चितवन । तनहुँ,चितवन र नवलपरासी(नवलपुर) काे संगमस्थल प्रसिद्ध धार्मिकस्थल देवघाटधाम २२औं शृङ्खलामा निरन्तर ‘मकर-काव्य-यामिनी’ हुनेछ ।
देवघाट क्षेत्रकाे तनहुँ जिल्लामा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा २९ पुस २०८१ काे साँझ ‘मकर-काव्य-यामिनी’को २२औँ शृङ्खला आयोजना हुने भएको हाे । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ ।
राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गर्दछ । महेश संन्यास आश्रमका संस्थापक ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजको सत्प्रेरणामा कविवर गोविन्दराज विनोदी, महेश गुरुकुलका आचार्य डा.गुरुप्रसाद सुवेदी, बुद्धिनाथ अधिकारी र छात्रहरुको सक्रियतामा २०६० सालबाट प्रारम्भ भएर निरन्तर सञ्चालन हुँदै आएको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो ।
दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको मकर काव्य यामिनीको २२औँ श्रृङ्खला लेखनाथ साहित्य प्रतिष्ठानको विशेष उपस्थिति र आतिथ्यमा सञ्चालन हुनेछ । तनहुँ, चितवन, मकवानपुर, कास्की, नवलपरासी र उपत्यकाका काव्यसाधकको उल्लेख्य उपस्थिति रहने बताइएकाे छ । यामिनीकाे आकर्षणका रुपमा गुरुकुलका नव प्रतिभाहरु रहनेछन् ।
यामिनीले मध्य नेपालको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । यामिनीले जन्माएका कुशल स्रस्टा र साहित्यिक कार्यक्रमहरुले राष्ट्रियस्तरमा समेत महत्त्व राख्ने गर्दछन् । माघ १ गते देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्य रसपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ ।
विगतका वर्षहरुमा जस्तै सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई यामिनीमा सादर निमन्त्रणा गरिएको छ । सबै अतिथिहरूलाई खाने र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।
भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् ।
कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।।
शब्दउद्यानका माली! अलङ्कारसुवासिनी ।
काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।।
कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी स्रोताहरूलाई कविता मार्फत यामिनीमा यसरी सादर निमन्त्रणा गरिएको छ ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा |
हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥“
इलाम । इलामको सूर्योदयमा गजल मञ्च गठन भएको छ । सूर्योदय गजल मन्चको अध्यक्षतामा योगनिधी भट्टराई चयन भएका छन् ।
सूर्योदय नगरपालिकामा भट्टराईको अध्यक्षतामा गठन गरिएको गजल मन्चको उपाध्यक्षमा अर्जुन बेदना राई, सचिवमा विक्रम सुन्दास, सहसचिवमा दिपेन्द्र आचार्य र कोषाध्यक्षमा टिङ्कु निर्झरी चयन भएका छन् । यसैगरी मन्चको सदस्यहरुमा रणविर राई, सन्तोष खापुङ, विवेक शर्मा लामिछाने र एन्जिला थामी चयन भए । यस्तै डिल्ली प्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसका सदस्यहरुमा कुल प्रसाद ढकाल, कविता राई ‘गाउले’, प्रेम अधिकारी, दुर्गा देवी भट्टराई, डम्बर थापा र नुरज भट्टराई नदी रहेका छन् ।
गजल मन्च दर्ता गरी साहित्यका विविध विधामा काम गर्ने नव गठित समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार सूर्योदय सहित इलामको साहित्यलाई एकीकृत गरी साहित्य उत्थानमा सहयोग पुर्याउने उद्देश्यले गजल मन्च गठन गरिएको हो ।
वेदना न्युज डट कमको आयोजना तथा अर्जुन बेदना राईको अध्यक्षतामा भएको मन्च गठन कार्यक्रममा सूर्योदयका साहित्यकारले गजल, कविता वाचन गरेका थिए ।
टिङ्कु निर्झरीले सहजीकरण गरेको कार्यक्रममा दिपेन्द्र आचार्य सुमीले उपस्थित सबैलाई स्थानीय सयपत्री फूलले स्वागत गरेका थिए ।
माेमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि पुस्तक वार्ता
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा मोमिला जोशीको निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि पुस्तक वार्ता गरिएकाे छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा कवि, निबन्धकार जोशीकाे आठौं पुस्तक ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि शुक्रबार वार्ता तथा बहस गरिएको हाे ।
शनिबार (आज) प्रदेश युवा परिषद्को आयोजनामा तथा साहित्य संगम मकवानपुरकाे व्यवस्गापनमा हुने राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा एकल कविता वाचनका लागि हेटौंडा आइपुगेकी मोमिलाकाे निवन्ध संग्रहमाथि पुस्तक वार्ता गरिएकाे हाे । कार्यक्रममा जोशीकाे व्यक्तित्व कृतित्व चर्चा शान्ति प्रीय वन्दनाले, पुस्तकवार्ता सहजीकरण कवि सुवास खनालले तथा बहसकर्ता कवि समिक्षक निमेष निखिलले गरेका थिए ।
निबन्धले नारीचेत, मृत्युचिन्तन, स्वस्वार्थका लागि इतिहास तोडमरोड गर्न खोज्नेहरुप्रतिको खबरदारी, बाल्यकाल र बिरामी आमाको स्मरण, युद्धपीडा, व्यङ्चेत, विचार समावेश गरिएको सहजकर्ता खनालले बताए । सहजकर्ता खनालले लेखन सरल हुनुपर्ने वर्तमान अवस्थामा जोड भइरहेकाेमा लेखकहरूको भाषा कम भइरहेको हो कि भन्ने प्रश्न गरेका थिए । लेखक जोशीले निबन्ध सरल शव्दमा लेखिएको बताइन् । उनले लेखनको प्रवाहमा आफ्नो कुनै नियन्त्रण नरहने समेत बताइन् ।
जोशीका विषयमा निमेष निखिलले भाषाको गहिराईमा लेखक जोशीको प्रयोगबाट आफू प्रभावित भएको बताउँदै देवकोटादेखि शङ्कर लामिछानेसम्मले आफ्नो समयमा ल्याउनु भएको युगान्तकारी लेखनजस्तै समकालीन लेखकको तुलनामा मोमिला जोशीको फरक पहिचान बनेको बताए । खनालले युद्धहरू नाजायज लाग्दैनन् भन्ने र युद्धले ल्याउने हिंसाका विरूद्धको लेखन देखिन्छ नि भन्ने प्रश्नमा जोशीले भनिन् ‘जीवनमा हर क्षण पुरानै कुराहरूको नियमितता भने होइन ।’
निखिलको धारणामा जोशीले निखिललाई गम्भीर पाठक तथा सुन्दर कविताका सर्जकका रूपमा लिएको बताउँदै पाठकले आफ्नो शक्ति र सीमालाई बुझिदिन आग्रह गरिन् । लेखन तथा वादको सन्दर्भमा जोशीले ‘वाद’ हरूको घेरामा सीमित हुन नरुचाउने स्पष्ट पारिन् । सहजकर्ता खनालले मृत्यु चिन्ता वा चिन्तन केको विषय हो भन्ने प्रश्नमा मृत्यु आफ्नो मात्रै नभएर सबैको अनिवार्य रहेकाले पनि बाँचेका समयलाई सुन्दर र सक्रिय अनि अर्थपूर्ण तवरले बाँच्नुपर्ने लेखक जोशीले बताइन् । कार्यक्रममा कविहरू आरएन डङ्गोल, सुबास सजल र निरा शर्माले समेत लेखकसँग सवालजवाफ गरेका थिए ।
आयोजक आँचल साहित्य कला पुञ्जले कवि मोमिलाको निरन्तर साहित्य साधनाका लागि कदर-पत्रद्वारा सम्मान समेत गरेको छ । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई आँचलकी सचिव सबिता तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।
मकवानपुर । राष्ट्रिय युवा कविता उत्सव २०८१ मा हुने खुला कविता प्रतियोगिताकाे लागि उत्कृष्ट २० वटा कविता तथा कविकाे नामावली सार्वजनिक गरिएकाे छ ।
प्रदेश युवा परिषद्, बागमतीको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा हुने उक्त उत्सव अन्तरगत खुला कविता प्रतियोगिताकाे लागि साहि्तय संगम मकवानपुरले २० वटा कविता तथा कविका नाम सार्वजनिक गरेकाे हाे । संगम मकवानपुरले पूर्वप्रकाशित सूचना बमोजिम प्राप्त २२३ कविताहरूमध्ये उत्कृष्ट २० मा पर्न सफल कविता र कविहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको जनाएकाे छ ।
उत्कृष्ट २० मा अग्रिमा शिवाकोटी मकवानपुरकाे रित्तिदैछ ‘देश’, अभिषेक ओझा बाराकाे ‘विसंवाद’, कुष्मा लौडारी मकवानपुरकाे ‘डिजिटल संसारको मायाजाल’, तारानाथ पराजुली पर्वतकाे ‘पागल प्रकृतिप्रेमीको बयान’, दीपिन सिंजापति दैलेखकाे ‘आकाङ्क्षा’, प्रदीप कोइराला तनहुँकाे ‘म’, बाबुराम श्रेष्ठ यात्री सिन्धुलीकाे ‘आमा, देश र माटो’, भरत थापा धनकुटाकाे ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, भीमप्रसाद खतिवडा अनुराग दोलखाकाे ‘जीवन एक पाठशाला’ शिर्षककाे कविता छनौट परेकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
यसैगरी महेश कठायत बझाङकाे ‘देश’, रञ्जिता अधिकारी धादिङकाे ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसाद धादिङकाे ‘खिया’, रुपा ढुङ्गेल मकवानपुरकाे ‘म शिक्षा मन्त्री भए’, संयोग बस्याल कास्कीकाे ‘सावधान’, सिजन श्रेष्ठ संखुवासभाकाे ‘उर्वशी’, सुदर्शन पौडेल कास्कीकाे ’घर नफर्किएको छोराको सम्झनामा’, सुन्दर शिरिष सिन्धुपाल्चोककाे ‘जहाज चढ्न मन छैन आमा’, सुबास सजल मकवानपुरकाे ‘डरलाग्दो अन्त्य मानव सभ्यताको’,सुमित्रा सुमी नुवाकाेटकाे ‘बुद्ध आऊ’, सुमित्रा पोखरेल उदयपुरकाे ‘समदर्शक यन्त्रको पर्दा नियाल्दा’ शिर्षकका कविता छनौटमा परेकाे अध्यक्ष बर्तौलाले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे छ । संगम सचिव मनोज पोखरेलका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ । जुनसुकै विषयका मौलिक कविताले प्रतियाेगिताकाे लागि पठाउन ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने गरी संगमले सूचना प्रकाशित गरेकाे थियाे ।प्रतियोगिताकाे लागि पहिलाे सूचना प्रकाशित गर्दा समय सिमा २० मंसिर रहेकाेमा १ हप्ता म्याद थप गरिएकाे थियाे ।
२७ मंसिरकाे तोकिएकाे समयसम्म प्राप्त कविका कविता मध्येबाट उत्कृष्ट २० कविता र कविकाे नामावली प्रकाशन गरिएकाे हाे । उत्कृष्ट २० मा पर्न सफल कविहरूबिच ६ पौष शनिबार हेटौंडामा अन्तिम चरणको प्रतियोगिता आयोजना गरिने सचिव पोखरेलले जानकारी दिए । उनका अनुसार अन्तिम प्रतियोगितामा कवि स्वयं उपस्थित भई कविता वाचन गर्नु पर्नेछ ।
यसैगरी राष्ट्रिय युवा कविता उत्सव २०८१ मा कवि मोमिला जोशीका एकल कविता वाचनकाे कार्यक्रम समेत रहेकाे छ । उनका १० कविता कार्यक्रममा सुनिने सचिव पोखरेलले जानकारी दिए । उक्त दिन पुस्तक प्रदर्शनी समेत रहेकाे बताइएकाे छ ।
मकवानपुर । कुमारी लामाकाे निबन्धसंग्रह ‘दर्ज्यु संलाप’ काे हेटौंडा विमर्श गरिएकाे छ । शनिबार उक्त निवन्ध संग्रहमाथि विमर्श गरिएकाे हाे ।
किताबघर हेटौंडा र ‘आह्वान’को संयुक्त आयोजनामा भएको कार्यक्रममा लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताइन् । आफ्नो पछिल्लो निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ माथिको विमर्श कार्यक्रममा लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रुपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताइन् ।
कवि तथा समीक्षक निमेष निखिलको सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो ? भन्ने सवालमा लामाले प्रश्न उठाउनु आवश्यक रहेको बताइन् । संविधानले छोरीलाई अंश र वंशको अधिकार दिंदैमा व्यवहारमा परिवर्तन नहुने उनकाे भनाई थियो । निबन्धहरूलाई शृंखलात्मक रुपमा प्रस्तुत गरिएको ‘दर्ज्यु संलाप’मा उल्लेखित पात्र कान्छी तामाङको जीवन आफ्नो लागि प्रेरणादायी रहेको उल्लेख गरिन् ।
विगतमा न्युन पारिश्रमिक दिएर तामाङहरूको शोषण भएको, ज्यानै मास्न सकिने कानूनी व्यवस्थाले राजनीति, शिक्षा, अर्थमा विगतदेखि नै दमनका शृङ्खला रहेकोले पात्रहरूमा तामाङहरूकै बाहुल्यता रहेको लेखक लामाले बताइन् ।
यश लामा, सुबास सजल, वनस्तम थिङ लगायतले पाठकीय टिप्पणी राखेकाे कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘आह्वान’का गतिविधिबारे जानकारी गराएकी थिइन् ।
हेर्नुहाेस भिडियो