- जुनु खड्का
धेरै पछि आज म मेरै
मन्दिरमा नित्य पूजा
गर्ने पूजारीको पदबाट
बर्खास्त भएकी छु।
मसँग देवता धेरै रिसाएका छन्
खै किन हो ?
मैले दिनहुुँ गर्ने
श्रद्धा र भक्ति माथि नै
दोषरोपण छ
भ्रष्टाचार गरेको
दुबैका हात र साथले बडो
मिहिनेत गरी बनाएको
त्यो मन्दिरमा
उपयुक्त लगन हेरी
म देवताको अर्धाङ्गिनी
भएर नियुक्त थिएँ
नियुक्तिपछि खाली मन्दिरमा
मेरै हातले गजुर, घण्टा,
दियो, कलशले सजाएँ
धुप दिप र नैवेधको वास्नाले
साँच्चिकै मन्दिर बनाएँ
अनि त्यो मन्दिरको
सच्चा पुजारी म बनेँ
तर आज समयले
मन्दिर नफेरिए पनि
भगवानलाई भने
केही वर्षको प्रदेशी
भेटीले फेरेको छ
त्यसैले त्यो पदबाट
म बर्खास्त भएकी छु
हो म मेरै मन्दिरको देवता पुज्ने
कामबाट बर्खास्त भएकी छु
मैले पूजामा चढाएको
पञ्चामृतमा
पाँच तत्व मिसिएन रे
जुन खाएर देवताको
रगत तात्दैन रे
शरीरको कुनै अङ्गमा
केही असर देखिन्न रे
त्यस्तै मैले दुधले मुछेर
ल्वाङ, सुक्मेल र मरिचको
धुलो मिश्रण गरी बनाएको
अपुङ्गोमा पनि कुनै
स्वाद छैन रे
मैले चढाउने फुल पनि
ओइलिएको भयो रे
मैले गाउने आरतीमा
अनपढको गन्ध आयो रे
दिनभरि व्रत बसेर चढाएको
बेलपत्र पनि पाखेले लगाउने
वस्त्र जस्तो भयो रे
यतिका धेरै आरोप सहित
म मेरै मन्दिरको पुजारी पदबाट
बर्खास्त भएकी छु
मलाई कलियुगका
भगवानले भक्तिको हैन
शक्तिको कदर गर्छन्
जस्तो लाग्दैछ
भक्तिभावले चढाएका सबै
फूल प्रसाद मिल्काएर
अहिले भट्टी नामको नयाँ
मन्दिरमा विराजमान भई
कोदो र चिनीबाट
बनेको पञ्चामृतले बल्ल
शरीर तातेको छ
उतै पाक्ने अपुङ्गाका डल्ला
मसलेदार मिठा भएका छन्
उसैले चढाएको फूल
फक्रिएको वास्नायुक्त छ।
उसैको आरती भजनमा
लेखपढको गन्ध आउने भो
उसैले चढाएको बेलपत्रमा
सहरका फेसनदार वस्त्र
देखिन्छ बस त्यो भट्टीमा
चढाइने सबै भेटीमा
हो
त्यसैले म आज
बर्खास्त भएकी छु
मेरै मन्दिरमा पूजा गर्ने
पुजारी पदबाट
म बर्खास्त भएकी छु
शुक्लागण्डकी-१०, तनहुँ

