मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गरेको छ ।
शनिबार हेटौंडामा भएको हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पानसमा बत्ती बाली उद्घाटन गरेकी हुन् । उद्घाटन पछि साहित्यकार महिला सर्जकबाट सामुहिक राष्ट्रिय गान गाएर सुरू गरिएको कार्यक्रममा सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, संस्थापक अध्यक्ष आरसी रिजाल र हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वाद्यवादनमा आशाकाजी श्रेष्ठ, प्रलय चौलागाईँ, पूर्णविक्रम अधिकारी, तुलुक लामा र मनोज शाहीले साथ दिएका थिए । हास्यव्यङ्ग्यात्मक देउसी भैलोका प्रस्तुति ओमभक्त भण्डारीबाट फिरि लाउँदै सुरू भएको थियो ।
रजनी पौडेल, भावना सापकोटा, सबिता तिमल्सिना, निरा शर्मा, कृतिका लौडारी, भवानी तिमल्सिना र एलिजा पुडासैनी मार्फत् हास्यव्यङ्ग्यात्मक भैली खेलिएको थियो । गायक कलाकार आशाकाजी श्रेष्ठ र सिस्नुपानी मकवानपुर तथा कलाकारहरूको टोलीबाट देउसी रे गीत प्रस्तुत गरिएको थियो भने अजर फुयालले मदनकृष्ण श्रेष्ठको ‘खोला वारी खोला पारी’ गीतको लयमा ‘सिमापारी मनकारी छिमेकीको घर’ प्यारोडी गीत गाएका थिए ।
भाँडभैलो कार्यक्रम अन्तरगत चिरञ्जीवि लामिछाने, डीबी बर्तौला, सुवास सजल, रजनी पौडेल, देव दुलाल, सानु खनाल, दीपक गौतमलगायत सर्जकहरूले विभिन्न भूमिकामा देशको राजनीतिक अवस्थामाथि छेडछाड गरेका थिए।
ओमभक्त भण्डारी तथा साथीहरूको समुहले खैँजडी भजनमार्फत् व्यङ्ग्य शैलीमा परम्परागत कला संरक्षणमा साथ दिएका थिए । कार्यक्रमको आकर्षक केन्द्रको रूपमा प्रभास घिमिरेद्वारा प्रस्तुत हाउगुजी पुराण वाचन रहेको थियो । पुराण वाचन शैली व्यङ्ग्यमय थियो साथै भजन गायनमा दर्शकहरूले नाचेर साथ दिएका थिए ।
कमलीकान्त भेटवालको ‘झम्के गुलेली’ र गोपाल योञ्जनको ‘फरियालाई भुइँमा लतारी’ लयको प्यारोडी गायनबाट आशाकाजी श्रेष्ठ र प्रलय चौलागाईँले व्यङ्ग्य गरेका थिए । यस्तै भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ को प्यारोडी गीत ‘सन्डे संसद सुतिङ, मन्डे घ्वार घ्वार घुरिङ’ तथा सरोज गोपाल बज्राचार्यको ‘देउराली उकाली चढेर’ को प्यारोडी गीत ‘रेशम रिगल रामचन्द्र एउटै ड्याङका मुला रे’ लाई सागर तिमल्सिनाले प्रस्तुत गरेका थिए ।
दीपज्योति थापाले सहजीकरण गर्नु भएको कार्यक्रमको अन्त्यमा सिस्नुपानी तथा कलाकार समूहको आशिष गीत प्रस्तुत गरिएको थियो ।
उद्घाटन पछि अनौपचारिक सञ्चालन भएको कार्यक्रमको सञ्चालकबाट नै समापन गरिएको थियो ।
कार्यक्रममा उठेको रकम जाजरकोट तथा रूकुम भूकम्पपीडितहरूको लागि सहयोग गरिने संस्थाका अध्यक्ष लामिछानेले बताए ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपाल मकवानपुरले २०७८ सालबाट नियमित हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।
हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा भएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष लामिछानेको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिका प्रमुख लामाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष तथा हास्यव्यङ्ग्यकार रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।

