कविता शर्मा
किन लाउने साउनमा हरियो ?
जसरी असारमा रोपेको बिऊ साउन महिनामा हरियो हुने साथै मनमा उर्वरता उत्साह र उमंगको लहर छाउने गर्छ उसैगरि श्रावण महिनामा हरिया चुरा हरियो पोते र हरियो पहिरन अनि हातको मेहेन्दीले मनमा नया उमंग जोस र जाँगर छर्ने गर्छ भन्ने मान्यता छ । साउन महिनालाई शिवजीको अराधना गर्ने पावन महिना पनि भनिन्छ ।
किन फाल्ने लुतो ? अनि किन गर्ने महादेवको पुजा?
हिन्दु संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्तिपर्वको रुपमा लिइन्छ । साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरुलाई भित्र्याउने गर्छ साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसक पूजागर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।
विवाहित महिलाहरु साउने संक्रान्तिदेखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रहि आएको छ ।
परम्परागत संस्कृतिलोप हुँदै गएको बताइए पनि नेपाली महिलाहरुले भने साउन महिनाको सोमबारलाई विषेश रुपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनको लागि त कसैले फेसनकै रुपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।
हिन्दु महिलाहरुले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरुले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् ।
हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरु ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरुले राम्रो वर र विवाहितहरुले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्तहुने जनविश्वास रहेको छ ।
बँगैगाउँ गुहावटी, आसाम
मकवानपुर । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरू भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जग मुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आइएको हो ।
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।
प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नास गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको हिन्दु पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमासमेत सर्पाकार मुकुट हुन्छ ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरू मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।
संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातको शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।
मकवानपुर । नेपाली समाजमा हरेक वर्ष साउन १५ गतेलाई महत्वकाे रुपमा लिइन्छ । यस दिन खिर खाने पर्वकै रुपमा रमाइलाे गरी मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।
‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । नेपाली परम्परा अनुसार वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलाे छ ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेकाे छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेकाे जानकारहरु बताउँछन् ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् बताउँछन् । वर्षामासकाे समयमा खेतीपातीमा व्यस्त रहनुपर्ने भएको तथा उक्त समयमा शरिरमा चिसाे लाग्ने गर्छ । साउन १५ पछी विस्तारै वर्षा समेत कम हुँदै जाने खेतीपातीकाे कामबाट समेत फुर्सद मिल्ने भएकाेले शरीरकाे चिसाे हटाउन समेत साउन १५ मा खिर खाने चलन रहेकाे छ ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पाेषिलाे खिर खाने गरिन्छ । नेपालमा मात्रै हाेइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
यस्तै साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । साउन महिनामा माछा मासु भाेजन गर्नु नहुने मान्यता रहेकाे छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हाे ।
मकवानपुर । मकवानपुरमा धार्मिक पर्यटन विकास समिति गठन गरिएको छ । जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृत रुपमा विकास गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।
गठित धार्मिक पर्यटन विकास समिति संयोजकमा नेपाली कांग्रेस जिल्ला सचिब तथा युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो ।
समितिमा सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा र कोषाध्यक्ष राममान श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरुमा क्रमशः केदार चौलागाईं, रामानुज वाग्ले, चित्रप्रसाद भट्ट, जगन्नाथ पाण्डे, शालिकराम अधिकारी, अर्जुनप्रसाद तिमल्सिना, राजीव सुवेदी र रविन्द्र घिमिरे रहेका छन् ।
समितिले पहिलो चरणमा हेटौंडाभित्रका संरचना निर्माण भएका मन्दिरको गुरुयोजना बनाउने र स्थानीय तथा प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्ने महतले जानकारी दिए । ‘अब स्थानीय र प्रदेश सरकारलाई छिटपुट रकम विनियोजित नगरी एकीकृतरुपमा गुरुयोजना अनुसार बजेट छुट्याउन हामी अनुरोध गर्नेछौं ।’ महतले भने
महतले भारतीय सीमा क्षेत्रका धार्मिक पर्यटकलाई मकवानपुर भित्र्याउन आवश्यक प्रचारप्रसार कार्य समितिले अगाडि बढाउने जानकारी दिए ।
मकवानपुर । आज साउन महिनाको पहिलो सोमबार । देशभरको शिवालयहरुमा साउनको सोमबार पुजा आराधना हुने गर्दछ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा शिव मन्दिरमा भक्तजनको भीड लाग्छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको ब्रत सुरु गर्छन् । साउनको सोमबार ब्रत बसेमा मनको इच्छा पूर भई अटल साभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । सोही विश्वासका साथ देश भरका शिव मन्दिरमा पुजा गर्नेको भिड लाग्ने गरेको छ ।
मकवानपुरमा रहेको विभिन्न शिव मन्दिरहरुमा विहानदेखि भक्तजनको भीड लागेको छ ।