- चन्द्रकला अधिकारी
मनमा अनेकौँ सोचाइ लिएर ऊ बारीमा काम गरिरहेको थियो । भर्खरै घर पुगेको ऊ जागिरका लागि बाहिर नै बस्ने तमाम राष्ट्रसेवकहरूको प्रतिनिधि पात्र नै थियो । बेलामौका नयाँ नयाँ बिरुवा, फलफूल, जडिबुटीहरू साथमा लिएर यस पटक पनि घर पुगेको थियो ।
सबैले बाटामा सोध्थे – ” के ल्याइस् ? कताबाट ल्याइस् ? हामीलाई पनि छोड्दै जा ।” उसले जवाफ सही फर्काउँथ्यो । जब उसले बारीमा सबै बिरुवा रोपिसक्यो । अन्तिम कोदाली खन्दा नीलो गाम्चा निस्कियो । पत्रैपत्र धागो निस्किएको थियो ।उसले राम्ररी हेर्यो। मानसपटलमा हजुरआमाको झल्को आयो । ओल्टाइपल्टाइ धेरै पटक हेर्यो । सम्झ्यो विगत – ” हजुरआमाले गरेको माया, त्याग र मेहनत । सबैलाई माया गर्न सिकाउने शैली । कहाँ छिन् मेरी हजुरआमा ? उसलाई साथमै भएजस्तो भान भयो । झसङ्ग भयो ।
ओहो! म त स्मृतिमा हराएँछु ।” आँखाभरि आँशुको पोखरी भयो । घरमा आउँदा गाम्चा ल्यायो । राम्ररी धोयो । राख्नलाई ल्याएको त्यो हजुरआमाको चिनो, सुकायो घाममा । उसले धेरै कुरा सोच्यो – ” मलाई यो कपडा नै यति प्यारो छ । मेरी हजुरआमा साथमा हुँदा झन् कति खुशी हुँदो हुँ ।” पल्लाघरका काकाले त आमा पनि बृद्धाश्रम पुर्याएको कहानी सुनेको थियो उसले ।
काकाले हजुरआमालाई भनेछन् – “घुम्न जाउँ आमा । म धेरै ठाउँमा घुमाउँछु । ” आमाले सोचिछन् – ” मेरो छोराको मन कताबाट पलाएछ ।” खुशीसाथ आमाछोरा लागेछन् । बजार नजानेकी आमा छोराले लगेको ठाउँमा गइछिन् । विचरा ! बुढी मान्छे , पढेलेखेको भए पो ठाँउको नामले नै यहाँ छु भनेर जानुन् ।
छोराले भनेछ – ” आमा बस्दै गर्नु म फलफूल र पूजाको सामग्री लिएर आउँछु ।” काका बेपत्ता भएछन् । बुढीआमा रोइकराई गरिछन् धेरैदिन । भोक भोकै हिडिछिन् । अचानक एकदिन धन्न उनको उद्धार गरी समाजसेवीले भेटेर वृद्धाश्रम पुर्याएछन् । उसले पल्टायो विगत् र हजुरआमाको ममताको पोको । कोहीलाई साथ यति प्यारो हुन्छ । कोहीलाई भने घाँडो ।
फालेलुङ – ८, पाँचथर

