खुशी कला
बडो लाग्छ दिक्दार आँखा अगाडि।
जल्यो सिङ्गो संसार आँखा अगाडि।
भोको पेटका लागि जब युद्ध चल्छ,
कमल बन्छ हतियार आँखा अगाडि।
खुलेयाम शोषण भो भमराहरूको,
गर्यौ फूलको व्यापार आँखा अगाडि।
एकैपल परेला चिसो पार्न हुन्नन्,
पखालिन्छ श्रृंगार आँखा अगाडि।
खुसी किन्न मिल्दैन बेचेर एकपल,
घडी यति छ लाचार आँखा अगाडि।
पोखरा हाल युरोप
सुमित्रा ‘सुमी
रातले डाँडा काट्न नभ्याउदै
झुल्के घामले डाँडा नछुदै
सीरुका टुप्पोको शीत नओभाउदै
कठाग्रीएको जाडो च्यापेर
भर्सेलीको डिल पर्खीराख्छ
बिरालो !
रातभरका शीतले भिजेको
चिसा दाउराको पीडा
बुढी आमैको दमको व्यथा
त्यसलाई के थाहा ?
ऊ
ऊजस्तै भएर
सुतेको छ अँगेनो नजिकै
लमतन्न
मात्र स्वार्थतामा
कराईको दुध हेरेर !
सकेसम्म खुशीमा नै
अलि नसकेच्यापारो पारेर
नत्र
अत्याएर धम्क्याएर
तर
जसरीपनि
रगत पिउन छोड्दैन
यो मष्तिष्क चिर्थोर्न छोड्दैन
बिरालाले दुध पीएजस्तै !
फरक यत्ति छ
बिरालो
कहिलेकाही ऊ जस्तो बन्यो
अवसर हेरेर ।
तर ऊ
बाघ बन्यो,
बन बिरालो
मान्छे नबनेर !
विदुर,नुवाकाेट
टिङ्कु भट्टराई
१.
न त देख्छु कहिँ कतै, न छौ दायाँबायाँ
पलपलमा खड्कीराछ केवल तिम्रो माया
थाहै नपाइ मनमा पस्यौ,अड्डा जमाई बस्यौ
मृगतृष्णा हो कि प्रीति कि हो शीतल छायाँ ।
२.
किन होला हिजोआज बिनासित्ती डरेकी छु
केपो गरुँ ?कसो गरुँ ? अलमलमा परेकी छु
किनकिन उनकै यादले बेचैनी बढ्दै गा ´छ
बनको बाघले खानु कता मनको बाघले मरेकी छु ।
३.
सफा सुग्घर गरेकोछौ को ?आउँदैछ आज
बास्ना अत्तर छरेकोछौ को ?आउँदैछ आज
बिहान देखि विचारदैछु स्फुर्ती छ बेग्लै
मुस्कानले घर भरेकोछौ को ? आउँदैछ आज ।
लक्ष्मीपुर इलाम
जुनु खड्का
समाज भाँड्ने र बिगार्नेहरूको
जमातभित्र पर्ने नाम हो `जलन´
यसको दुश्मनी अरूको खुशी
अरूको हाँसो र प्रगतिसित हुन्छ
अरूको प्रगतिमा जल्नेहरूले
न इमानदारीताको कदर गर्छन्
न मिहिनेतको फल देख्छन्
बस जलनको आगो फुकेर
अरूको वचन रुपी घिउ खोज्दै गाउँ डुल्ने
दुरुस्त भुस्याहा जस्तै हुन्छन्
कपोलकल्पित भनाइका तिखा नङ्ग्राले
चिथोरि रहन्छन्
यस्ता जलनहरूले आफू जल्दै
अरूलाई जलाउन खोज्छन्
मिलेसम्म प्रगतिलाई काँडेतारले रोक्ने
खुशीलाई तहसनहस परिदिने
हाँसोलाई लुट्ने
हिँड्ने गरोटोमा पहिरो खन्याउने
चढ्ने सिँढी भत्काउने
कोसिस गरिरहन्छन्
ए समाजभित्रका जलनहरू हो
निच पनि कति बन्छौ
कसैको इमान बेचेर
बेइमानीको कठघरामा
किन उतार्छौ ?
तिमीहरूलाई हेक्का नहोला सायद
समयले घुमाउँदै एक दिन त्यही
कठघरामा बयान दिन तिमीलाई
उभ्याउन सक्छ
अरूको बेइमानीको प्रमाण जुटाउन
आफैँ लिलाम हुन सक्छौ
लुटेर पहिरिएको शीरताज
आफ्नो खुट्टामा आफैँले हानेको
बञ्चरो पनि बन्न सक्छ,
विचार गर्नु ।
शुक्लागण्डकी तनहुँ
मकवानपुर । नेपाली कथानक चलचित्र “ऐन झ्यालको पुतली” हेटौंडामा प्रिमियर शो गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले चलचित्र हेरीसकेपछि यसको विषय बस्तुले मन छोएको प्रतिक्रिया दिइन् । “नेपाली समाजको जिवन्त चित्रण रहेछ”लामाले भनिन् “गरिबीको कथा सबै जसो घरघरको कथा हो ।”
हेटौंडा निवासी सुजित विडारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको एनएसस सिनेमा हलमा प्रिमियर शो गरिएको हो ।
कार्यक्रममा चलचित्रकी कलाकार नायिका सिरु विष्ठले आफुले काम गरेको मध्ये उत्कृष्ट कथावस्तु र परिवेश चलचित्रमा रहेको बताइन् । सबैजनाले मेहनत गरेका छौं चलचित्र हेरेर साथ र हौसला बढाइदिनु हुन आग्रह गरेकी छिन् ।
आफ्नो बालापनको कथावस्तुलाई चलचित्रमा उठान गरिएको निर्देशक विडारीले बताए । “पहिलो पटक चलचित्र निर्माणले सबैको माया र साथ पाएको छु अब दर्शकले चलचित्र हेरेर साथ दिनुहुने छ भन्ने विश्वास छ” उनले भने ।
विडारीको निर्देशनमा बनेको चलचित्रमा सिरु विष्ठ, कन्चन चिमोरिया, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बु, उमेश श्रेष्ठ, विशा चाम्लिङ राई, मल्लिका श्रेष्ठ, राज थापा, पदमप्रसाद पौडेल लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
ऐना झ्यालको पुतली चलचित्र आगामी भाद्र २४ गते देशभर प्रदर्शन हुनेछ ।