- जगन्नाथ सुवेदी
अर्धांगिनी को आदर्श रसाउने मुटु ,
मारे पाप पाले पुण्य ले चढाएर,
अवला तुल्याई लेनदेनमा पारिएकी,
पुरुष स्वाभिमानकी सवला
स्वास्नी मानिस
कसैको मतिमा आफ्नो भाग्य रेखा आश्रित,
लक्षण र कुलक्षण की जिम्मेवार,
देवीको अंम्श मानिने स्वास्नी मानिस
सुहागरातको सुरुवातमै,
हर रात मौन रहन बाचा बाँध्ने,
प्रत्येक रातको आधा हकदार,
सहनशीलताले सिउँदो भर्ने
स्वास्नीमानिस
दाग नलगाई बचाएको शरीर,
कसैलाई खेलौना बनाउन सुम्पने,
मासु पसलको एक जिउँदो थुप्रो,
हर जन्ममा सती जान तयार
स्वास्नी मानिस
सितारको झंकार ले सताउदै पक्षाउँदा,
नबोली जोगाएको गलाको माधुर्य,
भट्टीवालकी खित्का भुलाउन मन्जुर,
सबै देवता लोग्नेमै देख्ने
स्वास्नी मानिस
कसैको कोठी धाउने आदत छुटाउन,
सित्तैमा सधैं सहमत भैदिएर,
बस्तुको हैसियतमा उपस्थित हुनु पर्ने,
सीताको आदर्श पुज्ने
स्वास्नी मानिस
रचानाकाल २०५३
हेटाैडा, मकवानपुर
- जुनु खड्का
धेरै पछि आज म मेरै
मन्दिरमा नित्य पूजा
गर्ने पूजारीको पदबाट
बर्खास्त भएकी छु।
मसँग देवता धेरै रिसाएका छन्
खै किन हो ?
मैले दिनहुुँ गर्ने
श्रद्धा र भक्ति माथि नै
दोषरोपण छ
भ्रष्टाचार गरेको
दुबैका हात र साथले बडो
मिहिनेत गरी बनाएको
त्यो मन्दिरमा
उपयुक्त लगन हेरी
म देवताको अर्धाङ्गिनी
भएर नियुक्त थिएँ
नियुक्तिपछि खाली मन्दिरमा
मेरै हातले गजुर, घण्टा,
दियो, कलशले सजाएँ
धुप दिप र नैवेधको वास्नाले
साँच्चिकै मन्दिर बनाएँ
अनि त्यो मन्दिरको
सच्चा पुजारी म बनेँ
तर आज समयले
मन्दिर नफेरिए पनि
भगवानलाई भने
केही वर्षको प्रदेशी
भेटीले फेरेको छ
त्यसैले त्यो पदबाट
म बर्खास्त भएकी छु
हो म मेरै मन्दिरको देवता पुज्ने
कामबाट बर्खास्त भएकी छु
मैले पूजामा चढाएको
पञ्चामृतमा
पाँच तत्व मिसिएन रे
जुन खाएर देवताको
रगत तात्दैन रे
शरीरको कुनै अङ्गमा
केही असर देखिन्न रे
त्यस्तै मैले दुधले मुछेर
ल्वाङ, सुक्मेल र मरिचको
धुलो मिश्रण गरी बनाएको
अपुङ्गोमा पनि कुनै
स्वाद छैन रे
मैले चढाउने फुल पनि
ओइलिएको भयो रे
मैले गाउने आरतीमा
अनपढको गन्ध आयो रे
दिनभरि व्रत बसेर चढाएको
बेलपत्र पनि पाखेले लगाउने
वस्त्र जस्तो भयो रे
यतिका धेरै आरोप सहित
म मेरै मन्दिरको पुजारी पदबाट
बर्खास्त भएकी छु
मलाई कलियुगका
भगवानले भक्तिको हैन
शक्तिको कदर गर्छन्
जस्तो लाग्दैछ
भक्तिभावले चढाएका सबै
फूल प्रसाद मिल्काएर
अहिले भट्टी नामको नयाँ
मन्दिरमा विराजमान भई
कोदो र चिनीबाट
बनेको पञ्चामृतले बल्ल
शरीर तातेको छ
उतै पाक्ने अपुङ्गाका डल्ला
मसलेदार मिठा भएका छन्
उसैले चढाएको फूल
फक्रिएको वास्नायुक्त छ।
उसैको आरती भजनमा
लेखपढको गन्ध आउने भो
उसैले चढाएको बेलपत्रमा
सहरका फेसनदार वस्त्र
देखिन्छ बस त्यो भट्टीमा
चढाइने सबै भेटीमा
हो
त्यसैले म आज
बर्खास्त भएकी छु
मेरै मन्दिरमा पूजा गर्ने
पुजारी पदबाट
म बर्खास्त भएकी छु
शुक्लागण्डकी-१०, तनहुँ
- पारस भट्ट “प्यासी”
१
नाँक मुख छोप्ने गरि माँक्स लगाई राख्नुस है
रोग लाग्न नदिने उपाय अपनाई राख्नुस है
ठुला ठुला बिज्ञ,डाक्टर यही भनिरहएका छन
समय समयमा बेसार पानी खाई राख्नुस है ।
२
सारा जनतालाई रुवाइरहेको छ काेराेना भाइरसले
सताउँन सम्म सताइरहेको छ काेराेना भाइरसले
हे भगवान निर्मुल कहिले हुन्छत भनिदेउँन छिटो
दिनदिनै ज्यान खाइरहेको छ काेराेना भाइरसले ।
३
किन आफ्नो पावर देखाउँछस ए काेराेना निर्दयी
किन यसरी जनतालाई रुवाउँछस काेराेना निर्दयी
लाखौँलाइत खाइसकिस तैंले कुपुलुक्कै पारेर
अझ यसरी कत्तिलाई उठाउँछस ए काेराेनानिर्दयी ।
४
रातदिन काेराेनाकै बारेमा सोचेर बस्यौँ भने
रोग लाग्न सक्छ भिडभाडमा गएर बस्यौँ भने
जति बेलापनी समचारै सुनेर बस्नुभन्दा हजुर
फाइदा होला भिडियो मुभी हेरेर बस्यौँ भने
५
ज्यान लिनलाई आत्तिरहेको छ ख्याल गर्नुहोस
हावाहुरी तुफान जस्तै आइरहेको छ ख्याल गर्नुहोस
आफू पनि बच्नुहोस अरुलाई पनि बचाउँनुहोस
काेराेना भाइरस जताततै फैलिरहेको छ ख्याल गर्नुहोस ।
मेलौली २ “सुन्दर भुमी” सेलि बैतडी
- सीता रेग्मी
दिनभरी घरमा बस्दा बस्दा दिक्क भएपछि साँझ तिर मुखमा मास्क लगाई हातमा सेनिटाईजर बोकी सुटुक्क घरबाट बाहिर निस्केँ। बाबुराम मामाको घर नजिक पुग्दा कसैले बोलाए झै लाग्यो। फर्केर हेरेँ, मामाकी कान्छी बुहारी रहिछिन्। नजिकै भए पनि उनीसँग खासै बोलचाल थिएन, किन बोलाईन् म अलमलमा परेँ।तै पनि रोकिएँ उनी नजिकै आईन्।
“हेर्नोस् न भर्खरै फोन आयो हस्पिटलबाट दाईलाई….” उनी बोल्नै सकिनन्।
“के भो दाईलाई?” म आत्तिएँ।
“दाई त सकिनु भो रे!” उनी भक्कानिईन्।
मलाई विश्वाशै लागेन उनैको मोबाईलमा भर्खरै आएको नम्बरमा पुनः फोन गरेँ। साँच्चै रहेछ, चार दिन देखि कोभिडको उपचार भैरहेकोमा आज मृत्यु भएको रहेछ। म पनि निः शब्द भएँ।
“बुवा माथी पुजा गर्दै हुनुहुन्छ म कसरी भनुँ तपाई भन्दिनुन!” उनले रुदै भनिन्। मैले हुन्छ त भने तर सिधै बाउलाई छोराको मृत्युको खबर सुनाउन आँट आएन, अलि पर रहेका उनका दाजुलाई त्यो दुखद खबर सुनाएर सिधै घर आएँ।घरमा पनि सुनाएँ, सबैलाई सचेत पनि गराएँ।
तर आफू भित्रको छटपटी शान्त हुनै सकेन फेरि लागेँ उतै तिर। बाबुराम मामाको घरमा पुगेँ, कोठाको ढोका बाहिरैबाट सबै तिर नजर घुमाएँ, एउटा कोठामा मामा अर्धचेतन अवस्थामा मेरो बाबु भनिरहेका थिए।अर्को तिर माईजु बेहोस थिईन्।अर्को कोठामा बुहारि काखमा दुधे बालक लिएर टोलाई रहेकी थिईन्, सान्त्वना दिने, सम्झाउने बुझाउने कोही देखिएनन्।
मैले पनि त्यहाँ बसिराख्नु उचित ठानिन मुखमा अर्को मास्क थपेँ, गोजीको सेनिटाईजर हातमा दल्दै त्यहाँबाट बाहिरिएँ।
सुन्दरहैँचा मोरङ
- बैकुण्ठ पोखरेल
थाहा छ तिम्रो नयनमा
आँसु लुकेको छ
थाहा छ तिम्रो मुटुको
घाउ दुखेको छ
बिबस भएर नियाली रा छु
म मूकदर्शक भएर
थाहा छ तिम्रो मायाको
मुहान सुकेको छ।
के बदला लिन्छौ एक अर्का सँग,
दुबै जना खोक्रि सकेसी?
रस निचोरे को ऊखु झै चोक्री सकेसी?
कस्लाई देखाउदै छौ
त्यो खोक्रो स्वाभिमान?
पढ़ेलेखेको बौद्विक बर्ग भन्छौ
खै त तिम्रा पहिचान?
बदला ले हैन बदलिएर हेर
भेट्टाएर हैन भेटीएर हेर।
थाहा छ तिम्रो मन
भतभत पोलको छ
नियतिले सम्बन्धमा बिष घोलेको छ।
बिबस बनी नियलिराछु
म मुकदर्शक भएर
थाहा छ बितृष्णाले
अचार मोलेकोछ।
तिम्रो धरती बाँझो छैन भने
तिम्रो हलो खिईएको छैन भने
जोत धर्तीलाइ, सिंचाउ धर्तीलाइ,
मलजल गर, उरबराउ धर्तीलाई।
सास छउँजेल आस हुन्छ रे
हॅसाऊ धरती लाई।
अजम्बरी माया गाँस धरतीसँग।
थाह छ धरती रोएको छ
माया अनि अपनत्व खाेसिएकाे वेला
बिबस बनी नियालीराछु
म मूकदर्शक बनेर
थाहा छ शनि ले उसलाई छोएको छ।
गोदावरी, ललितपुर