मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्।
बुधबार परेको क्रिसमसको अवसरमा उनले सन्देश मार्फत शुभकामना व्यक्त गरेका हुन् । “बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दाजुभाई दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ ।
“हाम्रो देश धर्म निरपेक्ष देश हो । सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ, हाम्रो धार्मिक सहिष्णुता संसारमै उदाहरणका रूपमा रहेको छ, हामी एक अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ” उनले शुभकामना सन्देशमा भनेका छन् ।
चाडपर्वहरूले अङ्गीकार गरेका विशेषतालाई नेपाली समाज एकतामा बाँधिएको प्रदेश प्रमुख देवकाेटाले बताए । क्रिसमसले नयाँ उर्जा र उमङ्ग ल्याउने अपेक्षा प्रदेश प्रमुख देवकोटाले व्यक्त गरेका छन् ।
हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु खृस्टको जन्मदिनको रूपमा मनाइन्छ । क्रिसमसको बेला गीर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, साङ्गितिक कार्यक्रम गर्ने अनि परिवार साथीसङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छन् ।
प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा गरि नाचगान, आफन्त भेटघाट गरि हर्सोल्लासपूर्वक यो पर्व मनाउँछन् । मानिस पशुपञ्छी लेकबाट तल अर्थात उधो झर्ने हुनाले पनि उधौली पर्व भनिएको पाइन्छ । नयाँ धानबाली भित्र्याएपछि खुशीयालीमा धानलाई लक्ष्मीको रूपमा मानेर धान्यपूर्णिमा पर्व मनाउँछन् ।
उपत्यका लगायत अन्य भागमा छरिएर रहेका नेवार समुदायले बिशेष प्रकारको परिकार (यःमरि) खाएर रमाइलोसाथ यःमरि पुन्ही मनाउने गर्दछन् । यसका साथै कला र सस्कृतिका धनी नेवारभित्रका ज्यापू समुदायमा आफ्नो सस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाउने गरिन्छ ।
चाडपर्व र परम्पराहरू अमुल्य निधि भएकोले यिनको संरक्षण गर्नुपर्ने प्रदेश प्रमुख देवकोटाको विज्ञप्तिमा उल्लेख छ । “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जिवनका आधार हुन्” बिज्ञप्तिमा भनिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ । हेटाैंडा १८ मा रहेकाे वैदिक वानप्रस्थ आश्रमको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आइतबारबाट सुरु भएको हाे ।
हेटौंडा–१८, ठूलोदमारस्थित वैदिक संस्कृत गुरूकुलको प्राङ्गणमा महायज्ञ सुरु भएकाे मूल समारोह समिति सचिव हर्क रम्तेलले जानकारी दिए । महायज्ञ सुरु हुनु अघी विहान ९ बजे गुरूकुल प्राङ्गणबाट कलशयात्रा सहित हेटौडा १८ परिक्रममा गरिएकाे थियाे ।
महायज्ञमा डा. स्वामी चक्रपाणी आचार्य प्रमुख वाचक रहेका छन् । यस्तै गुरुकुलका प्राचार्य खगेन्द्राचार्य स्वामी उपवाचक हुनुहुने छ । ३० मंसिरसम्म संचालन हुने महायज्ञको मुख्य उद्देश्य एक सय जनासम्म पढ्न सक्ने बटुकहरूको आवासीय गुरुकुलको व्यवस्थापन गर्ने रहेकाे रम्तेलले बताए ।
यस्तै पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरू प्राप्त हुने पञ्चतत्व पार्क बनाएर मानव जगतलाई स्वस्थ पार्ने, २ सय भन्दा बढी जडीबुटीको संग्रह गरी प्रत्येक जडीबुटीको नाम, गुण, धर्म सहितको जडीबुटी वाटिका निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएकाे बताइएकाे छ ।
यस्तै विभिन्न फलहरूको उद्यान बनाएर विरुवाहरू निशुल्क उपलब्ध गराउने, स्थानीय प्रजातिका गाईहरूको संरक्षण, सम्बर्धन गर्न गौशाला बनाउने, आयुर्वेदिक औषधी निर्माण गर्ने र ऋषिकुल तयार गर्ने उद्देश्य रहेको छ ।
संस्कृति र संस्कार जोगाउने उद्देश्यले गत वैशाखदेखि आश्रम सञ्चालनमा ल्याइएको आश्रममा सामुदायिक विद्यालयमै पठनपाठन हुने ५ सय पूर्णाङ्कका विषय पढाइन्छ । यस्तै २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गरिन्छ । नेपाली, गणित, विज्ञान, सामाजिक र अंग्रेजी विषय समेत अध्यापन गराउने गरिएको आश्रममा मकवानपुरसहित पर्सा, उदयपुर, सिन्धुली, सर्लाहीलगायत जिल्लाका बालक संस्कृत भाषा पढिरहेका छन्।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा भैरव जयन्ती मनाइएको छ । हेटौंडा २ स्थित जलेश्वर महादेव मन्दिर परिसरमा स्थापना गरिएको भैरवको मूर्तिमा पूजाआरती गर्दै भैरव जयन्ती मनाइएकाे हाे ।
करिव ६ महिनाअघि हेटौंडा–२ का रामचन्द्र आचार्य ‘फुर्सती’ परिवारले स्थापना गरेको भैरवको मूर्तिमा पूजाआजा, आरती गर्दै भैरव जयन्ती मनाइएको हो । मार्गकृष्ण अष्टमी साँझ भैरव उत्पत्ति भएको दिन मानिन्छ । यही दिनलाई आधार मानेर फुर्सती परिवारले भैरव स्तोत्रपाठ, आरती गरेको हो । भैरव जयन्तीको अवसरमा जलेश्वर महादेव मन्दिरमा सहभागी भक्तजनलाई टीका, प्रसाद वितरण गरिएको थियो ।
भैरव शिव भगवानको अवतार मानिन्छ । भैरवको बाहन कुकुर हो भएकाेले हरेक वर्षको यमपञ्चकमा कुकुरको पूजाआजा गरिन्छ । भैरवलाई मासको बारा, जेरी, पञ्चामृत विशेष अर्पण गरिन्छ । कठोर भन्दा कठोर संकटबाट मुक्ति पाउन भैरवको आराधना गर्दा राहत मिल्ने विश्वास गरिन्छ ।
मकवानपुर । हिन्दु धर्मावलम्बीले विशेष पूजा गरी हरिबोधिनी अर्थात ठुलो एकादशी पर्व आज मनाइँदैछन्। ठूलो एकादशीमा तुलसीको दामोदरसँग विवाह र पुजापाठ गरिन्छ ।
हरिबोधनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशीकाे रुपमा मानिने भएकाेले यसलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पुजा गरि मनाउने गरिन्छ ।
आज देशका सबै जसो विष्णु/नारायण मन्दिरहरुमा पुजाआजा गरि मेला लाग्ने गर्दछ । हरेक वर्ष झै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर – १ भैसे स्थित त्रिखण्डीमा बिशेष मेला लागेकाे छ । यसैगरी जिल्लाकाे मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित गढी दरबार र थाहा नगरपालिका वडा नम्वर –४ स्थित ऋषेश्वर मन्दिरमा मेला लागेकाे छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास समेत गरिन्छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी, औलोलगायत रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने चिकित्सक बताउँछन । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ। गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ।
आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। आजकाे एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ। कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ।
काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ ।