मकवानपुर । साहित्य सङ्गम मकवानपुरले एकै मञ्चमा १४ जना लेखकलाई सम्मान गरेको छ । २०८० साल भित्र पुस्तक प्रकाशन गर्ने मकवानपुरले लेखकलाई सङ्गमले शनिबार एकै मञ्चमा सम्मान गरेको छ ।
सङ्गमको ३ सय ४२ औ साहित्य सन्ध्याका प्रमुख अतिथि नवराज शर्मा तिमल्सिनाले सम्मान गर्दै पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाई सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने बताए ।
सङ्गमले माटोको मोहका लागि तुलसी घिमिरे, महाकाशका लेखक मुना अर्याल, अकिञ्चनका आर्तहरू- देवराज खरेल, घुम्दै फिर्दै- जनार्दन खनाल,अनुत्तरित प्रश्न- समीर पाख्रिन, जुनेली- पुरूषोत्तम आचार्य, बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी,अन्तर्दृष्टी- किशन पौडेल,व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ, म कथा भन्छु नि ल- सिएम रिमाललाई सम्मान गरेको हो ।
यस्तै हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना,प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त,पल्लवित पाइला- कृशु अर्याल, मेकिङ इट इजी- आदर्श पौडेललाई सम्मान गरेको छ ।
अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गरेको सन्ध्यामा राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गरेका थिए । यसैगरी मसान उपासक, देवराज तिवारी र देवराज खरेलले गजल साथै सुबास सजलले मुक्तक वाचन गरे । सम्मानित स्रष्टाहरूले समेत रचना वाचन गरेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको बताए । सम्मान कार्यक्रमलाई हेटौंडा १८ का लक्ष्मण भुजेलबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
यसैगरि लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सङ्गमलाई सहयोग गरेका छन् । विधान संशोधनका क्रममा रहेको बताउँदै बर्तौलाले सङ्गमबाट भएको सहयोग सङ्कलनमा हालसम्म ४ लाख ५० हजार रुपैयाँ भएको जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा डा. महेश मास्के पारिजात स्मृति साहित्य सम्मान २०८० बाट सम्मानित भएका छन् । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार साहित्यकार एवम् स्वास्थ्य सेवी मास्केलाई सहित्यकार पारिजातको स्मृतिमा स्थापित सम्मान प्रदान गरिएको हो ।
साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा १५ हजार सय ५५ रुपैयाँ राशीको सम्मान मास्केलाई प्रदान गरिएको हो । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवद्र्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे तमाङ, सङ्गम अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । बुधबार हेटौंडा बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरि पारिजात स्मृति कार्यक्रम गरिएकाे हाे ।
पारिजात स्मृति सम्मान गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगदमा त्यति नै रकम थपेर साहित्य सङ्गमकाे अक्षयकोषलाई सहयोग गरेका थिए । साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउनको लागि आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् ।
कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् । कार्यक्रममा पारिजातका कविता वाचन गरिएका थिए ।
लामाले गरे साहित्य सङ्गम मकवानपुरलाई १ लाख सहयोग
Tags: No Comments
मकवानपुर । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले १ लाख रुपैया सहयोग गरेका छन् ।
लामाले प्रदान गरेको उक्त रकमबाट अक्षय कोष निर्माण गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । उक्त कोषबाट वार्षिक रुपमा प्राप्त व्याजबाट उत्कृष्ट प्रतिभालाई समान गर्ने गरी ‘डा.गणेश लामा प्रतिभा सम्मान’स्थापना गरिएको उनले जानकारी दिए । प्रतिभा सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ ।
बर्तौलाले लामाले सङ्गम परिवारलाई विश्वास गर्नु भएकोमा खुसी व्यक्त गर्दै सङ्गमको तर्फबाट धन्यवाद दिए । उक्त कार्यमा सङ्गमका सल्लाहकार निमेष निखिलले पहल गर्नु भएको थियो ।
बर्तौलाले सङ्गममार्फत साहित्यिक उन्नयनमा निरन्तर लागि रहेको बताए ।
मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गरेको छ ।
यस वर्षको १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित भएका हुन । यस्तै २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार सम्मानित भएकी हुन । बिहीबार हेटौंडामा १५ औँ संस्करणको कार्यक्रम गरि थापा र देशारलाई वरिष्ठ साहित्यकार नगेन्द्र थापाले सम्मान प्रदान गरेका हुन् ।
सम्मानपछि गितकार थापाले आफूले देखेको भोगेको समाज, परिस्थितिलाई अक्षरमा उतारेर समाजमा सचेतना दिने गरेको बताए । “म बन्दुक बोकेको मान्छे हुं, तर कलम मेरो प्रिय हो” उनले भने “भीम बिरागलाई सम्झिरहने छु, म उहाँको फ्यान हुं ।”
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा स्थापित बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरू अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जंगम) र किरण प्रधान (२०७९) सम्मानित भइसकेका छन् ।

यसैगरी भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ पोखराको हार्मोनिक समूह र २०७८ गायक शिव परियार प्रदान गरिएको थियो । हरेक वर्ष यो पुरस्कारलाई फरक फरक व्यक्तित्वले प्रायोजन गर्दै आएका छन् । यस पटक चितवनका साहित्यकार एलबी क्षेत्रीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन । देशार रेडियो नेपालकी ‘क’ श्रेणी गायिका हुन् । २०६६ सालमा राष्ट्रव्यापी आधुनिक गीत सम्मेलनमा प्रथम भएकी थिइन् ।
प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार रहेको प्रतिष्ठान महासचिव छवि अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।
बालमैत्री गीत प्रतियोगितामा निशा प्रथम
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी गीत प्रतियोगीमा निशा कट्टेल प्रथम भएकी छिन ।
प्रतियोगिताको लागि प्राप्त ६ जनाको गीत मध्ये कट्टेलको गीतले प्रथम स्थान हासिल गरेको हो । प्रथम हुँदै उनले नगद १५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरिन । यस्तै प्रतियोगितामा ओकिलराज बानियाँको गीत द्वितीय र कृतिका लौडारीको गीतले तृतीय स्थान हासिल गरेको हो । बानियाँ र लौडारीले क्रमशः नगद १० हजार र ८ हजार हात पारे ।
महिला तथा बालबालिका शाखाले सोमबार हेटौंडामा बालमैत्री स्थानीय शासन सम्बन्धी आयोजना गरेको कार्यक्रममा प्रतियोगी गीत वाचन/गायनसहित पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई बालमैत्री स्थानीय शासन तालिम राष्ट्रिय संयोजक बिष्णु प्रसाद चौबे, महाशाखा प्रमुख बिष्णु कुमारी लामिछाने, महिला बिकास अधिकृत शान्ती विश्वकर्मालगायतले पुरस्कार प्रदान गरे ।
गत फागुन १० गते उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन सम्बन्धी गीत प्रतियोगिताको लागि १५ दिन अबधी तोकी सूचना प्रकाशित गरेको थियो ।
हेटौडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको तयारी गरीरहेको सन्दर्भमा बाल अधिकारको संरक्षण, सम्बर्द्धनलाई उत्प्रेरित गर्ने, बालमैत्री स्थानीय शासनमा व्यक्ति, परिवार र बालबालिकाको भूमिका दर्शाउने, बालमैत्री भाव झल्किने बालमैत्री स्थानीय शासन सम्बन्धी गीत प्रतियोगिता गरिएको महिला बिकास अधिकृत शान्ति विश्वकर्माले जानकारी दिइन् ।