गड्याङ् गुडुङ् गरेर
आकाशलाई कालो बादलले छोप्ता
तिम्रो ममता कहिले छोपिएन ,
धर्ती कम्पनले ग्रस्त हुँदा पनि
तिम्रो कर्तव्य कहिले रोकिएन।
कहिले यसै सोच्ने गर्छु !
दबिँदै थिए होलान् कति रहरहरू
तर पनि हाम्रा रहरहरूलाई दब्न दिइनौ ,
कति आए दुःखलाई धार दिने रेतीहरू
घोटिएर/रेटिएर पनि तिमी कहिल्यै खिइनौ।
हाम्रै आँखा अघि पनि
नछाएको कहाँ हो र अन्धकार तिम्रो
हुन दिइनौ आभास त्यो कालो रातको
हरपल ज्योति छरिरह्यौ ।
उकुसमुकुस हुने गर्थ्यो कहिले बाहिरी वातावरण
त्यो निश्सासिदो मौनतालाई पर राखेर
हाम्रो निम्ति नहिचकिचाई श्वास प्रश्वास लिइरह्यौ।
कहिले सम्झन्छु म आमा ! तिमीलाई
न आएका होइनन् शब्दबाणहरू ,
तर तिमीसँग जोडिएका थिए धेरै प्राणहरू
यसैले पचायौ , मिथ्या शब्द प्रहार ,
मातृत्वको जग दह्रो थियो
पिइदियौ त्यो कालकूट बिष
नीलकण्ठ बनेर ,
यसैले हा-यो त्यो हरेक बिषालु प्रहर
सुकेर गयो कालकूट बिष ।
यसैले मलाई गर्व लाग्छ तिम्रो सन्तान हुँ भन्न
सक्तिन बिर्सन तिम्रो त्यो त्याग र बलिदान ।
मेरा हातका औंलाहरू ,
मेरा शरीरका अंग अंग
तिम्रो ममताले छोएको छ, छामेको छ
मुटु र धड्कन तिम्रै रगत र पसिनाले
सिन्चेको छ ।
तिम्रो माया र ममता देखेर
देश पनि रोएको छ ।
हुनत आमा !
तिमी रुनु र देश रुनु एउटै लाग्छ !
किन कि ?
तिम्रो नाममा देशको छवि आउँछ
माटोको बास्ना आउँछ !
जब जब म आँखा बन्द गर्छु
तिमी भित्र सिङ्गो संसार समेटिएर आउँछ ।
तर पनि आमा !
सबै गलेर, थाकेर लखतरान हुँदा पनि
तिमी थाकेनौ
तिम्रा पाउहरू थाकेनन्,
समयले हरेस खाई सुसेल्न छोड्दा पनि
तिम्रा अधरहरू मुस्कुराउन छाडेनन्
हाँस्न बिर्सिएनन् ।
नराम्रो देसानले आज
देश झोक्रिरहेको छ ,
भित्र भित्र खोक्रिरहेको छ ,
तर पनि आमाको ममता झोक्रिएको छैन
आमाको कर्तव्य कहिले खोक्रिएको छैन ,
निन्याउरो मुहार कतै देखिएको छैन !
यसैले म भन्दै छु आमा !
मातृदेवो भव: !!
तिम्रो दर्शनदेखि पर ठूलो अर्को धाम छैन,
आमाभन्दा पवित्र शब्द अरू कुनै नाम छैन !!
सिक्किम

