उत्सव चौलागाईं
तिमीले मलाई गरेको माया देखेर
आजकाल त
परेवाको जोडी पनि डाहा गर्न थाल्छन् ।
जब गरुङ्गो मन लिएर
गन्तव्यहीन यात्रा गर्दै थिएँ
बाटोमा फुल्दै गरेको
फूलले मुसुक्क मुस्कुराए जस्तै
जब पहिलो भेटमा
तिम्रो मुस्कान मेरो मुस्कानमा
मिसिएको आभास हुन्थ्यो ।
सुस्तरी- सुस्तरी मुस्कुराउँदै
तिमीलाई हेर्दै
पवनसरि एउटै वेगमा बहेका
ती प्रेमिल पलहरू
अहिले पनि
सम्झिरहेछु म ।
अहिले त
तिमी र म
म र तिमी
जबसँगै हुने छौंँ
त्यतिखेर
मायाको हिउँ पग्लिएर
बग्ने छ नदी
अनि हामीले अनन्त
सागर भेट्ने छौँ
जहाँ भावनाका करोडौँ मोतीहरू
हाम्रो स्वागतार्थ उभिएका हुन्छन् ।
तिमी जहिले पनि
मनको खुशी पस्केर
बिहान-बेलुका गाँस कुर्छौ
आफ्नो आँखाभरि
गुलाफ फुलाउँदै
बाटोभरि छर्छौ र
मेरो बाटो हेरिरहन्छौ ।
मेरो मन उड्छ
सिमलको भुवा जस्तै
जब मेरो मनको राजा
तनमा आइपुग्छ
प्रेमको कैलाशमा बसेर
ध्यान जब गर्छौ
त्यतिखेर
जीवनको मिठो सङ्गीत
मन भित्र पस्छ ।
हेटाैडा, मकवानपुर
आर. आर. चौलागाईं
त्यो ठाउँमा छिट्टै पुगिन्छ भन्थे
त्यहाँ पुगेपछि
साह्रा दुःखहरू
निमिट्यान्न हुन्छ भन्थे
म पनि सामेल भएँ
म पनि हिँडेँ
पसिना बगाएँ
रगत चुहाएँ
अरूले पनि त्यस्तै गरे
कति मरे
कति बाँचे
अत्तोपत्तो भएन
धेरै वर्षपछि झल्याँस्स भएँ म
अरू पनि भए
जति हिँडे पनि
जति दौडिए पनि
हामी त्यहीँ रहेछौँ
जहाँ हामी
सबभन्दा पहिला उभिएका थियौँ
हाम्रो यात्रा
अहिलेसम्म सुरू भएकै रहेनछ ।
हेटौँडा–४, मित्रनगर
खड्काश्री गोकर्ण
घाँस काटी पाठाशाला जान्थ्यौ
नुन किनेर घर
भुटेको मकै खाजा खान्थ्यौ
खाली खुट्टा भर
कचिलो काप्लाककुप्लुक
तातो तातो खायो
घाटिमा त्यो अड्किन्थ्यो
च्याख्ला पिरो रायो
स्कुल ड्रेसमा मामा घर
दशै आउदा नाना
छैन टिफिन सुको कौडी
बासी भात खाना
कक्षाकोठा पानी बोकि
पोति भुइ भित्तो
प्यास मेट्ने पानी हुन्न
गाग्री हुन्थे रित्तो
बस्ने बेन्च हुदैनथे
पिर्का बस्ने तानीतानि
चुटिएका हात्तिछाप
चप्पल डोरि बानिबानि
४५को ज्यामिती बकस
स्केल झिकी नापी
४४पाने कैपिटल
सेतो सादा कापि
सरस्वती पुजा गर्न
१० रुपैयाको चन्दा
प्रसादको पोको हेर्थेउ
देबि पुजा भन्दा
कालो पाटी रङ्गाउने
बनमारा झार
भोक शीत युद्ध हुन्थ्यो
बजाउन चार
मिठाइमा पिप्लामेण्ट
बिस्कुट थिन आरारोट
पुस्टकारी खादाखादै
पड्काउथ्यौ ओठ
रहर हुन्थे नया किताब
पुरानाको भारी
हिड्न पर्थ्यो कोशौ कोष
धुलो डल्लो पारि
नया लुगा लगाउन
कुर्न पर्ने पालो
भोटो सिलाइ लगाएको
फरियाको टालो
बोरा भित्र किताब बस्थे
छैन टाड र्याक
कपि हुन्थे सुमन मयुर
सरस्वती याक
सिसाकलम तिखार्ने त्यो
टोपाजको पत्ती
बाहिर भित्र दियालो थ्यो
सलेदोको बत्ति
भिर्ने कलम बोक्दा हामी
ठूलो मान्छे हुन्थ्यौ
गुणन गर्न भुइ कोरि
धर्का तानी कोर्थ्यौ
दुई रुपैयाको कापी बोक्थ्यौ
तीन रुपैयाको कलम
यिनै सामान जुटाइदिने
बा आमा लाई सलाम।
काठमाडाैं
लक्ष्मी काफ्ले
झन् झन् बेचैन भयो एक्लोपन अचेल ।
कहिल्यै ओभाना भएनन् नयन अचेल ।
कैयौं मुनाहरू विछोडको पिडामा छन्
किन गायव भए होनहार मदन अचेल ।
अबोध पशुको बध किन गर्छ मन्दिर
रेटिन्छन् दिनहु स्वार्थले गर्धन अचेल ।
हिजो सडक तताउॅथे नारा जुलुस गर्दै
हेर्नोस् त गुमनाम भए संगठन अचेल ।
नभई पनि नहुने भए पनि चिन्तै चिन्ता
आफ्नैमा फाटो पार्छ कालो धन अचेल ।
पोखरा लामाचौर १९
कविता ओझा
१.
तिमी संगै बाच्ने अनि संगै मर्ने मन छ
तिम्रै हातले चुरा लगाई सिंदुर भर्ने मन छ
यता तिर कोरोनाको सारै डर भयो
तिम्रै दिलको क्वारेन्टाइनमा सर्ने मन छ।
२.
बोल्नु पर्छ अझै रिसाउन पाउदैनौ
टाढा भइ मनमा बिझाउन पाउदैनौ
एकछिन नबोले शून्य लाग्छ मलाई
मन दिन्छु शरीर मिसाउन पाउदैनौ ।
३.
तिमी आउँदा पराइकी भएँ भने के गर्छौ ?
मेरो कुरै नसुनी अरुले लए भने के गर्छौ?
भन्न त छिट्टै आँउछु भनि रुँदै गएका हौ
आफै रुदैं रुदैं डोलीमा गएँ भने के गर्छौ ?
डडेल्धुरा