मकवानपुर । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने जनाएकाे छ ।
सङ्गम अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेकाे मङ्गलबारको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विद्यामा योगदान पुर्याएका ८ जना साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको हाे । वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
यसै गरी संगमले स्थापना गरेकाे १५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे मकवानपुर साहित्य श्री युवा साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष न्याैपानेले जनाकारी दिइन् । यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गर्ने भएको छ । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीकाे सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएकाे छ । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीकाे मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गर्ने निर्णय भएकाे न्याैपानेले बताइन् ।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारकाे राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ । न्याैपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ ।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीकाे मुक्क्ति–तारा साहित्य पुरस्कार समिक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने जनाइएको छ । सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड–१९ को संक्रमण न्यूनिकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सङ्गम अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
सन्जना शर्मा
सँधै आउँने जाने गर्छौ किन जान्न चाहान्छु ।
भनिदेउ फेरि नजिक सर्छौ जान्न चाहान्छु ।
मेरो हिड्ने बाटो नै अलग भैसकेको छ अब
थाहा हुँदाहुँदै मेरै लागि मर्छौ जान्न चाहान्छु ।
कठोर बनेको हैन बिन्ती मेरो बाध्यता बुझिदेउ
टुटेको मन जोडेर मेरै भर पर्छौ जान्न चाहान्छु।
थाहा छ मलाई उतिकै माया अझै गर्छौ होला
बितेका दिन भुलाएर खुसी छर्छौ जान्न चाहान्छु ।
सुन्दर संसार रच्यौ होला मेरो निसानै नरहेपछी
एक्लै जिन्दगीको सागर तर्छौ जान्न चाहान्छु।
लमही दाङ
पारस भट्ट (प्यासी)
नसक्या घर बसलो मण्या दया ओ ठेकदारौ घाटा होलो ।
कामदार काम गद्या नपया ओ ठेकदारौउ घाटा होलो ।
जो काम बणि सकन्छ उसैकी हो माग बणि गद्दी
गरुँन्याइमा मुलाकाज भया ओ ठेकदारौ घाटा होलो ।
हेद्दु धै को लुलभुण लुणभुण पैरैछ दिन कट्या बाटो
च्याप्प समाइ घर नफरकया ओ ठेकदारौ घाटा होलो ।
यैकात कमुन्या कोइ नाइ घरै स्थिति कमजोर छ भणी
जसाइ तसाइ काममा लया ओ ठेकदारौ घाटा होलो ।
झिक्कैइ बिराली मुसि मद्दैन तोत सबैलाइ जान्णुइ छ
काममा झानौँ भणी वाँ बैरया ओ ठेकदारौ घाटा होलो ।
रुप्याकी कुरणी भोल घाटा भ्या कति आपत हुन्छे
काम रेलि खित्या नमगया ओ ठेकदारौ घाटा होलो ।
आजत मेरा ठेक्कामा सयौँले आइदियो काम अद्दाइ
भणिबर हाँस्या खुसी भया ओ ठेकदारौ घाटा होलो ।
काम नगद्यालाइ हकार हुकुरलै गद्दु मुलाकाज नमाणि
इसा काममा झिक्कैइ सया ओ ठेकदारौ घाटा होलो ।
मेलौली २ बैतडी
(गजलकाे भावः ठेकदारहरुले होस पुर्याउनु काम गर्दा खेरी नत्र घाटा होला भन्न खोजेको हो गजलकार)
काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेकाे ‘कर्कलो कोक्याउला’ बोल गीतकाे अडियो भिडियो प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
शुभ मिडिया होम प्रालिले तयार गरेको चेलीबेटी बेच-बिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत श्रव्य दृश्य (अडियो भिडियो) सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई कलाकार आचार्यले हस्तान्तरण गरेका हुन् ।
समाजमा परिवर्तित शैलीबाट विभिन्न खालका चेलीबेटी बेच-बिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेच-बिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य स्वरुप प्राप्त भएकाे श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ-आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने भएका छन् ।
हस्तान्तरण कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली एवं नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।
मकवानपुर । शहीद दिवसकाे दिन नवोदय साहित्यिक बगैँचा बाल क्लवले आइतबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
बाल क्लवले भर्चुअल माध्यमबाट आयाेजना गरेकाे शहीद दिवस अन्तर्गत बहस कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले राणाकालमा साहादत प्राप्त गर्ने शहीदहरुले योगदान गरेर नै देशमा स्वतन्त्रता आएको बताए । यसैगरी नेकपा माओवादीका नेता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष ललित घलानले राष्ट्रका लागि निस्वार्थ रुपमा शहीदहरुले योगदान पु¥याएकाले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।
‘देशलाई अगाडितर्फ लैजानको निम्ति शहीदको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।’ उनले भने –‘पार्टीले र राज्यले नै शहीदलाई विशेष प्राथमिकता दिदै रोजगार, शिक्षालगायत अन्य क्षेत्रमा शहीदका परिवारलाई उचित ध्यानदिनुपर्ने बेला आएको छ ।’
जनता समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजेन्द्र सिंखडाले शहीदलाई माल्यार्पण गर्दैमा शहीदको सपना पूरा नहुने बताए । शहीदलाई लिएर राजनीतिक दलले पार्टी विशेषको रुपमा भागवन्डा गर्ने गरेकोमा उनले गुनासो पोखे ।
कार्यक्रम अन्तर्गत शहीदले पु¥याएकाे योगदानमा आधारित ४ मिनेटको वृत्तचित्रसमेत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा बालज्योति माध्यमिक विद्यालयका रियाज कार्की, जिएस निकेतन विद्यालयका आयुषजन विष्ट, ब्रम्हदिक एकेडेमीकी जेनिशा अधिकारी, अमर माविकी सुस्मिता ढुङ्गाना, जेनिथ इन्टरनेशनल बोर्डिङका सुभम खनाल, नवोदय विद्यालयका सत्कार स्याङतान, सेरोन गिरी र प्रीतिका कार्कीले रचना वाचन गरेका थिए ।
कार्यक्रमको संयोजक तथा क्लवका अध्यक्ष अनुशा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । साहित्यकार डीबी बर्ताैला, पत्रकार सुरेश श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो ।