निमार्ण व्यवसायी, होटल व्यवसायी, व्यापारी तथा सहकारीकर्मीहरुलाइ थप पीडित धरासयी बनाउन खोजेको छ ।’
संघकाे विज्ञप्तिमा भनिएकाे छ ‘विद्यमान आर्थिक निरासा र उद्योगी व्यवसायीहरुको पीडालाई मध्यनजर गर्दै हाल गरिएको उल्लेखित १५० प्रतिशतसम्मको अस्वभाविक बृद्धि समय सान्दर्भिक नभएको सवै क्षेत्रमा वडेको कर तत्काल घटाइ यथास्थितीमा कायम गर्न माग गरेको छ।’
हेटौडा उपमहानगरपालिका समक्ष पटक पटक लिखित मौखिक माग गरि एकपक्षीय रुपमा करको दर परिवर्तन नगरी यथास्थितीमा राख्न गरिएको माग सुनुवाइ नभएको कारणले आन्दोलनमा जान वाध्य भएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
चरणवद्व आन्दोलनको आज पहिलो दिन २८ श्रावणमा बस्तुगत संघका अध्यक्षहरु तथा विभिन्न राजनीतिक दल निकटका व्यापार व्यवसाय संग सम्बन्धित भातृसंगठन, सहकारी संघ संस्थाका प्रतिनिधिहरुसँग आन्दोलनको विषयमा छलफल तथा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिएको थियो।
२९ श्रावणमा कर अवज्ञाको विषयमा आम सर्वसाधारणलाइ कर नतिर्नको आव्हान गर्दै माइकिङ्ग गर्ने तथा प्रचार प्रसार गर्ने गराउने र विभिन्न संघ संस्था, प्रदेश सरकार, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारमा ज्ञापन पत्र बुझाउ तथा विभिन्न क्षेत्र संग अन्तर्कृया गरिने छ ।
३० श्रावणमा बुद्धचोक, मउवासंघ चोक लगायतका स्थानमा हस्ताक्षर संकलन, १ घन्टा हेटौडा उपमहानगरमा शान्तिपूर्ण धर्ना/विरोध स्वरुप विभिन स्थानमा कालो व्यानर राखी नगरले गरेको कर वृद्धिको विरोध गरिने भएकाे छ। यसैगरी श्रावण ३१ गते हेटौडा नगरपालिकामा २ घन्टा शान्तिपूर्ण धर्ना, व्यापार व्यवसायी विरोधी हेटौडा नगर सरकार खोज्दै मैनबत्ती जुलुस गरिने संघले प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख छ।
श्रावण ३२ गते हेटौडा नगरमा विरोध याली सहित आआफ्नो व्यापार व्यवसाय स्व स्फुर्त बन्द गरि हेटौडा उपमहानगरमा चाबी बुझाउदै नगरपालिक परिषरमा कोण सभा गरि पहिलो चरणका कार्यक्रम समापन गरिने भएकाे छ ।
आन्दोलनका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन हरेक दिन फरक फरक पदाधिकारीलाई संयोजक ताेकिएकाे संघले जनाएकाे छ । उपमहानगरलाई चावी हस्तान्तरण पश्चात नगरले गरेको विभिन्न कर वृद्धिको बिरोधमा सामुहिक मुद्दा दर्ता गराउने समेत बताइएकाे छ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले शुक्रबार हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ का लागि करका दरमा अस्वभाविक रुपले बढाएकाे भन्दै संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा व्यवसायीले उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
उपमहानगरले व्यवसाय कर तथा घरबहालकरकाे दरमा अस्वभाविक वृद्धि गरेकाेमा नगर प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाेमा लामा कार्यकक्षमा अनुपस्थित भएपछि व्यवसायीले उपप्रमुख बानियाँलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
व्यवसाय, उद्यम शिथिल र कमजोर अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकमा भएका राजश्व, कर र घरबहालदरमा बृद्धि भएको भन्दै वृद्धि भएको कर भुक्तान गर्न नसक्ने ज्ञापनपत्रमा उल्लेख छ । उपमहानगरले अस्वभाविकरुपमा बढाएको करहरु तुरुन्त फिर्ता लिई साविककै दरमा राख्न संघले आग्रह समेत गरेकाे छ । उद्योगी, व्यवसायीको आग्रहलाई बेवास्ता गरिए आन्दोलन गर्ने समेत संघले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझेपछि उपप्रमुख बानियाँले उपमहानगरकाे आय स्राेत कम भएकाेले करकाे दर बढाइएकाे जानकारी दिए । अहिले व्यवसाय धरासायी हुदैँ गएकाे विषय जानकारी रहेकाे पनि करको दर हेरफेर गर्न नगर सभा नै बोलाउनु पर्ने उनले बताए ।
व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थाका व्यवसायीमाथि स्थानीय सरकारले करको दर बढाएर थप पीडा थपिदिएको मउवासंघका प्रतिनिधिहरुले गुनासो गरेका छन् । संघले करकाे दर हाेइन दायरा बढाएर नगरकाे स्राेत सुनिश्चित गर्न समेत सुझाव दिएकाे छ ।
उपप्रमुखकाे नेतृत्वमा रहने राजश्व परामर्श समितिले करकाे दर नबढाउने निर्णय गरेपनि नगर सभाबाट करकाे दरमा बृद्धि गरिएकाे बताइएकाे छ ।
चितवन । चितवनकाे पर्यटकीय नगरी सौराहमा चन्द्रमा होटल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । जापानमा होटल व्यवसाय गर्दै आएका चितवनका युवा व्यवसायी चेतराम गैरेले सौराहमा ७ करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन्।
भरतपुर महानगरपालिका वडा नं. ९ शरदपुरका व्यवसायी गैरेले रत्ननगर वडा नं. ६ साैराहामा १७ काेठे सुविधा सम्पन्न हाेटल सञ्चालनमा ल्याएका हुन् । हाेटलकाे आइतबार राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महाविर पुनले उद्धघाटन गरे । उनले साैराहाका हाेटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्ने बताए ।
२००९ सालबाट जापानकाे टाेकियाेमा व्यवसाय सुरू गरेका गैरेले नेपालकाे तेस्राे पर्यटकीय नगरी साैराहामा सुबिधा सम्पन्न हाेटल सञ्चालनमा ल्याएका हुन् । टोकियोमा पनि चन्द्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका गैरेले विदेशको कमाई स्वदेशमै लगानी गर्न एउटै नामबाट सौरामा होटल व्यवसाय सञ्चालन गरेको बताए।
होटलमा एसीसहितका सुबिधा सम्पन्न कोठा, बिदेशी तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेले बताए । गैरेले पुनले लेखेका १०० वटा पुस्तक होटेलमा लाइब्रेरीको रुपमा राख्ने जानकारी दिए। उनले उक्त किताब बापत नेपाल आविष्कार संघलाई १ लाखको चेक हस्तान्तरण गरे।
गैरेको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा रत्ननगर ६ का वडा अध्यक्ष किरण महतो, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी बाघमार वनका अध्यक्ष जितबहादुर तामाङ व्यवसायी तथा समाजसेवी पुरूषोत्तम लामिछाने,रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली प्रहरी चौकी प्रमुख श्याम थापालगायतकाको सहभागिता रहेको थियो ।