झरना पराजुली
मनका इच्छा चाहनाहरू मरेर गए ।
हिसाब गरिन कति आँसु खेर गए ।
किन धेरै मुस्कुराउछौ भनेर नसोध्नु
दु:ख सुनाउदा सुन्नेहरू हासेर गए ।
सहयोगी छु भन्थे पल्लाघरे छिमेकी
हो रहेछ रुख चढाइ फेद ढालेर गए ।
सौतेनीआमा तिमी आएपछि नै हो
मेरी आमालाई बाबाले छोडेर गए ।
चोखो माया गर्छु भनेर झुट नबोल
तिमीबिना मर्छु भन्नेहरू बाचेर गए ।
राइनास नगरपालिका, लमजुङ
असमकी कवि नैना अधिकारीको कविता संग्रह ‘घात-प्रतिघातका उद्गारहरु’ विमोचन गरिएको छ। असमको मरिगाउँ जिल्लाको जागिरोडस्थित नेपाली मन्दिरमा असमकी युवा पिँढीकी कवि नैना अधिकारीको पहिलो काव्यकृति “घात-प्रतिघातका उद्गारहरू” को लोकार्पण गरिएकाे हाे ।
असम नेपाली साहित्य सभाका केन्द्रीय उपसभापति कृष्णलाल शर्माको अध्यक्षता तथा अनेसासको मरिगाउँ जिल्ला समितिको आतिथ्यमा भएकाे पुस्तक विमोचन कार्यक्रम अघि कवि सम्मेलनको समेत आयोजना गरिएको थियो। अनेसास मरिगाउँ जिल्ला समिति मूलसचिव गङ्गाराम ढुङ्गेलले सभाको उद्देश्य व्याख्या गर्दै पुस्तक विमोचन र कवि सम्मेलनकाे जानकारी गराएका थिए।
अधिकारीको कविता संग्रह ‘घात-प्रतिघातका उद्गारहरू’ विमोचन गर्दै असमकी वरिष्ठ साहित्य इतिहासकार डा. गोमा अधिकारीले कृतिका विभिन्न पाटाको विश्लेषण गर्दै उनका कवितामा उनी छ्न्, उनको देश छ, उनको समय छ, नारी समाजका सुख र दुखको कथा छ र समाजका यिनै कथा-व्यथालाई उनले शब्दको मालामा उनेर आकर्षक शैलीले समाजका अघि पस्किएकाे बताइन् ।अर्कातिर, वरिष्ठ कवि रुद्र बरालले वर्तमान असमको कविता लेखनमा नारी श्रष्ठाहरूको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै यो ताँतीमा नैना अधिकारीको नाउँ जोडिएको र उनीबाट असमेली नेपाली साहित्यले निकै आशा गरेको बताए।
कवि सम्मेलनमा अनामिका उपाध्याय, नारायण थापा, डा. देवेन सापकोटा, पुरुषोत्तम उपाध्याय, ज्योति हुमागाईँ, विनोद घिमिरे र नवप्रभा अधिकारीले कविता वाचन गरेका थिए। त्यसैगरी मीना पौडेल र अमित अधिकारीले गजल सुनाएका थिए । निर्वाणा अगस्तीको एक सुन्दर नृत्य प्रस्तुतीले कार्यक्रमलाई अझ रोचक बनाएको थियो।

उक्त कार्यक्रममा असम नेपाली साहित्य सभाका महासचिव रुद्र बराल, सचिव नवप्रभा अधिकारी, केन्द्रीय सदस्य शङ्कर ढुङ्गेल, ज्योती हुमागाई, वरिष्ठ लेखक डा. सीताराम अधिकारी, डा. देवेन सापकोटा, अविकेशर शर्मा, पुरुषोत्तम उपाध्याय, कवि मिना पौडेल, नारायण थापा, अमित अधिकारी, जागिरोड महाविद्यालयका रसायन विज्ञानका अध्यापक डा. गोपी अधिकारी, हाम्रो स्वाभिमानका असम प्रान्तका सांस्कृतिक सचिव भानु शर्मा लगायत धेरै विशिष्ट कवि साहित्यकारको सहभागिता रहेको थियो।
अधिकारीकाे लाेकार्पण भएकाे कविता कृतिमा ४० वटा कविता समावेशित गरिएको छ भने यस पुस्तकको भूमिका असमका युवा समालोचक लक्ष्मण अधिकारीले लेखेका छन् । भारतेली नेपाली साहित्यका तीनजना प्रख्यात कवि राजा पुनियानी, डा. इन्दु प्रभा देवी र पवित्रा लामाले शुभेच्छाका हरफहरू लेखेका छ्न् । पुस्तक पूर्वायण प्रकाशनले प्रकाशन गरेकाे हाे ।


निमा डीसी
घोच्ने काँडे तारको के कुरा गर्नु
बिना सर्त हारको के कुरा गर्नु
जनतालाई ठुलोहतियार बनाएर
देश लुट्ने गद्दारको के कुरा गर्नु!!
उतारचढाव हो जीवन बराबर हुँदैन
चल्दाचल्दै ढल्न सक्छ भर हुँदैन
साउनको बग्ने भेल नभएमा तिमी
मलाई खडेरीमा बगर हुने डर हुँदैन ।
पाइलै पिच्छे धन चाहिने धन सबथोक रहेछ
जति खाएपनि नअघाउने कस्तो भोक रहेछ
म एकनास हेरिरहेको छु सुखदुःखको लडाइँ
दु:ख जित्न नसक्ने भाग्य पनि डरपोक रहेछ ।
कसैको भागमा सुन कसैको भागमा काँटा देखिन्छन्
सम्पत्ति रहेछ आत्मबल बढाउने गरीब लाटा देखिन्छन्
रातको निद्रा दिनको भोकले आराम लिन पाएन कहिल्यै
कोल्टे फर्की रुँदा रुँदा सिरानीमा कयौं टाटा देखिन्छन् ।
भैरहवा, रुपन्देही
विन्दामाया तामाङ
१.
सम्झेर उनलाई आँसु दर्किदा पनि
अदृश्य मायाले छाती चर्किदा पनि
देखेर पनि नदेखे झैँ गर्यो बैगुनीले
हेर्छन् कि भनी उनैतिर फर्किदा पनि।
२.
रोएर भित्रभित्रै र पनि बाहिर हाँस्नु परेको छ ।
मुटुको भल्भमा मेरो देशलाई टाँस्नु परेको छ ।
फेरि पनि महासङ्कटमा पर्छ भन्छन् विज्ञहरु ,
बचाउकै लागि पुनःनवीन नाता गाँस्नु परेको छ ।
३.
हेर म सधैं सधैं तिम्रै हित कसरी गर्न सक्छु
हारेर आफैं तिम्लाई जित कसरी गर्न सक्छु
हो तिन भागको दुई अंश त आमाबुवाकै हो
अनि सारा खुशी समर्पित कसरी गर्न सक्छु ?
ओखलढुंगा
कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन ।
दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने हो अनुमान गर्न सकिन्न । यस्तो अवस्थामा पनि नेपाली नागरिक हाँसीखुसी बसेको अनुभव गरेकी छिन् कलाकार प्रियना आचार्य ‘मुन्नी’ले ।
पछिल्लो समय म्युजिक भिडियो र हास्य टेलिशृंखला ‘सक्किगो नि’मा व्यस्त मुन्नीलाई नेपाली समुदायजस्तो सानो कुरामा खुसी हुने प्राणी अन्त कतै भेटिँदैनजस्तो लाग्छ । ‘नेपालीलाई खुसी हुन ठूलो कुरा चाहिँदै चाहिँदैन, सानो कुरामा पनि खुसी भेटिन्छ यहाँ,’ उनले भनिन् ।
अहिले कोभिड संक्रमणले उनको कामको चाप घटेको छ । बिहान कथ्थक नृत्यको क्लास लिने मुन्नी घाम तापेर, मुभी हेरेर अनि पुस्तक पढेर बाँकी दिन बिताउँछिन् । ‘आफूलाई मन लागेको काम गर्न पाएपछि मान्छे त्यसै खुसी हुन्छ । डेढ घन्टा कत्थक नाचेपछि म खुसी भइहाल्छु,’ खुसीको स्रोत उल्लेख गर्दै भनिन् ।
‘मलाई बेलायतकाे त्यो भव्यताले पटक्कै आकर्षित गरेन । बेलायतवासीको रोबर्टजस्तो जीवनशैली देख्दैमा वाक्क भइसकेकी थिएँ,’

चितवनको भरतपुरमा हुर्केकी मुन्नी प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि आठ वर्ष बेलायत बसिन् । उनका साथी भाइ मात्रै होइन इष्टमित्रसमेत मुन्नी फेरि फर्केर नेपाल आउँछिन् भनेर सोचेका थिएनन् । चिल्लो सडक, मिलेको बस्ती, सुकिला मान्छे, सबै कुरा सिस्टममा चल्नेबेलायतको प्रशंसा गर्नेहरू विश्वभर छन् । ‘त्यस्तो ठाउँमा पुगेकी मुन्नी फर्किन्न, उतै सेटल हुन्छे’ धेरैले यस्तै भनेका थिए उनका बारेमा ।
भरतपुरमा हुर्केकी नेपाली चेली ‘मुन्नी’लाई भने बेलायतको त्यो भौतिक सुख सुविधाले पटक्कै आकर्षित गरेन । बेलायतमै म्युजिकल एन्ड थिएटर पढेकी मुन्नीले चाहेको भए राम्रै काम पाउँथिन् । पारिश्रमिक गतिलै हुन्थ्यो । घर, गाडी समस्या थिएन । उनी भन्छिन्, ‘मलाई त्यो भव्यताले पटक्कै आकर्षित गरेन । बेलायतवासीको रोबर्टजस्तो जीवनशैली देख्दैमा वाक्क भइसकेकी थिएँ,’ उनले भनिन् ‘स्वदेशी होस् या विदेशी बेलायतमा बसेपछि प्रत्येक घन्टा पैसामा कन्भर्ट हुन्छ ।’
सामान्य चाडपर्वमा पनि वल्लो घर, पल्लो घर चहार्दै हुर्किएकी मुन्नी घरमा पाहुना आउँदा अर्को पर्व थपिएको महसुस् गर्थिन् । बेलायतवासीको अनुभव सुनाउँदै भन्छिन् ‘त्यहाँ त सपरिवार जम्मा भएर एकैपटक खाना खाने संस्कार पनि हुन्न ।’
एकै घरमा पनि एक जना ड्युटी जान्छ । अर्को आउँछ । पारिवारिक जमघट, छलफल केही पनि हुन्न । आफूबाहेक दोस्रो व्यक्तिका सन्दर्भमा सरोकारै राख्न नभ्याउने शैली उनलाई फिटिक्कै मन परेन । आर्थिक रूपमा नेपाल गरिब भए पनि संस्कारका हिसाबले निकै धनी भएको अनुभव गरेकी मुन्नी अब यही मुलुकमा धुवाँ धुलो पचाउँदै रंगकर्ममै रमाउने सोचमा छिन् ।
‘मुन्नी’ भइसकेपछि घुम्ने सिलसिलामा उनी तराईका धेरै ठाउँ पुगिन् । टिभीमा ‘मुन्नी’लाई हेरेका दर्शकहरूले भनेछन्, ‘हामीले त सोचेका थियौं तपाईं मधेसकै हुनुहुन्छ होला, मधेसको नभए पनि तपाईं पक्का मधेसी देखिनुहुन्छ ।’ दर्शकका यस्ता प्रतिक्रियाले रोमाञ्चित हुन्छिन् उनी ।

अनि मुन्नी भइन्
दुई वर्षअघि सर्वनाम थिएटरमा रामबाबु रेग्मीको निर्देशनमा ‘निकास भर्सेज निकास’ भन्ने एउटा नाटक मञ्चन भएको थियो । त्यसमा एउटा पात्र थियो भारतबाट आएर नेपाल बसेकी ‘मुन्नी’ । मुन्नीको क्यारेक्टर भर्खर बेलायतबाट फर्किएकी प्रियनाको भागमा प-यो । नाटक मञ्चन सकिएपछि युनिटकै मान्छेहरूले प्रियनालाई ‘मुन्नी’ भनेर बोलाउन थाले । अहिले उनको प्रियना भन्ने नाम झन्डै झन्डै कोमामा छ । निर्देशकदेखि दर्शकसमेतले ‘मुन्नी’ भनेरै बोलाउँछन् ।
‘मलाई त मुन्नी भन्ने क्यारेक्टर नाट्येश्वरीको प्रसाद जस्तो लाग्छ, अडियन्सले पनि मुन्नीलाई निकै माया गर्नुभएको छ,’ मुन्नी हुन पाएकोमा गर्व गरिन् उनले ।
‘मुन्नी’ खासमा मधेस मूलकी पात्र हो । चितवनको भरतपुरमा हुर्किएकी प्रियनालाई धेरै दर्शकले मधेसकै चेलीका रूपमा बुझ्दा रहेछन् । मुन्नी जहाँ हुकिइन् त्यहाँ पक्की घर र कालोपत्रे सडक छ । तर, मुन्नी भन्ने पात्र मधेसको पनि अलि दुर्गम क्षेत्रमा हुर्किएकी पात्र हुन् ।
आफूलाई चितवनको थारू बस्तीमा रहेका खबडाले छाएका घर मनपर्ने धारणा राख्ने मुन्नीले तराईमा फुसको छानाको घर देख्दा अहिले पनि प्रिय लाग्ने बताइन् । ‘मलाई अहिले पनि तराईमा सानासाना फुसले छाएको घर, तोरी फुलेको बारी असाध्यै राम्रो लाग्छ, पहाडको उकालो ओरालोभन्दा तराईको सम्म भूभाग नै बढी रमाइलो लाग्छ,’ उनले भनिन् ।
‘मुन्नी’ भइसकेपछि घुम्ने सिलसिलामा उनी तराईका धेरै ठाउँ पुगिन् । टिभीमा ‘मुन्नी’लाई हेरेका दर्शकहरूले भनेछन्, ‘हामीले त सोचेका थियौं तपाईं मधेसकै हुनुहुन्छ होला, मधेसको नभए पनि तपाईं पक्का मधेसी देखिनुहुन्छ ।’ दर्शकका यस्ता प्रतिक्रियाले रोमाञ्चित हुन्छिन् उनी ।
थिएटरकर्मीलाई बाँच्न अझै गाह्रो
थिएटरप्रति विशेष मोह राख्ने मुन्नी स्कुल पढ्दैदेखि नृत्य र नाटकमा सहभागी हुन्थिन् । उनी जहाँ हुर्किइन् भारतीय र नेपाली नृत्यहरू प्रस्तुत हुन्थ्यो । त्यही वातावरणमा हुर्किएकी मुन्नी भन्छिन्, ‘मैले त्यहीँबेला कलाको बीउ रोपेको थिएँ, अब आफैंले रोपेको बिरुवा हुर्काउने सोचमा छु ।’ नेपालमा नाट्यकर्मीको भविष्य अझै असुरक्षित रहेको अनुभव गरेकी मुन्नी सुरक्षित होला भन्नेमा आशावादी छिन् ।
हास्य टेलिशृंखला ‘सक्किगो नि’मा नियमित काम गरेकी मुन्नी सातामा दुई दिन सोही सिरियलको सुटिङमा व्यस्त हुन्छिन् । अन्य समयमा म्युजिक भिडियोमा काम गर्छिन् । दुई वर्षको अवधिमा ५० भन्दा बढी भिडियोमा काम गरेकी मुन्नी रियालिटी सो ‘डान्सिङ विथ स्टार’मा दोस्रो भएकी थिइन् ।
नेपाली समाजमा छोराछोरीबीच हुने विभेदलाई नजिकबाट देखेकी मुन्नीले रंगकर्ममा पनि नारी र पुरुषबीच खाडल रहेको अनुभव गरेकी छन् । महिला र पुरुष कलाकारबीच पारिश्रमिकमै विभेद रहेको बताउँदै मुन्नी भन्छिन्, ‘आशा गरौं यो विभेद धेरै समय रहँदैन ।’
काठमाडौंले दिएको खुसीमा मस्तले रमाइरहेकी मुन्नी काठमाडौंको प्रदूषणप्रति भने चिन्तित छिन् । अहिले नेपालका धेरै सहरमा धुवाँधुलो बढ्नुमा अव्यवस्थित सहरीकरण हो भन्ने उनको ठम्याइ छ । नेपाली समाजमा छोराछोरीबीच हुने विभेदलाई नजिकबाट देखेकी मुन्नीले रंगकर्ममा पनि नारी र पुरुषबीच खाडल रहेको अनुभव गरेकी छन् । महिला र पुरुष कलाकारबीच पारिश्रमिकमै विभेद रहेको बताउँदै मुन्नी भन्छिन्, ‘आशा गरौं यो विभेद धेरै समय रहँदैन ।’
कोभिडको संक्रमण बढ्दै गएको अनुभव गरेकी मुन्नी सबैलाई सचेत हुन आग्रह गर्दै भन्छिन्, ‘हामी सचेत भयौं भने मात्रै पनि हामी हाम्रो खुसी हाम्रै घरमा राख्न सक्छौं ।’ राजधानी दैनिकबाट साभार