मकवानपुर/ कोरोना भाइरसको महामारीको कारण बिरामी हुनेहरुको संङ्ख्या बढीरहेपछि बागमती प्रदेश सरकारले प्रदेश मातमतमा सञ्चालित थप पाँच वटा अस्पतालहरुमा अक्सिजन प्लान स्थापनाको तयारी गरेको छ ।
प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै सन्चालनमा रहेको छ र थप ५ अस्पतालमा पनि प्लान्ट स्थापना गर्ने तयारी गरिएको हो । प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुबिधायुक्त बनाउने अभियान अन्तरगत अक्सिजन प्लान्ट राख्न लागिएको मन्त्री बस्नेतले बताइन् ।
बाग्मती प्रदेश मातहतका ति अस्पतालहरुमा अब अक्सिजन प्लान्ट स्थापना गर्नको लागि एक महिना समयसिमा राखेर टेन्डर आह्वान गरिएको छ । प्रदेश सरकारले मंगलबार उक्त सूचना राष्ट्रिय पत्रिका मार्फत प्रकाशन गरेको छ ।
हाललाई कोभिड महामारीलाई मध्यनजर राख्दै काम सुरु गरिए तापनि यसले दीर्घकालीन रुपमा राहत प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् । “अक्सिजन जस्तो प्राण वायु अन्य अन्य समयमा पनि आवश्यक परिरहन्छ, सहज उपलब्धताले व्यक्तिको ज्यान अकालमा जाँदैन” मन्त्री बस्नेतले भनिन् “अबको एक महिनामा प्रदेश अन्तरगतका सबै अस्पतालले आफैं अक्सिजन उत्पादन गर्न थाल्ने छन् ।”
प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक महिनाको समय सिमा राखेर टेण्डर आह्वान गरेको हो । मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडौंको टोखा अस्पताल, ललितपुरको बज्रबाराही अस्पताल, दोलखाको चरिकोट अस्पताल, रामेछापको रामेछाप अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, धादिङको धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ।
यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । साथै मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाँकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन्। यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एक÷एक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ । कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले “एक जिल्ला एक पीसीआर मेसिन” राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको थियो

