सौराहा, चितवन । चितवनको सौराहामा भएको पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । गत फागुन ३ गतेबाट सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको दुबै तालिम सोमबार समापन भएको छ ।
डाटा ड्रिभन पत्रकारिता र पटकथा लेखन तालिमका लागि छुट्टाछुट्टै प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । तथ्याङ्कमा आधारित पत्रकारिता तालिममा सहभागी काठमाडौकी पत्रकार पुष्पा थपलियाले तालिमा सहभागी हुनु अघि गुगल सिट खोल्ने समेतको जानकारी नरहेको बताइन् । तालिमपछि तथ्याङ्कलाई समाचारको शैलीमा जोडेर पाठकले सहज रुपमा बुझ्न सक्ने गरी प्रस्तुत गर्न सकिने बताईन ।
उक्त तालिममा मकवानपुरबाट सहभागी पत्रकार सञ्जिव सुनारले तालिम उपलब्धीमूलक भएको बताए ।तथ्याङ्कमा आधारित पत्रकारिता तालिममा उमेश श्रेष्ठ र अरुण कार्कीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक श्रेष्ठले पाँच दिनको तालिमले भोक जगाउने काम मात्रै गरेको बताए । अब अगाडि कसरी बढ्ने भनेर बाटो आफैंले खोज्न उनको आग्रह छ ।
यसैगरि पटकथा लेखन तालिममा सहभागी भएकी सृजना दुवालले ‘कथा लेख्न त आउँछ भनेर लाग्थ्यो तर त्यो सत्य रहेनछ । ‘तालिमपछि अझै धेरै सिक्न बाँकी रहेको महशुस भएको छ ।’ उनले भनिन् ।
अर्का प्रशिक्षार्थी श्रीधर न्यौपानेले तालिमले पटकथा लेखनका लागि बाटो देखाएको बताए । पटकथा लेखन तालिमका प्रशिक्षक केशव पाण्डेले तालिम पाँच दिने तालिम पटकथा लेखन यात्राको शुरुवात मात्रै भएको बताए । ‘ अहिले नै कथा लेख्ने, कथा भन्ने यात्रामा फुल स्टप लागेको हैन, यात्राको शुरुवात मात्रै हो ।’ उनले भने ‘सपनाको यात्रा चलिरहन्छ । सपनालाई मर्न दिनुहुँदैन ।’ पटकथा लेखन तालिममा केशव पाण्डे, प्रविण कुमार रावत र सुवास कोइरालाले प्रशिक्षण दिएका थिए ।
सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिम क्लास रुममा जानु अघिको रिक्तस्थान भर्नका लागि पुल मात्रै भएको बताए । ‘हामी सिक्न आएका थियौं, प्रशिक्षकले दिनरात नभनी प्रशिक्षण दिएका छन्’ उनले भने ‘ त्यसको सदुपयोग गरिदिनुस ।’
दक्ष जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘ पाँच दिने तालिम मार्फत टन्न दिएका छौं भन्दैनौं । सिक्ने भोक जगाएका छौं । कम्तीमा तीन तीन महिनाको तालिम आवश्यक पर्छ । ’ सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘ सिकेको कुराको सदुपयोग गरिदिनुस ।’
पटकथा मात्रै तयार गर्नेलाई २५ हजार र फिल्म बनाउनेलाई ७५ हजार रुपैयाँ सहयोग गर्ने बताए । फिल्म प्रदर्शनका लागि विदेश जाँदा लाग्ने भाडामा पनि सकेको सहयोग गर्ने उनको आश्वासन छ । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
मकवानपुर । गजलकार अनिश न्यौपाने ‘भावना’ श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानबाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले २ सय ११ औं गजल यात्रामा गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरेको हो ।
साहित्यकाे गजल विधाको उन्नयन, विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो । मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ *मुक्तक संग्रह पनि प्रकाशनमा छ ।
सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।भोला शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।
यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट मनिका नेगी भइन् । बुद्ध मावि बकैया–३ हात्तिसुँडेमा कक्षा ९ कि छात्रा नेगीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियाे । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।
मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपाने तथा नेगीलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
श्रीराम अर्जुन
मकवानपुर । मकवानपुरकाे हेटाैडा सिनेमा संवाद,अन्तर्कृया, कार्यशाला, गोष्ठि कार्यक्रम हुने भएकाे छ । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको हाे ।
संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।
स्थानिय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए । भेलामा देसभरबाट दुई सय पचास जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुने र सोही अनुसार व्यवस्थापन पुरा गरिसकेको संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए ।
कार्यक्रममा नेपाली चलचित्र उध्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ । फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछी बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ ।
प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचर संहितामाथी छलफल गर्नेछ । बिज्ञापन बोर्डले अनलाईन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ । यस्तै फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तर्कृया कार्यक्रम आयोजना हुनेछ ।
चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।
यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहनेछ ।
काठमाडौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।
नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।
नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा आगामी फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १ सय ७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने आयोजकको विश्वास रहेको छ ।
गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १ सय ९ वटा जिवन्त चित्रहरु (लाइभ) समेत कोरिएको थियो ।
प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुन लगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए । प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका अधिकारी, उद्योगी–व्यवसायी, लेखक लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने उनले जानकारी दिए ।
यस धरतीमा अवतरित हुनु अघि नै
तिमीसंगको नाता प्रमाणित गर्न
कुनै सिफारिस चाहिदैन मलाई
पहिलो रुवाईसंगैको तिम्रो आगमनले
मेरो मुटु बेजोडले धड्किदा
नाथे त्यो जन्मदर्ताको खोस्टोले
मेरो खुसी कहाँ मापन गर्न सक्छ र ?
तिमी आयौं र म भरिए
तिमी हाँस्यौ र म अडिए
कुनै गन्तव्यमा पुगेर थकान मेटाउँदै
कोमल हातका औंलालाई खेलाउँदै
जब अनेकन आकृति हावामा नै बनाउँदछौ तिमी
ती तिम्रा कला पिकासोको झैँ अदभुत लाग्दछन्
भावभङ्गी सहित आँखाका परेली
चलाउदै खिसिक्क हाँसिदिदा
अरे वाह म त कायल हुन्छु ।
अनि खोज्न थाल्छु
ती मुजा परेका निधार अनी गालामा बाल संसार
पाठशाला या भनु विश्वबिद्यालय
मेरा लागि तिम्रो मुहार
बडेमान किताबका डङ्गुरले थिचिएर
मिचिएका मेरा कलिला बालापन
आज तिम्रो आगमनले पुनर्जन्म पाउँदैछ ।
युनिभर्सिटिका प्रोफेसरले गाइड गर्दै
थेसिसका शब्द छाँटकाँट गर्दै गर्दा
लाग्दथ्यो ती सब त्यागेर बनबास जाउँ, गै हालुँ
त्यो बखत सैद्धान्तिक ज्ञानको बोझले पिल्सिएको बिद्यार्थी म
आज मेरै आँगनीमा नयाँ मान्छेको प्रादुर्भावले
गृहस्थी बिद्यालयमा नयाँ भर्ना लिदैछु
अनि सिक्दै छु
ती अबोध हेराई
रिसर्च गर्दैछु ती तोते बोलीहरु
आफ्नी आमाको दूध चुस्दा
गाइका बाच्छाले झै निकाल्ने
मधुर च्वाप्प च्वाप्प आवाजहरु
किनकी,
म तिम्रो बिद्यार्थी
अनि तिमी मेरो दोश्रो पाठशाला
मकवानपुरगढी–५ आमभन्ज्याङ्ग