मकवानपुर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना भएकाे खुल्ला महिला दौड प्रतियोगितामा अमृता मुक्तान विजयी भएकी छिन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुरको आयोजनामा मंगलबार भएकोे ३ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिताको उपाधि मुक्तानले जितेकी हुन ।
निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै मुक्तान विजेता बनेकी हुन् । जीतसँगै उनले नगद १० हजार ट्रफी, र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा रितिका तिमल्सिना द्वितीय र लक्ष्मी थिङ तृतीय भएका छन् । उनीहरुले क्रमशः १२ मिनेट ५४ सकेण्डमा र १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेका थिए । समानताको लागि दौड भन्ने मुल नाराको साथ आयोजना भएको प्रतियोगितामाद्वितीय र तृतीय हुनेले क्रमसः ७ हजार र ४ हजार नगरसहित प्रमाणपत्र,मेडल साथै खेल सामाग्री प्राप्त गरेका छन् ।
महिलाहरुलाई खेल क्षेत्रमा आकर्षित बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरेको बागमती प्रदेशका पुर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठले बताइन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना समेत दिएकी थिइन् । ‘महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक छ ।’ उनले भनिन् । ‘परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य सबै एक भएर लाग्नुपर्छ’ श्रेष्ठले भनिन् ‘महिला हरेक क्षेत्रमा अब्बल छन् भन्ने सन्देश दिनको लागि यस प्रतियोगितालले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।’ महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबै लाग्नु पर्नेमा समेत उनले जोड दिएकी छन् ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,वडा नम्बर—४ का वडा अध्यक्ष नविन सिग्देल,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य सानु लामा, मदनभण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको आथित्यता रहेको थियो ।
‘सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता’ नाराका साथ यस वर्ष महिला दिवस मनाइदैछ ।

सरस्वती काेइराला
सधैं चुप चाप बस्ने मात्र तिम्रो पहिचान नबनोस
हरेक कुरा सहने मात्र तिम्रो पहिचान नबनोस
चाहे जस्तो सुकै कठिन परिस्थिति किन नआवोस
हार मानी सधैं पछी सर्ने तिम्रो पहिचान नबनोस ।
थिमि, भक्तपुर

प्रीति आत्रेय ज्ञवाली
१.
कसैको डरमा हैन आफ्नै भरमा बाँच्न परोस्
अरूको त्रासमा हैन आफ्नै करमा बाँच्न परोस्
नारीहरू सबै यति सक्षम भैजाउन् संसारमा कि
कसैलाई बाध्यतामा हैन आफ्नै रहरमा बाँच्न परोस् ।
२.
नारीलाई हेर्ने सम्मानको नजर हुनुपर्छ
नारीलाई बुझ्ने भावनाको कदर हुनुपर्छ
गोष्ठी सभा सेमिनार गरेर मात्र अर्थ छैन
नारीलाई विभेद गर्ने कानून बदर हुनुपर्छ ।
बुटवल हाल कम्बोडिया

सरस्वती पाैडेल
हजारौं हजार थान खुसिको कल्पना लिएर
समृद्धि आइदियोस घरघरमा वन्दना लिएर
हाम्रो हक र अधिकारमा समनाता रहोस भन्दै
म आएँ आज नारी दिवसको शुभकामना लिएर .
भरतपुर चितवन

सुदर्शन शर्मा
नारी दिवसको शुभकामना सदाबहार आउँछ
दिवस कै भोली पल्ट नारीमा अत्यचार आउँछ
आजको दिन मात्र किन सम्मान गर्छौ नारीको
पटकपटक नारी नै लुटिएको अखबार आउँछ।
सिरानचोक ३ गोरखा
- खेमलाल पहारी
तारे होटलमा एउटा भव्य कनर्यक्रमको आयोजना भएको थियो। समाजसेवी, राजनितिज्ञ, व्यापारी, पत्रकार, धार्मिक प्रवचक, सेना, पुलिस, राजनेता, विद्यार्थी सबैका प्रतिनिधीहरूको उपस्थिति थियो । अगाडि प्रवेशद्वारमा एउटा चिल्लो कार आएर अङियो । कालो चश्मामा एकथान शुट टाई बाहिर निस्केको के थियो, सबै उतै दगुरे । हल खाली भयो। फेरि हल भरियो ।
आगन्तुकले चश्मा खोलेर आँखा पुछ्दै गर्दा पछाडिबाट आवाज आयो – ए अँ, चिनें चिनें; त्यही क्या त उखुबारी घटनामा चश्मा छोडेर भाग्ने! पछाडि खासखुस चलिरहँदा उसले अगाडि रिबन काट्यो र यससँगै एउटा तुल फर्र तल झ-यो । लेखिएको थियो- अन्तरास्ट्रिय नारी दिवस २०७८ । सबैले ताली पिटे ।
उसले भर्खरै काटेको रिबन तल डस्टविनमा आफ्नो अस्मिता जोगाउन चिच्याइरहेको थियो – “बँचाऊ!”
भरतपुर-४, चितवन
- पिंडालु पण्डित
आजकल त दिक्कै लाग्न थालिसक्यो । के गर्ने ! के नगर्ने ? न टेलिभिजन खोल्न मन लाग्छ न रेडियो नेपाल । न फेसबुक खोल्न मन लाग्छ न ट्वीटर । न एफएमहरू सुन्न मन लाग्छ न पत्रपत्रिका हेर्न/पढ्न । यसरी पनि कसैको जिन्दगी चल्छ ? त्यत्रा टेलिभिजन छन् । त्यत्रा एफएम छन् । त्यत्रा पत्र पत्रिका छन् । पत्रपत्रिका नै दैनिकदेखि लिएर वार्षिकसम्म कति हुन् कति ! त्यतिले नपुगेर पलपलका अनलाइन खबर छन् । केही कुरा फिटिक्क भुइँमा झर्न पाउँदैन । तर, के गर्ने ? केही हेर्नै मन लाग्दैन । केही छुनै मन लाग्दैन । आफूले खोजेको कुरो केही छैन । त्यसैत्यसै दिक्क लागेर आउँछ । मुलुकमा के अचम्म भएको होला यस्तो ?
एकाबिहानैको बूढीको यस कचकचले रूद्रसिंहको निद्रा भाग्छ । मन नलाग्दा नलाग्दै पनि निद्रालाई बिदा दिन बाध्य हुन्छ ऊ ।अई, मखमली के भो आज तँलाई ? बिहानबिहानै अर्काको निद्रा खल्बल्याएर ताल न सुर के गनगनाइरहेकी । काम छैन ? आफूलाई ह्याँ कत्रो टेन्सन भइरा’छ । अझ बिहानबिहानै निद्रा खल्बल्या पो कुरा गर्नुहुन्छ । हजुरको त एकछिनको निद्रा खल्बल्ल्या न हो, आफ्नो यहाँ चौबीसै घण्टा निद्रा खल्बलि’सक्यो । के गर्नु के नगर्नु ! निद्रै लाग्न छाडिसक्यो । भोकै लाग्न छाडिसक्यो । प्यासै लाग्न छाडिसक्यो । यस्तो पनि हुँदोर’छ । अचम्मै भो बा ! के भ’को होला ?
हैन ए ! मखमली, के भो भन्न । पहिला त भा’का कुरा पो सुन्नु पर्यो त । अर्कालाई सुनाउँदै नसुनाई के आफैँ मात्र फत्फताइरहेकी ? कि, बूढेसकालमा कसैसँग लभ पर्या’थ्यो र त्यल्ले धोका दे’र यस्तो छट्पटी भा’हो ? मैले पनि यसो सहयोग गर्दे’र हुन्छ भने गर्दिम्ला । होइन भने केको गनगन यो बिहानबिहानै ? यता फर्के’नि त्यही गनगन, उता फर्के’नि त्यही गनगन । एकोहोरो गनगन गर्या छ, गर्या छ । के’भा हो !
लभ त पर्या छ नि । यत्रो वर्ष भो हजुरसँग त्यत्रो लभ पर्या, थाहा छैन ? लभ नपर्या भए यति लामो जिन्दगी यसै हाँसीहाँसी बित्थ्यो । लभ नपर्या भए असिना ओइर्याझैँ यी दायाँबायाँका भन्टाङभुन्टुङ कसरी ओइरिन्थे । हजुर पनि हजुरै हुनुहुन्छ बा । कुरो बुझेर गर्या हो कि नबुझेर । म त अझ निर्धक्कसँग टु साइड लभ होला भन्ठान्या’थेँ, आजका दिनदेखि त्यसमा पनि शङ्कै गर्न पर्ने भो होइन ? कि साँच्चै मेरो तर्फबाट मात्र वान साइड लभ हो त ? हो भने छोराछोरीलाई पनि भन्दिनु पर्यो, तिमीहरूका बाबुको चाल यस्तो छ भनेर । कि कसो ?
होइन भने के काम नपा’र जिस्क्याइ’रा त बिहानबिहानै । हजुरले ख्याल गर्नु’भा छैन कि क्या हो ? आजकल नेताहरूको भाषणै आउन छाड्यो मिडियाहरूमा । कहीँ कसैले छुस्स केही भाषण गरेकै सुनिन्न । पहिला पहिला यो गर्दिन्छु र ऊ गर्दिन्छु भनेर कानै टट्टाउने गरी कति मिठो बोल्याबोल्यै गर्थे । आजकल त कोही कसैले त्यसरी बोल्या’नि सुनिन्न । कसैले कतै केही लेख्या’नि देखिन्न । एउटा उदेकै भो बा ! यस्तो पनि हुँदो र’छ ।
मखमलीका कुराको भाव बुझेपछि रुद्रसिंह मनमनै आफैँ गफिन थाल्यो । मनमनै हाँस्न पनि थाल्यो । कामै हुनुपर्छ भन्ने पनि कहाँ हुँदोर’छ र ? विकासको साह्रै अनिकाल परेका बेलामा त मान्छेलाई मिठा मिठा गफै मात्र गर्दिँदा’नि आनन्द आउँदो र’छ । विकासै भएजस्तो हुँदोर’छ । विकासका गफ सुन्दासुन्दा मान्छे टोलमा फोहोर उठाउने ट्रयाक्टर दौडेर घट्याक् ट्याक् ट्याक् ट्याक् गर्दा पनि लौ टोल टोलमै रेल आयो भनेर घरका बार्दली र कौसी कौसीमा निस्कन्थे हेर्नका लागि । तँछाड-मछाड गरेर दौडन्थे गल्लीगल्लीमा कल्ले पहिला रेल देख्ने भनेर । अहिले त ख्वै ! न एउटै ट्रयाक्टर आउँछ न रेल ।
लौ न छिटोछिटो उद्योग मन्त्रालयमा फोन गर्न पर्यो भनेर एक दिन त मखमली एक्कासि आत्तिएर कराई । लौ न के भएछ भनेर म पनि त्यत्तिकै आत्तिएँ । बिहानको खाना खाएर ठिक्क अफिस जाने बेला भा’छ । के बित्यास पर्यो भनेर मखमलीको अनुहार नियालेँ । आखिर भएको केही रहेनछ । हिजोका भटमास सहितको खानाले पेटमा अलिक असजिलो असजिलो भइराख्या’थ्यो । कहिलेकाहीँको पोषक के पचाउन सकिन्थ्यो र ? पेट गड्याङ्गुडुङ् गड्याङ्गुडुङ् गर्दैथ्यो, कुन सड्को होसै नपाई हुसुस्स ग्यास खुस्केछ । अफिस जानाका हतारले मैले त त्यतातिर ध्यानै दिइन । मखमलीले पनि मबाट त्यस्तो भो भन्ने अलिकति पनि चाल पाइनछ, उसले त खाली सिलिन्डरमा ग्यासको आवाज आएजस्तो गरेर हुसुस्स गरेको आवाज मात्र सुनिछ ।
अनि ऊ किन नआत्तियोस् ! पाइपलाइन नै फिट गर्या छैन घरमा ग्यास आइसक्यो । लौ हाम्रा घरमा ग्यास निस्क्यो, अब आगलागी हुने भो भनेर डराएर उद्योग मन्त्रालयमा फोन गर्न हतारिएर मसँग कराएकी रहिछ । मैले वास्तविकता खोलिदिएपछि ऊ ढुक्क भई । नआत्तिओस् पनि किन ? सरकारले घरघरमा ग्यास पुर्याइदिने भनेर भट्ट्याएको भट्ट्यायै छ । कतै जनताका लागि मरिमेट्ने सरकारले हतार हतारमा ग्यासको पाइपलाइन नै बिस्तार गर्न बिर्सेर एकैचोटि ग्यास पठाइदियो कि भन्ने उसका मनमा परेछ । हुन पनि बारीका झिँझा र घसेउटो बालेर खाना बनाइर’को धुनमा ग्यासका समाचार सुन्दासुन्दा अहिल्यै आउने हो कि भरे आउने हो भने जस्तो भइसक्या’थ्यो । मान्छेले बजारमा महिनौँ दिन ग्यास नपा’का कुरा सबै भुलिसकेका थिए, घरैमा ग्यास आउने भो भनेर । त्यतिखेर त मखमलीका मात्र के कुरा सयपत्री, लालीगुराँस, जाईजुई, बाह्रमासे सबैका सबै एकोहोरिइसक्याथे नि ।
आयो ! आयो !! आयो !!!
एक्कासि उफ्रिन थालिन् मखमली । ट्राफिकले गाडी पास गराउने बेला भइसक्यो उनी भने जेब्रा क्रसमै उभिएर हात ठड्याइ-ठड्याइ कराउन थालिन् । अगाडि बढ भनेको पनि नसुनेर एकनास कराएकी छिन्, कराएकी छिन् । ट्राफिक सिटी फुकेको फुक्यै छ । हिँड्दै नहिँडी बिच बाटोमा पार्किङ गरेर उभिएको भनेर जरिवानाको रसिद काट्ने बेला भइसक्यो उनको उफ्राइ सकिन्न ।
आयो ! आयो !! आयो !!!
उनको एकनासको कराइ सुनेर रिसको पारो थाम्न नसकेर घिच्याउँदै लगेँ पारिपट्टि । उनी पनि कहाँ कम थिइन् र ? घिच्याउँदा घिच्याउँदै पनि औँलो तेस्र्याएर मलाई अर्कातिर हेर्न बाध्य पारिन् र भनिन्- ‘उः देख्नु भएन त्याँ ।’ आफूले देखेको छैन, उनी देखेको देख्यै छिन् ।
ख्वै ! के देख्नु भएन भनेको ? मैले त त्यस्तो अचम्मको केही देखेकै छैन । कमकी त उनी पनि कहाँ थिइन् र ? न्वारानदेखिको बल निकालेर झर्किन् र भनिन्- ‘उः त्याँ देख्नु भएन पानी जहाज ? नेपाली झन्डा हल्लार आइरा’को । आँखा पनि कस्ता हुन् ? बिच सडकमा झन्डा हल्लार आ’को त्यत्रो जहाज पनि नदेख्ने ?’
म मरिमरि हाँस्न थालेँ । उनी मसँग खनिएको खनियै छिन् । कुरा सबै भ्याएर कुट्न मात्र बाँकी राखेकी छिन् । एकछिनको हाँसो थामेर म मखमलीलाई सम्झाउन थालेँ । हेर मखमली तिम्लाई हिजोआज के भएको छ मलाई थाहा छैन । तर त्यो झन्डा हल्लार आ’कोचाहिँ पानी जहाज नभएर मन्त्रीज्यूको गाडी हो, मन्त्रीज्यूको । अघि हामी घरबाट निस्कदा त्यत्रो पानी बर्सेको बिस्र्यौ ? त्यही पानी जमेका सडकमा मन्त्रीको गाडी कुद्दा झन्डा हल्लार पानी जहाज आएको जस्तो लाग्या तिम्लाई । हिँड अगाडि, ताल न सुरको कुरा गर्यो त्यसै त्यसै अर्कालाई अल्मल्यायो । कहिले रेल आयो भन्या’छ । कहिले ग्यास आयो भन्या’छ । कहिले पानी जहाज आयो भन्या’छ कहिले के ? आउन त आउँछ नि एक दिन । तर, तिम्ले भन्या’स्तो एकोहोरो करार ‘आयो ! आयो !! आयो !!!’ भन्दैमा सबै चिज एकैचोटि आइपुग्ने हो र ? टाइम लाग्छ नि त्यल्लाई नि । तिम्ले बुझेकी नै छैनौ मान्छेको बोली भन्या करेन्ट जस्तो हुन्छ, काम भन्या वारेन्ट जस्तो हुन्छ
जस्तो हुन्छ, काम भन्या वारेन्ट जस्तो हुन्छ मर्ने बेलासम्म पनि कसैले नभेट्टाउने ।
अब भने मखमलीको निरन्तरको गनगनको रहस्य खुल्यो । उनको कान पाँच तारे होटलको कुकको जिभ्रो बिग्य्रा’स्तो बिग्रिसक्या र’छ सरकारको पलपलका मिठा आश्वासनले । अनि उनी जहाँ जतिखेर पनि त्यस्तै भाषण मात्र खोज्दिरहिछन् कहाँबाट पाउनु र चित्त बुझ्नु ?
मान्छेको स्वभाव पनि अनौठै हुँदोर’छ बा ! यतिविधि सम्झाउँदा पनि उनी मौका परे अझै आयो ! आयो !! आयो !!! भनेर कराउन बेर छैन । यतिविधि सम्झाउँदा पनि के गर्नु त कराए कराइरहन्छे ?
‘युवामञ्च’, २०७३ फागुन अंकमा प्रकाशित व्यङ्ग्य फित्काैलीबाट लिइएकाे
- अम्बिका गौतम
साइँलो प्रायः गाउँमा उसलाई यही नामले चिन्छन । हुन त उसको न्वारनमा पुरोहितबाले राखिदिएको नाम त धनकुमार हो तर अहिले उसको नाउँ कुनै कागजमा सही गर्ने बेलामा मात्रै काम आउँछ । अरुबेला उ साइँला ले नै परिचित छ ।
सानैदेखि उ मेहनती नै थियो सबै काम उसलाई हेरेर नै आइहाल्थ्यो तर पढ्न भने उ त्यति ज्ञानी थिएन अथवा उसलाई पढ्न मनै लागेन । साँउ अक्षर मात्र चिनेर उ घरेलु व्यवसाय पटिनै लाग्यो । उसले रोपेको साग सब्जीदेखि लिएर अन्न बाली प्रसस्तै हुन्छ तर अभाग होला, सौ मन अदुवा फल्यो भने सौ रुपैयाँ मन नै हुन्छ । भाउ पटक्कै आउँदैन ।
जेनेतेने गाइबस्तु पालेर उसले घर चलाउँछ,अहिलेको जमानामा दूध बेचेको पैसाले नानीहरू पढाउन कति साह्रो छ। थलाभरी गाइ बस्तु छन् दिन रात तिनै सासका धनहरुको सेवा गर्नु छ । अरुतिर निस्कने फुर्सद छैन । त्यही पनि कोहिबेला बाटो लढिदिन्छ घरमा दुधको बर्बाद, दुधले नुहाउनु भएन । महिना मरेर पैसा आउँछ र यसो गरौं भन्ने सोच्ने गर्छ। समयमा कहिले पैसा आउँदैन ।
माथ्लो तहमा बस्नेहरूलाई गाईको अभाव होस् न दुधको गरिबको मर्म कसरी बुझ्ने? कहिले गाउँमा तल्लो घरे माइलो झुन्डिएर मर्छ कहिले पल्लोघरे कान्छो फलान्छ । माथ्लो घरे आमै बुढेसकालले जान्छिन ,त्याहाँ सरौ पुर्याउनु । यस बीचमा तिज ,दशैं , तिहार चेलीबेटी भान्जा -भान्जी सबै आउँछन् गर्जो टार्नै पर्यो इज्जत ढाक्नै पर्यो । फलानो ठाउँको पैसा आएपछि तिर्नु पर्छ भन्दै माग्नु पर्यो ।
धेरै वर्षअघि देखि सरकारले घर बनाइदिन्छु भनेर भोट मागेको सरकार फेरियो तर उसको घर फेरिएन । दु:ख गरेर बनाएको झोपडी पनि अब त लढ्नै लाग्यो । मर्मत गर्ने पैसा छैन । जुन जोगी आए नी कानै चिरेको थैलो नै भिरेको उखान उसलाई सही लाग्छ । कहिलेकाहीँ उ सम्झिन्छ सधैं अभाव र दु:ख मात्रै छ मेरो नाम चै किन पुरोहितले धनकुमार राखेत ? सायदै भविश्यमा म पनि धनी हुन्छु होला भनेर चित्त बुझाउँछ ।
सिङ्ताम, पूर्व सिक्किम