शुष्मा थापा
१.
रिसाउने र फकाउने काम हुन्छ मायामा
दिउँसो जून र राती घाम हुन्छ मायामा
हाँसी रहुँ,टोलाइ रहुँ एक्लै हुदाँ यादमा
पाउने दामी नपाउने बेनाम हुन्छ मायामा ।
२.
के गरू के नगरू मन कै संवादमा पर्यो
राखु कि नराखु कोसेली हातमा पर्यो
फेरी रहने तस्वीर जस्तै भयो भने माया
पराइ ठानु कि आफ्नो विवादमा पर्यो ।
३.
जिन्दगीले अनौठो कहानी बनायो
केही आफ्ना,केही बिरानी बनायो
आमाको छत्रछाँयामा रहन पाउनेलाइ
यो लोकको ठूलो भाग्यमानी बनायो ।
४.
जिन्दगी आसको खेती रहेछ
सास भइन्जेल मरी मेटी रहेछ
माया मोहले जति कसेपनि
समयले समयलाइ रेटी रहेछ ।
पोखरा

