मकवानपुर । मकवानपुरको हेटौंडामा ११५औँ लक्ष्मी जयन्तीको अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम भएको छ । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा ११ को संयुक्त आयोजनामा कविता प्रतियोगिता र सर्जक सम्मान कार्यक्रम भएको हो ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा ३७ जना कविका प्राप्त कवितामध्ये १५ कविका कविता छनौट भइ वाचन चरणमा प्रवेश गरेकाे थियाे । वाचनको लागि प्रत्यक्ष उपस्थित हुनु पर्नेमा छनौटमा परेका १५ कवि मध्ये १२ कविले आआफ्ना कविता वाचन गरेका थिए । वाचन चरणबाट निमिषा निरौला, कृष्मा लौडारी र विशप आचार्यको कविता उत्कृष्ट भएका छन् । यसै गरि रीतिका छत्कुली र इभानी रानाभाटको कविता प्रोत्साहनमा परेको थियो । उत्कृष्ट ३ कविका कविताले २ हजार पुरस्कार र प्रोत्साहन हुनेले लागि १ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन ।
कविता प्रतियाेगितामा उत्कृष्ठ कवि लौडारी हेटौँडा–४ स्थित ब्रह्मदिप एकेडेमीमा कक्षा–८ मा, निरौला हेटौँडा–५ स्थित जिएस निकेतनमा कक्षा–९ मा अध्ययनरत छन् । यसै गरी आचार्य तनहुँ जिल्लास्थित साँस्कृतिक गुरुकुल माध्यमिक विद्यालयमा अध्ययनरत रहेकाे साहित्य संगम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
यस्तै प्रतियाेगितामा प्राेत्साहन पुरस्कार प्राप्त गर्ने छत्कुली हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा अध्ययन छिन् भने रानाभाट ब्रहमदिप एकेडेमीमा अध्ययनरत छिन् ।
महाकवी देवकोटा सम्मान–२०८० खरेललाई
मकवानपुरे अग्रज साहित्य स्रष्टा देवराज खरेललाई सम्मान गरिएको छ । १० हजार राशिको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट साहित्य सर्जक खरेललाई देवकोटा जयन्तीको अबसरमा हेटौंडामा सम्मानित गरिएको हो । नेपाली साहित्यमा कविता, निबन्ध तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै खरेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मानबाट सम्मानित गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए । खरेल हाल हाम्राे मातृभूमि त्रैमासिक साहित्यिक पत्रिकामा आवद्ध रहेका छन् ।
कार्यक्रममा दाना कविताका सर्जक साहित्यिक अगुवा तुल्सी थापालाई मरणोपरान्त युगप्रकाश वरिष्ठ साधक सम्मान–२०८० द्वारा सम्मानित गरिएको छ । थापाले विगत ५ दशक भन्दा लामो समयदेखि साहित्य अख्यान, नाटक तथा कविता र दाना कवितालगायतको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै युगप्रकाश वरिष्ठ साधक सम्मान–२०८० बाट सम्मानित गरिएकाे युग प्रकाश क्लब अध्यक्ष दीपक सिवाकोटीले बताए ।
सङ्गमका सल्लाहकार सुवास खनालले लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वको चर्चा गरेको कार्यक्रममा उपाध्यक्ष सानु खनालले सम्मानित व्यक्तित्व खरेलको चर्चा गरेककाे कार्यक्रममा प्रमुख अतिथि तथा सङ्गम सल्लाहकारहरू आरसी रिजाल र निमेष निखिल, सल्लाहकार तथा निर्णायक मण्डल संयोजक श्यामकुमार बानियाँ, सङ्गम अध्यक्ष डीबी बर्तौला, हेटौंडा उपमहानगरपालिका ११ नं. वडा अध्यक्ष जुना दाहाल मन्तव्य राखेका थिए ।
साहित्य सर्जक, साहित्यप्रेमी तथा राजनीतिक, शैक्षिक क्षेत्रका व्यक्तित्वहरूलगायत कार्यक्रममा उपस्थित रहेकाे थियो । कार्यक्रम सुरु हुनु अघि हेटौंडा ११ स्मारक गेटबाट प्रभातफेरि गरि त्रिभुवन माविमा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण गरिएको थियो । हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता र युगप्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको अध्यक्षतामा भएकाे कार्यक्रम स्वर्गीय तुल्सी थापाप्रति मौन धारण गरी सुरू गरिएको थियाे भने सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गरेको छ ।
शनिबार हेटौंडामा भएको हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पानसमा बत्ती बाली उद्घाटन गरेकी हुन् । उद्घाटन पछि साहित्यकार महिला सर्जकबाट सामुहिक राष्ट्रिय गान गाएर सुरू गरिएको कार्यक्रममा सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, संस्थापक अध्यक्ष आरसी रिजाल र हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वाद्यवादनमा आशाकाजी श्रेष्ठ, प्रलय चौलागाईँ, पूर्णविक्रम अधिकारी, तुलुक लामा र मनोज शाहीले साथ दिएका थिए । हास्यव्यङ्ग्यात्मक देउसी भैलोका प्रस्तुति ओमभक्त भण्डारीबाट फिरि लाउँदै सुरू भएको थियो ।
रजनी पौडेल, भावना सापकोटा, सबिता तिमल्सिना, निरा शर्मा, कृतिका लौडारी, भवानी तिमल्सिना र एलिजा पुडासैनी मार्फत् हास्यव्यङ्ग्यात्मक भैली खेलिएको थियो । गायक कलाकार आशाकाजी श्रेष्ठ र सिस्नुपानी मकवानपुर तथा कलाकारहरूको टोलीबाट देउसी रे गीत प्रस्तुत गरिएको थियो भने अजर फुयालले मदनकृष्ण श्रेष्ठको ‘खोला वारी खोला पारी’ गीतको लयमा ‘सिमापारी मनकारी छिमेकीको घर’ प्यारोडी गीत गाएका थिए ।
भाँडभैलो कार्यक्रम अन्तरगत चिरञ्जीवि लामिछाने, डीबी बर्तौला, सुवास सजल, रजनी पौडेल, देव दुलाल, सानु खनाल, दीपक गौतमलगायत सर्जकहरूले विभिन्न भूमिकामा देशको राजनीतिक अवस्थामाथि छेडछाड गरेका थिए।
ओमभक्त भण्डारी तथा साथीहरूको समुहले खैँजडी भजनमार्फत् व्यङ्ग्य शैलीमा परम्परागत कला संरक्षणमा साथ दिएका थिए । कार्यक्रमको आकर्षक केन्द्रको रूपमा प्रभास घिमिरेद्वारा प्रस्तुत हाउगुजी पुराण वाचन रहेको थियो । पुराण वाचन शैली व्यङ्ग्यमय थियो साथै भजन गायनमा दर्शकहरूले नाचेर साथ दिएका थिए ।
कमलीकान्त भेटवालको ‘झम्के गुलेली’ र गोपाल योञ्जनको ‘फरियालाई भुइँमा लतारी’ लयको प्यारोडी गायनबाट आशाकाजी श्रेष्ठ र प्रलय चौलागाईँले व्यङ्ग्य गरेका थिए । यस्तै भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ को प्यारोडी गीत ‘सन्डे संसद सुतिङ, मन्डे घ्वार घ्वार घुरिङ’ तथा सरोज गोपाल बज्राचार्यको ‘देउराली उकाली चढेर’ को प्यारोडी गीत ‘रेशम रिगल रामचन्द्र एउटै ड्याङका मुला रे’ लाई सागर तिमल्सिनाले प्रस्तुत गरेका थिए ।
दीपज्योति थापाले सहजीकरण गर्नु भएको कार्यक्रमको अन्त्यमा सिस्नुपानी तथा कलाकार समूहको आशिष गीत प्रस्तुत गरिएको थियो ।
उद्घाटन पछि अनौपचारिक सञ्चालन भएको कार्यक्रमको सञ्चालकबाट नै समापन गरिएको थियो ।
कार्यक्रममा उठेको रकम जाजरकोट तथा रूकुम भूकम्पपीडितहरूको लागि सहयोग गरिने संस्थाका अध्यक्ष लामिछानेले बताए ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपाल मकवानपुरले २०७८ सालबाट नियमित हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।
हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा भएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष लामिछानेको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिका प्रमुख लामाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष तथा हास्यव्यङ्ग्यकार रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।
चितवन । कवि प्रकाश चापागाईंको कवितासङ्ग्रह `कमिलाको प्वाँख´ लोकार्पण गरिएको छ । चितवनकाे भरतपुरमा शनिबार आयोजित समारोहमा गोविन्दराज विनोदी, भुवनहरि सिग्देल, डाक्टर एकनारायण पौड्याल, डाक्टर केशवराज चालिसे, कवि चापागाईंकी धर्मपत्नी सुजाताले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् ।
सङ्ग्रहमाथि टिप्पणी राख्दै समालोचक डाक्टर केशवराज चालिसेले कवि चापागाईंका कवितामा विविधता भएको बताए । `सङ्ग्रहमा सबैखाले कविताहरू समावेश भएका छन्, विविधखाले कविता भए पनि समग्रमा राजनीतिक अकर्मण्यतालाई सम्बोधन गरिएको छ । कविताहरू विचारोत्तेजक छन्, कविताहरूमा चेतना छ’ चालिसेले भने । चालिसेले सङ्ग्रहका कविताहरू प्रकाशमय भएको बताए । प्रकाशका कविताहरू समाज र राजनीतिसँग जोडिएर आएको पनि उनले बताए ।
समालोचक डाक्टर एकनारायण पौड्यालले कवि चापागाईं चेतनशील, अध्ययनशील र प्रतीभाशाली कवि भएको बताए । कविताभित्र जोडिएका रस, अलंकारले कविताहरू कविताजस्तै भएको पनि उनले बताए । चापागाईंका कविताको गति र यति मिलेको पौड्यालले बताए । बाम बुद्धिजीवी प्रेम रिमालले कवि प्रकाश चापागाईं कविताको गाउँ गीतानगरमा हुर्किएका कवि भएको बताए । गीतानगरका चापागाईंहरूको साधना र सिर्जनाले उक्त ठाउँ कविताको गाउँका रूपमा मान्न सकिने रिमालले बताए ।
कार्यक्रममा लेखराम सापकोटा, राजेन्द्र घायल, एलबी क्षेत्री, उदय अधिकारी, सरिता तिवारी, डाक्टर धनेश्वर भट्टराई, रमाकान्त सापकोटा, कपिलमणि रेग्मी, डाक्टर नारायणप्रसाद खनाललगायतले मन्तव्य राखेका थिए ।
नवीनतम् कवितासङ्ग्रह कमिलाको प्वाँखमा ८० वटा कविता छन् । सामाजिक एवम् राजनीतिक विषयवस्तुमा लेखिएका कविताहरू सङ्ग्रहमा राखिएको कवि चापागाईंले बताए । `विशेषगरी माओवादी युद्धदेखि अहिलेसम्मका सन्दर्भलाई कवितामार्फत उतार्ने कोसिस गरेको छु´, उनले भने – `सामाजिक विकृति विसङ्गति, राष्ट्रप्रेम र राजनीतिका नाउँमा खेलिने फोहोरी खेल प्रतिको खबरदारी र भुइँ मान्छेका आवाजहरू मेरा कविताका स्वरहरू हुन् ।´
कविता संग्रह पेज टर्नर प्रालिले प्रकाशन गरेको हाे । २०४० सालदेखि कविता लेखनमा सक्रिय चापागाईंका यसअघि`बदला´ एकाङ्की नाटक (२०४०), `आँखाभरि´ शोककाव्य (२०६७),`बुलेट नम्बर पाँच´ खण्डकाव्य (२०७०) `आरोहण´ महाकाव्य संयुक्त लेखन (२०७४) र `मगुई´ खण्डकाव्य (२०७७) पुस्तक प्रकाशित छन् ।
मकवानपुर । हेटौंडामा हुने बिद्यालयस्तरीय कविता प्रतियोगिताका लागि १५ कविता छनौट गरिएको छ । लक्ष्मी जयन्तिको अवसरमा कार्तिक २६ गते हुने प्रतियोगितामा छनौट भएका कविता वाचन हुनेछ ।
साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब, हेटौंडा ११ को संयुक्त आयोजनामा ११५ औँ लक्ष्मी जयन्तिको अवसरमा आइतबार कार्तिक २६ गते त्रिभुवन मावि हेटौँडा ११ को व्यवस्थापनमा विद्यालय प्राङ्गणमा वाचन गरिने छ ।
विद्यालयस्तरीय प्रतियोगिताको लागि प्राप्त ३७ कवितामध्ये छनौट भएका १५ कविता कवि स्वयं उपस्थित भइ वाचन गर्नु पर्ने बताईएको छ । प्रतियोगितामा उत्कृष्ट ३ जनालाई जनही २ हजार र १ जनालाई सान्त्वना १ हजार राशिको प्रोत्साहन पुरस्कार प्रदान गरिने संगम
अध्यक्ष डीबी बर्तौलाले बताए ।
देवकोटा सम्मान २०८० देवराज खरेललाई
यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट साहित्यकार देवराज खरेललाई सम्मानित हुने भएका छन् ।
११५ औँ लक्ष्मी जयन्तिको अवसरमा १० हजार राशिको उक्त सम्मानबाट खरेललाई सम्मानित गरिने संगम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
कार्यक्रमको पूर्वसन्ध्यामा हेटौंडा ११ स्थित सहीद स्मारक गेटदेखि प्रभातफेरि गरी त्रिभुवन माविमा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण गरिने उनलेे बताए ।
सिस्नुपानी मकवानपुरले हाँस्यव्यङ्ग्य देउसी कार्यक्रम गर्ने
Tags: No Comments
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । तिहारकाे अवसरका विगत ३ वर्षदेखि सिस्नुपानी मकवानपुरले देउसी भैलाे कार्यक्रम गर्दै आएकाे छ । यो वर्षकाे कार्यक्रम कार्तिक २५ गते कागतिहारकाे दिन हुने भएकाे छ ।
सिस्नुपानी नेपालले केन्द्रीयस्तरमा हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको मकवानपुरले व्यङ्ग्य साहित्यकार र कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम तेस्रो पटक आयोजना गर्न लागेकाे सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष लामिछानेले जानकारी दिए ।
अध्यक्ष राजकुमार लामिछानेका अनुसार हाँस्यव्यङ्य देउसी भैलो कार्यक्रमको लागि तयारीको काम भइरहेको उनले बताए । लामिछाने नेतृत्वको कार्यसमितिले आयोजना गर्न लागेको यो तेस्रो देउसी भैलो कार्यक्रम हो । कार्यक्रममा महिला गायक/कलाकारको भैली गीत, प्यारोडी गायन, प्यारोडी प्रवचन, प्रहसन, हास्यव्यङ्ग्य कविता वाचन, खैँजडी भजन लगायत साङ्गितिक प्रस्तुतिहरू रहने छन् । कार्यक्रममा हेटौंडा उपमहानगपालिकाको सहयोग रहेकाे छ ।