मकवानपुर । संगीतकार संघ नेपालले अजर अमर सम्मान–२०७८ बाट वरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापीतलाई प्रदान गरेकाे छ । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पु-याएकोमा गायक एवं संगीतकार माणिक त्नलाई सम्मानित गरिएको हाे ।
ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमै पुगेर विहीबार संघका तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो । माणिकरत्नलाई संघका तर्फबाट १ लाख १ सय ११ रुपैंयाँ नगदसहित अजर अमर सम्मानबाट सम्मानित गरिएकाे हाे । संघका संरक्षक तथा वरिष्ट संगीतकार शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले उनलाई सम्मान प्रदान गरेका हुन् ।
गायक एवं संगीतकार माणिकरत्नले लामो समयको उपचारपछि अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना महामारीका कारण सिर्जित परिस्थिति सामान्य भएपछि विशेष सभा वा कार्यक्रममार्फत सम्मानलाई औपचारिता दिइने संगीतकार संघले जनाएको छ ।
गायक माणिक रत्नका ‘त्यो खोलाको संलो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आऊ जुन कोठामा राति’जस्ता दर्जनौं गीत लोकप्रिय छन् । माणिकरत्नको संगीत, प्रेमध्वजको स्वर रहेको ‘गोरेटो त्यो गाउँको’ गीत निकै लोकप्रिय छ ।

