मकवानपुर । आज भाद्र कृष्ण औशी, बुबाको मुख हेर्ने दिन हिन्दु धर्मावलम्बीले पर्वको रुपमा मनाउँदैछन् । पितालाई सम्मान भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ । आजकै दिन कुशे औशी र मोती जयन्ती समेत परेको छ ।
अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने पितालाई जीवनको गुरुका रूपमा पुजा गर्दै मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायत दिँदै सम्मान गरिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ ।
भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आजको दिन हिन्दु धर्ममाबलम्बीहरुको घर घर कुश राख्ने परम्परा छ । कुशलाई बिष्णुको प्रतिकको रुपमा धार्मिक कार्य गर्दा प्रयोग गरिन्छ । ब्राह्मणहरुबाट राखिएको कुश एक बर्ष सम्म घरमा शुभकार्य गर्दा प्रयोग गरिन्छ ।
औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।
यसपटक अघिल्लो दिन शुक्रबारै औंसी तिथि परेकाले काठमाडौं, ललितपुर र आसपासका बासिन्दाले शुक्रबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ । गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।
चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् । पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् । हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।
यसैगरी आजै नेपाली साहित्याकाशका युवाकवी मोतिराम भट्टको जन्म तिथि पनि हो । युवा कवि मोतिराम नेपाली साहित्यमा गजल र मुक्तक बिधाका जननी हुन ।
यी आखिभौ तयार छन तरबार पो किन चाहियो ।
तिमी आफै मालिक भै गयौ सरकार पो किन चाहियो ।
यी लगायतका थुप्रै गजल नेपाली साहित्यमा अनेकौ योगदान गरेका छन । मोतीको सम्झनामा आज विभिन्न संस्थाहरुले मोती विशेष कार्यक्रम गर्ने गर्दछन ।
मकवानपुर । सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले वित्तिय साक्षरता र तिज विशेष कार्यक्रम गरेकाे छ । शुक्रबार सचेतना र समृद्धिले हेटौँडा ५ मा वित्तिय साक्षरता तथा तिज विशेष कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमका आरती पाठकले हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्दै महीला उद्यमीहरुले काष्ठ हस्तकलाको उत्पादन र विक्रीलाई थप व्यवस्थापन गर्नका लागि वित्तिय साक्षरता कार्यक्रम महत्वपूर्ण रहेको बताइन् । कार्यक्रममा समृद्धि फाइनान्स हेटौँडा शाखाका गम्भीर बतौला, श्रीदा श्रेष्ठ र सम्झना पौडेलले वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेका थिए ।
हेटौँडा ५ का महिला उद्यमीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले सहभागीहरुलाई तिजको कोशेली प्रदान गरेकाे थियाे ।
सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, हेटौँडा उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य रन्जिता सिलवाल, समृद्धि फाइनान्सका शाखा प्रमुख निश्चल लम्साल सामुदायिक विकास तथा सचेतना नेपालका सचिब अनन्त कुमार बानिया, कोषाध्यक्ष सर्मिला अधिकारी लगायतको आथित्यतामा भएको थियाे ।
मकवानपुर । यतिखेर बागमती प्रदेशको धादिङ जिल्ला गजुरी गाउँपालिका वडा न ५ च्याङली भन्ने गाउँमकाे चलहपल फेरिएको छ । २२ भदौकाे पूर्वसन्ध्यामा उनीहरु न्वागीकाे तयारीमा छन् । २२ भदौ अर्थात चेपाङ समुदायको खास पर्व न्वागी मनाउने दिन ।
हरेक वर्ष सामुहिक रुपमा न्वागी पर्व मनाउँदै आएका चेपाङ समुदायले यो वर्ष गजुरी ५ च्याङलीमा सामुहिक पर्व मनाउने तयारी थालेको छ । पर्व मनाउनको लागि सम्बन्धित गाउँपालिकाले व्यावस्थापनको जिम्मेवारी लिएको छ । चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागी हुने छन् ।
पर्व मनाउनको लागि अहिले भोज र पूजा सामग्रीको जोहोमा लागेका छन् उनीहरु । सामुहिक भोजमा मासु भात खाइने छ । यसको लागि चामल, राँगो सुङगुरको तयारी भएको छ । पूजाको लािग फलफूलमा काँक्रो, अमिलो गाभा मकै आदि आदिको तयारी हुँदैछ ।
अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङका अनुसार पूजामा कम्तिमा ७ जना झाक्री (पाण्दे) पुरेतको पनि व्यावस्था हुँदै छ । सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ उनले बताए ।

उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिती रहने छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।
प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।
चेपाङ समुदायमा मनाइने सबैभन्दा प्रमुख पर्व छोनाम न्वागि भदौ २२ गते मनाइदै छ । हरेक वर्ष भदौ २२ गते मनाइने न्वागि पर्व चेपाङहरुको विशेष पर्वको रुपमा लिइन्छ ।
नयाँ अन्नबाली,फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपाड्डहरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।
गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।
२२ गते दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गर्ने पूर्व सांसद चेपाङले बताए । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।
नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा रहेका चेपाङहरुले आफूहरुको सम्मानमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएकोमा गतवर्षबाट यो दिन बिदा दिन थालिएको हो । चेपाङ संघ केन्द्रीय समितिले २०६३ मा २२ बुँदे माग राख्दै न्वागि पर्वमा सरकारले देशभर सार्वजनिक बिदाको दिनुपर्ने माग गरेको थियो ।
जातिगत हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । अहिले नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६६ जना छ । यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको छ ।
तस्बिर साैजन्य: गाेबिन्दराम चेपाङ
मकवानपुर । आज भाद्र कृष्ण अष्टमी अर्थात श्रीकृष्ण जन्माष्टमी पर्व देशभर मनाइदैछ । श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइन्छ । हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई “श्रीकृष्ण जन्माष्टमी” र रातलाई “मोहरात्री” भनिन्छ । आज हिन्दु धर्मावलम्बी महिलाहरू “व्रत” बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि पुकारिन्छ।
यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रेस चाैतारी महिला विभागले मनायाे सामुहिक रक्षाबन्धन
Tags: No Comments
मकवानपुर । प्रेस चौतारी मकवानपुर महिला बिभागले जनैपूणिर्माको अवसरमा सामुहिक रक्षाबन्धन बिशेष कार्यक्रम गरेको छ ।
दाजुभाइ र दिदीबहिनी बिच प्रेमको प्रतिक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरूले पुरुषहरूलाई रक्षाबन्धन (डोरो) बांधिदिएर पर्व मनाईएको हो । पत्रकार महिलाहरू र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहाेस भनेर पर्व मनाइएकाे आयाेजकले जनाएकाे छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए ।
महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयाेजना गर्ने दर खुवाउने रमाइलाेमा सहभागी गराउने गरेकाे भए पनि प्रेस चाैतारी मकवानपुरमा पुरुषहरुकाे लागि जनैपूर्णिमाकाे दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएकाे याे पहिलाे पटक हाे ।
समाजलाई सहीमार्गमा ल्याउन तथा सही संस्कारकाे मार्ग दर्शककाे रुपमा समेत पत्रकारिताले याेगदान गर्न सक्ने प्रेस चाैतारी नेपाल पुर्व केन्द्रिय सदस्य सरिता दाहालले बताइन् । ‘त्यसैले हामीले राखी भन्दा रक्षाबन्धनलाई छनाैट गरेका हाै’ उनले भनिन् ।

पत्रकारिताकाे क्रममा सधैं एउटै फिल्डमा हिड्ने क्रम आपतविपत पर्दा महिला पुरषले दाजुभाइ र दिदीबहिनीका रुपमा सहयाेग, भातृत्व, अभिभावकत्व र मित्रताकाे आभाष सधै भएकाे उनले बताइन् । औपचारिका रुपमा यसरी कार्यक्रम गरेकाे भन्दै र याे अवसर दिएकाेमा चाैतारी मकवापुर महिला विभागलाई केन्द्रिय सदस्य दाहालले दिएन् । नेपाली संस्कृती र परम्परालाई समान मान्यता दिनकाे लागि पनि यस्ता कार्यक्रमहरु आवश्यक रहेकाे उनले बताइन् ।
यसैगरी चाैतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चाैतारी महिला विभाग रचनात्मक काममा लागि परेकाे भन्दै प्रशंसा गरे । ‘यसरी नेपाली संस्कृति र परम्पराकाे जगेर्नामा हाम्रा साथीहरु लाग्नु भएकाे छ,याे कामकाे उच्चप्रशंसा गर्न लायक छ’ अधिकारीले भने ।
कार्यक्रममा चाैतारीका पूर्व केन्द्रिय सदस्यहरु दिपेन्द्र राेक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु दिपेश दाहाल, नविन तिमल्सेना जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुकाे सभागीता रहेकाे थियाे ।
कार्यक्रम चाैतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टकाे अध्यक्षतामा भएकाे थियाे । संगठनले पहिलाे पटक सामान्य रुपमा सानाे समूहमा कार्यक्रम मनाइएकाे र आगामी दिनमा यसलाई थप व्यवस्थित र ठुलाे समूहमा मनाउन काेशिस गरिने विष्टले बताइन् ।
सधै कार्यक्षत्रमा व्यस्त हुने पत्रकारहरुलाई रिफ्रेसमेन्टकाे लागि पनि संगठनले समय समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेकाे चाैतारी मकवानपुर सहसचिव मनिता रानाले बताइन् ।