डिल्लीप्रसाद मूलतिहुन
अनिवार्य गरौँ हामी लगानी अब जाँडमा
नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा
समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१।
विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित
खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित
सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२।
गाडी चालकले खोजे नपिएर चलाउन
कार्वाही नगरी हुन्न अटेरी तह लाउन
जहाँ यात्री त्यहाँ रक्सी नारा बन्नु पर्यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।३।
पर्यटकहरूलाई भट्टीमा बास चाहियो
चाहिँदैन अरू खाना रक्सी र तास चाहियो
शिसीका साथमा मिस्सी आवश्यक भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।४।
अङ्ग्रेजी गतिलो बोल्दै एक्लै छम्छम नाच्नुछ
पुगेर घरमा आफ्नी पत्नीको ढाड भाँच्नुछ
जाँडरक्सी विना हुन्छ यस्ता कुरा असम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।५।
भुस्याहाले निदाएको बेलामा जल ख्वाउँछ
जाँडको स्वादमा अर्को नयाँ स्वाद चखाउँछ
त्यो बेला जत्तिकै प्यारो गल्ली बन्नु पर्यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।६ ।
राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ
जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ
भोजभतेरमा रक्सी अनिवार्य भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।७।
(सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा प्रथम भएको कविता।)
मकवानपुर । जाँडरक्सी महोत्सव हास्यव्यङ्ग्य कविता प्रथम भएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उक्त कविता प्रथम भएको हो ।
हेटौंडामा आयोजित कार्यक्रममा भक्तपुरका डिल्लिप्रसाद मुलतिहुनको कविता जाँडरक्सी महोत्सव पहिलो हुँदा मकवानपुरका कवि प्रभास घिमिरेको कविता बाँदर द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता फलानो तेस्रो स्थान प्राप्त गर्यो।
यस्तै कास्कीका कवि संयोग बस्यालको हामी तथा कमल घिमिरेको नेताज्यूलाई स्वागत छ कविताहरू सान्त्वना स्थान प्राप्त गर्यो । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना भएका २ जनाका लागि ३ हजार राशीको पुरस्कार प्रदान गरिएको छ
।
देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचन गराइएको थियो । जसमध्ये ५ जना कविहरू अनुपस्थित रहेका थिए । विषयवस्तु लेखन, हास्यव्यङ्ग्यको प्रयोग तथा वाचन लगायतका विविध विधालाई आधार मानी गरिएको मूल्याङ्कनमा १०० पूर्णाङ्कलाई आधार मानिएको थियो ।
कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलसमेतको उपस्थिती थियो ।
अध्यक्ष सिग्देलले स्थानीय सरकारले बाटोघाटो, स्लाब ढलान, भवन निर्माण मात्र नभई साहित्य सिर्जना, कला, भाषा, शिक्षा आदिको विकासमा जोड दिन शुरु गरेको बताए ।
कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले हास्यव्यङ्ग्य विधा समाजको ऐनाका रूपमा विकास हुनुपर्ने तथा यस्ता प्रतियोगिताहरूले हास्यव्यङ्ग्य लेखनमा हौसला पुग्ने बताए ।
कार्यक्रममा मकवापुरका सर्जकहरूको तर्फबाट सर्जक सञ्जालका संयोजक निमेष निखिल तथा आँचल साहित्य कलाकी अध्यक्ष भावना सापकोटाले सम्पूर्ण साहित्यकारहरूको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालको जिल्ला शाखा मकवानपुर हास्यव्यङ्ग्य सिर्जना, बहस, वाचन तथा प्रतियोगितामार्फत् सक्रिय छ ।
सरस्वती पौडेल
आँखा भरी सपनाको थानै थान लिएर ।
बिहानै छुटेको छ जहाज जवान लिएर।
गाउँको बाँझो वारि छोडेर मुग्लानी भयो,
फर्केला अर्को बर्ष झोलामा मुग्लान लिएर।
मजदुर गर्नु नै छ चुलो ओभानो पार्नै पनि,
पाक्दैन जाउलो पनि हातमा ओदान लिएर।
दुधे बच्चा छोडेर कसरी जान सकेको होला,
उफ !पठायौ भगवान यो कस्तो ईमान लिएर ।
बेलुका झोलामा के खोज्दै छ सानी छोरीले,
मजदुर बाउ फर्केको छ मुहारमा थकान लिएर।
भरतपुर, चितवन
मिरा बोम्जन लामा
सम्झिदा ती पल-पलहरु रुन्छ नि मन
तिम्रा हरेक ती शब्दहरुले छुन्छ नि मन
दुख्छ नि धेरै यो मुटु,कहाँ छर पत्थरको,
सक्दिन समाल्न बिचलित हुन्छ नि मन।
हिजो जस्तै लाग्छ खु:सी छरेको दिन
जन्म घर छोडेर पराई घर सरेको दिन
जिन्दगीभर साथ हाम्रो छुट्ने छैन भन्दै,
खालि त्यो सिउदोमा सिंदुर भरेको दिन।
गासिएको सम्बन्धहरु कहिले टुटाउन नपरोस
बेदनाहरु बिर्सनलाई अन्तकतै रमाउन नपरोस
जस्तै दु:ख र पिडा भए पनि जिन्दगीभर मलाई,
सहज बनाउन अर्काको हात समाउन नपरोस।
सुखदुःखमा दिएको हात छोड्नु भन्दा
हिडिरहेको बाटो अन्तैतिर मोड्नु भन्दा
आफ्नो गल्ती सुधार्ने कोसिस गर्नु मित्र,
बर्सौ देखि जोडेको नाता तोड्नु भन्दा।
उदयपुर, गाईघाट
हाल: साइप्रस
गड्याङ् गुडुङ् गरेर
आकाशलाई कालो बादलले छोप्ता
तिम्रो ममता कहिले छोपिएन ,
धर्ती कम्पनले ग्रस्त हुँदा पनि
तिम्रो कर्तव्य कहिले रोकिएन।
कहिले यसै सोच्ने गर्छु !
दबिँदै थिए होलान् कति रहरहरू
तर पनि हाम्रा रहरहरूलाई दब्न दिइनौ ,
कति आए दुःखलाई धार दिने रेतीहरू
घोटिएर/रेटिएर पनि तिमी कहिल्यै खिइनौ।
हाम्रै आँखा अघि पनि
नछाएको कहाँ हो र अन्धकार तिम्रो
हुन दिइनौ आभास त्यो कालो रातको
हरपल ज्योति छरिरह्यौ ।
उकुसमुकुस हुने गर्थ्यो कहिले बाहिरी वातावरण
त्यो निश्सासिदो मौनतालाई पर राखेर
हाम्रो निम्ति नहिचकिचाई श्वास प्रश्वास लिइरह्यौ।
कहिले सम्झन्छु म आमा ! तिमीलाई
न आएका होइनन् शब्दबाणहरू ,
तर तिमीसँग जोडिएका थिए धेरै प्राणहरू
यसैले पचायौ , मिथ्या शब्द प्रहार ,
मातृत्वको जग दह्रो थियो
पिइदियौ त्यो कालकूट बिष
नीलकण्ठ बनेर ,
यसैले हा-यो त्यो हरेक बिषालु प्रहर
सुकेर गयो कालकूट बिष ।
यसैले मलाई गर्व लाग्छ तिम्रो सन्तान हुँ भन्न
सक्तिन बिर्सन तिम्रो त्यो त्याग र बलिदान ।
मेरा हातका औंलाहरू ,
मेरा शरीरका अंग अंग
तिम्रो ममताले छोएको छ, छामेको छ
मुटु र धड्कन तिम्रै रगत र पसिनाले
सिन्चेको छ ।
तिम्रो माया र ममता देखेर
देश पनि रोएको छ ।
हुनत आमा !
तिमी रुनु र देश रुनु एउटै लाग्छ !
किन कि ?
तिम्रो नाममा देशको छवि आउँछ
माटोको बास्ना आउँछ !
जब जब म आँखा बन्द गर्छु
तिमी भित्र सिङ्गो संसार समेटिएर आउँछ ।
तर पनि आमा !
सबै गलेर, थाकेर लखतरान हुँदा पनि
तिमी थाकेनौ
तिम्रा पाउहरू थाकेनन्,
समयले हरेस खाई सुसेल्न छोड्दा पनि
तिम्रा अधरहरू मुस्कुराउन छाडेनन्
हाँस्न बिर्सिएनन् ।
नराम्रो देसानले आज
देश झोक्रिरहेको छ ,
भित्र भित्र खोक्रिरहेको छ ,
तर पनि आमाको ममता झोक्रिएको छैन
आमाको कर्तव्य कहिले खोक्रिएको छैन ,
निन्याउरो मुहार कतै देखिएको छैन !
यसैले म भन्दै छु आमा !
मातृदेवो भव: !!
तिम्रो दर्शनदेखि पर ठूलो अर्को धाम छैन,
आमाभन्दा पवित्र शब्द अरू कुनै नाम छैन !!
सिक्किम