मकवानपुर । मकवानपुरकाे हेटौंडामा मोमिला जोशीको निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि पुस्तक वार्ता गरिएकाे छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा कवि, निबन्धकार जोशीकाे आठौं पुस्तक ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि शुक्रबार वार्ता तथा बहस गरिएको हाे ।
शनिबार (आज) प्रदेश युवा परिषद्को आयोजनामा तथा साहित्य संगम मकवानपुरकाे व्यवस्गापनमा हुने राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा एकल कविता वाचनका लागि हेटौंडा आइपुगेकी मोमिलाकाे निवन्ध संग्रहमाथि पुस्तक वार्ता गरिएकाे हाे । कार्यक्रममा जोशीकाे व्यक्तित्व कृतित्व चर्चा शान्ति प्रीय वन्दनाले, पुस्तकवार्ता सहजीकरण कवि सुवास खनालले तथा बहसकर्ता कवि समिक्षक निमेष निखिलले गरेका थिए ।
निबन्धले नारीचेत, मृत्युचिन्तन, स्वस्वार्थका लागि इतिहास तोडमरोड गर्न खोज्नेहरुप्रतिको खबरदारी, बाल्यकाल र बिरामी आमाको स्मरण, युद्धपीडा, व्यङ्चेत, विचार समावेश गरिएको सहजकर्ता खनालले बताए । सहजकर्ता खनालले लेखन सरल हुनुपर्ने वर्तमान अवस्थामा जोड भइरहेकाेमा लेखकहरूको भाषा कम भइरहेको हो कि भन्ने प्रश्न गरेका थिए । लेखक जोशीले निबन्ध सरल शव्दमा लेखिएको बताइन् । उनले लेखनको प्रवाहमा आफ्नो कुनै नियन्त्रण नरहने समेत बताइन् ।
जोशीका विषयमा निमेष निखिलले भाषाको गहिराईमा लेखक जोशीको प्रयोगबाट आफू प्रभावित भएको बताउँदै देवकोटादेखि शङ्कर लामिछानेसम्मले आफ्नो समयमा ल्याउनु भएको युगान्तकारी लेखनजस्तै समकालीन लेखकको तुलनामा मोमिला जोशीको फरक पहिचान बनेको बताए । खनालले युद्धहरू नाजायज लाग्दैनन् भन्ने र युद्धले ल्याउने हिंसाका विरूद्धको लेखन देखिन्छ नि भन्ने प्रश्नमा जोशीले भनिन् ‘जीवनमा हर क्षण पुरानै कुराहरूको नियमितता भने होइन ।’
निखिलको धारणामा जोशीले निखिललाई गम्भीर पाठक तथा सुन्दर कविताका सर्जकका रूपमा लिएको बताउँदै पाठकले आफ्नो शक्ति र सीमालाई बुझिदिन आग्रह गरिन् । लेखन तथा वादको सन्दर्भमा जोशीले ‘वाद’ हरूको घेरामा सीमित हुन नरुचाउने स्पष्ट पारिन् । सहजकर्ता खनालले मृत्यु चिन्ता वा चिन्तन केको विषय हो भन्ने प्रश्नमा मृत्यु आफ्नो मात्रै नभएर सबैको अनिवार्य रहेकाले पनि बाँचेका समयलाई सुन्दर र सक्रिय अनि अर्थपूर्ण तवरले बाँच्नुपर्ने लेखक जोशीले बताइन् । कार्यक्रममा कविहरू आरएन डङ्गोल, सुबास सजल र निरा शर्माले समेत लेखकसँग सवालजवाफ गरेका थिए ।
आयोजक आँचल साहित्य कला पुञ्जले कवि मोमिलाको निरन्तर साहित्य साधनाका लागि कदर-पत्रद्वारा सम्मान समेत गरेको छ । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई आँचलकी सचिव सबिता तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।

