- गणेश भण्डारी
नेपालमा अहिलेको राजनीतिक पृष्ठभूमि, समचार पहिले प्रकाशन गर्ने प्रतिस्पर्धा र सस्तो लोकप्रियताका कारण मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकको विषय वस्तु र यसका संस्थाहरू सञ्चारमाध्यमका प्राथमिकतामा पर्दैनन् ।
कोभिड–१९ पूर्व गरिएको एक अध्ययनले नेपालका प्रिन्ट मिडिया, अलालाईन पोर्टल, एफएम रेडियो तथा टेलिभिजनका प्राइम समाचारमा मनोरञ्जनका क्षेत्रहरू डान्सबार, दोहोरी, मसाज सेन्टर व्यूटीपार्लर, होटल, गेष्ट हाउस तथा लज, खाजाघर, होम स्टे, पार्टी प्यालेस, सर्कस लगायतका क्षेत्रसंँग सम्बन्धी समाचारलाई प्राथमिकता नपाएको देखिएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषण गरेकाले केही होटलसम्बन्धी र केही होमस्टे सम्बन्धी समाचारलाई सञ्चारमाध्यमले स्थान दिए पनि त्यो न्यून महत्वमा प्रकाशन भएका थिए ।
दक्ष कामदार नचाहिने, थोरै पारिश्रमिकमा उपलब्ध हुने, थप जिम्मेवारी नभएको कारण यस क्षेत्रमा ग्रामीण युवती जो अशिक्षित छन्, गाउँबाट साहारको खोजिमा सहर पसेका छन्, उनीहरूलाई यस क्षेत्रमा काम लगाउने गरेको पाइयो ।
मनोरञ्जनलाई व्यवसायिकता दिने, यसलाई प्रोत्साहन गर्ने र यसमा पनि भविस्य छ भन्ने विषय वस्तु समेटेका फिचर समाचार न छापा माध्यममा पाइयो न विद्युतिय सञ्चार माध्यममा देखियो ।
मनोरञ्जनका क्षेत्रमा कार्यरत महिला श्रमिकलाई बेचविखनमा प्रयोग गर्ने, दुव्र्यवहार गर्ने र उजुरी परे प्रहरीले सार्वजनिक गर्ने विषयलाई भने सानो स्थान दिएको पाइयो । यस क्षेत्रका कार्यरत श्रमिकको हक हितको सुरक्षा, कानुनी व्यवस्था, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा कसरी आवद्ध हुने विषयलाई प्राथमिकता दिनु पर्ने हो । तर यि विषयवस्तु सञ्चार माध्यममा पाइएको थिएन ।
दक्ष कामदार नचाहिने, थोरै पारिश्रमिकमा उपलब्ध हुने, थप जिम्मेवारी नभएको कारण यस क्षेत्रमा ग्रामीण युवती जो अशिक्षित छन्, गाउँबाट साहारको खोजिमा सहर पसेका छन्, उनीहरूलाई यस क्षेत्रमा काम लगाउने गरेको पाइयो । अझ घर छाडेका, घरेलु हिंसामा परि पतिले घर निकाला गरेका, अभिभावक गुमाएका वा नभएका, अभिभावकले पढ्न तथा रोजगारीका लागि स्वीकृत नपाएका, घर तथा परिवारबाट अपहेलित र आफू निर्णय गर्ने क्षमता नभएका बालबालिका, किशोर किशोरी तथा महिला, दलित तथा अल्पसंख्यक वर्गको यस क्षेत्रमा उल्लेख्य प्रतिनिधित्व रहो । वा यो क्षेत्र उनीहरूको पहिलो प्राथमिकताको रोजगारी थियो । जसमा खानाको भरमा मात्र, खान बस्न दिएको भरमा वा पकेट खर्च मात्र दिएको भरमा श्रम गर्न बाध्य थिए उनीहरू ।
उनीहरूको अज्ञानतालाई यस क्षेत्रका व्यवसायीले क्यास गरेको (अनुचित फाइदा लिएको) देखियो । उनीहरूको बोल्ने मान्छे नहुने, आँफू कानुन तथा अधिकारका बारेमा अन्जान हुनु उनीहरूको नियति देखियो । जे भनो सोही काम गर्ने, नियुक्ति पत्र दिनु नपर्ने, तलब वा पारिश्रमिक जति दिए पनि स्वीकार गर्ने पर्ने, काम गर्ने तथा बासस्थान पनि व्यवस्थित नहुनु उनीहरूको प्रमुख समस्या रह्यो । मनोरञ्जनलाई विश्व अर्थतन्त्रमा हेर्ने हो भने एउटा उद्योगको रुपमा स्थापित भएको छ ।
तर नेपालमा यो लज्जाको, सस्तो मनोरञ्जन, यौन विकृतिको क्षेत्र वा हेयको दृष्टिले हेरेको पाइन्छ । यसमा जाने वा यसका ग्राहकमा पनि उनीहरूलाई सम्मान गर्ने पर्ने भावनाको विकास छैन । अश्लिल बोलि, यौन दुर्व्यवहार वहार गर्ने ग्राहक छन् भने प्रहरी प्रशासनले पनि वेश्यावृति गरेको, रात विरात काम गरेको, समाजमा वेथिति ल्याएको आरोप लगाउने गरेको छ । यसका सञ्चालकले पनि संरक्षण गर्ने भन्दा ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदा श्रमिक तेहोरो मारमा परेका छन् । न श्रमको मूल्य, न ग्राहकको माया, न प्रहरी प्रशासन वा कानुनको आड । यो मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि हुने हिंसा स्थानीय तहामा मात्र हैन, प्रदेश, देश हुँदै सार्क तथा अन्तराष्ट्रिय क्षेत्रसम्म फैलिएको छ । यसको प्रभाव र यि विषय सबै क्षेत्रमा भए पनि यसको उठान भएको पाइएन ।
एक दुई ओटा समाचारमा यस सम्बन्धी कानुनी प्रावधानको उठान, उनीहरूको सुरक्षा र पारिश्रमिकका विषय समेटिए पनि अन्य सबै विषय स्थानीय तहका हिंसा, यौन दुर्व्यवहार, रोजगारी गुमेका लगायत सामान्य विषयको उठान भएको पाइयो । यो क्षेत्र खास क्षेत्रको चाडबाड, नयाँ वर्ष, वा आर्थिक चहलपहल भएको बेला उठान हुने हुँदा पनि हुनसक्छ हामी जति यसको क्षेत्रमा हुने राम्रा वा नराम्रा ९सकरात्म वा नकरात्मक० समाचार सञ्चार माध्यममा समेटिएको पाउँथ्यौँ । स्थान विषेश वा प्राइम टाइममा नभए पनि यौन हिंसा, दुर्व्यवहार, बेरोजगारी, कामको खोजी, विज्ञापन, उपलब्धता आदी विषयलाई वा महिलाको विषयलाई समाचार बनाउँदा समचार पढ्ने, सुन्ने वा हेर्ने गर्छन भन्ने मानसिकता पनि यो समय महिनामा देखिएन ।
हामीले अनुगमन गरेको २१ दिनको छापा, एफएम, अनलाइन तथा टिभिमा मुस्किलले पाँच दिनको समाचारमा मात्र यस मनोरञ्जनको विषयलाई समेटेको पाइयो । यस क्षेत्रमा हुने गतिविधि दैनिक रुपमा हुने हुँदा पनि सञ्चारमाध्यमले यसलाई आफ्नो प्राथमिकतामा नराख्ने, यसका लागि सम्वादाता वा विट नतोक्ने, अन्य समाचारका श्रोतबाट पाएकालाई मात्र राख्ने गरेको पाइयो । किनकी जति समाचार बाहिर आए, हामीले अनुगमन गरेका थियौँ । त्यसमा अधिकांश समाचारमा वाइलाइन थिएन । भन्नाले सम्वादाता थिएन । भएकोमा पनि महिला सम्वादाता थिएन । यि सबै कुराले पनि यस विषयले सञ्चार माध्याममा स्थान नपाएको पाइयो ।
(लेखक भण्डारीद्धारा केही समय अघि उपत्यका बाहिरका ६ दैनिक पत्रिका तथा उपत्यका भित्रका ६ टीभी, ६ अनलाइन, केही एफएम र ब्रोडसिट दैनिकहरुमा गरिएको मिडिया अनुगमनपछि तयार पारिएको प्रतिवेदनको अंश ।)
नियात्रा
– विनोद नेपाल
हामी अघिल्लो दिन रोल्पाको लिवाङ पुगेका थियौं । दिउंसो ४ बजे अघि नै पुगेकाले लिवाङ बजार र सेरोफेरोको घुमफिर पछि हामीले भोली विहान स्वर्गद्वारी तर्फ जाने योजना बनायौं । सोही अनुसार जेठ १० गते विहान ७ बजे नै अगाडि बढ्यौं । पुग्नु थियो सातदोबाटो हुंदै सुलीचौर, खुंग्री, चतुर्भुज अनि भिंग्री । त्यहांबाट लाग्नु थियो स्वर्गद्वारी तर्फ ।
भिंग्री पुग्दा झण्डै नौ बज्यो । हामीले त्यहां चिया पियौं । अनि पक्की छाडेर लाग्यौं कच्ची सडक तर्फ माथि डांडामा अवस्थित स्वर्गद्वारी ताक्दै दक्षिण–पश्चिम । जतिजति माथि उक्लंदै गयौं उतिउति रमाइला दृष्य देखिए । समथर फांट, तुवांलो भित्र उकुसमुकुसिएका वस्ती अनि परपरसम्मका डांडाकांडा देखिन थाले । फांटमा बाक्लो वस्ती अनि आंखाले देखेसम्मका भित्तामा सडकका धर्सा भएपछि तुवांलोले नढाकोस् पनि किन ? हरियाली भए पो त प्रदूषण भाग्दथ्यो ।
झण्डै ४५ मिनेटको यात्रा पछि हामी ‘धरम्पानी’ पुग्यौं । यो भञ्ज्याङ स्वर्गद्वारी आश्रमको फेदि हो । यहां केही पसलहरु छन् । उता दाङ तर्फबाट होलेरी हुंदै आएपनि आइपुग्ने यहीं नै हो । गाडीहरु यही राख्नुपर्ने रहेछ । धरम्पानीबाट आश्रम पुग्न ढुंगा छापेको रेलिङसहितको सुविधायुक्त फराकिलो सिंढी रहेछ । अलमल नगरी हामी त्यहांबाट अगाडी बढ्यौं । जतिजति माथि पुग्दै जान्थ्यौं उतिउति फरक खालका वनस्पती त देखिने नै भए, परपरसम्मका रमाइला र सुन्दर दृष्यहरु देखिन्थे । तर उही तुवांलोले गर्दा तिनलाई घुर्मैलो घुर्मैलोमा हेर्नुपर्ने बाध्यता थियो । तथापि लाग्थ्यो नेपाल सांच्चिकै प्रकृतिको अमूल्य उपहार हो । यो सुन्दर छ । यसको सुन्दरता वयान गरी साध्य छैन ।
मेची–महाकाली, हिमाल होस् वा मधेस–पहाड नै, जहां पुगेपनि हरेक स्थानको आफ्नै आकर्षण छ । आफ्नै विशिष्टता र आफ्नै पहिचान छ । हरेकको आफ्नै सुन्दरता छ । त्यसमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक सम्पदा र विशेषताहरु जोडिंदा त ती स्थान झनै महत्वका लाग्छन् । यिनै कारण मुलुक ठूलो पर्यटकीय आकर्षणको केन्द्र र विश्वकै पर्यटकीय गन्तव्यमा पर्दै आएको हो ।
आश्रम ताक्दै व्यवस्थित पदमार्गमा यात्रा गर्दा हामीले यहां आउनु अगाडी यात्राका विषयमा जे जस्ता कुरा सुनेका र अनुमान गरेका थियौं त्यो भन्दा भिन्न खालको वास्तविकता महसुस गर्याै । सुनेका कुरा गलत सावित हुंदै गए । ठाउंठाउंमा तस्वीर लिंदै हामी उकालो चढ्यौं । झण्डै ४५ मिनटको यात्रामा हामीलाई वास्तवमा भन्नुपर्दा, हिंडाइको महसुस नै भएन, थकान थाहै भएन । उकालोमा उक्लने, ओर्लनेहरुको संख्या राम्रै थियो ।
आश्रमको प्रवेशद्वार पुग्नु अघि बाटोमा स्वास्थ्य चौकी तथा प्रहरी चौकी रहेछन् । नजिकै पानी तथा शौचालयको व्यवस्था रहेछ । आश्रम परिसरमा प्रवेश गर्दा अनौठो खालको अनुभूति भयो । लामो समयदेखि मनले पुग्ने चाहना गरेको यस पुण्यभूमिमा पुग्दा आफ्ना पुर्खालाई स्मरण गर्न मन लाग्यो । सर्वप्रथम शिवालयमा पुगि शिवलिंगको दर्शन गर्यौ अनि नजिकैका अन्य मन्दिर तर्फ लाग्यौं । त्यसपछि भने मन्दिरका पुजारी मध्येका एकले हामीलाई सहजीकरण गर्ने काम गर्नुभयो । हामी उहांकै सहयोगमा देवीदेवताको दर्शन गरी यज्ञशालामा पुग्यौं । दैनिक घृतधारा सहित हवन गरिने सो यज्ञशाला नै यस स्थानको सर्वाधिक महत्वको स्थल हो ।
धुवांले आंखाबाट बर्बरी आंशु बहे पनि हामी अपूर्व अवसर ठान्दै त्यहांको हवन प्रक्रियामा सहभागी भयौं । अनि गोबर्धन पर्वतको अवलोकन गर्यौ । गोबर्धन,तलाउ र मन्दिरहरु आश्रम परिसरका आकर्षणका केन्द्र हुन् । यहां हरेक दिन रुद्री गरिंदो रहेछ । अघिल्लै रात वास बस्न जानेले तोकिएको रकम भुक्तानी गरेपछि भोलिपल्ट आफ्नै उपस्थितिमा स्वयं सहभागी भई रुद्री गराउन सक्ने व्यवस्था रहेछ भने नवस्नेहरुले आफ्नो गोत्र र नाम सहितको विवरण टिपाई तोकिएको रकम भुक्तानी गरेपछि सोही अनुसारको रुद्री लगाईदिने व्यवस्था रहेछ । हामीले पनि आफ्नो तर्फबाट रुद्री लगाईदिन नियमानुसारको रकम भुक्तान गरी विवरण टिपायौं ।
सोही स्थानमा यज्ञशालाको विभूती सहितको प्रसाद उपलब्ध गराईंदोरहेछ । हामीले प्रसाद लियौं ।
त्यसपछि हामी भोजनालय तर्फ लाग्यौं । रु. १०० भुक्तानी गरेपछि पेटभरी दाल, भात, तरकारी सहितको खाना खान पाईंदोरहेछ, साथमा फुराएको सिंगो खुर्सानी पनि, जुन त्यहांको आफ्नै पहिचान रहेछ । केही समय अघिसम्म भक्तजनहरुलाई सित्तैमा भोजन उपलब्ध गराइने व्यवस्था रहेपनि हाल प्रतिव्यक्ति एक सय रुपैयां लिन थालिएको रहेछ । स्वर्गद्वारी आश्रमको नाममा प्युठान र दाङमा गरी अचल सम्पत्ति रहेको छ । सोही जग्गामा उत्पादन हुने धानको भात यहां आउने आगन्तुकहरुलाई खुवाउने गरिंदोरहेछ । तर सो सम्पत्तिमा पनि पछिल्लो समय कतिपयको बक्रदृष्टि परेको सुन्दा भने दिक्क लाग्यो ।
भोजन पश्चात हामीले त्यहां स्थित अतिथी गृह तथा वरपरका संरचनाहरुको अवलोकन गर्यौ । बारेमा जानकारी लियौं । प्रशिद्ध ऐतिहासिक बांझ वृक्ष, गौशाला आदि हुंदै यहांको अर्को आकर्षण स्वर्गको द्वार मानिने गुफा तर्फ लाग्यौं । हामी गुफामा पुग्दा भयंकर हावा चल्यो । शिवलिंग रहेको गुफाभित्र पसी केही तस्वीरहरु लिएपछि हामी पुनः आश्रमतर्फ फर्कियौं । केहीवेर आश्रम परिसर तथा त्यहांबाट देखिने दृष्यहरुको अवलोकन गरेपछि हामी पवित्र त्यस स्थानलाई नमन गर्दै मूलद्वार तर्फ लाग्यौं ।
ओर्लंदा आश्रम परिसरको प्रवेशद्वार, उकालोको बीच भाग र तल धरम्पानीको प्रवेशद्वार सामु पनि महिलाहरु डोकोमा काफल लिएर बिक्रीका लागि वसेका भेटिए । ऋतु फल खाने चाहना स्वाभाविक थियो, हामीले इच्छा गर्यौ । फरकफरक मूल्यमा काफल किन्दै र खांदै ओरालो ओर्लियौं । तर मूल्य भने ठाउं पिच्छे फरक, त्यो पनि सामान्य होइन ठूलै रहेछ । मौकाको फाइदा लिन खप्पिस रहेछ्न् बिक्रेताहरु ।
ओर्लने क्रममा हामी केही तल मात्र आइपुगेका के थियौं भयंकर हावा चल्यो । वरपरका रुखहरु नै ढल्लान् जस्तो । पात पत्करहरु उडायो, धुलो उडाएर ल्यायो । हाते रुमालले अनुहार छोपेर धुलोबाट जोगिने प्रयास गर्यौ । केहीबेर ठूलो रुखको छेउमा उभिएपछि हावा कम भएपछि पुनः ओरालो लाग्यौं । ओर्लंदा परपरसम्मका दृष्य केही प्रष्ट देखिए । धरम्पानी आइपुगेपछि हामी केही समय त्यहांको र वरपरको दृष्य हेर्दै त्यहीं अलमलियौं । मानिसहरु आउने र जाने क्रम जारी नै थियो । सो स्थानमा रहंदा हामीले यस पवित्र स्थानको विकासका सम्भावनाहरुका बारेमा आआफ्ना धारणा व्यक्त गर्यौ । अनि गाडीमा वसी ओरालो लाग्यौं । भिंग्री,माडी खोला, चतुर्भुज, खुंग्री, सुलीचौर, सातदोबाटो हुंदै पुनः लिवाङ फर्कियौं ।
मानिसहरुले सही सत्य कुरा जानकारी नगराईदिंदा स्वर्गद्वारी यात्रामा निस्कन चाहनेहरुलाई पनि भ्रम उत्पन्न हुने रहेछ । हामीलाई नै कतिपयले अत्यन्त कष्टकर यात्रा गर्नुपर्ने डर देखाएका थिए जुन सर्वथा गलत रहेछ । मुलुकको कुनै पनि भागबाट यहांसम्म पुग्न कठिन छैन । आश्रमको फेदी धरम्पानी बजारसम्म पुग्नका लागि स्थानीय यातायातका साधन उपलब्ध छन् । आश्रमसम्म पुग्न हिंडनुपर्ने शारीरिक अवस्था अनुसार आधा घण्टा देखि ४५ मिनेट मात्र हो ।
स्वर्गद्वारी बारे जानकारी:
नेपालको प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी मुलुकका विभिन्न आकर्षण मध्येको एक हो । यो एक प्रशिद्ध धार्मिक स्थल संगसंगै पर्यटकीय गन्तव्य पनि हो । प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट झण्डै २६ किमी पश्चिमतर्फ पर्ने यो स्थान करिब २१०० मिटरको उचाईमा अविस्थत छ ।
प्राचीन समयमा स्वर्गद्वारी क्षेत्र यज्ञभूमिको रुपमा विख्यात थियो । वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिले यही ठाउंमा ठूलाठूला यज्ञ गरेका मानिन्छ । सत्ययुगमा ब्रम्हाले यही स्थानमा ठुलो यज्ञद्वारा शक्ति सञ्चय गरी श्रृष्टि गरेकाले यो स्थान यज्ञभूमिको नाममा विख्यात रहेको मान्यता छ । ठूलाठूला ऋषिमुनिले यही ऐतिहासिक महत्वलाई आत्मसात गर्दै कठीन तपस्या गरी यहींबाट स्वर्ग प्रस्थान गर्दथे भन्ने विश्वास छ । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जांदा यहांको बाटो भएर गएको द्वार हुनाले यसको नाम स्वर्गद्वारी रहेको जनविश्वास छ । यिनै कारण स्वर्ग जाने ढोकाको रुपमा यसलाई ‘स्वर्गद्वारी’ नामाकरण गरिएको हो ।
स्वर्गद्वारीमा स्थित यज्ञमण्डप भित्र अग्निकुण्डमा धृतधारासहित नित्य हवन चल्छ । शिवलिंग स्थापित एक शिव मन्दिर छ । यहां रुद्री पाठ गरी दैनिक रुद्राभिषेक हुन्छ । यहां विभिन्न देवीदेवताका मन्दिर छन् जहां नित्य पूजा हुन्छ । वेद, गीता, श्रीमद्भागत शप्तसती चण्डी समेत विभिन्न धर्मग्रन्थको पाठ हुन्छ । यहां संस्कृत पाठशाला पनि छ जहां निःशुल्क खाने,वस्ने व्यवस्था तथा वेद, रुद्री, कौमुदी, चण्डी कर्मकाण्डसमेत धर्मग्रन्थहरुको पठनपाठन गराइन्छ ।
स्वर्गद्वारी आश्रमको स्थापना बालतपस्वी महाप्रभु हंसानन्द गिरिबाट विसं १९५२मा भएको हो । १९५१ सालमा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्वलित गरी १९५२ सालको वैशाख पूर्णीमा देखि प्रारम्भ गरेको मानिएको यज्ञशालामा आजपर्यन्त हवन भइरहेको छ । महाप्रभु वि.सं. १९९७ सालमा ब्रम्हलीन भएको मानिन्छ । बालतपस्वी महाप्रभु त्रिकालदर्शी सन्त मानिनुहुन्थ्यो । उहांको वास्तविक नाम नारायण गौतम हो ।
उहांको जन्म वि.सं. १९१६ मा रोल्पाको रुम्टीमा भएको थियो । सत्ययुगमा देवताहरुले यात्रा गरेको तपोभूमीमा रोल्पा जिल्लाको रुम्टी गाउंमा विसं १९१६ सालमा जन्मिएका १०८ महाप्रभुको वास्तविक नाम नारायण गौतम थियो । स्वर्गद्वारी आश्रम महाप्रभुको व्यक्तिगत प्रयासबाट संस्थापित एवं सञ्चालित सनातन धर्मको आश्रम हो । यो आश्रम विभिन्न कठिनाईका बीच गुरु–शिष्य परम्पराबाट आज पर्यन्त सञ्चालन भइरहेको छ ।
स्वर्गद्वारीमा ऐतिहासिक अग्निकुण्ड, गुफा, गौशाला आदि छन् । आश्रम परिसर र वरपर बाझका वृक्षहरु छन् । यहां हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन विशेष अनि अन्य विभिन्न तिथी र अवसरमा पनि धार्मिक मेला लाग्छ । मेलामा सहभागी हुन नेपालका विभिन्न स्थान तथा भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्रीहरु आउने गर्दा रहेछन् ।
जाडो याममा हिउं पर्ने यहां गर्मी याममा भने शीतल तथा आनन्दको महसुस हुन्छ । विभिन्न किसिमका वनस्पतीले युक्त यो टाकुरोमा पुग्दा सांच्चिकै मन आनन्दित हुन्छ । यस स्थानको प्राकृतिक सौन्दर्य आकर्षक छ । मौसम खुलेको बेला परपरसम्मका दृष्य हेर्न सकिने भएर पनि यो रमणीय छ । बेलाबेलामा आउने हावाका झोंक्काले उडाउला झै नै गर्दोरहेछ । स्वर्गद्वारीबाट उत्तरतर्फ हेर्दा सुन्दर हिमश्रृखलाको दृष्यावलोकन गर्न सकिन्छ । यहां देवदार, गुरांस, बांस, बांझ, साज, साल, जामुन, काफल, पाकरी जस्ता ठूला तथा अन्य विभिन्न खालका साना वनस्पती पनि पाइंदारहेछन् ।
यहां विभिन्न बन्य जन्तुहरुको आवास रहेको समेत जानकारीमा आयो । तर यहांको बन विस्तारै पातलिंदै गएको र गौशालामा पालिएका गाईको चरण तथा अन्य कारणले गर्दा नयां बोट विरुवाहरु उम्रन सकेको देखिंदैन । बुट्यान र झाडीहरु सबै मासिएका तथा ठूला बोट भएपनि साना बुट्यान नहुंदा उजाड लाग्यो । यसले वातावरणमा समेत प्रभाव पार्ने भएकाले ठूला रुखको संरक्षण तथा साना खालका र त्यस स्थानका लागि उपयुक्त हुने वनस्पती हुर्काउनु आवश्यक महसुस भयो । नयां वृक्षहरु रोपी वन संरक्षण गरिएमा त्यहांको वातावरण सुरम्य हुने छ ।
स्वर्गद्वारीमा संस्कृत पाठशाला, वेदविद्याश्रम सञ्चालन भएको छ र वेद तथा धर्मकर्म एवं कर्मकाण्डको अध्ययन गर्नको निम्ति टाढाटाढाबाट आउने विद्यार्थीहरुलाई खानपीन र आवासको निःशुल्क व्यवस्था रहेछ । वि.सं १९५२ सालदेखि सञ्चालन भएको पाठशालामा पछिल्लो समय देशका विभिन्न ठाउंबाट बालबालिका संस्कृत पढ्न आउने क्रम बढ्दै गएको जानकारी भयो । यस विद्यालयमा कक्षा चार देखि १०सम्म अध्ययन अध्यापन हुने रहेछ । पाठशालामा अनिवार्य विषयसंगै संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कर्मकाण्ड आदि समेत पढाउने गरिंदोरहेछ ।
आवासीय रुपमा पठनपाठन हुने हुंदा विद्यार्थीलाई पढाईसंगै व्यावहारिक ज्ञान सिक्न समेत सहज रहेछ । हवन गर्ने, पूजाआजा र कर्मकाण्डका सबै प्रक्रियामा यस पाठशालाका विद्यार्थी सहभागी हुंदारहेछन् । स्वर्गद्वारीमा कक्षा १२सम्म अध्ययनको व्यवस्था गर्न सकेमा विद्यालय स्तरको अध्ययत सोही स्थानमा गर्न पाउने भएकाले सो आवश्यक रहेको बुझियो । सनातन धार्मिक परम्परा विस्तारै मासिंदै,हराउंदै जान लागेका र कर्मकाण्डहरु समेत औपचारिकतामा सीमित हुन लागेका बेला विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र धेरै भन्दा धेरैलाई धार्मिक शिक्षा प्रदान गर्न सके त्यसबाट हिन्दु धर्मका संस्कार एवं परम्परालाई जीवन्त राख्न समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो समय हामीकहां आन्तरिक पर्यटन पनि निकै बढेको छ । यातायात सञ्चारको सुविधा र भ्रमण प्रतिको बढ्दो रुचीले एकातिर स्थानीय समुदायसंगको सान्निध्य र सम्पर्क बढाएको छ भने अर्कोतिर त्यस्ता गन्तव्यहरुको प्रचार हुन गई त्यस्ता क्षेत्रमा रहेका समुदायको आयआर्जन वृद्धि हुनमा समेत सहयोग पुगेको छ । स्वर्गद्वारी धार्मिक पर्यटकीय गन्तव्य हो । यहांको प्राकृतिक सुन्दरता पनि रमणीय छ । स्वर्गद्वारीबाट अग्ला हिमाली चुचुराहरु सहितको लामो हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यसदृष्टिले अनुकूल मौसम भएका बेला यो स्वर्गैसरी हुन्छ । पूर्वाधारहरुको निर्माण गर्ने तथा दुबैतर्फबाट आउने सडकलाई पक्की हुने हो भने गर्मी याममा यहां मानिसहरुको ओइरो लाग्नेछ जसले स्थानीयको आर्थिक खांचो टार्न ठूलो सहयोग पुग्न सक्छ ।
कति रंगीन छ जिन्दगी !
Tags: No Comments

अक्सर म विषय तयार पारेर शिर्षक राख्छु । यस पटक शिर्षक तयार पारेर विषय लेख्दैछु ।
विहान उठ्न नभ्याउदै चराहरु चिरविर गर्छन । भुक्क उठेका वादल निमेषभरमै हराउछन र रापिलो घाम ठोक्कीन आइपुग्छ । शित पर्न सुरु गरेको छ । तुयल लागेको छैन त्यसैले पाखाका हिमाल आखैमा ठोक्कीन आईपुग्छन । समयले ल्याएको विकास नै सही काठमाण्डौमा धुलो उड्न कम भएको छ । नियमनकारी निकायको सकृयताले ठेकेदारहरु प्रेजेक्ट होल्ड गर्ने भन्दा काम छिटो सक्ने ध्याउन्नमा छन । त्यसैले सकड चिल्ला छन ।
सिजनमा वर्षा ज्यादा भएकोले होला हरियालीमा रत्तीभर कमी आएको छैन । लक डाउनले मानिसलाई घरभित्र मात्र थन्क्याएर केही सिर्जनशिल पनि वनाएको छ । कौषीमा मात्र होइन गमला, पुरना वाल्टी या वोतलमै सही विरुवा रोप्ने क्रम चलेको छ । वाहिरको मौषम रंगीन छ । लेखनाथ पौड्यालले दशै कवितामा व्याख्या त्यसै गरेका होइनन । हिलो मैला सबै हटेर मौषम मादक वनेको छ । बाली पाक्न लागेको छ । सागपात फल्न लागेको छ ।
त्यसैले आश्विनलाई माषहरुमा सर्वाेत्त्तम त्यसै भनिएको होइन । जन्मका आधारमा पनि आश्विनमा जन्म लिनेहरु रोमान्टीक, रमाइला, हासी खुशी रहन मन पराउनेहरु हुन्छन । यो सबै समयको प्रभाव हो । स्टेफेनी मियरले भने जस्तै जब जीवनले सय वटा रुने कारणहरु दिन्छ भने तिमीले हजार वटा हास्ने कारणहरु खोज्नु पर्दछ । (When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile.) त्यसै भनिएको होइन ।
हुनत पिर लिनेहरुका लागि एउटै कारण कोरोना काफी छ । चितवनकी ९२ वर्षीय आमाले कोरोना कहरलाई जितेपछि मृत्यु त्यति सजिलो छैन भन्ने प्रमाणित भएको छ । काल नआई मरिदैन त्यसै भनिएको होइन । हो साबधानी अपनाउनु पर्छ तर डराएर जीवन चल्दैन । दशै आउदै गर्दाको मादक मौषम जो कोहीलाई रमणीय छ ।
७७ वर्ष पुगेकी मेरी आमालाई ९ वर्ष टेक्दै गरेकी छोरीले सोध्छी, आमा किन आजकल पानी पर्दैन, किन आकाष निलो देखिन्छ, किन घामले पोल्दैन, किन चराहरु अरु बेला भन्दा अर्कै नाच्दै उड्छन, किन फूलहरु एकै चोटी फूल्न लागेका छन, …किन? …किन?… किन?… आमा भन्नुहुन्छ मलाई पनि केटाकेटीमा यस्तै लाग्थ्यो नानी यो सब दशै आउदै गरेको लक्षण हो । छोरी दशै आया, दशै आयो, अब विर्घा जान पाइन्छ । खेल्न पाइन्छ । मामाघर जान पाइन्छ । टिका लगाएर दक्षीणा पाइन्छ भनेर उफ्रिन्छी । उसको उत्साह दोब्बर थपिएको छ । आमाका जवाफले ।
उसका बाल सुलभ प्रश्नहरुले रंगीन आकारहरु ग्रहण गरेका छन । तर मैले आमाले छोरीलाई दिएको जवाफवाट जीवनको सानो रहस्य वुझ्दछु । श्रृष्टीमा यो सब हुन्छ । किनकी जीवन रंगीन छ ।
कोरोनाको महामारीले यतिबेला विश्व नै आक्रान्त भैसकेको छ । आठ महिना पुरा हुन लाग्यो कोरोनाको कारण असहज रुपले दैनिक गुजार्दै आएको । नेपाल सरकारले कोरोना संक्रमितहरुलाई निःशुल्क प्रदान गर्दै आएको उपचार सुविधा पनि पछिल्लो साताबाट कटौति गरेको छ । यससँगै आर्थिक अवस्था कमजोर भएकाहरु अस्पताल जान हच्किन थालेका छन् । संक्रमणपछि पनि घरैमा बस्ने र मृत्युवरण गर्नुपर्ने अवस्थामा गारिब नागरिकसँग पुगेका छन् । यद्यापि बागमती प्रदेश, प्रदेश १ सरकारले आफ्ना नागरिकको स्वास्थोपचारमा लागनी गर्दै आएको छ । नेपालको संविधानमा व्यवस्था भएको नेपाली नागरिकको यो मौलिक हक पनि हो । यो सवालमा प्रदेश सरकारहरुको यस्ता कमद प्रशंसनीय छन् ।
यसै महामारीको बिचमा नेपालमा वडा दशैं, दीपावली, छठ, नेपाल संवत् जस्ता पर्वहरु एकपछि अर्को गर्दै समुदायमा भित्रन सुरु भैसकेको छ । वडा दशैं पर्वको आज फूलपाति । अर्थात् विधिवत रुपमा राखिएको जमरामा आजकै दिन फूलपाति भित्र्याइन्छ । आजकै दिनबाट नेपालका सरकारी कर्मचारीहरुले दशै बिदा पाएका छन् । आजको २२ दिनबाट यमपञ्चक सुरु हुदै छ, लगतै छठ पर्वको रौनक सुरु हुने छ ।
अघिल्ला वर्षहरुमा जस्तो आफन्तहरुको भेला गरेर धुमधाम रुपमा पर्व मनाउने अवस्था अहिले विल्कलै छैन । आफू जहाँ जुन अवस्था रहेका छौं, त्यहीँ पर्व मनाउनु पर्ने अवस्था छ । टीका लागाउन आफू आफन्तकोमा जाने र भिडभाड गर्ने जस्ता कार्यले हाम्रै परिवारका ज्येष्ठ सदस्यहरुलाई संक्रमणको भय प्रवल रहन्छ । यस्तो कार्य विल्कलै नगरौं । कोभिड–१९ को यस विषम परिस्थितिमा आफू र आफ्ना परिवारजनको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई चाडपव मनाउनुमा नै बुद्धिमानी हुनेछ ।
यो महामारीबाट हामी सुरक्षित रहन सकेमा यस्ता पर्वहरु आगामी सालमा पनि मनाउन सकिने छ, तर अमूल्य ज्यान नै नरहे कहाँ पर्वको रौनकता बाँच्दछ र ? त्यसैले अति नै सचेत बनेर, सुरक्षित भएर पर्वहरु मनाऔ, संस्कृति बचाऔं । कोरोना संक्रमणपछि संघर्षको मैदानमा रहनु भएका व्यक्तिहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामना सहित आमनेपालीमा सुख शान्ति समृद्धी सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
- एलिजा पुडासैनी
२ दिनको लामो प्रसव पीडापछि बाबाकै जन्मदिन भेटाउन जन्मेको तिमी, आज १७ औं वर्ष पूरा भयौ । शुभकामना दिन तस्वीर कैद गरी रहँदा अनि आमाले छोरा र नातिलाई आशिर्वाद सहितको टीका लगाइरहँदा १७ वर्ष अगाडि गुमाएको ससुरा बुबाको अत्यन्तै याद आयो । हामी सबैलाई बुबाले फरक नामले सम्बोधन गर्नुहुन्थ्यो । मलाई बुबाले नौली भन्नुहुन्थ्यो । एउटा नयाँ मान्छे हेर्न पाए मेरो श्वास सजिलो गरि जान्थ्यो देखाइदेउ न है छिटै ! प्रायः उहाँले म एक्लै हुँदा भनिहाल्नुहुन्थ्यो । सानै छु अहिले आमा बन्ने बेला भाको छैन जस्तो लाग्थ्यो । तर बेलै नभए पनि मलाई आमा बनाउन तिमी आयौ ।
मेरो पेटमा ४ महिनाको तिमी खेल्दै गर्दा दादुराले मलाई सारै गाह्रो बनायो झन्नै तिमीलाई गुमाइन । शब्दहरू गहकिलो हुन्थ्यो बुबाको, बिबाहको पर्सी पल्ट जेठानी दिदीहरुले कान्छी बुहारी कस्ती छिन त बा भन्दा बुबाले विचार गर्दै छ मुढो भन्नु भाथ्यो ! त्यो शब्द बुझ्न अलिक समय लाग्यो मलाई, बुबा कमिज सुरुवाल लगाउनु हुन्थ्यो । केही नबुझेर मैले सोधेँ भने के सिकाउनु भएछ त पाइन्ट लागाउनेले, पढाउनु त भाकोरेछ, तिमीले त धोती पो पढिछौ । यो धोती पढिछौ सुन्दा म राम्रै सङ हासे अनि हो बा आज सम्म धोतीनै भको छ भने बाले त्यस्तो नगर्नु भन्नुभो, पाइन्ट लागाउने (उहाँको सम्धी ) लाई पिर पर्ला फेरि ।
“घरमा सबै सुतिरहेका थिए । उ उठेर बा खोजेछ । मलाई नदेखे पछि खोज्दै बारीमा आयो, दमको रोगले पटक पटक गार्हो हुने म मध्य घाममा यस्तो देखेर चादे माथिल्लो पाटामा मलाई तल्लो पाटामा फालेर घर गयो । त्यो दिन देखि पछि म बारीमा जान छाडे ।”
गाउँमा भए पनि जेठानी दिदीहरुले जति दु:ख गर्नुपरेन मैले, बस्तुहरु पालेकाले घरमा हुदा घाँस काट्नु पर्थ्यो । म घाँस काट्न जान लागेको थाहापाउने बितिकै आफ्नो सिरानी मुनि राखेको सानो हसिया तिमीलाई सजिलो हुन्छ यो लैजाउ भन्दै दिनु हुन्थ्यो । उहाँलाई भुजा धेरै मन पर्ने मलाई दिन भनेर हातमा लुकाइ रहनुहुन्थ्यो भेट्ने बित्तिकै खाउ भन्दै दिनु हुन्थ्यो हातका पसिनाले ओस्सिसकेको भुजा म केही नभनी मीठो मानेर खान्थे उहाँ पनि मख्ख पर्नु हुन्थ्यो ।
मैले कहिल्यै बिर्सनै नसक्ने अर्को एउटा कुरा, मलाई उहाँको छोराले जिस्काएर टिपेर झ्यालबाट फाल्नुपर्ने भन्नू भयो । त्यो सुन्ने बितिक्कै बाले मलाई बोलाउनु भयो । अनि भन्नु भयो, त्यो आधिलाई नजिस्क्याउ है नौली । फेरि साच्चै फाल्छनी त्यस्ले त । म हास्दै हो र बा ? भने हो नि मलाई त फालेको एक पटक । बाले भन्न नपाउदै, मैले किन नि बा सोधे । अनि बा ले भन्नु भयाे- मलाई सुत्न मन लागेन अनि म दिउसो १२-१ बजे तिर बारीमा गएर खनेको । घरमा सबै सुतिरहेका थिए । उ उठेर बा खोजेछ । मलाई नदेखे पछि खोज्दै बारीमा आयो, दमको रोगले पटक पटक गार्हो हुने म मध्य घाममा यस्तो देखेर चादे माथिल्लो पाटामा मलाई तल्लो पाटामा फालेर घर गयो । त्यो दिन देखि पछि म बारीमा जान छाडे ।
“कति यस्ता मानिसहरू छन समाजमा, जो आफुलाई जन्म दिने आफ्ना भगवान् बुबा आमाहरूलाई घर बाट निकाली वृद्धआश्रम पुर्याएका छन । औषधि उपचार त परको कुरा, सरकारले दिएको वृद्ध भत्ता समेत खोसेर खाइदिन्छन ।”
ओहो कस्तो बदमास है बा के भनेको थिए, केको बदमाश नि मेरै लागि भनेथ्यो मलाई औषधिले टिकाको छ । त्यसलाई नजिस्काउनु, सारै दायालु छ माया गर्नु भन्नू भयो । बा हजुरले दिनु भएको माया जति त म के दिन सकुला ? तर पनि मेरो कोसिस सधै हजुरले जतिनै माया दिने हुन्छ । आज हजुरहरुले दिनु भएको यो अनुपम उपहारको जति बयान गरे नि कमी नै हुन्छ । हजुरको नयाँ मान्छे हेर्ने उत्कट इच्छामा म २ महिनाले चुके । र उ जन्मेपछि खुसी संगै अलिक ढिलो भएकोमा हजुर सम्झेर रोए । तिम्रा दादा दिदीलाई जस्तै तिमीलाई पनि के नामले बोलाउनु हुन्थ्यो होला खै आज तिमीलाई आशिर्वाद दिइरहँदा मलाई मेरो कर्म दिने बुबाको औधी याद आयो ।
बा हजुरसँगको बसाई किन १३ महिना नपुग्दै टुंगियो ! अझ धेरै ज्ञान हामीलाई पस्कन नपाउदै अनन्त पासमा जानू भयो । जहाँ हुनुहुन्छ पक्कै खुसी हुनुहुन्छ भन्ने आशमा छु म। हजुरको सत्कर्मले यो खुसी ,यो सफलता पाएका छौ । आज एकाएक मेरो स्मृतिमा आइदिनु भयो बा श्रद्धा सुमन अर्पण गर्छु । हजुरको छोराबुहारी ,छोरीज्वाई, नातीनातिनाहरु सधै सत्कर्म ,आत्मनिर्भर अनि सबैका अगाडी शीर उच्छ गरेर रहन सकौ यहि कामना छ, यो तपाईंको अन्तिम ईच्छा पनि त हो नि बा ।
“बुबा हजुरले सधै आशिर्वाद दिनुहोस् हामीलाई यस्तो कुबुद्धि आज सम्म लागेन अब पनि कहिल्यै नलागोस । आजको यतिको हामी सबैको ब्यबस्था देख्न पाउनु भएको हजुर कति खुसी हुनुहुन्थ्यो होला ।”
कति यस्ता मानिसहरू छन समाजमा, जो आफुलाई जन्म दिने आफ्ना भगवान् बुबा आमाहरूलाई घर बाट निकाली वृद्धआश्रम पुर्याएका छन । औषधि उपचार त परको कुरा, सरकारले दिएको वृद्ध भत्ता समेत खोसेर खाइदिन्छन । मेलापात जाँदा दिएका खाजा कसैले दिएका मिठो कुरा आफू नखाइ आफ्ना सन्तानलाई ल्याएर पेट भरेको अनि आफुलाई गरेको योगदान भुसुकै बिर्सेर खान लगाउन दिन पनि गाह्रो मान्नेहरुका कमि छैन समाजमा । जाय जेथा अनि सम्पत्ति पाए बुबा आमा हेर्ने नपाए वास्तै नगर्ने ।
मानिस स्वार्थी हो हर कुरामा अरु सबै भन्दा आफू सम्पन्न भएको हेर्न चाहन्छ । तर बाबु आमा आफू भन्दा पनि सम्पन्न, शिक्षित,सबल आफ्ना सन्तान भएको हेर्न चाहन्छन् । घरबाट निकाल्ने त छदैछन घरमै राखेर नि पीडा यातना दिने धेरै छन् । बुबा हजुरले सधै आशिर्वाद दिनुहोस् हामीलाई यस्तो कुबुद्धि आज सम्म लागेन अब पनि कहिल्यै नलागोस । आजको यतिको हामी सबैको ब्यबस्था देख्न पाउनु भएको हजुर कति खुसी हुनुहुन्थ्यो होला ।
सहीखबर लेखक पुडासैनी मकवानपुर जिल्लाको भैंसे स्वास्थ्य चाैकीमा कार्यरत छिन् ।