मकवानपुर। आँचल साहित्य कला पुञ्ज मकवानपुरले तीज विशेष कार्यक्रम गरेकाे छ ।आँचलले हरेक वर्ष मनाउँदै आइरहेको सचेतनामुला तीज विशेष कार्यक्रम यस पटक भर्चुअल माध्यामबाट सञ्चालन गरेको छ ।
विगत वर्षहरूमा झैँ स्वास्थ्य सम्बन्धी चर्चा परिचर्चा गरी तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ स्वास्थ्यकर्मी डाक्टर अरुणा उप्रेतीको प्रमुख आतिथ्यता तथा हेटौँडा अस्पतालका डाक्टर सुजाता पन्तको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा हालको नेपाली खानपान र त्यसले व्यक्तिको जीवनमा पार्ने असरको विषयमा चर्चा परिचर्चा भएको थियो ।
व्रत बस्दा हाम्रो स्वास्थलाई फाइदा पुग्ने भएता पनि निरआहार ब्रत बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुने भएकाेले त्यसप्रति ध्यान दिनुपर्ने पन्तले बताइन् । ‘नेपाली समाजमा परम्परागत रुपमा प्राप्त ज्ञानहरू बढी प्रभावकारी रहेको हुँदा त्यसैको सिको अहिलेको समाजले पनि गर्नु राम्रो हाे’ उप्रेतीले भनीन् ‘हाम्रो भान्सामा प्राप्त हुने खाना नै हाम्रो स्वास्थ्यको लागि प्रभावकारी हुने भएकाेले आफ्ना बालबालिकालाई बजारमा पाइने पत्रु खाना ( जङ्क फुड ) खानबाट बचाउनु पर्छ ।’ विभिन्न सन्दर्भमा मनाइने उत्सवहरूमा केक काट्ने संस्कृतिले हामीलाई फाइदा नपुग्ने तथा केकमा प्रयोग हुने गुलियो पदार्थले मुटुमा प्रत्यक्ष असर पुग्ने हुँदा त्यस्ता संस्कृतिको सिको नगर्न अनुरोध समेत उप्रेतीले गरेकी छिन् ।
संस्थाकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा सञ्चालित कार्यक्रम नीरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।
- त्रिलोचन ढकाल
आमा बित्नुभयो । कुनामा । कान्छो भाई सात दिनको थियो । त्यही दिनदेखि बा पत्नी बिहीन हुनुभयो । उहाँ बत्तिस वर्षको हुनुहुन्थ्यो । म सबैभन्दा जेठो बाह्र बर्षको थिएँ । बिचमा माहिला र साइँला भाइ पनि थिए ।
काकाहरू आएर भन्नुभयो– “कान्छा ! विवाह गर ! यत्रो जीवन कसरी बिताउँछौ ?” बाबाले सुन्नुभयो । हाम्रा मैलिएका कपडा र डोकोमा गाग्री लिएर पँधेरातिर जानु भयो ।
तिहारमा फुपू आउँनु भयो । टिकाटालो गरिसकेपछि भन्नुभयो–”कान्छा ! विवाह गर । हाम्रो माहिला ससुराकी छोरी छन् । गज्जबकी । यी केटाकेटीलाई पनि आमा भएर सम्हाल्न सक्छिन् । तिमीलाई पनि खुसी राख्छिन् ।” बाबाले सुन्नुभयो । भकारा फाल्न भनेर गोठतिर जानुभयो ।
श्राद्ध गराउन पुरेत आए । उनले “सपत्नी हुनुपर्छ” भनेर संस्कृत वाक्य सुनाए । बाले सुन्नु भयो कि भएन थाहा पाइन । पिण्ड तर्पण गरिसकेपछि घाँस काट्ने खाङ्ग्रे डोको बोकेर खेततिर जानुभयो ।
बाको गुरु आउनुभयो । गायत्री मन्त्र सुनाएको गुरु । बाले उहाँको भनाइ सधँ लागु गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो– “विवाह गर ! पत्नी विना कुनै पनि कार्य सम्पन्न हुन सक्दैन । रामले अश्वमेधयज्ञ गर्दा सीताको पुत्ला बनाएर साथमा राखेको कुरा तिमीलाई पनि थाहा छ नि !” बाले ध्यान दिएर सुन्नु भयो । गुरुका खुट्टामा ढोग गर्नुभयो । अनि हामीलाई पढाउन थाल्नुभयो ।
यतिधेरै मान्यजनले भनेपछि बाले विवाह गर्नुहुन्छ भन्नेमा म विश्वस्त भएको थिएँ । एकातिर, भान्साबाट निस्कन पाउने आशाले खुसी थिएँ । अर्कोतिर बेखुसी थिएँ । सौतेनी आमा आएपछि तिन जना भाइको बोझ मैले बोक्नुपर्छ भनेर ।
विवाह हुने भयो । दिन पनि तय भयो । पाँचै जनालाई नयाँ दौरा सुरुवाल र टोपी सिलाइयो । सबै तयारी पूरा भयो । मैले भोलिपल्ट आउने सौतेनी आमाका बारेमा सोचिरहेको थिएँ । बाले भन्नुभयो–
“मैले विवाह गर्ने हो भने तिमीहरूले दुःख पाउँछौ । जेठा ! आज तिम्रो विवाह गर्न जाने हो ।
आनन्दआश्रम, स्याङ्जा
ज्याेति घिमिरे
बिर्सिएको मित्रआज दु:खमा काम आयो।
तुशारे शिशिर पछि बल्ल पारिलो घाम आयो।
जवानीमा पुजापाठ गर्न मन लागेन,
उमेर ढल्किएपछी यादमा चारधाम आयो।
बिदेशमा पियाराले दस नङ्ग्रा खियाएपछी,
स्वदेशमा पियारिको सुखको लाम आयो।
छोराले बाहिर बाट जति डलर पठाए नि,
स्याहार गर्न निकम्मा घरकै छोरा काम आयो।
चिनियो पैसा अनि इज्जतको बखानले,
तब पो टाढा हैन सहोदर हो भनी नाम आयो।
रावणले सीता हरेको त्यो युगका कुरा,
अहिले त सीता हर्न कलियुगको राम आयो।
गाेदार धनुषाा
- हिराकाजी कुमाल
अस्ति महिला समुहको भवनमा चर्काचर्की सुनिएथ्यो ! के भएको रहेछ समुहमा भनेर पछि सोधपुछ गर्दा एउटी सदस्यले दुई महिनालाई भनेर लगेको ऋणको सावाँ र ब्याज तिरिनछन् त्यसैले उनलाई सबैले गाली गरेका रहेछन् !
पैसा नभएर नतिरेको होला नि त्यसरी हल्ला गर्ने होत भन्दा “ऋण लगेपछि तिर्नुपर्छ, अहिले छैन भनेर हुन्छ ?” मान्य सदस्यको कुरा जायज भएपनि एउटै टोलमा बस्ने आमा दिदिबहिनी हरु एउटालाइ समस्या पर्दा अर्कोले सहयोग गर्नुपर्छ अहिले नभएपनी अर्को दिन होला नि, फेरि तपाईं हामीलाई पनि त यस्तो समस्या कुनैदिन पर्न सक्छ, सक्नुहुन्छ भने अहिलेलाई तपाईंहरु सबै मिलेर तिरिदिनुस् भन्दा श्री सदस्य … ममाथि नै जाइलाग्नुभो हिजो ।
‘आज हाम्रो महिला समुहको दर खाने कार्यक्रम छ ! हामीले एक/एक हजार उठाएर दर खान लागेको, एउटीले पैसा छैन दर खान्न भनी, हामी उन्नाइस जना छौं!तपाईं दिउँसो कता जानुहुन्छ ? फ्रीजमा दाल तरकारी बिहानको छ, भात पकाएर खानु’ श्रीमती जि ले भनेपछि हस भनेँ । बेलुकी अबेर भैसकेको थियो म खेतमा पानी लगाएर घर फर्कदै गर्दा बाटैमा कान्छी दिदिको घर पर्ने,बोलाएँ ! कोहि नबोलेपछी भित्र पस्दा कान्छी दिदि एक्लै आँखा भरि आँसु लिएर रेडियोमा तिजको गित सुन्दै बसिरहेकी रहेछिन्दिदि के भयो ?
आज महिला समुहको दर खाने कार्यक्रममा तिमी गइनौ ? उनी बोलिनन् फेरि सोधेँ ! उनी अप्ठ्यारो मान्दै बोलिन् “अलि सन्चो नभएजस्तो भाछ त्यसैले … “मनमा धेरै कुराहरू भएपनि केहि भन्न नसकेको भान हुन्थ्यो …त्यही बेला भित्तामा झुन्डिएको रेडियोमा जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदै रुँदै … गित बज्न थाल्यो अब उनी बेस्सरी रुन लागिन् ।
राति अबेरसम्म श्रीमती घर नआएपछि उनलाई लिन जानुपर्यो भनेर त्यहाँ पुग्दा त्यहाँ पनि त्यही गित चरी जेलैमा ठुलो स्पिकरमा बजिरहेको थियो उनै महिला समुहका सदस्यहरु उफ्रि/उफ्रि नाचिरहेका थिए ।
गाेरखा
गंगा खड्का
१.
हेर्दाहेर्दै तिमी जान्ने भएछौ
आफैँलाई ठूलो ठान्ने भएछौ
घमण्डको मात लागेछ क्यार
अरुलाई तीर हान्ने भएछौ ।
२.
हुने खानेका टाउकाहरु एकै ठाउँमा जोडिन्छन्
ओरालो लागेपछि मान्छेहरु आफ्नैबाट छोडिन्छन्
यो धन भन्ने कुरा कस्तो चिज बनाएछ मान्छेले
थैली बलियो हुनासाथ पाइला अन्यत्र मोडिन्छन् ।
३.
काँचो धागो सरी अचेल सम्बन्धहरु चुँडिँदै छ्न्
मायाले जोडेका मनहरु भित्रभित्रै कुँडिँदै छन्
हर कुराको अल्पायुमै उत्सर्ग हुन थालेपछि
मानवताका साइनोहरु दिनदिनै खुँडिँदै छन् ।
४.
चन्द्रमाको कला बिर्सेर मान्छे किन दाग मात्रै हेर्छन् ?
आफूले नै चिनेको चौतारालाई काँडाले किन घेर्छन् ?
एउटै कुरामा फरक दृष्टिकोण घरीघरी किन
मान्छेले आखिर स्वार्थी बनेर रङ कतिन्जेल फेर्छन् ?
५.
हिलोमा पनि सुन्दरता पोख्दै कमल फूल फुल्दछ
सौन्दर्यधारा बगाई गुलाफ काँडाबीच नि झुल्दछ
प्रकृतिको शक्ति अदम्य र अद्भुत भएरै त होला
घामपानीमा प्रेमिल रङ्ग दलेर इन्द्रेणी खुल्दछ ।
बुढानिककण्ठ, काठमाडाैं