- महेन्द्रमान बलामी
१.
धक्का मुक्की सहनुको मजा बेग्लै हुन्छ।
जिन्दगीमा खाएका ती सजा बेग्लै हुन्छ।
लड्नु पर्छ वैरी सामु छाती फुलाएर।
जीत पछि फहराउने धजा बेग्लै हुन्छ।
२.
कुर्दा कुर्दै जाने माया वर्षपछि आयौ।
स्वर्णरुपी अङ्ग भरी हर्षपछि आयौ।
टोलाएरै बित्यो रात कोल्टे फेर्दा फेर्दै।
चाहनामा बिर्को लागी उत्कर्षपछि आयौ।
३.
राजा रङ्क बराबर उसको घरमा,
जता पनि तातो हुन्छ,भुसको घरमा।
यति मेरो त्यति तेरो बाँच्दामात्रै प्यारे!
कसको भरमा बाँचौँ प्रभु! फुसको घरमा।
४.
कठैबर भित्रभित्रै खोक्रो भयो देश।
रित्तिएर मात्र बाँकी बोक्रो भयो देश।
हल्लाएर जान्छ सबै जो जो आए पनि ।
नेताहरु सुताउने कोक्रो भयो देश।
फर्पिङ, काठमाडाैं
- इन्दिरा गौतम
अझै झोला भरिएको छैन’ ? छैन मालिक….. ..| उसले गम्भीर मुद्रामा भन्यो । दिनभरि ………के रमिता हेरेर बसिस् ? अझ बढी अलाप-बिलाप गर्नु पर्दैन ? ऊ मौन रहन्छ| एक घण्टा पछि म आउँदैछु | आजको रातको बन्दबस्त राम्ररी मिला नि………..।
यता उता आँखा डुलाएर आफ्नो भूमिका खेल्न थाल्यो। यो असहाय गरीब मान्छेलाई सहयोग गर्नुहोस् । तपाईँको पुण्य हुन्छ | तीन दिन भयो पेटमा एक मुठी अन्न परेको छैन। भगवानको नाममा सहयोग दिनुहोस् | भगवानले हजुरको कल्याण गर्नेछन् …………….|
आउने-जानेले चानचुने, नोट, बिस्कुटका पेकेट, फलफूल ………..आदि आफूसँग जे छ, दिँदै गए |हेर कति बिजोक रहेछ, यो जाडोमा लुगा पनि छैन भन्दै एक जना भलाद्मीले सय रूपियाँ पैसा र आफ्नो ज्याकेट पनि खोलेर दिए। एक घण्टा पछि उसको बोस आउँछ र दुई छाक जति रासन-पानीको पैसा दिँदै आदेश गर्छ ‘भरे राति राम्रोसँग अभिनयको अभ्यास गरेर भोलिदेखि चौगुना कमाउने नि बुझिस्।’
उसलाई भित्रभित्रै उकुसमुकुस पीडा हुन्छ। लुगा हुँदा हुँदै पनि माघे जाडोमा करङ देखाएर बस्नु पर्ने। पापी पेटको कुरा छ। नभए भुँडीले भोक हड्ताल गर्न थालिहाल्छ। ज्याकेट त क्या दामी रैछ है। यो जाडोमा म पो लगाउनु पर्यो। तँलाई सुहाउँदैन, भन्दै बोस घर तर्फ लाग्छ। भोलिपल्ट सबेरै त्यही ठाउँमा आएर माग्नेले आफ्नो पसल थाप्छ जोस जाँगरका साथ।
हिजो ज्याकेट दिने भद्र भलाद्मी ब्यक्ति आएर भन्छन् ‘हेर, हिजो साँझमा तिमी जाडोले कामेको देख्दा दुख लागेर ज्याकेट दिएँ तर मेरा जरुरी कागजात त्यसको गोजीमा छोडिएछन्। जसरी भए पनि ती कागजात मलाई चाहियो ,ज्याकेट भने तिमी नै लगाउ। हिँड! बरू, म तिमीलाई घरसम्म पुर्याउँछु |’ माग्नेले मनमनै सोच्यो ठुलो माछो पर्ने भो अब………., बल्छिले झैं कस्सेर राख्नुपर्छ। ठुलो रकमको आश गर्यो, सपना देख्यो। एक्लै निर्णय गरौं कि क्या हो ?
हजुर बाटो लागे पछि एउटा दरिद्र, म भन्दा पनि बढी दुःख पाएको, भोको यहाँ आयो र मैले त उसलाई पो दिएँ। कुरा छल्न खोज्यो |ती भलाद्मी सोचमा परे | यो कस्तो अचम्मको व्यक्ति रहेछ ! म भन्दा नि दयालु र महादानी पो रहेछ। म कतै भ्रममा त परिन? होइन……, मलाई ज्याकेट चाहिँदैन, अावश्यक कागजात दिँदा भै हाल्छ | बरु अलिकति खर्च दिउँला हुन्न र? सोचमा पर्यो, एकछिन यतै बस्तै गर्नुहोस् | अब एकछिनमा ऊ आइपुग्छ अनि म कुरा गरौंला। भन्दा भन्दै उसको बोस पनि आयो र बोसलाई सबै कुरा सुनायो।
तर बोससँग ज्याकेटको दरभाउ मिल्दै मिलेन। भलाद्मीले धेरै विन्ति बिसाए र पनि पटक्कै मिलेन | उल्टै ज्यानमालको धम्कि दिन थाल्यो |ती भलाद्मीले सोचकोे भन्दा ठुलो ग्यांग पो रहेछ। चारैतिर आँखा डुलाएर इसारा गरे। क्षणमै ती भलाद्मी एसपी गौतमका चतुराइले सहरका धेरै चोर, गुण्डा, बदमासहरूको ग्यांग पक्राउ परे |
ओदालगुडी, असम
- मान सिंह धामी
चौमाष् कि वाख्रि जस्ति देखिन्थि ,उस्ले पनि एक् आंखर नसाेधि आफुखुसि गरेकाेमा कृष्ने लाई खेद् थियाे। विस्तारै वुझ्ने भए पछि जखमले वाेकाे जस्ताे ढिडकाे संगतिले उनले साेध्न नभ्याएकाे रहेछ भन्ने उस्काे ठम्मयाइ थियाे।
कत्ति न् जान्ने जस्ता वाख्रे जाेइ पाेइले पालाे पालाे गरि,यस्ताे हाे उस्ताे हाे मात्र भन्ने, तेराे सीप छैन,त्यसरि हाेइन, तैंले गरेर खांदैनस् भन्नाले पार्टि फुट्ने छांट आयाे। आमाले किष्नेलाइ सिस्नाे टिपिल्याउन् अह्राई।अल्छी लागेकाे वेलामा एकै चाेटि पांचौ वाट सातौ स्वरमा वाख्री कराए पछि कृष्नेकाे रिसकाे रन्काे छुट्याे ।
हातकाे चिम्टि र फाटाे सुप्पाे पनि पछारियाे।” सीप सिक्छु,गरेर देखाउछु” ,पख्लास् भन्दै कृस्ने हिड्याे।आमाले फकाउन नपाउदै उ ओझेल भै हाल्याे। वाख्री जस्ति भए पनि आमा हाे,मन दुखाई,आसु पुछि सकेपछि वाेका जस्ताे वाेल्याे,थाहा पाउछ,जान्दे,न राे! किष्ने विनाकाे खल्लाे दशैं दुइटा विति सक्दा पनि कृस्नेकाे खुटखवर भएन्।भाकल माथि भाल थपिए।
कृष्ने टीकाकाे दुइदिन अघि द्याेरालिमा झुल्कियाे।आमाले देखिन्।पछि पछि आर्काे केटाे काे हाेला? आगनमै पुगेपछि छाेटाे कपाल ,नयाँ पाईन्टमा ठाउँ ठाउमा प्वाल परेका जिन्स र भेष्ट लगाएकि त” सिमलकाडे” केटी पाे रहिछ। मर्दले सीप त बिस्तारै देखाउला तर “वाेलेकाे भने गरेर देखायाे, देखाइ छाड्याे। सीप सिक्ने कुरा रहेन् छ।याे त हुने कुरा पाे रहेछ।सिपकाे पनि के चिन्ता गर्नु भन्ने कृष्नेले वुझ्याे र सवै लाइ वुझायाे।
कैलाली,गेटा
- गीताश्री शर्मा
१.
मौका पर्खिनेहरू यहाँ पर्खिरहन्छन्
तर्किन खोज्नेहरू पर-परै तर्किरहन्छन्,
बिरानाहरू आफ्ना बनेर आउँदा पनि
आफ्नैले भने घाउमा नुन छर्किरहन्छन्।
२.
साथ मात्रै पाएंछु मैले, मनको हात समाउन सकिनँ
हजारौं पाइला सँगै हिँडेँ, दुइ पाइला जमाउन सकिनँ,
मेरो स्वच्छ समर्पण थियो, तिम्रो निम्ति व्यापार बनेछ
सातौं जुनी कसरी काटौं ? यो जुनीमा नै रमाउन सकिनँ।
३.
कसरी जिउनु पर्छ~ समुद्रले बहेर सिकाउँदै छ
संयमता नै ठूलो हो~ भनी सहेर सिकाउँदै छ,
बिलौना गर्दै हिँड्दा समस्याको हल हुँदैन भनेर
गन्तव्य भुल्नु हुन्न ! मौनतामै कहेर सिकाउँदै छ।
४.
नाच्ने पनि देखियो यहाँ! नचाउनेहरू देखियो
भट्टी पसल भित्रै कम्मर भचाउनेहरू पनि देखियो,
रक्सी पिएर अरूको घर बिथोल्नेहरूको माझमा
सफा कुरा गरेर कसैको घर बचाउने पनि देखियो।
५.
सजिलो हिड्नलाई बाटो खनाउँदै जानुपर्छ
परिस्थितिलाई आफैं सहज बनाउँदै जानुपर्छ,
सुख र दुःख नै जीवनका चक्र रहेछन् यहाँ
बाँचेका पलहरू उत्सव सरी मनाउँदै जानुपर्छ।
सिक्किम
- विन्दामाया तामाङ
असल जनतालाई ठाउँ नै नहुने जन्म थलोको के काम ?
झनै अब हसिँया हतौडा रुख अनि हलोको के काम?
ठिक्क हुँदा हुँदै खडेरीले हाहाकार मच्चाउन थाले पछी,
कठै प्रकाश राजा सुर्य भगवानको भलोको के काम?
सुनौलो रङ्ग सुनैको गजुर भन्न पनि सकिन ।
हेरी मयुरका प्वाँख मजुर भन्न पनि सकिन ।
उनको त्यो शब्ददेखि यत्ती लजाए नि म ,
सानू भनी बोलाउँदा हजुर भन्न पनि सकिन ।
उत्तरपुस्तिका नै कच्याककुचुक किच्न थालेपछि
घरी – घरी त्यही मोबाइल फोन थिच्न थालेपछि
यो पाराले के प्रगति होला र खै ? अब मेरो पनि
पढ्ने लेख्ने समयमा फोटो खिच्न थालेपछि ।
जिन्दगीमा थोरै खुशी तर धेरै उदास हुँदै छ हिजोआज
अश्रु धारासङ्गै मन्द मुस्कानको बास हुँदै छ हिजोआज
समय र ज्ञानको अभाव बीच रचित मेरा रचनाहरु पनि
सबैको मन – मनमा परुन भन्ने आस हुँदै छ हिजोआज ।
शहर,बजार छोडी फेरि गाउँतिरै लाग्ने बनायो ।
कहिँ कतै देख्नै हुन्न लुकिछिपी भाग्ने बनायो ।
आफू त दिनभरी कमाएर बेलुका खाने मान्छे ,
कमाउनै दिएन कोरोनाले साँच्चै माग्ने बनायो ।
चिसङ्खुगढी – ७,ओखलढुंगा