रामेछाप जिल्लाकाे लखनपुरमा जन्मेर हालकाे कर्म थलाे काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखाल नगरपालिकामा बनाएकी मीना चाैलागाईले भर्खरै ‘मुक्तक मिनार´ मुक्तक संग्रह प्रकाशनमा ल्याएकी छिन् । एम.ए सम्मकाे अध्ययन गरेकी उनकाे रुची साहित्य विधाकाे मुक्तकसँगै गजल, गीत, कोपिला, कविता, हाइकु लेखनमा छ । स्कूलमा नेपाली बिषय पढाउने गुरुको प्रेरणाले नै साहित्यमा लागेकाे तथा साहित्यमा रुची सानैदेखि भए पनि निरन्तरता नभएकाे बताउँने चाैलागाईं ५ बर्षदेखि निरन्तर कलम चलाउदै आएकी छिन् । उनकाे गजल संग्रह (प्रकाशोन्मुख) रहेकाे छ तर उनी आफै चाही कविता विधाकाे स्रष्टा भन्न रुचाउँछिन् । अहिलेकाे परिवेशमा रहेर नेपाली साहित्य सन्दर्भमा साहित्यकार मीना चाैलागाईं सँग सहीखबरकाे लागि आरपी गुरागाँईंले गरेकाे कुराकानीको सम्पादित अंशः
साहित्य लेखनमा लाग्नु भएकाे कति भयो ?
लेखनमा रुचि त सानैदेखि थियो तर निरन्तरता भने थिएन । निरन्तर लेख्न थालेको चाहिँ ५ वर्ष पूरा भयो ।
साहित्य लेखनमा प्रेरणा कसरी प्राप्त भयो ?
स्कुल जीवनमा नेपाली पाठ्यक्रममा भएका कविताहरू पढ्दा आफू पनि यस्तै लेख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । विध्यालय स्तरका कविता लेखन प्रतियोगितामा भाग लिएर पहिलो दोस्रो स्थान हासिल गर्दा नेपाली पढाउने गुरुले तिमीभित्र सिर्जना शक्ति छ, यसलाई मर्न नदिनु भनिरहनु हुन्थ्यो । स्कूलमा नेपाली पढाउने गुरुको प्रेरणाले नै म साहित्यमा लागेँ ।
मुक्तक बाहेक साहित्यकाे कुन विधामा कलम चलाउनुहुन्छ ?
मुक्तक बाहेक गजल, गीत, कोपिला, हाइकु, कविता,लघु कथामा कलम चलाउँछु ।
साहित्य लेखन बाहेक अरु कुन पेशामा आवद्ध हुनुहुन्छ ? साहित्य लेखनमा समय कसरी मिलाउनु हुन्छ ?
म गृहिणी हुँ । थोरै समय भयो कि लेखिहाल्ने बानी छ । मन भएपछि समय त आफैँ मिल्छ ।
आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ ? किन ?
म आफूलाई कविता विधाको स्रष्टा भन्न रुचाउँछु । किनभने मेरा प्रायजसो सिर्जनाहरू कविता विधाका नै छन् ।
भर्खरै तपाईंकाे ‘मुक्तक मिनार’ विमोचन भएको छ । पाठकले यसलाई अध्ययन गरेपछी अरु के पाउन सक्नुहुन्छ ?
मुक्तक मिनारका पाठकहरूले सबैभन्दा पहिले त विविध विषय, भाव तथा रसमा अभिव्यक्त भएका समसामयिक समाजकाे प्रतिविम्ब नै पाउँछन् । गहिरिएर पढ्ने पाठकले यसबाट घरपरिवार, सामाजिक मान्यता, पारिवारिक मर्यादा, सम्मान, माया, सद्भाव, गरिब दु:खीहरूकाे पीडा, सामाजिक तथा राजनैतिक विकृति, विसङ्गति, माया, प्रेम, करुणा, काेराेनाकाे कहर, गाउँघरकाे परिवेश आदि सँगसँगै मानवीय उद्वेग र सन्देशहरु पनि पाउनेछन् । यसबाहेक पनि अहिले संरचनागत हिसाबले मुक्तकमा एकरूपता नआइरहेकाे अवस्थामा मैले मेराे मुक्तक मिनारमा समावेश गरेका मुक्तकहरूमार्फत चतुष्पदी मुक्तकलाई संरचना र भावकाे प्रस्तुतिका आधारमा कसरी विशिष्ट बनाउन सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेकाे छु । मुक्तकहरू पढेर सिर्जनशील पाठकहरूले सजिलै र छिटै मुक्तक रचना गर्न पनि सक्छन् ।

मुक्तकलाई कसरी परिभाषित गर्नुहुन्छ ?
चारवटा हरफहरमध्ये पहिलाे, दाेस्राे र चाैथाे हरफमा तुकबन्दी गरी तेस्राे हरफ स्वतन्त्र राखेर चाेटिलाे किसिमले मुक्त भाव प्रस्तुत गर्ने कवितात्मक साहित्यलाई मुक्तक भनिन्छ ।
नेपाली मुक्तकको लेखन र अध्ययनमा वर्तमान अवस्था कस्तो पाउनु हुन्छ ?
हाल आएर नेपाली साहित्यमा मुक्तक सबैभन्दा बढी रुचाइएकाे विधाकाे रुपमा स्थापित भएकाेछ । दशौँ हजार स्रष्टाहरूले मुक्तक लेखिरहनुभएकाे छ । महफिलहरूमा मुक्तकहरू वाचन भइरहेका छन् । सामाजिक सञ्जालहरूमा पनि मुक्तक वाचनका क्लिपहरू भाइरल भइरहेका छन् । वर्षेनी सयौँ मुक्तकसङ्ग्रहहरू निस्किरहेका छन् । पाठकहरूकाे संख्या लाखौँमा पुगिसकेका छन् । छाेटाे, छरिताे, चाेटिलाे, रसिलाे भएकाेले मुक्तक लेख्ने, पढ्ने र सुन्ने कार्यहरूमा तिब्रता आइरहेकाे छ । यसर्थ मुक्तककाे वर्तमान र भविष्य दुवै राम्रो देखिन्छ ।
साहित्यिक स्रष्टाहरूको समाज प्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाजका हरेक सदस्यकाे समाजप्रति विशेष दायित्व रहेकाे हुन्छ । तीमध्ये पनि साहित्यकारहरूकाे समाजप्रतिकाे दायित्व सबैभन्दा बढी हुन्छ । समाज भाषामा मुखरित हुन्छ र भाषाबाटै परिचालित पनि हुन्छ । भाषा बाेलिन्छ र लेखिन्छ पनि । लेखिने भाषाकाे सबैभन्दा सुन्दर र प्रभावकारी प्रस्तुति साहित्य हाे । साहित्यमा विचार, भाव, सन्देश, रस, अलङ्कार, जनजीविका, इतिहास, वर्तमान, भविष्य आदि सबै समाहित हुन्छन् । तसर्थ साहित्यकारकाे पहिलाे दायित्व भाषाकाे विस्तार, विकास र सम्बर्द्धन गर्नु हाे । दाेस्राे दायित्व समाजमा रहेका हरेक नकारात्मक कुराहरूलाई हटाएर सकारात्मक र प्रगतिशील बाटाेमा समाजलाई डाेर्याउनु हाे अथवा सभ्यताकाे विकासमा साहित्यकारहरूले निरन्तर र अथक परिश्रम गर्नुपर्छ ।
समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
एकातिरबाट हेर्ने हाे भने साहित्य समाजकाे ऐना हाे । समाज जस्ताे हुन्छ त्यहाँकाे साहित्य पनि त्यस्तै हुन्छ । अंग्रेजी समाज विकसित भएकाेले नै अङ्ग्रेजी साहित्य पनि विकसित भएकाे हाे । भारतीय समाज पनि तुलनात्मक रुपमा विकसित भएकाेले भारतीय साहित्य पनि माथि छ । इतिहास हेर्दा पनि जुन जुन सभ्यता र समाज विकसित थिए तिनै समाजका साहित्य पनि विकसित देखिन्छन् । नेपाली समाज जुन अवस्थामा छ नेपाली साहित्य पनि त्यही अवस्थामा नै रहेकाे छ । अर्काेतिरबाट हेर्ने हाे भने साहित्य समाजकाे पथप्रदर्शक पनि हाे । समाज विकासकाे एउटा दरिलाे आधार पनि हाे । साहित्यकारहरू जुर्मुराएपछि विभिन्न देशमा क्रान्तिहरू भएका छन् । नेपालमै पनि जति पनि राजनैतिक र समाजिक क्रान्तिहरू भएका छन् ती सबैमा साहित्य र साहित्यकारहरूकाे प्रत्यक्ष संलग्नता देखिएकाे छ । तसर्थ साहित्य र समाज एउटै रथका दुई पाङ्ग्रा जस्तै सँगसँगै अघि बढ्ने र बढाउने पक्षहरू हुन् भन्दा अतिशयाेक्ति नहाेला ।
साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
आफ्नो विचारलाई शब्दहरूका माध्यमबाट उतार्न पाउँदा अरू सामु प्रस्तुत गर्न पाउँदा मनलाई आनन्द आउँछ । साहित्य लेखनबाट आत्मसन्तुष्टि पाएँ भन्ने लाग्छ।
पछिल्लाे समय साहित्यका पाठक कतिका छन् जस्ताे लाग्छ ?
पछिल्लो समयमा पनि साहित्यका पाठक प्रशस्तै छन् । जसलाई यस क्षेत्रमा रुचि छ,उहाँहरूले अध्ययन गर्नुहुन्छ ।
अरु कुनै विधामा पुस्तक प्रकाशनकाे तयारी गरिरहनु भएकाे छ कि ?
अब गजल सङ्ग्रह प्रकशनको तयारी गरिरहेकी छु ।
अन्त्यमा ……?
अहिले मेरो पहिलो मुक्तकसङ्ग्रह `मुक्तक मिनार बजारमा आइसकेको छ । यहाँहरूले अध्ययन गरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला । यहाँहरूको स्वस्थ प्रतिक्रियाबाट म आफ्ना कमी कमजोरीहरू अर्को सङ्ग्रहमा सुधार्ने प्रयास गर्नेछु र यहाँहरूको माया, हौसला पाएँ भनेँ अझै मुक्तक लेखनमा र अन्य विधामा पनि अघि बढ्न सकियाेस बस् यत्ति हाे ।
मलाई मेराे अन्तरमनकाे कुराहरू पाठकबिच राख्ने अवसरकाे लागि सहीखबर परिवारलाई हार्दिक धन्यवाद ।

मकवानपुर । हेटाैडाकी अम्बिका विश्वकर्माकाे मानिसले मानिस भई बाेलकाे गीतकाे म्युजिक भिडियाे युटुबमा सार्वजनिक भएकाे छ । विश्वकर्माकाे स्वर शब्द र संगीत रहेकाे सचेतना मुलक गीतलाई मिलन फिल्मस् पाेडक्टसन् प्रालिकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे हाे ।
आशाकाजी श्रेष्ठकाे निर्देशनमा तयार गरिएकाे म्युजिक भिडियाे हेटाैडा उपमहानगरपालिकाकाे वडा न. १,५ र ९ मा खिचिएकाे गायिका बताउँछिन । स्थानीय कलाकारहरु दिल कुमार लामा, पुजा विश्वकर्मा, सुनिता विश्वकर्मा र राम लामा लगायतले अभिनय गरेकाे भिडियाेमा एरेन्ज अमृत ल्यागुन आप्फिया मल्टिक्रियशनकाे रहेकाे छ ।
झलझली क्रियशन हेटाैडाले निर्माण गरेकाे भिडियाेमा छाँयाकन सम्पादन विनाेद कुमार बाँनियकाे रहेकाे छ । अडियाे भिडियाे मिलन फिल्मस् पाेडक्टसन् प्रालिले तयार गरेकाे हाे ।
समाजकाे भेदभाव व्यवहारबाट याे गीत रचना गरिएकाे गायिका विश्वकर्मा बताउँछिन । छुवाछुत र भेदवाभ समाजमा गर्न नहुने सन्देश रहेकाे गीत उनकाे पहिलाे गित हाे । भविश्यमा अरु पनि गीत सार्वजनिक हुने क्रममा रहेकाे गायिका विश्वकर्माले जानकारी दिइन् ।
प्रीति आत्रेय ज्ञवाली
१.
कसले बोल्यो के पो गर्यो कसरी कहाँ भन्दा भन्दै
हिजो-आज-भोलि भन्दै दिन घट्दैछ गन्दा गन्दै
किन यहाँ व्यक्ति प्राय: अर्काको नै कुरा गर्छन्
आफ्नो खेत बाँझै हुन्छ अरूको खोइरो खन्दा खन्दै ।
२.
सानो छँदा बुवाले भनेका अघि बढेका कुरा सबै ताजा भए
उद्देश्य लिई सिँढीका खुड्किला चढेका कुरा सबै ताजा भए
हाम्रो निम्ति बुवा हजुरले दिनरात नभनी हाडछाला घोटेको,
आफैँ आमा बनी सन्तान पढाउँदा पढेका कुरा सबै ताजा भए ।
३.
खुशी ता व्यक्ति नै हुन्छ स्वतन्त्र भै रमाउन
बोझ ता उसले सोच्छ परतन्त्र निभाउन
तापनि हुन्छ यो तुष्ट बस्छ निर्भर नै भई,
मग्न भै कैद यो हुन्छ मोबाइल चलाउन।
४.
समय र परिस्थिति अनुसार बेला फेरिन्छ यहाँ
कहिलेकाहिँ समयको मागले भेला भईन्छ यहाँ
माया-सम्बन्ध-व्यवहारलाई मात्र स्वार्थले हेर्ने,
थरिथरि नियतका मानिसको फेला परिन्छ यहाँ ।
५.
छैन कुनै मोल आँसुको यहाँ कुनै बजारमा
त्यस्तै पाइन्न किन्न हाँसो यहाँ कुनै हजारमा
अमूल्य छन् दुवै आँसु-हाँसो भन्ने कुरा हजुर,
बिक्री हुन्न किन्न पाइन्न पानीजस्तो कुनै जारमा ।
बुटवल हाल न्होम पेन्ह, कम्बोडिया
टिङकु भट्टराई
१.
कति मिठो बोली तिम्रो ,कस्तो मलल
माईखोलीको पानी झैं ,बग्ने सलल
सपनीमा मात्रै आउँछौ ,सधैं जिस्काउन
दिनरातै तिम्रै मुहार , देख्छु झलल ।
२.
यो सारा भूगोलको सृष्टि पनि उनकै
कति निर्दोष मुहार उज्यालो झैं जूनकै
हे आमा मातृत्वको, ॠण कसरी तिरौँ
नशा नशा दौडिराछ, ममता त्यो खुनकै ।
३.
तनावमा छु म आज, बोल्ने मनै छैन
मनमा भा´ कुण्ठा सबै ,खोल्ने मनै छैन
सधैंभरी एकैनास त कहाँ हुन्छ र हजुर
रङ्गीन होला दुनियाँ , तर घोल्ने मनै छैन ।
४.
लाँकुरीको चौतारीमा आउ है मायालु
त्यहीँ बाट अन्त कतै जाँउ है मायालु
जिन्दगीभर रमाएरै बाँच्न मन लाग्ने
उतै बसी माया प्रीति लाँउ है मायालु ।
५.
बादलुको घुम्टो भित्रै लुक्न मन छ भने
इलामको सौन्दर्यमा फुक्न मन छ भने
सम्झे नजिक बिर्से टाढा भनेकै हो मैले
कन्यामको चियाबारीमा ढुक्न मन छ भने ।
सुर्याेदय नगरपालिका इलाम
मिथिला अधिकारी
यो देशको सन्तति भन्नलाई
यो देशमा जन्म मिलो मलाई
आहा कति सुन्दर देश मेरो,
चौतर्फी चर्चा छ हिमाल मेरो
खोला नदीका यी बिशाल धारा
लाली गुराँश,फुल विभिन्न सारा
हिमाली डाँफे छ मुनाल नाच्दै
तराई रम्दै छ मुसुक्क हाँस्दै
वर्लिन्छ जुन त्यो भई पूर्ण,राती
देखिन्छ ऐना सरि ताल माथि
आहा कति सुदर देश मेरो
चौतर्फी लाग्ने सबलाई प्यारो
सीता भृकुटी अनि बुद्ध जन्मे,
देवी र देउता सब आइ रम्ने
यो देश मेरो सबको नजरमा
छ नाम प्यारो सबका अधरमा
झर्ना झरी झर झर स्वच्छ पानि
पाईन्छ खोज्दा छ अनेख खानी
संजीवनी बुट्टी पनि यही छन्
शान्ति भए स्वर्ग हुने छ यो झन् ।
हेटाैडा, मकवानपुर