मकवानपुर । गजल मञ्च मकवानपुरको १९ औँ वार्षिकोत्सव तथा २ सय १ औँ गजल यात्रा गजलकार अमला अधिकारीको एकल गजल विशेष भएको छ ।
गजल मञ्चको निमन्त्रणमा शनिबार हेटौँडा आएकी अधिकारीले करिब डेढ दर्जन गजल वाचन गर्दा गजलका शेर नै पिच्छे तालीको गुन्जहाट कार्यक्रम स्थलमा भएको थियो ।
अब निदाउँ कालेका बा सपना देख्नुपर्छ ।
यो तितो विपनालाई एकछिन लखेट्नुपर्छ ।
खुन बेचेर नुन किन्यौ आँखा कमजोर भए,
यदि चश्मा किन्नुपरे आँखा बेच्नुपर्छ ।
––––
मुटु बधशालामा आँखा सिमानामा राखिदिनु ।
त्यसपछि मात्र यो शरीरलाई चितामा राखिदिनु ।
हामी कारखानामै सिध्याइदिन्छौँ रगत र पसिना,
सरकार हाम्रा नानीहरुलाई पाठशालामा राखिदिनु ।
––––
मलाई दूर बस्नु छ प्यारको असरबाट ।
तिमी दूर गइदेउ यी मेरा नजरबाटव।
मेरो धान फल्ने खेतमा मोटर गुडेको छ,
चामल ओसार्नु छ मोटरमा सहरबाट ।
माथिका गजलका शेरहरु जस्तै सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि समीक्षासमेत गरिएको थियो ।
कार्यक्रममा वाचित गजलहरुमाथि समीक्षक घनश्याम घिमिरेले विचार, भाव र संरचना पक्षको बारेमा समालोचना गरेका थिए । समीक्षक घिमिरेले अमलाका गजलहरुले आवाजबिहीनहरुका आवाजहरु बोलेको बताए । ग्रामीण परिवेश, भोगाई, विपन्न र निमुखाका जीवन भोगाईका विविध पाटाहरुलाई गजलमा सुन्दर तरिकाले प्रस्तुत गरिएको भन्दै घिमिरेले गजलकारको प्रसंशा गरेका थिए ।
गजल मञ्च मकवानपुरले अधिकारीलाई गजल श्रष्टा सम्मान समेत प्रदान गरेको छ । गजलको उन्नयन, विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहेकोले अधिकारीलाई गजल सम्मान २०८० प्रदान गरिएको हो । यसअघि निमेष निखिल, धनराज गिरी, रवि प्राञ्जल, बुँद राना, ज्ञानुवाकर पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, र श्याम न्यौपानेलाई उक्त सम्मान मञ्चले प्रदान गरिसकेको छ ।
शिक्षण पेशामा आवद्ध सर्लाही स्थायी निवासी अधिकारीका ४ वटा गजल सङ्ग्रह र एउटा उपन्यास प्रकाशित भइसकेको छ । उनको ‘अमला’, ‘आगो’, ‘आरन’ र ‘आश्रम’ गजल सङ्ग्रह हो ‘आलय’ उपन्यास प्रकाशित छन् ।
गजल मञ्च अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बसन्त हरियाली
तिमी कस्तो छौ, तिम्रो बानीले पनि देखाउँछ।
ऐनाले देखाउने आकृति पानीले पनि देखाउँछ।
माटोको गाग्रोमा भरेको पानी हुँ भन्ने बिर्सिएर
एक समयमा औकात जवानीले पनि देखाउँछ।
मध्य रात सपनीमा पैशाले चिमोट्नेहरुलाई
मध्य दिनमा तारा जिन्दगानीले पनि देखाउँछ।
माया गर्छु भन्नेलाई म कसरी विश्वास गरूँ खै?
दुधको जस्तै रङ्ग त चौलानीले पनि देखाउँछ।
पहिले खाडी मुलुक पस्दा सत्र अठारको थिएँ
ऐले उमेर ढल्केको राहदानीले पनि देखाउँछ।
अछाम हाल किर्तिपुर
शान्ती अर्याल अधिकारी
१.
हरपल सताउने रहेछ, आफ्नै माटोको मायाले
रूच्दैन् बिदेशी परिकार ,त्यही आटोको मायाले
ठुला -ठुला रेल गाडीमा यात्रा त भएकै छ आमा,
फेरि पनि झस्काउँछ ,गोरेटो बाटोको मायाले ।
२.
सुन्दर भबिष्यको खोजी गर्दै शहर तिर बस्छ मान्छे
रूखमै पैसा फल्छ जस्तो गरी बिदेशतिर पस्छ मान्छे
न पैसा फल्ने रूख भेट्छ न गाउँ फर्किने बाटो भेट्छ,
सपना पुरा गर्ने दौडानमा बिदेशतिरै फस्छ मान्छे ।
३.
हरेक रात सपनिमा, आफ्नै प्यारो त्यो देश देखिन्छ
आँखा खोलि बाहिर हेर्दा,फरक फरक भेष देखिन्छ
झस्काउँदै मनले भनिदिन्छ तिमी अर्कैको देशमा छौ,
हेर नजर घुमाएर काला गोरा अनि खैरा केश देखिन्छ ।
पाल्पा
काठमाडौ । कवि सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को कविता कृति ‘तिल गङ्गा गोविन्द’ विमोचन गरिएको छ । पौडेलको पहिलो कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ को साहित्यकार तथा पत्रकार रोचक घिमिरेले शुक्रबार काठमाडौमा विमोचन गरेका छन ।
कृति विमोचन कार्यक्रममा साहित्यकार तथा पत्रकार घिमिरेले कवि भीमफेदीयाका रचना सरल, बोधगम्य हुनुकासाथै अनेकौं विम्ब र प्रतिकको बोझबाट मुक्त रहेको बताए । उनले विगतमा कवि भीमफेदीयाको विभिन्न प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुसँग निकट सम्पर्क रहेकोले त्यसका आधारमा उहाँहरुको संस्मरण लेख्न पनि सुझाव समेत दिएका थिए ।
नेपाल साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले विमोचित कविता सँग्रहमा जीवनपरक कविताहरु रहेको बताउँदै साहित्यिक पत्रकारिताका लागि राज्यले बेग्लै व्यवस्था गर्न जरुरी रहेकोमा जोड दिए ।
‘शब्दपथ’का सम्पादक साहित्यकार किशोर पहाडीले कवि पौडेलसँग आफ्नो करिव पाँच दशक लामो सम्पर्कको चर्चा गर्दै उनका कविताहरु तिख्खर स्वादका हुने बताए ।
लेखक श्रीरामसिंह बस्नेतले प्रस्तुत कविता सङ्ग्रहबाट साहित्यमा कवि भीमफेदीयाको सुखद् पुनरागमन भएको बताउँदै २०३८ देखि २०४२ सम्म प्रकाशित ‘कुरौटे’ साहित्यिक पत्रिका कवि भीमफेदीयाको साहित्यिक पहिचानको एक अभिन्न पक्ष रहेको चर्चा गरेका थिए ।
कृतिकार पौडेल भीमफेदीयाले आफ्नो जीवनका आरोह–अवरोह, संयोग र वियोगलाई कवितामा व्यक्त गर्ने सानो प्रयास स्वरुप सङ्ग्रह प्रकाशित गर्ने जमर्को गरेको बताए ।
तीसको दशकदेखि नै कविता लेखनमा सक्रिय रहेका पौडेल आफ्नो जागिरे जिवनलगायत विभिन्न कारणले साहित्यिक परिदृष्यबाट टाडिएका थिए । जागीरबाट अबकाश पछि कवि पौडेल ‘भीमफेदीया’ पहिलो कविता कृति लिएर पाठकसमक्ष आएका हुन ।
कवि भीमफेदीयाले आफ्नी आमा, फुपू र पिताप्रति समर्पण गरेको यस कृति उहाँहरुकै नामबाट नामाकरण गरिएको छ । पुस्तकमा कविले आफ्नो जीवनका विभिन्न चरणमा लेखेका १ सय २६ वटा कविता समेटिएका छन । पुस्तकमा समाबेस भएका कवितामध्ये ९ वटा अङ्ग्रेजी भाषामा समेत लेखिएका छन् ।
कार्यक्रममा राधेश्याम लेकाली, किशोर पहाडी, मुरारी सिग्देल, विमल भौकाजी, पारु तिमिल्सिना तथा स्वयम् कविले विमोचित पुस्तकबाट कविता वाचन गरेका थिए ।
प्रकाशक वन्दनाकुमारी पौडेल रहेको कविता सङ्ग्रह कुल १८० पृष्ठको रहेको छ ।

मकवानपुर। हेटौंडाका गायक कमल के क्षेत्रीको आवाज रहेको मन बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
राम नवमीको अवसरमा म्यूजिक भिडियो गायक संगीतकार तथा गीतकार क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हेटौंडा उपमहानगरपालिका १७ मा रहेको पर्यटकीय क्षेत्र जुरेथुममा छायाँङकन गरिएको भिडियो अध्यात्म र पर्यटनसंग सम्बन्धित रहेको बताइएको छ ।
४ मिनेट ३० सेकेन्डको रहेको उक्त गितको म्यूजिक भिडियोमा मान्छेको मनको अवस्थालाई चित्रण गरिएको छ । म्युजिक भिडियोमा गायक कमल के क्षेत्री अभिनय गरेका छन् । साधु सन्तनुदासको शब्द तथा सुजिल कर्मचार्यको संगीत संयोजन रहेको यो भिडियो सन्दिप न्यौपानले छायाङकन गरेका हुन ।
यसअघि कमल के क्षेत्रीले ‘आई लव यु’, ‘नाचन’, ‘तिम्रै मायाले’, ‘पिपल पाते’, ‘मेरो माया’जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।