मकवानपुर । मकवानपुरकाे हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव हुने भएको छ । नवसर्जक उत्पादन तथा पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्य उत्सव आयोजना गर्न लागिएकाे हाे ।
आयोजक नवसर्जक साहित्य चौतारी नेपालले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी ९–१० फागुन मा हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशनको हुने जनाकारी दिएकाे छ । कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले साहित्य क्षेत्रमा नयाँ पुस्तालाई जोड्न उत्पादन र आकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे नवसर्जक उत्सव कार्यक्रम निकै फलदायी हुने बताए ।
२८ जेठ २०७७ मा पहिलो पटक बाल उत्सव कार्यक्रम आयोजना गरेकाे नवसर्जक साहित्य चौतारी नेपालले यस वर्ष नवसर्जक उत्सव कार्यक्रम आयोजना गर्न लागिएकाे संस्थापक तथा संरक्षक दीपक गौतमले जानकारी दिए । ‘फागुन ९ गते सिर्जनात्मक लेखन कार्यशाला तथा फागुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुने छ’ उनले भने ।
पहिलाे दिन ९ फागुनमा हेटौंडा स्थित भुटनदेवी माध्यमिक विद्यालयमा ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुने उनले बताए । २ घण्टा सञ्चालन हुने कार्यशाला अन्तरगत मुक्तक लेखन, गजल लेखन, लोक लयमा कविता लेखन, गद्य कविता लेखन, कथा लेखन, नाटक लेखन, निबन्ध (यात्रा संस्मरण) लेखन र चित्रकला हुनेछ । यसैगरी १० फागुनमा हेटौंडा–११ शहीद स्मारकमा नवप्रतिभा प्रवर्धनमा विद्यालय र स्थानीय सरकारबीच बहस हुनेछ । साेही दिन राष्ट्रव्यापी नवसर्जक (२५ वर्ष मुनिका) गजल प्रतियोगिता समेत आयोजना हुने गौतमले जानकारी दिए । गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित प्रादेशिक नवप्रतिभा सम्मान, एकजना अग्रज बालसाहित्य सर्जक/अभियन्तालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहितको लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मान समर्पण गरिने छ भने नवसर्जक मुक्तक वाचन समेत हुनेछ । यस्तै ७ प्रदेशका नवसर्जक प्रतिभाका रचना वाचन, संस्थासँग जोडिएका २५ वर्षमुनिका कृति प्रकाशन गर्ने नवसर्जकलाई कृति प्रकाशन सम्मान समेत प्रदान गरिने कार्यक्रम रहेकाे उनले जानकारी दिए । उत्कृष्ट प्रदेश समिति पुरस्कार, नवप्रतिभाका सांस्कृतिक नृत्य तथा गायन र प्रथम केन्द्रीय अधिवेशन गरी कार्यक्रम समापन गरिने उनले बताए ।
कार्यक्रममा ३५० जना विद्यार्थी र ५० जना शिक्षकको सहभागिता रहने बताइएकाे छ । उत्सवको लागि ४ लाख खर्च हुने आयोजकको अनुमान गरेकाे छ । नवसर्जक उत्सवको लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा–४ नम्वर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयकाे व्यवस्थापन रहेकाे आयोजकले जनाएकाे छ ।
पत्रकार सम्मेलनमा नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार रमेशमोहन अधिकारी, अर्चना दाहाल, विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष कृतिका लौडारी लगायतको उपस्थित रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे वैदिक संस्कृत गुरुकूललाई रुद्रप्रसाद/विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गरिने भएकाे छ ।
हेटौंडा–१८ हर्नामाडी ठूलोदमारमा रहेकाे वैदिक वानप्रस्थ आश्रम संस्कृत गुरुकूललाई उक्त पुरस्कार प्रदान गरिने भएकाे हाे । रुद्रप्रसाद/विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषले हरेक २/२ प्रदान गर्दै आएको ५० हजार रुपैयाँ नगद राशीको उक्त पुरस्कार यसबर्ष आश्रमलाई दिने निर्णय गरेको काेषका संयोजक आरसी रिजालले जानकारी दिए ।
हेटौंडा–४ मा रहेकाे कोष संयोजक रिजालले आगामी चैत महिनामा पुरस्कार प्रदान गरिने बताए । यसअघि उक्त पुरस्कारबाट आँचल साहित्य कलापुञ्ज मकवानपुर र नवसर्जक साहित्य चौतारी सम्मानित भएका छन् । १५ जना दलित समुदायका विद्यार्थी अध्ययनरत आश्रममा २० जना विद्यार्थी आश्रित छन् ।
मकवानपुर । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको अध्यक्षमा सुर्यचन्द्र न्यौपाने चयन भएका छन् ।
प्रतिष्ठानको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । १७ सदस्यीय कार्यसमितीमा बाँकी चार सदस्य भने संस्थाको बैठकले मनोनित गर्नेछ ।
सर्वसहमतिमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा इन्द्रप्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल, सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक, सदस्यहरू ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल, शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा रहेका छन् ।
साधारण सभामा संस्थाका सचिव सुवास खनालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
नवनियुक्त अध्यक्ष सूर्यचन्द्र न्यौपानेले आफूले बनावटी ठूला योजना नबनाएको र संस्थाको भेलामा प्रस्तुत योजनाहरूलाई निष्ठापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा केदार न्यौपाने, प्रेम बहादुर पुलामी छिन्तु, मुनु सिग्देल, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे लामालगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । ‘विजुली माया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ २०८१ बाट कलाकार नीर शाह सम्मानित भएका छन् । मंगलबार भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले हेटौंडामा सम्मान तथा सागीतिक कार्यक्रमको आयोजना गरी १६ औ पुरस्कार शाहलाई प्रदान गरिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ, साहित्यकार नगेन्द्र थापा, एलबी क्षेत्री लगायतले १ लाख राशीको पुरस्कारसहित गीतकार शाहलाई सम्मानित गरेका हुन् । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत सक्रिय स्रष्टा हुन । उनले नेपाली गीत संगीतमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउदै आएका कलाकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे । स्थापना हुँदा ५० हजार रुपैंया रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैंया पुऱ्याइएको छ ।
त्यसपछि प्रेमध्वज प्रधान- २०६५, भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा तरङ्ग साँस्कृतिक परिषद्को पहलमा ७ भाद्र २०५९ मा स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रकाे संस्था हाे । देश तथा विदेशमा रही नेपाली वाङमयकाे क्षेत्रमा उल्लेखनीय योगदान पुन्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिष्ठानले जनाकारी दिएकाे छ ।
प्रतिष्ठान आफैंले स्थापना गरेकाे भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार (२०७७), भीम विराग राष्ट्रिय साहित्य पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय कला पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार (२०८१) प्रदान गर्दै आएकाे छ । यसैगरी प्रतिष्ठानले तुलसीमाया – शिवकुमारी सिर्जनशील नारी पुरस्कार ( सस्थापक मुक्तिगोविन्द वैद्य, २०६०), भीम – मथुरा बाल प्रतिभा पुरस्कार (संस्थापक विन्दुगोपाल गोर्खाली, २०६०), कमला भवानी सङ्गीत पुरस्कार (सस्थापक घनश्यामशङ्कर शर्मा, २०६५) प्रदान गर्दै आएकाे छ ।
यस्तै शीला नारी सङ्गीत पुरस्कार (संस्थापक आशीष श्रेष्ठ, २०६५), हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार (संस्थापक ज्योतिरत्न बज्राचार्य, २०६६), विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार (सस्थापक चुनु बानियाँ, २०७०), चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (संस्थापक रामबहादुर पाख्रिन, २०७१), मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार (संस्थापक देवप्रसाद श्रेष्ठ/दीपकप्रसाद श्रेष्ठ, २०७३), अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार (संस्थापक रोशन सेन गुप्ता, २०७४ ) पुरस्कार समेत प्रदान गर्दै आएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे एक विद्यालयमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत गरेकाे छ । हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा रहेकाे मकवानपुर बाल विद्या सदनले १३ माघबाट ‘कथा चौतारी : सिर्जना, सपना र प्रेरणाको मेल’ कार्यक्रम सञ्चालन गरेकाे हाे ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जनात्मकता प्रस्तुत गर्ने विशेष मञ्चकाे रुपमा सुरु गरिएकाे कार्यक्रम ४ दिनसम्म संचालन हुने विद्यालयका संस्थागत प्रिन्सिपल सुदीपराज गिरीले जानकारी दिए । ‘कथाहरू मानिसको जीवनलाई समृद्ध बनाउने अद्भुत साधन हुन्’ उनले भने ‘यस सोचलाई व्यवहारमा उतार्दै विद्यालयले ‘कथा चौतारी’ कार्यक्रमको अवधारणा अघि सारेको हो ।’ कार्यक्रम शिक्षकमाथि गरिएको विशेष कथा लेखन तालिमबाट सुरु भएको छ। ‘तालिमले शिक्षकहरूलाई कथा लेखनको सिप सिकायो, जसलाई उनीहरूले कक्षाकोठामा विद्यार्थीहरूसँग अभ्यास गराए। यसले बालबालिकाको सोच, कल्पनाशक्ति, र लेखन क्षमतालाई प्रोत्साहन गरेको छ’ उनले भने ।
बालबालिका, शिक्षक, र अभिभावकबीचको सम्बन्धलाई सिर्जनशीलताका माध्यमबाट थप बलियो बनाउने कार्यक्रमको उद्देश्य रहेकाे छ । ‘कार्यक्रमले बालबालिकालाई आफ्ना सपना र सिर्जनाहरू अभिव्यक्त गर्न प्रेरित गर्नेछ’ प्रिन्सिपल गिरीले भने । मञ्चले उनीहरूको प्रतिभा उजागर गर्दै उनीहरूको कथा भन्न सक्ने आत्मविश्वास निर्माण गरेको उनले बताए ।
कार्यक्रमको पहिलो दिन आइतबार कक्षा १ का विद्यार्थीले आफ्ना कथा रचनाहरू प्रस्तुत गरेका छन् । बाल्यकालका सरल कल्पनाहरूले अभिभावकहरूलाई भावुकसमेत बनाएकाे थियाे । कार्यक्रममा सोमबारबाट कक्षा २ देखि ५ सम्मका विद्यार्थीले आ-आफ्ना कथा रचनाहरू प्रस्तुत गर्दै यात्रालाई अझ रोचक र प्रेरणादायी बनाउने साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमले आफ्ना बालबालिकाको सिर्जनशीलता र क्षमता नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेकाे अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । एकजना अभिभावकले भने, “कुनै मञ्चमा उभिनु बालबालिकाका लागि चुनौतीपूर्ण कुरा हो। तर यस कार्यक्रममा उनीहरूले देखाएको आत्मविश्वास, जसले उनीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्न प्रोत्साहित गर्यो, हाम्रो लागि निकै प्रेरणादायी रह्यो। यो विद्यालयको सैद्धान्तिक शिक्षाभन्दा परको मूल्यवान योगदान हो।”
‘कथा चौतारी’ सिर्जना र प्रेरणाको मात्र मञ्च होइन, यो विद्यालय, बालबालिका र अभिभावकबीचको सम्बन्धको एउटा अद्भुत कथा पनि हो। शिक्षकमाथि गरिएको तालिम र बालबालिकाले प्रस्तुत गरेको अनमोल सिर्जनाले विद्यालयको शिक्षण प्रणालीमा एउटा नवीन अध्याय थपेको छ’ प्रिन्सिपल गिरीले भने । उनले ‘कथा चौतारी’ मकवानपुर बाल विद्या सदन विद्यालयको हस्ताक्षर कार्यक्रमका रूपमा विकसित हुँदै जानेछ बताए । ‘बालबालिकाको प्रतिभा उजागर गर्ने मात्र होइन, कथाको शक्ति र जीवनका लागि यसको महत्त्वलाई पनि अझ प्रस्ट्याएको छ’ उनले भने ‘विद्यालयले यस कार्यक्रमलाई हरेक वर्ष अझ सुदृढ र विस्तारित रूपमा आयोजना गर्ने लक्ष्य राखेको छ।’
‘जसरी हरेक मानिसका जीवनमा कथा महत्त्वपूर्ण स्थान राख्छन्, त्यसरी नै ‘कथा चौतारी’ बालबालिकाको सिर्जना र प्रेरणालाई सजीव बनाउने यो विशेष प्रयास अविस्मरणीय रहिरहनेछ’ श्रेष्टले भने ।
विद्यालयका संस्थापक सुदिप राज गिरीकाे सभाध्यक्षता तथा साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालयको शिक्षक, अभिभावक संघका सदस्य आइतमान नेगीलगायत अभिभावकहरूको सहभागिता रहेकाे थियाे ।