लक्ष्मी सुवाल
आज तिम्रो नयनबाट मोती थोपा झरे पनि ।
सक्दिन म आफ्नो भन्न बिखै पिइ मरे पनि ।
पहिले केही भए पनि आज नाता छैन हाम्रो
नजिक अब हुँदै हुन्न जति माया गरे पनि ।
एक हस्ताक्षरले हाम्रो नाता सबै टुटाइ सक्यौ
गिडगिडाइ तिम्रो सामु मायाको बीउ छरे पनि ।
याद आउँछ जब तिम्रो, मुटु चिरा हुन थाल्छ
तिम्रो कहिलै मन दुखेन मेरा आँसु झरे पनि ।
रोएको त छैन म तर हास्न पनि सकिन
तिम्लाई अब सताउँदिन जति दुख परे पनि ।
चागुनारायण भक्तपुर
दिब्या शृङ्खला राई
१.
शहरका ठूला ठूला महल देखेर छक्क पर्छु
घरभित्रै सारा सुख सयल देखेर छक्क पर्छु
सुनसान अँध्यारो गाउँमा बस्ने बानी यहाँ त
चारैतिर बत्तीको झलमल देखेर छक्क पर्छु।
२.
फेर्न सकिन उहीँ पुरानो कोटमा छ जिन्दगी
थपिरहन्छ अनेक ब्यथा चोटमा छ जिन्दगी।
दबेका रहरहरु म भित्र छरपस्ट छन
कसले देख्छर,अझै मेरो खोटमा छ जिन्दगी।
३.
मिठा मिठा कुरा गर्दै दिलको गरामा उभायो
घाम चर्किदा शितल प्रेमको टहरामा उभायो।
मक्ख हुँदै गए उस्को लागि जे पनि गर्दै गए
तब म झस्किए एकदिन कठघरामा उभायो।
४.
हेर्दा मात्र राम्रो झलमल शहर मन परेन
चारैतिर सधैं कोलाहल शहर मन परेन।
सुन्दर शान्तछ मेरै गाउँ बस्ती भिर पाखा
सुख सम्पन्न यो समथल शहर मन परेन।
५.
भेट हुनै छोड्यो सम्बन्धको पुल भत्केपछी
जोड्न खोज्दा जाने बाटै मुल भत्केपछी
खै कस्तो हुरि चल्यो वार पार बनाइदियो
सुमधुर प्रेमको रङ्गिन तुल भत्केपछी।
बेलका न. पा. उदयपुर
सम्प्रस पाैडेल
वन्दना त्यतै छ
फोटो त्यतै छ
अपलोड, डाउनलोड
वरदान त्यतै छ ।
छैन कुनै शङ्का र भय
गुगलेश्वर पिताकी जय ।
मैले गुगल बाबासँग मन्त्र मागेँ
बाबा एकाएक सर्च गर्न जागे
ल अब बालक ग्रुपमा शेयर गर्नू
आफ्नो प्रोसेस अरूकन भन्नु ।
यति भनिकन बाबा अलप भए
यस्ता मरमपूज्य बाबाकी जय ।
सत्ययुगमा पनि यस्तै हुँदो हो
विकासले चरम सीमा छुँदो हो
सेन्सरले अलप गराउँथे ती देउता
मरेका जीव पनि त ज्यूँदो भो ।
कथाकुथी गुथेरै नपत्याउने बनाइए
यिनै गुगल थिए ती जय गुगल जय ।
माता सरस्वती युट्युबमा सिकाउँछिन्
सब्सक्राइब र लाइक गर्नलाई बताउँछिन्
घण्टी बज्छ भिडियो अपलोड हुनासाथ
मिलियन भ्यूअर लिई संसारै तताउँछिन् ।
माताको वन्दना हरक्षण गरूँ
उनकै वृतान्त जताततै छरूँ ।
मनहरी गाउँपालिका, मकवानपुर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति पुस्तकालय परिसरमा सरस्वती पूजा र पुस्तक दिवस मनाइएकाे छ । पुष्पलाल स्मृति पुस्तकालय आयोजनामा आइतबार सरस्वती पूजा (वसन्त पञ्चमी) तथा ९ औं पुस्तक दिवस मनाइएको हाे ।
साहित्य सङ्गम मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालयको साझेदारीमा सञ्चालित पुस्तकालयले सरस्वती पूजा तथा पुस्तक दिवसको अवसरमा ‘ पठन संस्कृतिको विकास गरौं’ विषयमा विमर्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो । पुस्तकालयमा सरस्वतीको पुजा गरेर प्रसाद वितरण गरिएको थियो ।
कार्यक्रममासर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, समिक्षक घनश्याम घिमिरे, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार रमेशमोहन अधिकारी, सुदर्शन अधिकारी, ह्यग्रिव आचार्य, श्यामकुमार बानियाँ, शान्तिप्रिय वन्दना, नवसर्जक चौतारीकी केन्द्रीय उपाध्यक्ष उषाकिरण अधिकारी, देवराज खरेल,साहित्यसेवी मुक्ती गोविन्द वैद्य, पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृति बारेमा आआफ्नो विचार राखेका थिए ।
कार्यक्रममा अनिल कोइराला, इलिसा पराजुली, प्रतिक्षा गुरुङ, रियाज कार्की, स्वस्तिका दाहाल, स्व्स्तिका बानियाँ, उज्वल बराल,समर्पण न्यौपानेलगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण पुस्तकालय प्रमुख डिबी बर्तौलाले गरेका थिए ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

सम्झना थापा मगर
१.
तिम्रो माया यो मनको भित्र रहेको छ
मुटुको हर प्रहरमा त्यै चित्र रहेको छ
दुरिले टाढा भएर आखिर के भो त
सम्बन्ध नङ मासु झै पबित्र रहेको छ ।
२.
तिखो बचन लगाएर मुटुमा छुने गर्दछ्न्
मुखले ठिक्क पारिकन हात धुने गर्दछ्न्
कस्तो बुझ्न नसकिने बानी रहेछ नि हजुर
आखिर पानी माथीको ओभानो हुने गर्दछ्न् ।
३.
गरिबीले मानिसलाई जिउन सिकाउँछ
मेहनती बनी रसपान पिउन सिकाउँछ
जीवनलाई अझ मजबुत बनाउँदै
फाटेको हरेक टालो सिउन सिकाउँछ ।
४.
नेताहरुले कुर्सीमा तानातान किन गरेका होलान्
सत्तामा पुग्न भनेर हानाहान किन गरेका होलान्
आफ्नो स्वार्थका निमित्त मात्र लडिरहेका छन् यहाँ
देशविकासका कार्यमा आनाकान किन गरेका होलान् ।
स्याङ्जा