- सुरेश बैद्य
१.
जवानीमा कहिल्यै यसरि न तात्नु सानु
जथाभावी जही तही पनि न मात्नु सानु
यो उमेर नै यस्तो हो चुल बुले हुन्छ
जो कोहि सङ माया प्रीति न साटनु सानु।
२.
उन्को चाला माला मैले हेर्न नै छाडि सके
उनि सुध्रेला भन्ने अब आश नै मारि सके
भन्छे मेरो जिन्दगि कसैलाइ के मतलब
त्यसैले उन्को संगत लाइ टाडा पारि सके।
३.
मोती दिएर आशु बटुले पाएन उन्को प्यार
माया गर्दा मायालु को यस्तै पाए उपहार
माया फगत खेल भयो रुप त धोखा रहेछ
आखिर एक्लै हुनु रहेछ जिन्दगि को सार ।
४.
हामी बिच त प्रेमिल घमासान नै भयो
जे भए पनि आखिर जानाजान नै भयो
आज भन्छौ त्यो त क्षणिक आबेश थियो
त्यसैले आज हामी बिच हाना हान नै भयो।
५.
हामी दुइ छुट्टिनु पर्दा कस्को भयो हित
किन पो तोड्यौ तिमीले सामाजिक रित
उता तिमी हार्यौ यता हारे मैले पनि
आगो लगाउने हरु कै भएछ यहाँ जित ।
५.
तिम्रो बैषको अगाडि यो जाम को के काम
यो रुप लाइ भुलि परीको लिदैन नि नाम
दैब को आसन त डगमगाउ सक्छ भने त
यो भन्दा पबित्र छैन अरु कुनै पनि त धाम ।।
६.
तिम्रो माया त कस्तो जाली पो रहेछ
मुहार गोरो मन भने काली पो रहेछ
बोलि त लागेथ्यो अमृत झरला जस्तो
त्यो त मलाई गरेको गाली पो रहेछ।
७.
किन गर्छौ तिमि सधै आफ्नै मात्र मर्जी
कहिले त सुन्नु पर्छ नि मेरो पनि अर्जी
लाग्छ तिमी म सङ केहि लुकाउदै छौ
कि त गर्दैछौ कि तिमि काम कुनै फर्जी ।
८.
सधै सबैलाइ मात्र कहाँ खुशी पार्न सक्छु
मेरो पनि ज्यान छ कसरी पो मार्न सक्छु
कोही रिसाउँछन भने रिसाउन म के गरु
सबको नैया मैले मात्र कहाँ तार्न सक्छु।
९.
भनेकै त थिए नि नगर धेरै चुरीफुरी
आफन्तहरु सङ्ग नै बढ्यो आज दुरी
न राम्रो काम को यस्तै नतिजा हुने हो
भताभुङ्ग भो जिन्दगी आइ आधि हुरी।
१०.
बचन को तिर हो कि माया को बोली
डरलाग्दो छ है तिम्रो नजर को गोली
कसरी फसायौ मलाइ माया जाल मा
भन प्रीय ! लिएर आउ पिरतीको डोली।
११.
यता मेरो छाति पोल्छ उता तिमि हासेर तार्छौ
हाम्रो सम्बन्ध लाइ सधै पर पर मात्र पो सार्छौ
बरु खुलेरै भनि देउ तिमिलाइ माया गर्दिन म
म त तिम्रै हु नि भन्दै बचन मात्र ठिक्क पार्छौ।
१२.
त्यो आखा को हेराइ ले पो मर्छु कि क्या हो
उनको रुप को जाल मै पो पर्छु कि क्या हो
काफी छ मेरो लागि उन्को एक इशारा नै
मुटु भित्रै बसाइ पनि म त सर्छु कि क्या हो।
१३.
लेख्ने ले त लेखि दियो मेरो राम कहानी
बुझ्न नै चाहेन कसैले मेरो पनि जिन्दगानी
सबैले गरे आ आफ्नै हिसाब ले मुल्यांकन
देखेन पश्चाताप मा जलेको मेरो जवानी ।
१४.
हाम्रा रहर हरु मिले पछि पो सुन्दर घर बन्छ
गाँउ पनि बिकाश हुदै गए पो ठुलो शहर बन्छ
मन मा अठोट भए पछि असम्भब के नै रह्यो
बाङो डगर तिम्रो साथले रमाईलो सफर बन्छ।।
काठमाडाै
- सञ्जना शर्मा
१.
मेरो मनमा तिमीनै छौ किन सोच्दैनौ भन
आफ्नाे हक र अधिकार किन खोज्दैनौ भन
सोचेको कुरा सबै काहाँ पूरा हुन्छ र यहाँ
एउटा बाटो बन्ध हुदा अर्को रोज्दैनौ भन ।
२.
मैले तिम्रो गल्ती सच्याएको दिन
तिमीले चोखो मायाँ लत्याएको दिन
मनकाे क्यालेन्डरमा शेफ भएछ हेर
बनाबटि कुराहरु मैले पत्याएको दिन।
३.
हर खुसीमाँ दाउ लगाएर गयौ
चोखो मायामा भाउ लगाएर गयौ
तिमी बिनाँ बाँच्नै नसक्ने सोचेर
माँसुं दिलमा घाउ लगाएर गयौ।
४.
अाँखै अाँखाले बोल्न सिकायौ
तिम्रै यादमा पोल्न सिकायौ
दुनियाँ सँग दाँजेर किन
सबै यथार्थ खोल्न सिकायौ।
५.
चिसो बतासले सुस्तरी छोएर गयो
नजर नमिलाउदै परेली धोएर गयो
सिसा सरी खसेर फुटेका रहरहरु
चसक्क मनको कुनाँमा रोएर गयो।
६.
मनमा सुटुक डेरा गरेर
पर्ख भन्यौ अाँसु झारेर
बिचमा अहिले छोयौ किन
टाढा गयौं एक्लै पारेर।
७.
पहिले भने बाचा गरेर हात समायौ
अहिले फेरि अन्तै गई डेरा जमायौ
ठेस पुर्याएर स्वाभिमानमा मेरो
धन दौलत कमायौ नाम गुमायौ।
८.
भिजेका ती नयन र टुक्रिएका सपना बोकी
हिडीरहेका थियौ परेलिमा अाँसु छोपी
जब तिमीलाइ देख्छु यस्तो अबस्थामा
मैले सोचि रहे यहीँ उसको भाग्य हो कि।
लमही, दाङ
- लीना बानियाँ
छोटै सहि जिन्दगीको दिन त त्यो पो थियो ।
अमुल्य त्यो रत्न सरी छिन त त्यो पो थियो ।
बिना शब्द बोल्थे आखाँ, लय बिना खुल्थ्यो भाका
तार बिना संगीतको तरंग त्यो पो थियो ।
फुलै बिना प्रकृतिको रंग त्यो पो थियो ।
नसकिने बातहरु,जन्मौका थिए साथहरु
नभेटिने गन्तब्यमा रफ्तार त्यो पो थियो ।
नखोजिने बिश्राममा सवार त्यो पो थियो ।
लहराएका माया भरी सपनाहरुको उछल्कुद
ब्रमाण्डकै उडान भर्ने साथ् त्यो पो थियो ।
हत्केलामा तारा भर्ने बात त्यो पो थियो ।
छोटै सही जिन्दगीको दिन त त्यो पो थियो।
हेटाैडा १८ हर्नामाडी हाल काठमाडाै
- चेतनाथ दाहाल
१.
तिर्खा हैन आजभोलि,खोली धाउन थाल्यो अरे
गुम्नाम भई बस्नेको नि,पालो आउन थाल्यो अरे
भाउ खोज्ने च्यांखे थाप्ने,मौका मिल्ने भएपछि
संसद भित्र अनायासै,खुसी छाउन थाल्यो अरे ।
२.
जाई जुहि चमेलिझैं,तिम्रो जीवन् फुलिरहोस
सुख शान्ति सम्बृद्धि कै वरिपरि डुलिरहोस
हांसो खुसी छाईरहोस,मुहारमा सदा सदा
निलो आकाश जस्तै गरि सधैंभरि खुलिरहोस ।
३.
मान्छेहरु अरुलाई किन पिर्छन् होला
अपराधी कर्म गरि किन गिर्छन् होला
पाप धर्म केही हुन्न ठान्ने हरु यहां
भगवान् को मन्दिरमा किन छिर्छन होला ।
४.
त्यै घरमा माताजि को ममताको काख थियो
त्यै घरमा पिताजि को पसिना जो लाख थियो
ऐले फगत् एक्लो भयो,सम्झनामा सिमित् रह्यो
त्यै घरमा हिजो सम्म कत्रो ठुलो साख थियो ।
५.
फूल चढाउथ्यौं अनी अपार खुसी पाएर फर्कन्थ्यौं
प्रेमील भाका एक आपसमा संगै गाएर फर्कन्थ्यौं
त्यो देउराली,जसलाई आज मोटर बाटोले खायो रे
जहां हामी कहिल्यै नछुट्ने कसम खाएर फर्कन्थ्यौं ।
६.
आज पनि प्यारो लाग्छ जन्मिएको ठाँउ
बेला बेला लाग्ने गर्छ फर्किएर जाँउ
रमाउदै प्रकृतिको हरियाली भित्र-
गुरांसको फूल टिपि शिर माथि लाँउ ।
७.
त्यो फैसला खास हुनुपर्थ्यो,भयो
अहंकारको नास हुनुपर्थ्यो, भयो
अग्नि परिक्षामा लगेर होमिएको
संबिधान चैं पास हुनुपर्थ्यो,भयो!!
८.
जमानाले गर्दा भन्दै,संस्कार उल्टो मोड्न हुदैन
परिष्कृत गर्दै जानुपर्छ,परम्परा तोडन हुदैन
जमाना त कम्प्युटर र मोबाइलको पनि छ तर-
बेला बेलामा कलम पनि चलाउन छोड्न हुदैन ।
९.
कसैलाई च्वास्स घोच्ने कांडा नबनोस
कसैको प्रगति छेक्ने डांडा नबनोस
प्रेमिल बनोस कसैको निम्ति आदर्श बनोस
साहित्य सिर्जना कहिल्यै पनि छाडा नबनोस ।
१०.
आपद् बिपद् अनायासै हामी माझ आउँछ
जसरी चल्ला टिप्न झम्टेर बाज आउँछ
जिन्दगीको हिसाब किताब मिलाउदा मिलाउदै
सम्झनु,ढोकामा एकदिन यमराज आउँछ ।
११.
मलाई अचेल,मह झिकेको घार प्यारो लाग्छ
किन किन,पानी सुकेको ईनार प्यारो लाग्छ
काम नलागे नि,मिठो याद दिलाउंछ त्यसैले-
मलाई दुस्मन् ले दिएको उपहार प्यारो लाग्छ ।
कानेपोखरी २ मोरङ्ग
मकवानपुर । साहित्य संगम मकवानपुरले यसवर्ष साहित्य क्षेत्रमा क्रियाशील १० जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएकाे छ । मकवानपुरकै अग्रणी साहित्यिक साहित्य संगमको शनिबार बसेको बैठकले १० वटा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते संगमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने अध्यक्ष निमेष निखिलले जानकारी दिए ।
साहित्य संगमले गोपालप्रसाद रिमाल स्मृति सम्मान कवि, नाटककार गोपाल पराजुलीलाई दिने निर्णय गरेको छ । काठमाडौं निवासी पराजुलीलाई संगमले २० हजार नगदसहित सम्मानपत्रले सम्मान गर्ने संगमले जनाकारी दिएकाे छ । उनको ‘नयाँ इश्वरको घोषणा’ पुस्तकले मदन पुरस्कार प्राप्त गरिसकेको छ । यो सम्मान नाटकका, साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा रिमालकै परिवारले स्थापना गरेको हो । यसअघि गोपालप्रसाद रिमाल स्मृति सम्मानबाट साहित्यकार नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन् ।
मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । संगमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो । साहित्य संगम मकवानपुरले स्थापना गरेको याे सम्मानबाट तिम्सिनालाई सम्मानपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्न लागिएको हो । स्वर्गीय तिम्सिना साहित्य संगमको उपाध्यक्ष तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष रहेका उनकाे पुञ्जकाे अध्यक्ष पदमा रहँदा निधन भएको थियाे ।
यस्तै पारिजात स्मृति सम्मान डा. अरुण उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । हेटौंडा–१० स्थित आदर्श टोल विकास संस्थाले स्थापना गरेको सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । साहित्यकार पारिजात निकट रही साहित्यमा सेवा पुर्याएवापत डा. उप्रेतीलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।
श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यंग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पुर्याउँदै आउनुभएका रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने संगमका सचिव डीबी बर्तौलाले जानकारी दिनुभयो । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो ।
भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार व्यंग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ राशीले सम्मान गरिने सगमलले जनाएकाे छ ।व्यंग्यकार भैरव अर्यालको स्मृतिमा उहाँको परिवारले यो सम्मान स्थापना गरेको हो । यो सम्मानबाट धुर्मस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसकेका छन् ।
यस्तै शुभद्रादेवि मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तौला ‘आँशु’ लाई प्रदान गर्ने निर्णय भएको छ । मकवानपुरको पालुङ निवासी बर्तौलालाई नगद १० हजार राशीसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेकी हुन् ।
मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा साहित्यसेवी देव श्रेष्ठले आमाको नाममा स्थापना गर्नुभएको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यो यसवर्षबाट प्रदान गर्न लागिएको संगमले जनाएको छ ।
त्यसैगरी भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । संगमका कार्यसमिति सदस्य विशाल अधिकारी ‘आशुतोष’ ले पिताको स्मृतिमा स्थापना गरेकाे यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार राशीसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेको थियो यस वर्षबाट यसको राशी १५ हजार पुर्याइएको छ ।
यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गर्ने निर्णय भएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डेण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यंग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिँदै आएको छ ।
सम्मान तथा पुरस्कारहरु सम्बन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिँदै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष एकैपटक प्रदान गर्न लागिएको सगमका उपाध्यक्ष अनिता न्याैपानेले जानकारी दिइन् ।