- जगन्नाथ सुवेदी
अर्धांगिनी को आदर्श रसाउने मुटु ,
मारे पाप पाले पुण्य ले चढाएर,
अवला तुल्याई लेनदेनमा पारिएकी,
पुरुष स्वाभिमानकी सवला
स्वास्नी मानिस
कसैको मतिमा आफ्नो भाग्य रेखा आश्रित,
लक्षण र कुलक्षण की जिम्मेवार,
देवीको अंम्श मानिने स्वास्नी मानिस
सुहागरातको सुरुवातमै,
हर रात मौन रहन बाचा बाँध्ने,
प्रत्येक रातको आधा हकदार,
सहनशीलताले सिउँदो भर्ने
स्वास्नीमानिस
दाग नलगाई बचाएको शरीर,
कसैलाई खेलौना बनाउन सुम्पने,
मासु पसलको एक जिउँदो थुप्रो,
हर जन्ममा सती जान तयार
स्वास्नी मानिस
सितारको झंकार ले सताउदै पक्षाउँदा,
नबोली जोगाएको गलाको माधुर्य,
भट्टीवालकी खित्का भुलाउन मन्जुर,
सबै देवता लोग्नेमै देख्ने
स्वास्नी मानिस
कसैको कोठी धाउने आदत छुटाउन,
सित्तैमा सधैं सहमत भैदिएर,
बस्तुको हैसियतमा उपस्थित हुनु पर्ने,
सीताको आदर्श पुज्ने
स्वास्नी मानिस
रचानाकाल २०५३
हेटाैडा, मकवानपुर

