- प्रेम पुन मगर
उनीहरूका छोराछोरी कता थिए? थाहा भएन। खत्री बाजेबज्यैलाई म सानैदेखि देखिरहन्थेँ। हामी हिड्ने बाटोमा उहाँहरूले खाजा पसल खोल्नु भएको थियो।खत्रीबाजे कराही बराबर कालो वर्णको हुनुहुन्थ्यो। खत्रीनी बज्यै हिउँ जस्तै गोरी हुनुहुन्थ्यो।
बोलाउने क्रममा बाजे भन्नुहुन्थ्यो। “ए काली ! चिया छिटो बनाइदेउ। पहुनाहरुलाई जाडो भइसक्यो। कति अबेर गर्छेउ?” बज्यै पनि उसैगरि भन्नुहुन्थ्यो। “ए सेते! चिनी र दाल भ्याइएछ। लिएर आउनुहोस न।” नबुझ्ने अल्लारे ठिटाठिटीहरु “गलल ” व्यङ्ग्यपाराले हाँसीदिन्थे।
म गहिरिएर सोच्थेँ। मेरो बालमास्तिष्कले थाहा पाउदैन थियो। “किन कालोलाई सेते सेतीलाई काली भनेको होला?” पाको उमेर भएपछि थाहा भयो। “यी सब त मायाको भाषा पो रहेछन्।”
- गीता तिवारी
ड्याडी हरी भन्ने अंकलको फोन आको छ, छोरोले उमेशलाई मोबाइल दिदै भन्यो। छिटो छिटो खाना खाएर उ कुरा गर्दै बाहिर निस्क्यो। केही समय कुरा गरेपछि आत्तिए झै भित्र पस्यो र श्रीमतीलाई भन्यो, “अफिसको एकजना साथी अचानक बिरामी परेछन् म जान पर्ने भयो।
“बाबु कसको फोन आएको थियो दुई कक्षामा पढ्ने छोरोसँग राधाले सोधी।”हरी भन्ने नाम थियो ममी।”छोराले भन्यो। को रहेछ हरी भन्ने साथी पहिला त कोही थिएनन नयाँ आएछन की क्याहो ,हुन त आफू माईतिबाट तीन महिना पछि बल्ल आएकी छु सानो छोरोलाई दूध चुसाउदै मनमनै कुरा गरी ।
किन बोलाएकी हौ निसु यतिबेला, यसरी सिरियस भएर फोन गरेउ की मेरो त सातो नै गयो उसले भन्यो। अनि बिरामी छु नभने त हजूर आईसिन्न । खासमा म बिरामी नै छु त ! धान्न तपाईँ भएर …. ।छोराले ममी पानी पर्यो म आज मामा घरै बस्छु भनेर फोन गर्यो,अनि मैले अवसरको सदुपयोग गनुपरेन त! निशुले भनी।
अनि तिम्रो जँड्याहा लोग्नेले फोन गरेको छैन त उसले चुरोट सल्काउँदै भन्यो । “त्यसको नामै नलिस्यो ! निशुले ढोकाको चुकुल लगाउँदै भनी। उसले श्रीमतीलाई फोन गर्यो र भन्यो राधा, हरिजी लाई सञ्चो नभएर अस्पताल लानुपर्ने भयो। म सायद भोलि बिहान मात्रै आउँछु होला कोठाको चुकुल अलि राम्रोसँग लगाएर सुत है ।
पोखरा ४ कास्की
- रमेश पाैडेल
१.
श्रमको सम्मान गर्ने, चलन चलाउनु छ
यही बेला मुठी रोपेर, मुरी फलाउनु छ
कुरा काट्नेलाई, भाषण छाँट्नेलाई
देखाएर काम, ठाउँको ठाउँ ढलाउनु छ ।
२.
सिसाको घरमा बस्नेले ढुङ्गो हानेर गए
बाठा थिए र त, लाटो बुङ्गो ठानेर गए
जानेहरू गए आाफु खुशी गन्तव्य भेट्न-
बर्षाएपछि ढुँगा आफैँ हलुङ्गो मानेर गए ।
३.
जिन्दगीलाई जिन्दगीजस्तो बनाउन सके पो जिन्दगी
मपाई हैन हजुर ! तपाई भनाउन सके पो जिन्दगी
जेलिएका यावत जिजीबिषाहरू सुल्झाउँदै, फुकाउँदै
हरेक दिनहरू उत्सवकै मनाउन सके पो जिन्दगी ।
४.
म एउटा यस्तो सवाल उठाउन चाहन्छु
तराईमा पनि अग्लो हिमाल उठाउन चाहन्छु
सक्तिनँ म हेर्न नेपाल आमा धुरुधुरु रोएको-
मेची – काली सिङ्गै नेपाल उठाउन चाहन्छु ।
५.
नखोजेका खुशीहरू बतास बनेर आउँछन्
आँधी अनि तुफानझैँ हतास बनेर आउँछन्
आउँछन् दुनिया, नदी किनारमा बसे पछि –
बगर छेउको बगरमा कपास बनेर आउँछन् ।
मकवानपुर । नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा एकदिने मुक्तक प्रशिक्षण कार्यक्रम शुक्रबार भएको छ ।
विद्यार्थीमाझ मुक्तक लेखन सीपको विकास गराउनुको साथै मुक्तकप्रति रुची राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नवोदय विद्यालयका नेपाली विषयका शिक्षक उपेन्द्रराना मगरले जानकारी दिए । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिव १ सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली विषयका शिक्षक रोशन चौलागाई, उपेन्द्रराना मगर, कल्पना निरौला, भवानी सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
भर्चुअल प्रविधिबाट भएको प्रशिक्षण कार्यक्रममा हेटौंडा क्याम्पसका नेपाली विषय प्राध्यापक मनोज पोखरेलले सहजीकरण गरेका थिए । नवोदय साहित्यिक बगैँचा बाल क्लवका सदस्य तथा कार्यक्रम संयोजक स्तुती गुरागाईँको अध्यक्षतामा कार्यक्रम भएको हो ।
मकवानपुर । संगीतकार संघ नेपालले अजर अमर सम्मान–२०७८ बाट वरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापीतलाई प्रदान गरेकाे छ । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पु-याएकोमा गायक एवं संगीतकार माणिक त्नलाई सम्मानित गरिएको हाे ।
ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमै पुगेर विहीबार संघका तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो । माणिकरत्नलाई संघका तर्फबाट १ लाख १ सय ११ रुपैंयाँ नगदसहित अजर अमर सम्मानबाट सम्मानित गरिएकाे हाे । संघका संरक्षक तथा वरिष्ट संगीतकार शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले उनलाई सम्मान प्रदान गरेका हुन् ।
गायक एवं संगीतकार माणिकरत्नले लामो समयको उपचारपछि अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना महामारीका कारण सिर्जित परिस्थिति सामान्य भएपछि विशेष सभा वा कार्यक्रममार्फत सम्मानलाई औपचारिता दिइने संगीतकार संघले जनाएको छ ।
गायक माणिक रत्नका ‘त्यो खोलाको संलो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आऊ जुन कोठामा राति’जस्ता दर्जनौं गीत लोकप्रिय छन् । माणिकरत्नको संगीत, प्रेमध्वजको स्वर रहेको ‘गोरेटो त्यो गाउँको’ गीत निकै लोकप्रिय छ ।