- सन्देश घिमिरे
म झल्यास्स ब्युझदै गर्दा
ऐंठनले उकुशमुकुश मेरो श्वास बढेछ
नाडिको गतिले रफतारको सिमा नाघेछ
अनायास निमोठिएछन,
मेरा मिठा अँकुरीत सपनाहरु
हिजो आज र भोली निर्धारीत अवस्थामा
देखिएका, देखिदै गरेका र देखिने सपनाहरु
कसैले मेरो लाचारीको आड लिई,
मिल्काएछन रक्षानमा
मेरा स्मृतिका थोरबहुत सपनाहरु,
विपनाको हवाला दिदै,
मेरै अनुमति बेगर,
फोहर मलाईमा बिसर्जन गर्न आतुर छन कोही
र त बिवश छु, तिलाञ्जली दिन
मेरा सुखद भविष्यहरु,
एक डङ्गुर सपनासंगै
पन्छाइसकेँ ल्याण्ड फिल साइटमा
तैपनि हर रात गिजोल्न मलाई
आउछन कैयन रङ्गहिन सपनाहरु
केहि रगींन सपनाहरु
थोरै मुल्यवान त ,धेरै सस्ता सपनाहरु
तौलदै, ओल्टाई अनि पल्टाई, मुल्य शुचि भिराई
जतनसाथ कैद छन धेरैमा थोरै ति अमुल्य सपनाहरु
बडो सकसले सन्दुकमा कैद छन,
ति आशाका खजानाहरु
सुनौला भविष्यका साक्षीहरु
समृद्वीका स्वर्णिम स्वप्नाहरु
मनै आल्हादित बनाउने मृदु आवाजहरु
शान्ती र भातृत्वका सम्बन्धहरु
विकासको मुल फुटाउने जमर्कोहरु
अन्ततः सुखी र समृद्धीका चाहनाहरु
तर दुर्भाग्य ! यस्ता युगान्तकारी सपनाहरु,
कैद सन्दुकको चाबी
आफ्नै पोल्टामा खुसुक्क लुकाई,
निदाएछन महामहिमहरु
मस्त घुर्दैछन तिनै सन्दुकलाई सिरान हालेर
अनि देख्दैछन संक्रमित सस्ता सपनाहरु ।
कवि घिमिरे पेशाले स्वास्थ्यकर्मी हुन् ।
- मिसु श्रेष्ठ
‘जताततै डोजरले जोतेर जमिन थिलथिलो एकातिर ।अर्कोतिर खेतीयोग्य जमिनको खति।’ गाउँले यसै भन्थे ।आफ्नो जग्गा पर्नेको विरोध, अर्कोको जग्गा पर्नेको उक्साहट । कतिले अनेक गरेर घरसम्म नै बाटो पुर्याए । हिउँदमा गाडी पनि कुद्न थाल्यो । बर्षामा दलदल र खाल्डाखुल्डी हुन थाले। गाउँपालिकामा आएको सिमित बजेटले कता नि टाल्नु भन्छन् प्रमुख।
‘प्रमुखले आफू र आफ्नातिर मात्र योजना लगे !’ गाउँ तिर हल्ला सुनियो । विरोध सभा भयो ।रमेशको पहल कदमीलाई धेरैले समर्थन गरे । पालिकाका कति प्रतिनिधिहरुसँग शत्रुता पनि बढे ।समर्थन र विरोधको बाबजुद बजारसम्म पुग्ने मुख्य बाटो स्तरउन्नति भयो ।
गाउँमा निजी सवारीसाधनहरु बग्रेल्ति देखिन थाले । आवागमन सहज हुन थाल्यो । आन्दोलनका अगुवा रमेश घाइते भएर अस्पतालमा भर्ना भएकाे थियो । उसलाई भेट्न साथीहरू अस्पताल पुगे । ‘के भएको यार तिमीलाई ?’ साथीले सोध्यो । ‘नयाँ मोटरसाइकल, नयाँ बाटो, धेरै कुदायौ क्यार !’ अर्का साथीले जिज्ञासा राखे।
जिउ भरी चोट लागेको, दायाँ खुट्टा प्लाष्टर गरिएको थियोे रमेशको। ‘नयाँ बाटो, नयाँ बाईक स्पिड पनि भयो । सडकको दायाँबायाँ घाँस पलाएको थियो । चारपाँचवटा बाख्रालाई लामो बाँधेर छाडेका रहेछन् । ठाडो उकालोमा अल्झेर …।’ “हो र ? कस्का रै छन् बाख्रा चाहिँ ? क्षतिपूर्ति भराउनु पर्छ नि ! विक्रम उत्तेजनामा बोल्यो । रमेश सुस्तरी बोल्यो – ‘बाख्रा त आफ्नै हुन् नि !’
काँडाघारी, काठमाडौं
मकवानपुर । नवोदय डान्सिङ स्टार प्रतियोगिता सम्पन्न भएकाे छ । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भर्चुअल प्रविधिबाट नवोदय डान्सिङ स्टार प्रतियोगिता असार ६ गते बुधबार सम्पन्न भएको हाे ।
बुधबार भएको फाइनल राउण्डमा अश्मी घिमिरे, अपेक्षा विडारी, समिक्षा उप्रेती र दर्शना सापकोटा उत्कृष्ट घोषित भएका छन् । ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको आधारमा उत्कृष्ट ३ घोषित गरिएकाे थियाे । जसमा भोटिङ र निर्णायकको आधारमा अपेक्षा विडारी र समिक्षा उप्रेतीले समान अंक हासिल गर्न सफल भएको क्रियटिभ आर्ट (सीएका) शिक्षक पर्वत राईले जानकारी दिए ।
४४ जना विद्यार्थीबाट टप २०, टप १०, टप ६ हुँदै फाइनल राउण्डबाट नवोदय डान्सिङ स्टार छनौट गरिएको हो । भौतिक रुपमा विद्यालय सञ्चालन भएपछि उत्कृष्ट छनौट भएका विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय नृत्य निर्देशक महासंघका केन्द्रीय सदस्य सुरेन देसार, नवोदय विद्यालयका नृत्य शिक्षक पर्वत राई र विष्णुसेन ठकुरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि विद्यालयका निर्देशक दीपेश जोशीले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फोटन गर्ने भएकोले प्रतियोगितालाई निरन्तरता दिइने बताएका छन् । क्रियटिभ आर्टका शिक्षकको संयोजनमा यस अघि नवोदय सिङ्गीङ स्टार प्रतियोगिता पनि सञ्चालन भएको थियो । कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनाललगायत विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
- राजु आचार्य ‘दीप’
१.
आँखै अगाडि भएको छ झेल आफन्तहरुको ।
विश्वास लाग्न छाड्यो अचेल आफन्तहरुको ।
आफू पनि हार्ने आफ्नाहरुलाई पनि हराउने
फष्टाउँदो छ यस्तै यस्तै खेल आफन्तहरुको ।
जा भन्न नसके नि अनुहारले त्यस्तै बताउँछ
लाग्छ मनमा महल पनि जेल आफन्तहरुको ।
आपतमा रमिता हेरी बस्नु दैनिकी बनिसक्यो
घाम जुन जस्तै भएको छ मेल आफन्तहरुको ।
एक छाक खाना पनि सित्तै खाएको छैन मैले
पैसा भने पछि हुरुक्क होटेल आफन्तहरुको ।
२.
लेख्न त लेखिएकै हो नियम कानुन कागजमा ।
पालना कम भएको छ नेपालीको ब्यबहारमा ।
विकासले विनाश निम्त्यायो सुन्न पाइरहन्छ
भय बोकेर उडिरहेकछन् चराहरु आकाशमा ।
गुन लगाएँ कसैलाई फूल दिएको छु कसैलाई
कैयौं पटक पत्थर पाएको छु यहाँ मैले जवाफमा ।
उमेर पुग्यो पढाइ सक्यो जवानी कसले बुझ्ने
रुझेको देखेको छु उनीलाई प्रायजसो बर्षातमा ।
धेरैखाले चुनावमा बिद्यार्थीले सघाएको बिर्सिए
स्वार्थी नेताहरु कहाँ जान्छन् खै आन्दोलनमा ।
इच्छाकामना -१,चितवन
- चन्द्रकला अधिकारी
मनमा अनेकौँ सोचाइ लिएर ऊ बारीमा काम गरिरहेको थियो । भर्खरै घर पुगेको ऊ जागिरका लागि बाहिर नै बस्ने तमाम राष्ट्रसेवकहरूको प्रतिनिधि पात्र नै थियो । बेलामौका नयाँ नयाँ बिरुवा, फलफूल, जडिबुटीहरू साथमा लिएर यस पटक पनि घर पुगेको थियो ।
सबैले बाटामा सोध्थे – ” के ल्याइस् ? कताबाट ल्याइस् ? हामीलाई पनि छोड्दै जा ।” उसले जवाफ सही फर्काउँथ्यो । जब उसले बारीमा सबै बिरुवा रोपिसक्यो । अन्तिम कोदाली खन्दा नीलो गाम्चा निस्कियो । पत्रैपत्र धागो निस्किएको थियो ।उसले राम्ररी हेर्यो। मानसपटलमा हजुरआमाको झल्को आयो । ओल्टाइपल्टाइ धेरै पटक हेर्यो । सम्झ्यो विगत – ” हजुरआमाले गरेको माया, त्याग र मेहनत । सबैलाई माया गर्न सिकाउने शैली । कहाँ छिन् मेरी हजुरआमा ? उसलाई साथमै भएजस्तो भान भयो । झसङ्ग भयो ।
ओहो! म त स्मृतिमा हराएँछु ।” आँखाभरि आँशुको पोखरी भयो । घरमा आउँदा गाम्चा ल्यायो । राम्ररी धोयो । राख्नलाई ल्याएको त्यो हजुरआमाको चिनो, सुकायो घाममा । उसले धेरै कुरा सोच्यो – ” मलाई यो कपडा नै यति प्यारो छ । मेरी हजुरआमा साथमा हुँदा झन् कति खुशी हुँदो हुँ ।” पल्लाघरका काकाले त आमा पनि बृद्धाश्रम पुर्याएको कहानी सुनेको थियो उसले ।
काकाले हजुरआमालाई भनेछन् – “घुम्न जाउँ आमा । म धेरै ठाउँमा घुमाउँछु । ” आमाले सोचिछन् – ” मेरो छोराको मन कताबाट पलाएछ ।” खुशीसाथ आमाछोरा लागेछन् । बजार नजानेकी आमा छोराले लगेको ठाउँमा गइछिन् । विचरा ! बुढी मान्छे , पढेलेखेको भए पो ठाँउको नामले नै यहाँ छु भनेर जानुन् ।
छोराले भनेछ – ” आमा बस्दै गर्नु म फलफूल र पूजाको सामग्री लिएर आउँछु ।” काका बेपत्ता भएछन् । बुढीआमा रोइकराई गरिछन् धेरैदिन । भोक भोकै हिडिछिन् । अचानक एकदिन धन्न उनको उद्धार गरी समाजसेवीले भेटेर वृद्धाश्रम पुर्याएछन् । उसले पल्टायो विगत् र हजुरआमाको ममताको पोको । कोहीलाई साथ यति प्यारो हुन्छ । कोहीलाई भने घाँडो ।
फालेलुङ – ८, पाँचथर