काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेकाे ‘कर्कलो कोक्याउला’ बोल गीतकाे अडियो भिडियो प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
शुभ मिडिया होम प्रालिले तयार गरेको चेलीबेटी बेच-बिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत श्रव्य दृश्य (अडियो भिडियो) सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई कलाकार आचार्यले हस्तान्तरण गरेका हुन् ।
समाजमा परिवर्तित शैलीबाट विभिन्न खालका चेलीबेटी बेच-बिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेच-बिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य स्वरुप प्राप्त भएकाे श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ-आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने भएका छन् ।
हस्तान्तरण कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली एवं नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

