सरस्वती पाैडेल
म आफैं पनि सक्षम छु यो दरबार बनाउन
र पनि भोट फाल्दै छु फेरि सरकार बनाउन
दिनहुुँ विदेशिने हरुको तथ्यांक हेरि हेरि पनि
भोक मर्ने,लाज छोप्ने एउटा रोजगार बनाउन
तिम्रो झुटो आश्वासनको गन्ध गाउँ सम्म आयो
बलियो एजेन्डा खोजिरहन्छौ हतियार बनाउन
सत्यतामा यसरी चुकिरहेछ यो सारा दुनियाँ
कलम डराउछ तिनीहरुको समाचार बनाउन
आयोग बाटै प्रश्नपत्र बाहिरिदियो त म के गरुँ
बा´आमाले सपना देखेका हुन खरिदार बनाउन।
भरतपुर चितवन
मकवानपुर । मकवानपुरे गायक गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक भएकाे छ ।
मकवानपुर मनहरीका युवा गायक बर्ताैला र आशा केशीकाे स्वर रहेकाे ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत भारती पिक्चर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको रहेको छ । गीतको भिडियो ललितपुर भैंसेपाटीस्थित श्रीकाली चौरमा सुटिङ गरिएको हो । ९ मिनेट ३० सेकेन्डको गीतमा कलाकार लोमस शर्मा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ ।
सानैदेखि लोकगीतमा रुची भएका बर्तौलाले विभिन्न सार्वजनिक कार्यक्रम, स्टेज शोहरुमा आफ्नो लोकगायन कला प्रस्तुत गर्दै आएका थिए । लोकगीतको एल्बम बजारमा ल्याउँन पाउँदा खुशी लागेको गायक बर्ताैला बताउँछन् । ‘सानैदेखि लोकगीत सुन्ने, गुनगुनाउने गर्थे, एक दिन लोकगीत निकाल्छु भन्ने सोच मनमा पालेको थिए त्याे इच्छा पुरा भएकाे छ । ’ बर्तौलाले भने ।
मकवानपुर । “सत्यमोहन शहर यात्रा” कृतिको शनिबार हेटौंडामा परिचर्चा गरिएको छ । पत्रकार गिरीश गिरीले संस्कृति विद् सत्यमोहन जोशीको जिवनका संघर्ष, चुनौति, योगदान र उपलब्धीबारे लेखेकाे सत्यमोहन शहर यात्राकाे परिचर्चा गरिएकाे हाे ।
पुस्तकभित्र सत्यमोहन जोशीका विभिन्न कालखण्डका चाखलाग्दो भोगाईको साथै उहाँले भौगोलिक, सँस्कृतिक खास भाषा सम्वन्धी गर्नु भएकाे खाेज लगायत समेटिएर तयार पारिएको लेखक गिरीले बताए । ३ पटक मदन पुरस्कार प्राप्त गरेका जोशी सम्वन्धी पुस्तक उहाँकाे जिवनका भोगाईको माध्यमबाट नेपाली समाजको लामो आरोहअवरोह चियाउने आँखीझ्याल रहेको लेखक गिरीले बताए ।
संस्कृति विद् जोशी जिवितै रहदाँ पुस्तक प्रकाशन गरेर जिवित इतिहासको सम्मान गरेको बताइएको छ । संवादमा गिरीश गिरी र निमेष निखिल रहेर कृतिमाथि परिचर्चा गरिएको थियाे । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको पुस्तक परिचर्चा कार्यक्रमको सहजीकरण निमेष निखिलले गरेका थिए । बुकहिल पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको सत्यमोहन पुस्तक गत महिना बजार आएकाे थियो ।
कार्यक्रममा कथाकार, नाटककार कुमार नगरकोटी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने लगायतले भनाइ राखेका थिए ।
- प्रकाश कुइँकेल
चारहरफको आफैमा स्वतन्त्र अर्थ दिने विधा हो मुक्तक विधा। मुक्तकलाई छोटो कविता पनि भन्दछन् । तर यो कविताभन्दा अलग प्रकारले लेख्ने गरिन्छ। साहित्यको लोकप्रिय विधामा पर्दछ मुक्तक विधा । मुक्तक चार हरफको हुन्छ जसमा पहिलो हरफले विषयवस्तुको उठान गर्दछ, दोस्रो हरफले पहिलो हरफलाई थप समर्थन गर्दछ,तेस्रो हरफ स्वतन्त्र हुन्छ जसले कौतुहल उत्पन्न गर्छ अनि चौथो हरफले मार हान्छ अर्थात झट्का हानेर समापन गर्छ। अन्तिम हरफले सम्पूर्ण कौतुहल मेटाउने काम गर्दछ। सम्पूर्ण मुक्तकको भार थामेको हुन्छ अन्तिम हरफले।
मुक्तक बन्नलाई तुक चाहिन्छ तुकविनाको मुक्तक-मुक्तक हुँदैन त्यो केवल एक रचना मात्रै भन्न सकिन्छ। उस्तै उच्चारण हुने उस्तै सुनिने शब्दसमूहलाई तुक भनिन्छ। तुकपछि दोहोरिने उहीँ शब्दसमूहलाई अन्त्यानुतुक भनिन्छ। मुक्तक बन्नलाई अन्त्यानुतुक हुनैपर्छ भन्ने छैन। अन्त्यानुतुक भएको मुक्तक वाचन गर्न सजिलो एवम् सुन्न मीठो भन्ने कुरा मात्र हो।
जस्तैः
केही नसम्झी पाउ अनि शिर जलाइदिए हुन्छ
नमानी, सुर्ता बरु नमानी पिर जलाइदिए हुन्छ
तिमी सुत्दाखेरि कहिँकतै बिझाउन पनि सक्ला,
सिरानी मुनिको मेरो तस्बिर जलाइदिए हुन्छ।
यो मुक्तकको पहिलो हरफमा भएको शिर, दोस्रो हरफको पिर अनि अन्तिम हरफको तस्बिर (बिर) यी तुक हुन् भने पहिलो,दोस्रो र चौथो यी तिनवटै हरफमा तुकपछि दोहोरिएको शब्दसमूह (जलाइदिए हुन्छ) यी अन्त्यानुतुक हुन्। तेस्रो हरफ सदा स्वतन्त्र रहन्छ।
भारतमा मुक्तक लेख्ने स्रष्टाहरू हेर्ने हो भने अघिदेखि नै धेरै पाइन्छ्न् । अनि मुक्तकलाई अरू नै नाम दिएर लेखिएको पनि देखिन्छ। मुक्तक सङ्ग्रह भनेर लेखिएको पनि भेटियो तर त्यहाँ भएका मुक्तकहरू मुक्तकका नियमभित्र नभएका पनि देखिए। रवि पौडेल, कमल थुलुङ जस्ता स्रष्टाहरूले लगभग २० साल अघि नै मुक्तक सङ्ग्रह निकालिसकेको पनि पाइन्छ। असमका जनप्रिय कवि हरिभक्त कटुवालका कतिपय लेखहरू पनि मुक्तक जस्तै धेरै पाइन्छन्। पहिलाको समयमा मुक्तक विधा ओझेलमा परे तापनि पछिल्लो समयमा यसको चर्चा परिचर्चा अत्याधिक नै छ भन्न सकिन्छ।
पछिल्लो समयमा निक्कै रुचाइएको र लेखिएको विधा हो मुक्तक विधा। सबैको जनप्रिय विधा बनेको छ यो। सामाजिक सञ्जालमा मुक्तकको निक्कै चर्चा हुने गर्दछ। एउटा सिकारु कलमले पनि पहिला मुक्तक विधामै कलम चलाएर अरू धेरै विधामा पाइला अघि सारेको पाइन्छ। पहिला पहिला मुक्तक कुनै साहित्यविधा नै होइन भन्ने अग्रजहरूले पनि अहिले मुक्तक लेख्दै गरेको देख्न पाइन्छ यो मुक्तकका लागि सकारात्मक पक्ष मान्न सकिन्छ। छिमेकी देश नेपालबाट पनि मुक्तक लेखनमा धेरै सहाय, प्रेरणा मिलेको छ भारतवासी मुक्तककारहरूलाई । जो जहाँ रहे तापनि नेपाली साहित्यले एउटा परिवार बनाएर सबैलाई जोडेर राखेको छ यो आफैमा उत्तम कुरा हो। जे नहोस् मुक्तकको विकास नै असल मुक्तककारको लक्ष्य हुनु पर्दछ।

पिता सोमदत्त उपाध्याय अनि माता छविमाया उपाध्यायका कोखबाट लिङमो दक्षिण सिक्किममा जन्मएकी गीताश्री शर्माको पहिलो कृति नै मुक्तक सङ्ग्रह (मुक्ता) रहेको छ। जसमा जम्मा ३१८ वटा मुक्तकहरू अटाएका रहेछन्। मुक्तककार गीताश्री शर्माको पुस्तक हातमा लिएर हेर्दा आवरण पृष्ठले नै मलाई मोहित बनायो। उनले आफ्नी छोरी मुक्ता र वर्षालाई समर्पण गरिएको भनेर लेखेकी रहिछन् तापनि मुक्तक सङ्ग्रहको नाम `मुक्ता´ भएको हुनले उनकी जेठी छोरी मुक्ताकै नाम दिएकी रहिछन्, यो पनि उत्तम कुरा हो। उक्त सङ्ग्रहको भूमिका आदरणीय साहित्यकार `राजन कार्की´ज्यूले गर्नुभएको पाइयो। पन्ना नपल्टाई बस्नै सकिनँ म भित्रसम्म पुग्ने जमर्को गर्न थालेँ। विभिन्न आदरणीय व्यक्तिहरूले विभिन्न राम्रा राम्रा शुभकामनाहरू दिनुभएको रहेछ।
मुक्तक:१
साथी भन्ने शब्द मीठो जिन्दगीको पाटोमा
एक्लै हिँड्न गाह्रो हुन्छ सुमसान बाटोमा
परिस्थितिसँग जुध्ने हो जस्तो मोड आए पनि
शान्तिसँग बाँच्न पाऊँ आफ्नै देशको माटोमा।
गीताश्रीको पहिलो मुक्तक यसप्रकारको रहेछ। तुकको हिसाबले मुक्तक भएको छ विषयवस्तुको तालमेल थोरै नमिलेजस्तो, हरफ अर्कैतिर बतासिएजस्तै लाग्यो बाँकी सबथोक सुन्दर पाएँ।
मुक्तक:२१
संस्कार छ भने यहाँ संसार छाइन्छ
आफू ठाउँमा बसे सबैतिर अटाइन्छ
मान्यजनको आशीर्वाद शिरोपर गर्ने गर
नत्र कमाएको यश अहङ्कारले गुमाइन्छ।
उक्त मुक्तक चेतनामूलक रहेको छ। एउटा असल मान्छे बन्नलाई सर्वप्रथम उसमा संस्कार चाहिन्छ। आफू असल बन्यो भने संसारै असल लाग्छ। अहङ्कार पतनको अर्को एउटा नाम हो जो मान्छेले कहिल्यै गर्नु हुँदैन। यस्तै यस्तै सन्देश दिन खोजेको यो मुक्तक निक्कै मनपर्यो। मानव जीवनलाई अर्थपूर्ण सन्देश दिएको छ यो मुक्तकले।
मुक्तक: २९
यदि तिमी मलाई माया गर्छौ भने
मायाको शरणमा तिमी पर्छौ भने
म झगडा गर्दिनँ अब तिमीसँग
लगत्तै मेरो मनमा बसाइँ सर्छौ भने।
प्रेम यस्तो एउटा चिज हो जहाँ साना साना खुसीहरूले पनि निक्कै उमङ्ग दिने गर्छ र एउटा सानो गल्तीमा पनि बहुतै मन रुने गर्छ। मुक्तककारले आफ्नो प्रेमीलाई मनमा बसाइँ सर्छौ भने म सदा तिम्रो भएर बाँच्छु, तिमीसँग झगडा पनि गर्दिनँ बस तिमी मायाको सरणमा परिदेऊ मलाई माया गर्छु भनिदेऊ बाँकी केही चाहिँदैन भन्न खोजेकी छन्। याे मुक्तकले प्रेमील भाव बोकेको छ ।
उनकाे मुक्तामा मुक्तक: ५१ यस्ताे रहेकाे छ
सधैँ केही न केही कुराको घात लागेकै छ
जिन्दगीमा पीडा र वेदनाको खात लागेकै छ
कहिले आफैँभित्र खुसीको पल खोज्ने गर्छु
चुपचाप बस्दा पनि बोल्दिन भन्ने बात लागेकै छ।
साँच्चै दुनियाँ अचम्मको छ अनि यहाँको सोच झनै विचित्रको छ। केही राम्रो गर्दा पनि जल्नेहरूको ताँती लाग्छ, खुट्टा तान्नेहरूको ताँती लाग्छ र केही काम बिरायो भने पनि कुरा काट्नेहरूको ताँती लाग्छ। सधैँ केही कुरामा घात लाग्छ, पीडाहरूको खात लाग्छ, कोहीसँग बोल्दा पनि पागल होइन्छ अनि नबोल्दा पनि बोलेन ठूलो भयो भन्ने बात लाग्छ। मुक्तककारले समाजको तीतो यथार्थ मुक्तकमार्फत बाेलेका छन् ।
मुक्तक: ५६
आमा भन्दा ठूलो भगवान अर्को पाइनँ
उनकै दर्शन गर्न पाउँदा मन्दिर धाइनँ
दु:ख- सुख कति झेलिन् मलाई हुर्काउँदा,
जननीकै महिमा गाएँ भजन किर्तन गाइनँ।
आमा धर्ती हुन्, जननी हुन्, देवीको अर्को रूप हुन्, आमा परमात्मा हुन्। संसारका सारा चिज फिक्का छन् आमाका सामु। उनको वर्णन जति गरे पनि कमै हुने गर्दछ। आफ्नी आमा नै भगवान हुन्। निस्वार्थ आमाको सेवा गर्नेले मन्दिर जाने भजन किर्तन गर्ने जरुरत नै पर्दैन। दशमहिना गर्भमा राखेर जन्माएर, हुर्काउने आमाका सामु सारा भगवानहरू फिक्का छन् ।
मुक्तक:१८२
चारैतिर भौगोलिक सिमानाले घेरिएको सिक्किम
शान्ति र प्रदुषणरहित प्रकृतिले बेरिएको सिक्किम
कञ्च्नजङ्घा, खेचीपेरी, चारधाम, छाङ्गु पोखरी,
पवित्र धार्मिकस्थलले मुहार फेरिएको सिक्किम।
चारैतिर भौगोलिक सिमाले घेरिएको तर पनि शान्तिको अर्को एउटा नाम हो सिक्किम, जहाँ विभिन्न जाति जनजाति गुजारा गरेर बसेका छन्। जहाँका मानिसहरू धर्मकर्म, पूजाआजामा नित्य रमाउँछन्। चारैतिर हरियाली, चारैतिर पहाड निक्कै रमाइलो छ सिक्किम भन्न चाहन्छिन् मुक्तककार गीताश्री शर्मा। आफ्नो ठाउँको वर्णन गर्नु भनेको एउटा लेखकका लागि सकारात्मक पक्ष हो।
मुक्तक: २९४
कहिलेसम्म बग्छौ टिस्टा सबैलाई छुँदै
दिन रात, साँझ बिहान सधैँ एक्लै रुँदै
गाउँ घर, पाखा पखेरा छहरा र पँधेराको
मैलाहरू जम्मा गरी सबको पाउ धुँदै।
सिक्किममा जन्मिएकी मुक्तककार टिस्टा नदीकै बगरमा खेलेर हुर्किएकी भन्न रुचाउँछिन । दुनियाँमै नाम चलेको नदी हो टिस्टा नदी जुन नदीले हरेक राम्रा नराम्रा चिजहरूलाई सागरमा पुर्याउने काम गर्दछ। मुक्तककार टिस्टासँग प्रश्न गर्छिन्- कहिलेसम्म बग्छौ टिस्टा, दुनियाँको फोहोर बगाउँछौ, पाउ धुन्छौ अनि प्यासीको प्यास मेटाउँछौ आखिर कहिलेसम्म ?? तिमी नबग्ने हो भने यो जगत पाप र फोहोरले नै भरिभराउ हुन्थ्यो होला।
सामाजिक विकृति- विसङ्गति, धार्मिक नीतिनियम, अन्धविश्वास, बा-आमा प्रतिको प्रेम आदिको भावसँगै मुक्तककार गीताश्री शर्माका धेरै मुक्तकहरूमा प्रेमभाव झल्किएको पाइन्छ। प्रेमका तीतामीठा गुणहरू छर्लङ्ग पार्न खोजिएको अनि कतै प्रेमीसँग गुनासो पोखिएको पनि पाइन्छ। मुक्तककार सिक्किमकी हुनाले अधिकतम मुक्तकले आफ्नो जन्मथलो, कर्मथलो, डाँडा-काँडा, नदी, पहाड आदि भाव झल्काएको छ। आफ्नो ठाउँ, आफ्नो गाउँलाई माया गर्नु एक लेखकको अर्को एउटा सकारात्मक पक्ष हो। उनका मुक्तकहरूमा कहिँकतै स्थानीय भाषाको प्रभाव परेको पनि देखिन्छ, हो पनि जो जहाँ छ त्यहाँको केही न केही त प्रभाव पर्छ नै।
गीताश्रीको मुक्तक सङ्ग्रह `मुक्ता´ पहिलो पन्नादेखि अन्तिम पन्नासम्म पढिसक्दा कति उत्कृष्ट मुक्तकहरूमाँझ निक्कै त्रुटि भएका मुक्तकहरू पनि फेला परे।
मुक्तक:२६
यति धेरै माया नगर न मलाई यहाँ
मायाको पीडा हुन्छ कहाँ कहाँ
आफन्तको हातबाट टुक्रिएपछि
कसले रुवायो भन्न गाह्रो हुन्छ यहाँ।
यो रचना मुक्तकजस्तो देखिए तापनि यसलाई मुक्तक भन्न सकिन्न। पहिलो हरफ अनि समर्थन् ठिकै भए तापनि स्वतन्त्र हरफ र प्रहार पहिला दुई हरफभन्दा बाहिर निस्किएका छन् त्यसमा पनि यहाँ, कहाँ अनि फेरि यहाँ। यश रचनामा तुक पनि दोहोरिएको छ। तुक दोहोरिनु भनेको मुक्तकमा ठूलो त्रुटि हुनु हो।
मुक्तक: ३०
एउटा पुरुष र महिला कतै गफ गर्दै भेटिँदैमा
एकदुई कदम गफ गर्दै सँगै बाटो काटिँदैमा
शंका गर्दै कुरा काट्नेको जमात पाइन्छ यहाँ
गन्तव्य एउटै परेर हिँडेका पाइलाहरू मेटिँदैमा।
यो मुक्तकमा तुक नमिलेको देखियो। भेटिँदैमा र मेटिँदैमासँग काटिँदैमाको तुक मिल्दैन। अनि मुक्तकमा चाहिने प्रहार पनि अन्तिम हरफले दिन सकेको छैन त्यसैले यसलाई एउटा चारहरफको रचना मात्रै भन्न सकिन्छ।
अरू विधामा निक्कै प्रखर गीताश्री शर्मा मुक्तक विधामा सिकारु हुन् यो निर्धक्कसँग भन्न सकिन्छ। सिकारु कलमले आज मुक्तक सङ्ग्रह निकाल्यो यो आफैमा गर्वको कुरा हो। लेख्दै गएपछि पक्कै पनि सिकिन्छ। अबका दिनहरूमा उनका हातबाट दोषमुक्त मुक्तकहरू जन्मिउन्। उनीबाट यो भन्दा पनि अझ उत्कृष्ट मुक्तकहरू पढ्ने आशा राख्दै र दोस्रो मुक्तक सङ्ग्रह चाँडै आओस् भन्दै उनको उज्ज्वल साहित्यिक भविष्यको शुभकामना ।
बङ्गालीपाडा, असम, भारत
मकवानपुर/ वरिष्ठ संगीतकार शक्ती बल्लभ नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ बाट सम्मानीत हुुने भएका छन् ।
मकवानपुरको अग्रेणी संस्था मातृभूमि साहित्य समाज मकवानपुरले शक्ती बल्लभलाई पुरस्कृत तथा सम्मानीत गर्ने भएको हो । समाजले आज बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । समाजका अध्यक्ष माधब पोख्रेलका अनुसार संगीतकार शक्ती बल्लभले ३० भन्दा बढी चलचित्रमा संगीत भर्नुका साथै ७ सय भन्दाबढी गीतहरुमा संगीत भरिसकेका छन् । त्यस्तै गोरखाका छन्द कवि सिताराम अधिकारीलाई होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान गरिने अध्यक्ष पोख्रेलले बताए ।
पर्वतका सायित्कार गंगा पौडेललाई मायादेवी मातृभूमि पुरस्कार, नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई क्षेत्र बहादुर स्मृतिमातृभूमि सम्मान गरिन लागिएको उनले बताए । मकवानपुरका नाट्य क्षेत्रका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान गरिने छ भने लामो समय मकवानपुरमा पत्रकारिताका गर्दै आउनुभएका पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
भ्वाइस अफ किड्सका विजेता जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र मकवानपुरका सामाजिक अभियान्ता सरस्वती बर्तौलालाई मञ्जु सुवेदी स्मृति सम्मान २०७८ प्रदान गरिने जनाइएको छ । नगद सहित प्रमाणपत्र प्रदान गर्दै पुरस्कार तथा सम्मान गर्ने जनाइएको छ । समाजले २६ चैत्रमा आयोजना गर्ने उक्त सम्मान तथा पुरस्कार वितरण गरिने समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताए ।