मकवानपुर । बुढ्यौली साहित्य समाज मकवानपुरले वार्ध्दक्य वाङ्मय सम्मानबाट नवराज शर्मा तिमल्सिनालाई सम्मान गरेकाे छ । शनिबार हेटौंडा–४ स्थित साहित्य संगमको सभाकक्षमा भएको कार्यक्रममा तिमल्सिनालाई २५ हजार नगदसहित सम्मान गरेको छ । बुढ्यौली साहित्यका अभियन्ता कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) को प्रायोजनमा वार्ध्दक्य वाङ्मय सम्मानको स्थापना गरिएको हो ।
यस्तै बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्वर्गीय पीता तोयानाथ रिजालको नाममा स्थापना गरेकाे स्मृति सम्मानबाट नवलपरासीका दुर्गा क्षेत्रीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । दुवै सम्मान पहिलो पटक प्रदान गरिएको हो ।
प्रथम वाद्र्धक वाङ्मय सम्मान प्राप्त गर्नुहुने तिमल्सिना नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष समेत हुन भने उनका साहित्यिक कृति समेत प्रकाशित छन् । यस्तै तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित हुनुहुने दुर्गा क्षेत्री शारीरिक रुपमा अशक्त हुनुका बाबजुद साहित्यमा क्रियाशील हुनुहुन्छ । कार्यक्रममा दुर्गा क्षेत्री आफैं उपस्थित हुन नसके पछी उनका छोरा अंकित क्षेत्रीले पुरस्कार ग्रहण गरेका थिए ।

बुढ्यौली साहित्य समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बुढ्यौली साहित्यका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै सीता शर्मा रिजालले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् । यस्तै माधव रश्मि भण्डारीले ५ हजार रुपैयाँ, विन्दुगोपाल गोर्खालीले ५ हजार रुपैयाँ, सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईले ५ हजार रुपैयाँ सहयोग गरेकाे बुढ्यौली साहित्य समाज मकवानपुरका सचिव राजकुमार लामिछानेले जानकारी दिए ।
कार्यक्रममा बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डेसहित बुढ्यौली साहित्य अभियानमा आवद्ध चितवन, भक्तपुर, सर्लाही, काठमाडौंमा, रौतहटका साहित्यकारको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य लगायतकाे आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अक्षय अक्षर त्रैमासिकको बुढ्यौली साहित्यक अंक विमोचन गरिएको थियो ।

शाेभा शाह थापा
समय
बनेर नदी
अनवरत बगी रहेछ
म किनार बनेर पर्खी रहेछु
के थाहा बगि जानेलाई
पर्खाईको पीडा
अनि
त्यो किनारको कथा व्यथा
साक्षी छ त केवल त्यो बगर जिन्दगी
जो सधैं पीडामा छ
दुखको प्रचण्ड घामले पोलेको बेला
त्यो नदीको शीतल जलले पनि
शीतलता दिन सक्दैन
भएर पास तर दुर
सधैं तड्पिनुको विवशतामा
त्यो बगरको पीडा
म महशुस गरी रहेको छु
वेदनाको अश्रु झरीले रूझेको बेला
कसले छेक्छ र
त्यो आँशुको झरी
रूझ्न विवश त्यो बगर जिन्दगी
पिडामाथि पीडा
बाध्यताको छालले दिने
त्यो धक्का
जुन प्रहार म पनि त छेक्न सक्दिन
मलाई छोएर
एकातिर
कलकलको मिठो धुन छोड्दै
सुस्तरी बगीरहन्छ
समय
बनेर नदी
अविरल बगी रहन्छ
अर्कोतिर
मलाई हेर्दै
उजाड उदास सुती रहन्छ
त्यो बगर जिन्दगी
समय
नदी बनेर बगी रहन्छ
मलाई छोएर
बगर जिन्दगी
उदास सुती रहन्छ
मलाई छोएर
म बिचको किनार ।
हेटाैडा मकवानपुर
मन गहिरे
१.
बिश्वासमा नै समर्पित हुन्छन् शिर झुकाएर
अभाव किन नहोस् ,जिउछन रहर सुकाएर
भोग्नु पर्छ भोगाइहरु,जीवन त जिउनु नै छ
बाध्यताले मुस्कुराउछ्न यहाँ आँसु लुकाएर ।
२.
चोट दिई मुटुलाई नरेटेकै जाती हुन्थ्यो
प्रेमका निशानीहरु नमेटेकै जाती हुन्थ्यो
टुहुरा भए सन्तान ,बाआमाको डिभोर्स हुँदा
भेटिएर छुट्टनु भन्दा नभेटेकै जाती हुन्थ्यो ।
३.
किन बोल्छन् झुठो कुरा सत्य सधैं बोले हुन्थ्यो
उर्जा शक्ति चलाएर उद्योग धन्दा खोले हुन्थ्यो
शब्दले नै हसाउछ त शब्दले नै रुवाउछ
तितो पिरो नभइ बचनमा अमृत घोले हुन्थ्यो ।
४.
कहिले ठुलो आँधी आउछ यहाँ ,कहिले हुरि आउँछ
कहिले सामिप्यता त कहिले अचानक दुरी आउँछ
आउँछ जान्छ सुख र दु:ख समयको चक्र हो हजुर
निमुखालाई भोको पेट बस्नुपर्ने मजबुरी आउँछ!!
तानसेन , पाल्पा
- रचना शर्मा
“ए साहुजी ! के हो ? अचेल त देखभेट नै हरायो नि हाम्रो ! फेसबुकमा बाहेक धेरै समयपछि बल्ल आज होला हाम्रो भेट भएको !”
“हो नि शरण बाबु ! के गर्नु , आ आफ्नो व्यस्तता छ सबैलाई । अनि बुवा आमाको के छ खबर ?”
ठिक छ साहुजी ! बरु एउटा राम्रो टोपी देखाउनुस् न !”
“ल यो हेर भाइ ! राम्रो छ ।”
कतिको हो नि यो ?”
” एकसय पचास पर्छ यसको ।”
“अल्लि राम्रो देखाउनुस् न ! यो त ठिकठिकै लाग्यो ।
” ल भाइ यो लगाउनुस् । यो पूर्वेली ढाका टोपी हो । पाँच सय पर्छ ।” सिसाको र्यागबाट टोपी झिकेर देखाउँदै भने व्यापारीले ।
उसले टोपी लगायो । सुहायो कि सुहाएन भनेर जाँच्नलाई मोबाइल झिकेर सेल्फी खिच्यो ।
“पाल्पाली ढाकाको देखाउनुस् न ! यो पूर्वेली त अलि सुहाएन जस्तो लाग्यो ।”
” बाबु ! पाल्पाली त अझै महंगो छ । हजारदेखि पन्ध्र सयसम्मका छन् ।”
“पैसाको चिन्ता नगर्नुस् न साहुजी ! चित्त बुझे त दुई हजारै पर्ने भए नि किन्छु नि !”
उसको कुरा सुनेर व्यापारी ढुक्क भए र राम्रा राम्रा क्वालिटिका ढाकाटोपी फिंजारेर देखाउन थाले । उसले राम्रो लागेको टोपी रोजेर सेल्फी खिचि जाँच गर्यो ।
” साहुजी ! नरिसाउनु होला । मलाई चित्त बुझेन यी टोपीहरूले । बरू अरु छन् भने देखाउनुहोस् । “
” छैन बाबु अरु त । बरु अन्तै खोज्नुस् ।” यति भनि व्यापारीको ध्यान अरु ग्राहकतिर मोडियो ।
बेलुका फेसबुक हेर्दै जाँदा एउटा स्टाटस र फोटोमा व्यापारीका आँखा टक्क रोकिए । स्टाटसमा लेखिएको थियो , ” मेरो फेब्रेट टोपी ! टोपी दिवसको शुभकामना ! ” कमेन्टमा धेरैले सोधेका थिए , ” शरण यस्तो राम्रो टोपी कहाँबाट किन्यौ ?”
चितवन
- सत्या अधिकारी
ममी! “एप्पलको स्पेलिङ भन्नू त छिटो “
साइरा कोठाबाट चिच्याउँदै थिइन् ।
भर्खर पुजाकोठामा छिरेकी उनकी आमा भगवानसँग क्षमा माग्दै बाहिर आइन् र मीठो स्वरमा भनिन् ” एपिपिएलइ।”
शनिबारको दिन नुवाउन भन्दै बाथरुम छिरेकी उनी नुहाउँदै गर्दा बाथरुमको ढोका ढकढकाएको आवाज आयो सोधिन्, छोरा रहेछ, भन्दै थियो मामु !” छिटो नुहाइस्यो है? मेरो प्रोजेक्टमा हजुरको हेल्प चाहिन्छ।” छोराको कुराले दिक्क लागेन उनलाई, झन छाती चौडा भएर पो आयो।
हतारहतार नुहाएर चिसै कपाल लिएर पसिन् छोराको कोठातिर।
छोराछोरीको लागि जैले र जतिबेला पनि सहज हुन्थिन उनी। उनीहरुको लालनपालन र शिक्षा दिक्षामा कुनै कसर राखेकी थिइनन् उनले। साँच्चै उनीहरुको लागि पहिलो पाठ्शालाको गुरु बनेकी थिइन् उनी।
उनले आजसम्म गरेको दुखको प्रतिफल पनि राम्रै हुँदैआएको थियो। छोरी साइराले डाक्टर सकाएकी थिइन्, छोरो इन्जिनियर भइसकेको थियो। आफ्ना छोराछोरी देखेर दङ्गदास थिइन् उनी।
एकदिन उनी भान्छामा खाना बनाउँंदै थिइन्, उनको फोनमा मेसेज आयो हेरिन् । अन्जान मान्छेले अङ्ग्रेजीमा पठाएको रहेछ। बुझ्न सकिनन्, फोन लिएर तल छोरीको कोठामा छिरिन्।
ल्यापटप चलाइरहेकी साइरालाई डिस्टर्ब भएछ कि कुन्नी? आँखा ठुला पार्दै बोल्न थालिन।” ह्या मामु पनि! येस्सो नक नक नगरी कोठामा आइदिने? म ब्यस्त छु गैस्यो बाहिर।”