सुमित्रा ‘सुमी
रातले डाँडा काट्न नभ्याउदै
झुल्के घामले डाँडा नछुदै
सीरुका टुप्पोको शीत नओभाउदै
कठाग्रीएको जाडो च्यापेर
भर्सेलीको डिल पर्खीराख्छ
बिरालो !
रातभरका शीतले भिजेको
चिसा दाउराको पीडा
बुढी आमैको दमको व्यथा
त्यसलाई के थाहा ?
ऊ
ऊजस्तै भएर
सुतेको छ अँगेनो नजिकै
लमतन्न
मात्र स्वार्थतामा
कराईको दुध हेरेर !
सकेसम्म खुशीमा नै
अलि नसकेच्यापारो पारेर
नत्र
अत्याएर धम्क्याएर
तर
जसरीपनि
रगत पिउन छोड्दैन
यो मष्तिष्क चिर्थोर्न छोड्दैन
बिरालाले दुध पीएजस्तै !
फरक यत्ति छ
बिरालो
कहिलेकाही ऊ जस्तो बन्यो
अवसर हेरेर ।
तर ऊ
बाघ बन्यो,
बन बिरालो
मान्छे नबनेर !
विदुर,नुवाकाेट

