शुष्मा थापा
१.
रिसाउने र फकाउने काम हुन्छ मायामा
दिउँसो जून र राती घाम हुन्छ मायामा
हाँसी रहुँ,टोलाइ रहुँ एक्लै हुदाँ यादमा
पाउने दामी नपाउने बेनाम हुन्छ मायामा ।
२.
के गरू के नगरू मन कै संवादमा पर्यो
राखु कि नराखु कोसेली हातमा पर्यो
फेरी रहने तस्वीर जस्तै भयो भने माया
पराइ ठानु कि आफ्नो विवादमा पर्यो ।
३.
जिन्दगीले अनौठो कहानी बनायो
केही आफ्ना,केही बिरानी बनायो
आमाको छत्रछाँयामा रहन पाउनेलाइ
यो लोकको ठूलो भाग्यमानी बनायो ।
४.
जिन्दगी आसको खेती रहेछ
सास भइन्जेल मरी मेटी रहेछ
माया मोहले जति कसेपनि
समयले समयलाइ रेटी रहेछ ।
पोखरा
भरत गुरागाई बर्बरिक
कहिले रुखमा घाँस काट्दाकाट्दै झरेर
मरेका मेरा बालाई सम्झिँदै रुन्छ्यौ,
कहिले परदेशमा मरेका
मेरा दाजुलाई सम्झेर रुन्छ्यौ,
कहिले भिनाजुले हेला गरेपछि
सहन नसकेर झुण्डिएकी
मेरी दिदीलाई सम्झेर रुन्छ्यौ,
तिमी सधैँ रोइ मात्र रहन्छ्यौ आमा !
तिम्रो ओठमा मुस्कान कहिले छाउँछ ?
आमा ! हाम्रो घरमा दसैं कहिले आउँछ ?
भयो,
अब त नरोइदेऊ न आमा !
दसैंमा भ्याइँदैन भनेर
सिस्ने कान्छीहरूले
घाँस-दाउराको जोहो गरिसके,
उता बिहानै भाले बास्न नपाउँदै
वस्ती बाको ढिकीमा गाउँलेहरूले
चिउरा कुटेको
भक्रङ भक्रङ आवाज आउँछ,
घर चिटिक्क पारेर लिप्न
कमेरो लिएर आइसके डाँडाघर्नीहरू,
उता रिजालकोमा यत्रो बाकटे खसी
ल्याइसके दसैँं मनाउन,
नेवार कान्छा चुलेंसी र खुकुरी बोकेर
सिराने जेठाको आरनतिर
जाँदै थिए धार लगाउन,
दुनियाँ खुशीमा रमाएको बेला
तिमी आँसुमै डुबिरहन्छ्यौ,
भन न आमा !
तिम्रो छातीमा कति गहिरो घाउ छ ?
आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?
बलेंसीबाट पानी झर्दैन
घरभित्रै धररर गर्छ,
पुर्पुरोमा हात राखेर सुस्केरा छोड्छ्यौ
तिम्रै थाप्लोबाट पसिना तररर झर्छ,
हामीलाई खाना दिँदा
आफू एकछिनमा खान्छु भन्दै
उता फर्किएर रित्तो भाँडोमा
आँसु झारेको देखेको छु मैले,
मुखियाकी स्वास्नीले राँडी भनेर दाह्रा किट्दा
आकाशतिर फर्किएर
ईश्वर पुकारेको सुन्या छु मैले,
आँसुको बाढीमा डुब्दाडुब्दा
तिम्रो शरीर नै नुनिलो भैसक्यो,
मतिर फर्किएर
एकपल्ट भनिदेऊ न आमा !
हाम्रो घर अघिल्तिरको
बकैनाको रुखमा बसेर
कोइलीले कहिले गीत गाउँछ ?
आमा ! हाम्रो घरमा दसैं कहिले आउँछ ?
पोहोर पनि यस्तै गर्यौँ
थाहा नपाए जस्तो गर्याथेँ
र
हरियाको कोठेबारीमा पसेर
एक्लै रुँदारुँदा त्यहीँ निदाएथेँ,
तिम्रो आँसुको पुस्तक बोकेर
उज्यालो खोज्दै झर्याथेँ तल चुलीबनसम्म,
अहिले मेरा साथीहरू लिङ्गेपीङमा
चचहुई चचहुई गरिरहँदा
म भने तिम्रो पीरले हल्लिएको छु,
यो दसैँंमा
अर्थोक जे भए पनि
तिमी त्यो फाटेको चोलो फेर न,
तिम्रो बुबू मैले देख्दा त केही हुन्न
दुनियाँले रमिता ठान्छन्
अनि तिमीलाई
पागल र बाइफाले भनेर
बाँच्दै दिँदैनन् आमा !
तिम्रो बच्चा म
बरु नाङ्गै खेलुँला तिम्रो काखमा
एकपल्ट त हाँसिदेऊ,
भन न आमा !
अरु घरमा जस्तै हाम्रो आँगनमा
मालसिरीको धून कसले गुन्जाउँछ ?
आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?
झोराहाट, मोरङ
फिकौली डटकम बाट
शुष्मा थापा
मनका कुरा पोख्न मन बाल्नु पर्छ ।
एउटा मैनबत्ती झै मन पगाल्नु पर्छ ।
सल्किनु पर्छ,जल्नु पर्छ प्रकाश दिन
मन बुझ्ने भए मन खोल्न थाल्नु पर्छ ।
तर कहाँ भेटिन्छ र?मन खाने मान्छे
मनका कुरा मन मै छोपी सगाल्नुपर्छ ।
यथार्थ बुझ्ने अब कथा कहानी मै रहे
विचार गरी गरी पाइला चाल्नु पर्छ ।
अन्यथा सोचको बिगी बिगी चौतर्फी
आफैले आफैलाइ जे जसरी सम्हाल्नुपर्छ ।
सोचको खोच बनाउछन् फुर्सदमा सबै
बन्धन पन्छाएर नयाँ मोडमा ढाल्नुपर्छ ।
कसको कसलाइ परवाह यो भीडमा
आफ्नो मनलाइ आफ्नै हातले टाल्नुपर्छ ।
पोखरा
प्रीति आत्रेय ज्ञवाली
१.
घरको बारीमा, केरा पसाएको छ
त्यस्तै अम्बाले, घर बसाएको छ
घर कैले आउने, भन्नुहुन्छ बा-आमा,
के गरौँ विदेशमा, आँखा रसाएको छ ।
२.
पितृ-पुर्खाको आदर्श, एवं संस्कारमा बाँचिँदैछ
त्यस्तै सन्तानको सुखद्, भविष्य निम्ति लागिँदैछ
यसैगरी समय बितिगयो, बित्दैछ र सकिँदै जान्छ,
साँचेका कुरालाई पूर्णता दिन, हर्दम पाइला चालिँदैछ।
३.
जति जे भनेपनि मन पर्छ, आफ्नै चाड र भाषा भेष
विकसित नभएपनि रमाइलो, लाग्छ आफ्नै घर देश
मन यो सधैँ लोभिन्छ है, आफ्नै संस्कार र संस्कृतिमा,
समयको यो खेलमा कहिले विदेश कहिले देश प्रवेश ।
४.
नहोस् कुनै कुराले पनि, तिम्रो त्यो मन कहिल्यै भरङ्ग
फैलिऊन् तिम्रा तन~मनमा, सधैँ सुख र खुशीका तरङ्ग
नझरून् आँसु तिनी आँखाबाट, झरे पनि खुशीकै झरून्,
प्रीतिले प्रीतिकै भावले, शुभकामना व्यक्तिएँ छर्दै उमङ्ग ।
बुटवल हाल कम्बोडिया
ऋषिराम भुसाल
१.
सधैँ अन्धकार हुने झुप्रोमा दियालो बाल्नु पर्नेछ
खोले फाँडो नपाक्ने झुपडीमा दाल गाल्नु पर्नेछ
सपना देखेर मरूभूमिको तातो बालुवामा जल्दैछु !
भत्किएको छाप्राको एकछेउ जसरी टाल्नु पर्नेछ ।
२.
राजतन्त्र फाल्यौँ गणतन्त्र ल्यायौँ भनेर मात्र हुदैन
सिंहदरबारमा बदलिइरहने तस्विर गनेर मात्र हुदैन
हिजो कलेटी परेका ओठ आज पनि शुष्क नै छन् !
चर्केका मन टाल्नुस् हजुर ठूलो मान्छे बनेर मात्र हुदैन ।
३.
नेपालीले अरुसँग कदापी सिर झुकाउनु हुन्न
स्वार्थकालागि नेपाली अस्मिता सुकाउनु हुन्न
नेपाल र नेपालीको हीतका खातिर सबै जुटौ !
लाभकालागि वीरताको इतिहास चुकाउनु हुन्न ।
चन्द्रागिरी, काठमाडौँ